प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)।
एकजना उच्च रक्तचापबाट पीडित बिरामी नियमित जाँचका लागि क्लिनिकमा आउनुभयो । उहाँले खर्भरै रगत जाँचेको रिपोर्ट पनि ल्याउनुभएको थियो । त्यो रिपोर्टअनुसार रगतमा सुगर र ट्राइग्लाइसेराइड बढेको थियो । रिपोर्ट देखाएर उहाँले ‘सुगर र ट्राइग्लाइसेराइड दुवै बढेको छ, कतै मैले खाइराखेको ब्लड प्रेसरको औषधिले गर्दा बढेको त हैन’ भनी प्रश्न गर्नुभयो । उहाँले ओल्मेसार्टन औषधि खाइरहनुभएको थियो ।
मैले उच्च रक्तचाप र सुगर दुवै समस्या भएकाहरुलाई लोसार्टन, टेल्मिसार्टन, ओल्मेसार्टन ग्रुपको औषधि ब्लड प्रेसर नियन्त्रण गर्न दिने गरेको छु । उहाँले पुनः जोड दिँदै ‘यो मैले खाइरहेको औषधिले त सुगर र ट्राइग्लाइसेराइड बढाउँछ, यस्तो खतरनाक साइड इफेक्ट हुँदो रैछ, बरु यो औषधि फेर्ने पो हो कि ?’ भनी सोध्नुभयो ।
मैले सोधेँ, ‘कसले भन्यो, कहाँबाट थाहा पाउनुभयो ?’
उहाँले भन्नुभयो, ‘मैले गुगलमा सर्च गरी इन्टरनेटमा पढेको हुँ । नपत्याए आफैं हेर्नुस् न ।’
म झस्किएँ । कतै मलाई ज्ञानको कमी पो भयो कि ∕ ओल्मेसार्टनले सुगर र ट्राइग्लाइसेराइड बढाउँछ भन्ने मलाई जानकारी भएन ।
म मुटुरोग विशेषज्ञ भएको ३३ वर्ष भइसक्यो । मैले धेरैजसो अन्तर्राष्ट्रिय सम्मेलनहरुको रिजल्ट, त्यहाँ भएका प्रस्तुति र आर्टिकलहरु पढ्ने गरेको छु । नयाँ–नयाँ अध्ययन–अनुसन्धानको ज्ञान पनि लिने गरेको छु । तर उहाँले भन्नुभएको कुराबारे मलाई जानकारी भएन । त्यसपछि मैले मभन्दा १० वर्ष सिनियर चिकित्सक साथीलाई यो ग्रुपको औषधिले सुगर र ट्राइग्लाइसेराइड बढाउँछ भन्ने थाहा छ ?
भनेर सोधेँ । तर उहाँले पनि यसबारे जानकारी भएन भन्नुभयो । त्यसपछि मैले इन्टरनेटमा गुगल सर्च शुरु गरेँ । साइड इफेक्ट अफ ओल्मेसार्टन भनेर गुगल सर्च गरेर हेरेँ । त्यहाँ स्पष्टरुपमा लेखेको रहेछ कि ओल्मेसार्टन औषधिले सुगर बढाउँछ, ट्राइग्लाइसेराइड बढाउँछ र वाकवाकी गराउँछ । साथै अन्य थुप्रै साइड इफेक्टहरु गराउँछ । म त छक्क परेँ ।
धेरैजसो शिक्षित व्यक्तिहरु गुगल सर्च गरी इन्टरनेटबाटै हेरेर धेरै काम गर्नुहुन्छ । मैले सोचेँ, ‘के गुगलका सबै कुरा सत्य होलान् त ?’ मलाई यो जान्न मन लाग्यो । यो पक्कै सत्य हैन भन्ने लागिरहेको थियो । गुगलमा धेरै कुरा हुन्छन्, मामुलीदेखि महत्वपूर्णसम्म । मैले एउटा एक्सपेरिमेन्ट गर्ने विचार गरेँ । ग्रिन टीको बारेमा बुझ्ने प्रयास गरेँ । आजकल ग्रिन टीको फाइदा धेरै छ भन्ने धेरैको बुझाइ छ । फाइदा पनि गरी नै रहेको छ । अब साइड इफेक्ट अफ ग्रिन टी भनेर गुगल सर्च गरेँ । यसरी सर्च गर्दा के पाइयो भने, पखाला लाग्ने, टाउको दुख्ने, उल्टी हुने, चक्कर लाग्ने, रगतको कमी गराउने, मुटुको धड्कन बिग्रने । यस्तो फाइदाजनक भनेर पिइरहने ग्रिन टीको बारेमा बेफाइदाका यति धेरै कुरा लेखेको रहेछ । म त छक्क परेँ । यहाँसम्म कि मुटुको धड्कन बिग्रनेसम्मको साइड इफेक्टको कुरा लेखेको रहेछ । यस्तै गरी साइड इफेक्ट अफ सिटामोल भनेर खोजेँ । त्यहाँ के लेखेको रहेछ भने, वाकवाकी लाग्ने, मुखमा घाउ आउने, रगतको कमी गराउने, कमजोरी हुने, रगत बग्ने, कलेजो बिग्रने र मृत्युसमेत हुने आदि । गुगलका अनुसार सिटामोल खाएर मान्छेको मृत्युसमेत हुने रहेछ । अब मान्छेलाई के भ्रम पर्ने भयो भने, सिटामोल खानै हुँदैन । सत्य कुरा के हो भने, अत्यधिक मात्राको सिटामोलले केलजोलाई असर गरी मृत्युसमेत हुनसक्छ तर सानो मात्राले केही बेफाइदा गर्दैन ।
