बिर्सिने समस्याबाट कसरी बच्ने ?



लक्ष्मण अधिकारी

तपाईंलाई बिर्सिने समस्या कत्तिको छ ? चिनेको मानिस अगाडि आएर नमस्ते भनिसक्यो नाम नै याद नहुने, खल्तीमा चश्मा राखेर घरभरि खोज्याखोज्यै, हराउँछ भनेर जतनले राखेको चिज खोजेको बेला नभेटिने अनुभव कत्तिको गर्नुभा छ ? यस्तो समस्या धेरैलाई हुन्छ । बुढेसकाल लागेपछि बढ्दै जान्छ । कसैलाई कम, कसैलाई अलि बढी, जुन सामान्य नै हो ।

तर मानिसले जब चश्मा राखेको ठाउँ मात्र होइन, चश्मा के गर्ने वस्तु हो भन्नेमा पनि अलमल पर्ने, समयको ख्याल नहुने, खाना खाएको/नखाएको, भर्खरै मान्छे भेटेको, सुत्ने/उठ्ने समय ख्याल नहुने, बोल्ने शब्द नै नपाएर अलमल हुने हुन्छ तबचाहिँ मानसिक रोग डिमेन्सिया भएको आशंका गर्नुपर्ने हुन्छ, जसले मानिसको जीवनलाई अत्यन्त दुःखदायी बनाउँदै लान्छ ।

हाल बढ्दो अवस्थामा रहेको डिमेन्सिया अहिले विश्वभरका मानिसको मृत्युको प्रमुख १० कारणमध्येमा परेको छ । विश्व स्वास्थ्य संघले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१९ मा यो रोग युरोप र अमेरिकामा मानिसको मृत्युको प्रमुख तेस्रो कारण बनेको छ । यसमा पनि महिलाहरु ६५ प्रतिशत छन् । संघका अनुसार डिमेन्सिया त्यस्तो रोग हो जसमा मानिसले स्मरण शक्ति, सोच्ने शक्ति, बानी–व्यहोरा र दैनिक गतिविधि गर्ने क्षमता गुमाउँछ । डिमेन्सिया हाल विश्वभर नै वृद्ध मानिसहरुको अशक्तता र परनिर्भरताको प्रमुख कारण बनेको छ । ६० वर्षभन्दा माथिका मानिसहरुमध्ये ५ देखि ८ प्रतिशतलाई हुने डिमेन्सियालाई बेलैमा चिन्न सके बिरामीको जीवनको गुणस्तर सुधार गर्न र राम्रो व्यवस्थापन गर्न सकिने विश्व स्वास्थ्य संघको भनाइ छ ।

बिर्सिने समस्या के हो त ?

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘सामान्यतया बिर्सिनुपर्ने महत्वहीन कुराहरु बिर्सिनु प्राकृतिक प्रक्रिया हो भने जरुरी सूचनाहरु नै बिर्सिन थालेपछिचाहिँ यसलाई रोग नै मान्नुपर्ने हुन्छ । बिर्सिने समस्या डिमेन्सिया नामक रोगका कारणले पनि हुन्छ । तर डिमेन्सिया भनेको बिर्सिने समस्या मात्र होइन, बिर्सिनु त एउटा मुख्य लक्षण मात्र हो । डिमेन्सियामा मानिसको सुझबुझ हराउने, बिर्सिने, कमन सेन्स हराउने, विषय–परिस्थितिलाई सही आँकलन गर्न नसक्ने र यसले गर्दा व्यवहार, क्रियाकलाप बदलिएर दैनिक गतिविधि गर्न मुस्किल पर्ने हुन्छ । कुरा नबुझ्ने, दुई–तीनवटा कुरा जोडेर निष्कर्ष निकाल्न नसक्ने, सीप हराउने, भाषा कमजोर हुँदै जाने, निर्णय क्षमता क्षीण हुने हुन्छ । वास्तवमा मस्तिष्क अक्षम हुन्छ र यसले व्यक्तिलाई जीवन जिउन सघाउँदैन ।’