मैले दूध पिउँदाको साइड इफेक्ट के छ भनेर पनि खोजी गरेँ । गुगलमा दिनमा ३ कपभन्दा बढी दूध पिउनेको हड्डी भाँचिने सम्भावना हुन्छ भनेको छ । ल हेर्नोस्, अब हामी हड्डी बलियो बनाउन दूध पिउँछौं तर गुगलले हड्डी भाँचिने सम्भावना छ भन्छ । क्याल्सियम धेरै हुने भएकाले यसले पुरुषमा प्रोस्टेटको क्यान्सर बढाउँछ भनेको छ गुगलमा । दूधमा हुने सुगरले महिलाहरुलाई ओभरियन क्यान्सर हुने सम्भावना बढाउँछ भनेको छ । यदि गाईलाई धेरैै दूध उत्पादन होस् भनेर ग्रोथ हर्मोनको सुई दिएको छ भने त झन् यस्तो दूध खानाले विभिन्न खालको क्यान्सर हुन्छ भनेको छ । अर्को कुरा, दूधले स्वास्थ्यका लागि राम्रो मानिने एन्टिअक्सिडेन्टहरुको असरलाई घटाउँछ भनेर गुगलमा लेखेको छ । दूधले धेरै फाइदा गर्छ भनेर हामी पिउँदै छौं तर गुगलमा खोजी गर्दा यसका यति धेरै बेफाइदा लेखेको छ कि दूध पिउन डर लागेर आउँछ । मैले गुगलमा धेरै मान्छेले खाने क्याल्सियमको बारेमा पनि हेरेँ । क्याल्सियम खाँदा पेट फुल्छ, ग्यास बढ्छ, पिसाब धेरै लाग्छ, प्यास लाग्छ, कब्जियत हुन्छ, वाकवाकी लाग्छ, हार्ट अट्याक र स्ट्रोकको सम्भावना बढाउँछ, हड्डी दुख्नेजस्ता थुप्रै बेफाइदाका कुरा लेखेको छ । कति बेफाइदाका कुरा मात्र हेर्ने, दिक्क नै लाग्यो भन्दै फाइदाका कुरा हेर्न थालेँ । जडीबुटी खाएर क्यान्सर निको हुन्छ भनेर यति धेरै सामग्रीहरु पाएँ कि अचम्म लाग्यो । बेकार क्यान्सरसँग डराइएछ ∕ यति धेरै जडीबुटीहरु रहेछन् क्यान्सर निको पार्ने ।
हामीले के बुझ्नुपर्यो भने, गुगलमा भएका सामग्रीहरुलाई हेरेर त्यसको आधारमा निर्णय गर्न भएन । किनकि गुगलमा भएका जानकारीहरु सबै सत्य र प्रमाणित नहुन पनि सक्छन् । इन्टरनेटमा अपलोड भएका सबै थरी जानकारीहरु गुगलले देखाउँछ । सिटामोल खाएर मान्छे मर्छ, दूध खाएर क्यान्सर हुन्छ, हड्डी कमजोर हुन्छ भन्ने जानकारीमूलक कुुरालाई विश्लेषण गरेर हेर्नुपर्छ । हो, सय चक्की सिटामोल एकैपल्ट खाँदा मान्छे मर्न सक्छ, दूधमा विषादी रसायन रहेछ भने यसले क्यान्सर गराउन सक्छ । गुगलमा छोटकरीमा लेख्दा यो सबै कुरा लेखेको हुँदैन । मेरो सल्लाह यो छ कि गुगलमा हेरेर जानकारी लिन मिल्छ । यसबाट हिजोआज थुप्रै जानकारी प्राप्त गर्न सकिन्छ तर स्वास्थ्यका मामलामा त्यहाँको कुरा वा जानकारी लिएर आफैं निर्णय गर्नतिर लाग्नुहुँदैन । यसले हामीलाई संकटमा पार्न सक्छ । तत्कालै समस्या नआए पनि भविष्यमा ठूलो संकट निम्त्याउन सक्छ । हामीले जहिले पनि गुगलमा विश्वसनीय र मान्यताप्राप्त स्रोतको पहिचान गरेर त्यसबाट मात्र जानकारी लिनुपर्छ । जुनसुकै स्रोतको कुरालाई आँखा चिम्लेर स्वास्थ्यजस्तो संवेदनशील विषयमा चिकित्सकको सल्लाहविना आफैं निर्णय गर्नुहुँदैन । गुगलमा आएका जुनसुकै सामग्रीलाई विश्वास गर्नुभन्दा पनि विश्वसनीय स्रोतको पहिचान गरी त्यसलाई चिकित्सकको सल्लाहमा मात्रै आफ्नो जीवनमा प्रयोग गर्नुपर्छ । हाम्रो शरीर कुनै पनि हिसाबले एक्सपेरिमेन्ट गर्ने थलो हैन । यसप्रति सजग होऔं ।
मुटु स्वास्थ्य विषयमा निम्नलिखित केही स्रोतहरु मान्यताप्राप्त र विश्वसनीय छन् : edlinePlus, Mayo clinic, nih.gov, Pub Med, World Health Organization, The NHS Website, “amilydoctor.org, Cochrane.org, American College of Cardiology, European Society of Cardiology etc.