‘मान्छेको मन’ नामक चर्चित पुस्तकका लेखकसमेत रहनुभएका डा. शर्मा भन्नुहुन्छ, ‘मस्तिष्कलाई कमजोर गराउने विभिन्न रोगहरुले ल्याउने समस्या हो डिमेन्सिया, जुन विभिन्न प्रकारको हुन्छ र त्यसमध्ये प्रमुख अल्जाइमर्स नै हो । मस्तिष्कमा रक्तसञ्चारको गडबडी भएर देखिने भास्कुलर डिमेन्सियाका बिरामी केही मात्रामा भेटिन्छन् भने फ्रन्टोटेम्पोरल र लेविबडी डिमेन्सिया पनि थोरै मात्र देखिन्छन् ।’

विश्व स्वास्थ्य संघ भन्छ, ‘डिमेन्सिया धेरैवटा रोगहरु र दिमागमा असर पर्ने गरी भएको चोट आदिको परिणाम हो । डिमेन्सिया भएकामध्ये ६० देखि ७० प्रतिशतलाई अल्जाइमर्स भएको हुन्छ । अल्जाइमर्स विश्वमा जल्दोबल्दो स्वास्थ्य समस्याका रुपमा रहेको छ ।’

डिमेन्सिया भनेको बिर्सिने समस्या मात्र होइन, बिर्सिनु त एउटा मुख्य लक्षण मात्र हो । डिमेन्सियामा मानिसको सुझबुझ हराउने, बिर्सिने, कमन सेन्स हराउने, विषय–परिस्थितिलाई सही आँकलन गर्न नसक्ने र यसले गर्दा व्यवहार, क्रियाकलाप बदलिएर दैनिक गतिविधि गर्न मुस्किल पर्ने हुन्छ ।

– डा. विश्वबन्धु शर्मा

 

किन हुन्छ अल्जाइमर्स ?

हाम्रो समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको अल्जाइमर्स (डिमेन्सिया) के कारणले हुन्छ त ? वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘अल्जाइमर्स गराउने मुख्य कारक तत्वमा पहिलो त उमेर नै हो । आयुसँगै रोग बढ्दै जान्छ । ६५ वर्ष पुगेको करिब ५ प्रतिशत जनसंख्यालाई अल्जाइमर्स हुन्छ । ७५ वर्ष पुगेपछि १५ प्रतिशतलाई, ९० वर्ष पुगेपछि ३० प्रतिशतलाई हुन्छ भने १०० वर्ष काटेकाहरुमध्ये ५० प्रतिशतलाई अल्जाइमर्स भएको पाइन्छ ।’

‘डिमेन्सियाको मूल कारण जैविक अर्थात् वंशाणुगत नै हो । आमातिर, बुबातिर कसैलाई भएको इतिहास छ भने यो रोग हुने सम्भावना हुन्छ । त्यसमा पनि कडा खालको छ भने छिट्टै निस्किन्छ । कोलम्बियाको कुनै गाउँमा एउटा ठूलै वंश परिवार छ, जहाँ ४५ वर्ष पुगेका सबै महिलालाई र ५० वर्ष पुगेका जति सबै पुरुषलाई अल्जाइमर्स भएको छ । यो एउटै सशक्त जिनका कारण भएको हो । त्यो ठाउँ अहिले धेरैको औषधि अनुसन्धान गर्ने थलो भएको छ । यो निकै सशक्त वंशाणुगत समस्या हो । डिमेन्सिया त्यो भन्दा केही मध्यम खालको पनि हुन्छ । यसमा चार–पाँचवटा जिनको मुख्य भूमिका हुन्छ । यी जिन पनि कडै मानिन्छन् । यसबाहेक आममानिसमा हुने अल्जाइमर्समा करिब १०० वटा जिनहरु जिम्मेवार भएको मानिन्छ ।’

डा. शर्मा भन्नुहुन्छ, ‘डिमेन्सियाका कारणहरु विविध हुन्छन् । एउटा कारणचाहिँ बेहोस गरेर अपरेसन गराउँदा प्रयोग गरिने एनेस्थेसिया पनि हो, जुन धेरै प्रयोग गरियो भने यो समस्या हुनसक्छ । यसले पनि मस्तिष्कमा क्षति पुग्छ र डिमेन्सिया हुन सघाउ पुर्‍याउँछ । यस्तै गरी मस्तिष्कलाई असर गर्ने खालका सुगर, प्रेसर, कोलेस्ट्रोल बढी छ भने पनि डिमेन्सिया हुने सम्भावना बढाउँछ । मस्तिष्कलाई प्रतिकूल असर पार्ने चोटपटक, मेनिन्जाइटिस, इन्सेफ्लाइटिसजस्ता संक्रमण हुने कारणले पनि डिमेन्सिया हुन्छ । अस्वस्थ खाना, लागूपदार्थ, धूमपान, मदिराको नियमित सेवनले पनि डिमेन्सिया हुन सहयोग गर्छ । यी नै मुख्य कारणले डिमेन्सिया हुने होइन तर उमेर, वंशाणुगत अवस्था आदि कारणले वातावरण बनाइरहेको स्थितिमा यी कुराहरुले डिमेन्सिया हुन उत्प्रेरित गर्छन् र रोग चाँडो निकाल्छन् । डिप्रेनसका कारण पनि डिमेन्सियाको जस्तो लक्षण देखिन सक्छ । लक्षणका रुपमा आएको योे समस्याचाहिँ उक्त मानसिक रोग निको भयो भने यो पनि निको हुन्छ ।’

अल्जाइमर्सलाई कसरी चिन्ने ?

डा. शर्मा भन्नुहुन्छ, ‘शुरुमा बिर्सिने लक्षण देखिन्छ । कुनै वस्तुको नाम बिर्सिने मात्र होइन कि त्यसको सन्दर्भ नै बिर्सिएर प्रयोग गर्न नै नजान्ने हुन्छ । जस्तो कि कलम भन्न सक्तैन, साथै कलमले लेख्ने काम गर्छ भन्ने पनि बिर्सिएर चम्चाको रुपमा प्रयोग गर्न सक्छ । भान्सामा बसेर तरकारी पकाउने मानिसले पहिला घिउ राख्ने कि पानी, कुन केमा मिसाउने भन्ने नै बिर्सिन्छ । बिस्तारै शब्द भण्डार, स्वर नै हराउँछ । लेखाइ बिग्रिन्छ । टाँक लगाउने, इजार बाँध्ने, चम्चाले खाने, कपाल कोर्ने भन्ने नै बिर्सिन्छ । ट्वाइलेट जानै बिर्सिने हुन्छ । बाहिरको वातावरणसँग अन्तरक्रिया गर्न, मूल्यांकन गर्न नसक्ने हुन्छ । पछि गएर मस्तिष्क पूरै रित्तो हुन्छ । खाने, लगाउने, ट्वाइलेट जाने, सुत्ने सारा कुरा शतप्रतिशत नै परनिर्भर हुनपुग्छ ।’

विश्व स्वास्थ्य संघका अनुसार डिमेन्सियाको पहिलो चरणमा बिर्सिने, समयअनुसार चल्न नसक्ने, आफू गइरहने ठाउँ बिर्सने हुन्छ । दोस्रो चरणमा भर्खरै भएका घटनाहरु र मानिसका नामहरु बिर्सिने, घरमै हराउने, सञ्चार गर्न नसक्ने, व्यक्तिगत स्याहार गर्ने मानिसको जरुरत पर्ने, बानी–व्यहोरा परिवर्तन हुने, एउटै कुरा दोहोर्‍याएर सोध्ने आदि हुन्छ । तेस्रो चरणमा पुगेपछि ठाउँ र समय बिर्सिने, साथीहरु र नातेदार बिर्सिने, सहयोगीको आवश्यकता बढी नै पर्ने, हिँड्न कठिनाइ हुने, बानी–व्यहोरा परिवर्तन हुने र आक्रामक व्यवहार गर्ने हुन्छन् ।

उपचार छैन, ढिलो गराउन सकिन्छ

डिमेन्सियाको उपचार तथा रोकथामका लागि धेरै अनुसन्धान र क्लिनिकल ट्रायलहरु भइरहे पनि हाल कुनै भ्याक्सिन तथा उपचार उपलब्ध छैन । अध्ययनहरुले देखाएअनुसार नियमित एक्सरसाइज गरेर, धूमपान नगरेर, अल्कोहलको हानिकारक प्रयोग नगरेर, तौल नियन्त्रण गरेर, सन्तुलित आहार खाएर, रक्तचाप, कोलेस्ट्रोल र ब्लड सुगर नियन्त्रण गरेर, डिप्रेसनजस्ता मानसिक रोग नियन्त्रण तथा मानसिक तनाव न्यूनीकरण गरेर मानिसहरुले डिमेन्सियाको जोखिमलाई केही कम गर्न अर्थात् अलि ढिलो मात्र लाग्ने गराउन सक्छन् ।

डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ, ‘डिमेन्सिया लाग्ने धेरै जोखिम भएको वा लाग्न लागेको शुरुकै अवस्थामा थाहा हुनसक्यो भने रोग आउने तथा बढ्ने गतिलाई अलि ढिलो गराउन र यसका लक्षणहरुलाई कम गर्न सकिन्छ । यदि आप्mनो वंशमा कसैलाई यो समस्या भएको छ भने आफूलाई पनि हुने खतरा हुन्छ । धेरैलाई भएको छ भने खतरा बढी हुन्छ र उमेर बढ्दै गएपछि जोखिम पनि बढ्दै जान्छ । त्यसैले पोषण, रहनसहनमा ध्यान दिने, मानसिक, शारीरिकरुपले सक्रिय भएर ६५ वर्षमा देखिने रोगलाई ७०–७५ वर्ष वा सो भन्दा बढी उमेरसम्म रोक्न सकिने हुन्छ । यसका लागि सधैँ व्यावसायिक जीवनमा सक्रिय रहने, निद्रा राम्रोसँग पुर्‍याउने, मस्तिष्कलाई अनावश्यक बोझिलो नबनाउने, तनावबाट मुक्त रहने, यात्रा, संगीत, खेलकुदमा लागेर मस्तिष्कलाई स्वस्थ बनाइराख्ने प्रयास गर्नुपर्छ ।’

डिमेन्सिया बढ्दै छ

विश्व स्वास्थ्य संघका अनुसार डिमेन्सिया संसारभर नै बढिरहेको छ । हाल विश्वभरमा करिब ५ करोड मानिसलाई डिमेन्सिया भएको छ । यसमध्ये ६० प्रतिशत बिरामी नेपालजस्ता कम तथा मध्यमस्तरको आम्दानी भएका मुलुकहरुमा छन् । हरेक वर्ष झन्डै एक करोड नयाँ बिरामी थपिँदै गएका छन् । संघको अनुमानअनुसार सन् २०३० सम्ममा विश्वमा डिमेन्सियाका बिरामी ८ करोड २० लाख पुग्ने र त्यसमा पनि गरिब मुलुकमा नै बढी हुनेछन् ।

डा. शर्मा भन्नुहुन्छ, ‘अहिले नेपालमा पनि डिमेन्सिया बढ्दै छ । व्यक्तिगत अनुभवका आधारमा भन्नुपर्दा ४० वर्षअघि उपचारका लागि आउने डिमेन्सियाका बिरामी विरलै हुन्थे भने २० वर्षअघि फाट्टफुट्ट देखिन्थे र अहिले छ्यासछ्यास्ती नै भेटिन्छन् । यसको मुख्य कारण त मानिसको औसत आयु बढ्नु नै हो । साथै जीवनशैली, रहनसहन, खानपान बदलिनाले मस्तिष्कलाई असर गर्ने रोगहरु बढ्नु, दुर्घटनाका कारण चोटपटक धेरै लाग्नु, मानसिक तनाव बढ्नु, संक्रमणजन्य रोगहरु बढ्नु आदि पनि हुन् ।’

बच्ने राम्रो उपाय भाषा सिकाइ

विशेष गरी बुढेसकालमा बिर्सिने, अलमलिने र बोल्ने शब्दहरु नै रित्तिँदै जाने आदिजस्ता लक्षण देखाउने डिमेन्सिया रोगलाई केही वर्ष अलि परै राख्न सकिन्छ । यसका लागि हालसम्म वैज्ञानिकरुपमा प्रमाणित भएको प्रभावकारी उपायचाहिँ भाषा सिकाइ नै भएको डा. विश्वबन्धु शर्मा बताउनुहुन्छ । उहाँका अनुसार आफ्नो मातृ भाषाभन्दा फरक समूहको भाषा त्यसमा पनि तीन–चारवटा भाषा सिक्नु लाभदायक हुन्छ । नेपाली मातृ भाषा भएकाहरुले अरबी, चिनिया, कन्नड, मलयालम, तिब्बती आदि भाषा पढ्दा लाभ पुग्छ । सन् २०१४ मा क्यानेडियनहरुले दुईवटा भाषा जान्ने वृद्ध व्यक्तिहरुमा अनुसन्धान गरेका थिए । यसअनुसार दुईवटा भाषा जान्ने मानिसहरु एउटा मात्र भाषा जान्ने मानिसभन्दा अल्जाइमरबाट बढी सुरक्षित भएको पाइएको थियो । अर्को अध्ययन वाटरलु युनिभर्सिटीले सन् २०१९ मा क्याथोलिक चर्चका नन्सहरुमा गरेको थियो । यसमा चारवटा र सोभन्दा बढी भाषा बोल्ने नन्सहरु सो भन्दा कम भाषा जान्ने नन्सहरुभन्दा छिटो डिमेन्सिया हुनबाट सुरक्षित रहेको पाइएको थियो । शायद भाषाको यही महत्वले गर्दा होला, हाल विश्वमा विशेष गरी रिटायर्ड मानिसहरुमा नयाँ भाषा सिक्ने लहर चलेको छ ।

डा. शर्मा भन्नुहुन्छ, ‘डिमेन्सिया हुने अवस्थामा मस्तिष्कका कोषिकाहरु मर्न थालेका हुन्छन् । यसो हुँदा मरेका कोषिकाहरुको मात्र होइन कि नमरेका कोषिकाहरुको पनि कनेक्टिभिटी जान्छ । एउटा कोषिकाको अरु हजारौँ कोषिकासँग कनेक्सन भएको हुन्छ । कुनै कोषिका मर्नेबित्तिकै धेरैतिर सम्पर्क विच्छेद हुन्छ र सञ्चार हुन सक्तैन । अनि मानिसले सोच्ने, हाँस्ने, रुने, कराउने, बोल्ने र अरु काम गर्न छोड्दै जान्छ । त्यसैले कोषिकाहरुको धेरै सम्पर्क बढाउनु राम्रो हो । त्यसका लागि विदेशी भाषाको अध्ययनलाई राम्रो मानिन्छ । यसले नयाँ–नयाँ कनेक्टिभिटी बढाउँछ । यसरी बढाउनु भनेको क्षति पुगेका कोषिकाको सट्टा अरुले काम गर्नु पनि हो ।’

‘मानिसको मस्तिष्कमा करिब एक खर्ब कोषिकाहरु (Neurons) हुन्छन् । त्यसका सहायक कोषिकाहरु यसको दश गुणा बढी हुन्छन् । एक सय वर्ष बाँचे पनि यदि हामीले एकै किसिमका कामहरु लामो समयसम्म गरिरह्यौँ भने हामीले दिमागको थोरै एउटा निश्चित भागको मात्र प्रयोग गरेका हुन्छौँ । त्यो थोरै भाग मात्र सक्रिय हुन्छ । थोरै सर्किट मात्र प्रयोग हुन्छ र अरु भाग निष्क्रिय भएर बस्छ । त्यसैले दिमागलाई सक्रिय र योङ बनाइराख्नका लागि हामीले विविध किसिमका कामहरु गर्नुपर्छ । जब हामी धेरै प्रकारका काम (पढ्ने, बिरुवाको स्याहार गर्ने, पशु पाल्ने, हाइकिङ गर्ने, म्युजिक बजाउने, समाज सेवा गर्ने, खेलकुद गर्ने, तास खेल्ने आदि) गर्ने, धेरै भाषाहरु सिक्ने गर्छौँ त्यस अवस्थामा मस्तिष्कका धेरै कोषिकाहरु प्रयोग हुन्छन् र तिनीहरुको कनेक्टिभिटी पनि बढ्छ, अर्थात् बे्रेन रिवायरिङ हुन्छ । वृद्ध उमेरमा पनि नयाँ भाषा, सीप सिक्न सकिन्छ, किनकि मस्तिष्कमा प्रयोग नै नभएका असंख्य न्युरोनल सर्किटहरु बाँकी नै रहने भएकाले नयाँ कुरा अध्ययन गर्न कहिल्यै ढिलो हुँदैन’, डा शर्मा भन्नुहुन्छ ।

बिरामीको स्याहार

नेपालमा पनि मानिसको औसत आयु वृद्धि भइरहेको र मानिसको जीवनशैली, खानपानमा परिवर्तन भइरहेकोले ६५ वर्ष काटेका धेरै मानिसलाई डिमेन्सिया हुने जोखिम उच्च रहेको छ । त्यसमा पनि आफ्नो वंशमा कसैलाई रोग भएको अवस्थामा जोखिम अझ बढी हुने नै भयो । डिमेन्सियालाई पूरै रोक्न नसके पनि केही वर्ष धकेल्न सकिने भएकाले यसतर्फ बेलैमा सचेत हुन आवश्यक छ । साथै डिमेन्सियाका शुरुका लक्षणहरु देखिन थालेको अवस्थामा नै उपचार गर्न सके निकै प्रभावकारी हुन्छ । यसका लागि औषधिहरु पनि उपलब्ध छन् । ६५ वर्ष नाघेका आप्mना मान्यजनलाई परिवारले डिमेन्सिया हो कि होइन भन्ने किसिमको चरणमा नै परीक्षण गराउन सके चिकित्सकले रोग पत्ता लगाउँछन् । यस बेला गरेको औषधि प्रभावकारी हुन्छ र परामर्शले पनि बिरामीलाई धेरै राम्रो हुने चिकित्सकहरुको सुझाव छ ।

रोग लागिसकेपछि निको पार्न सकिन्न तर यसको बढ्ने गतिलाई उपचार र परामर्शमार्फत अलि ढिलो बढ्ने गराएर तथा बिरामीलाई सहयोग गरेर उसको जीवनको गुणस्तर राम्रो पार्न सकिन्छ । यस्तो बेला बिरामीलाई बोझिला कुराहरु गर्नुहुन्न, नयाँ मानिसहरु चिनाउने काम पनि गर्नुहुन्न । परिचित घर, ठाउँ र परिचित मानिसहरुका बीच राख्नुपर्छ । परिचित ठाउँमा बस्दा आफैँ हराउने सम्भावना कम हुन्छ । बाटो कता हो भन्न नसके पनि मेकानिकलरुपमा बाटो पैल्याउन सक्छन् । मानिसहरु धेरै भीडभाड, कोलाहल नहुने ठाउँमा राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्