चपाएर खानुको फाइदा



– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

मीठो खाना खाउँला भन्ने सोचका साथ मानिसहरु कडा परिश्रम गरिरहेका हुन्छन् तर खाने बेलामा अनेक थरी काम गर्दै खाना खान बस्छन् । कोलाहल र चञ्चल मनले खाना खान बस्दा न स्वाद पाइन्छ, न खानाको मिठास नै । पेटमा खानाको मात्रा धेरै पुग्ने मात्र हुन्छ । यसरी पेट त टनाटन भरिन्छ तर जिब्रोले स्वाद लिन पनि पाएको हुँदैन र मनमा सन्तुष्टि पनि मिल्दैन ।

पेट भरिँदा त्यो खबर पेटबाट मस्तिष्कसम्म पुग्न लेप्टिन र घ्रेलिन नामका हर्मोन उच्च तहमा पुग्नुपर्ने हुन्छ । जसको लागि २० देखि ४० मिनेट जति लाग्ने अनुसन्धानहरुले देखाएका छन् । नचपाई हतार गरेर खाँदा लगभग १५ मिनेटमा खाने काम सकिन्छ र आवश्यकताभन्दा बढी खाना पेटमा पठाइन्छ । फलतः मोटोपनको समस्या आउँछ । भोजनको प्रयोगद्वारा स्वस्थ बन्न पौष्टिक वा सन्तुलित खाना हुनु जति जरुरी हुन्छ, त्यसभन्दा बढी महत्वपूर्ण भोजन गर्ने तरिका, भोजन गर्ने समय, भोजन पकाउने तरिका आदि अझ बढी महत्वपूर्ण हुन्छ ।

सन्तुलित भोजनको रुपमा कार्बोहाइड्रेट, प्रोटिनसँगै फाइबर, भिटामिन, मिनरल आदि सबै पोषक तत्वहरु मिलाएर खाए पनि ती सबै शरीरले प्राप्त गर्छ नै भन्ने हुँदैन । शरीरले ती पोषक तत्वहरुबाट के कति ग्रहण गर्दछ भन्ने कुरा अन्य धेरै विषयमा निर्भर रहन्छ । त्यही भएर होला आयुर्वेदीय पोषण विज्ञानले ‘यु आर ह्वाट यु डाइजेस्ट एन्ड एसिमिलेट’ लाई मान्दछ ।

हतार–हतारमा नचपाई खाना पेटमा पठाउँदा पेटमा ब्याक्टेरियाको संख्या बढ्छ, अपच हुन्छ, ढ्याउ आउँछ, ग्यास निस्किन्छ, पेट फुल्छ, पेट दुख्छ, पेट कराउँछ, पखाला लाग्छ । साथै कब्जियत, कोलाइटिस, इरिटेबल बौवेल सिन्ड्रम आदि समस्या देखिन्छ ।

घाँसमात्र खाने साँढे वा अन्य जनावर सबैभन्दा बढी मांसपेशी (प्रोटिन) भएको जनावर मानिन्छ । जब कि घाँसमा प्रोटिनको मात्रा धेरै कम हुन्छ । अतः शरीरले कुनै पनि खानाबाट के पोषक तत्व अवशोषण गर्ने कुरा उसको मानसिकता (माइन्डको कन्डिसनिङ) ले पनि निर्धारण गर्दछ । खाइएको सन्तुलित खानाबाट शरीरका लागि आवश्यक पोषक तत्वहरु सम्यकरुपमा प्राप्त गर्नका लागि चरक संहितामा ८ विशेष आयतनहरुको उल्लेख गरिएको छ । जसअन्तर्गत खाद्यपदार्थको प्रकार, पकाउने विधि, खाद्यपदार्थको मिश्रण, खानाको मात्रा, खाना खाने समय, खाना खाने स्थान, खाना खाँदाको नियम र खाद्यपदार्थ खाने व्यक्तिगत बानी आदि पर्दछ ।

खाना खाँदा अपनाउनुपर्ने नियमहरुमध्ये ३२ पटक चपाएर खाना खानुपर्ने नियमलाई मात्र जीवनमा बोधपूर्वक जोड्न सक्दा त्यसबाट मोटोपनको विश्वव्यापी समस्याबाट निःशुल्क, सहज, सुलभ एवं स्वाभाविकरुपमा मुक्ति पाउन सकिन्छ । चपाउनु भनेको अचेत (अर्धस्वचालित) क्रिया हो । यसलाई व्यक्तिको बोध र बुद्धिबाट नियन्त्रण गर्न सकिन्छ । खाना चपाउने काममा दाँत र जिब्रोको प्रत्यक्ष संलग्नता रहेको हुन्छ । खाना टुक्र्याउनका लागि दाँतसँग प्रतिइन्च १२० एलबीएस सम्मको चाप दिन सक्ने शक्ति हुन्छ ।

खानाको स्वाद लिन सक्ने क्षमता जिब्रोबाहेक अन्य कुनै अंगमा हुँदैन । जिब्रोमा ६ प्रकारका (गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो) स्वाद पारखी विशेष कोषहरु हुन्छन् । यी स्वाद पारखी कोषहरु भोक र सन्तुष्टिका कारक हुन्छन् । खानाको स्वादमा रमाउने हो भने जति सक्दो बढी समय खानालाई दाँत र जिब्रोका बीचमा राखिनुपर्छ । जिब्रोमुनिबाट निस्कने लाइपेज इन्जाइमले बोसोमाथि प्रारम्भिक भौतिक क्रिया गर्दछ ।

जुलाई २० सन् २०११ मा ‘अमेरिकन जर्नल अर्फ न्युट्रिसन’ मा जिअ लिअ र उनका ६ जना साथीहरुद्वारा तयार गरिएको एक अध्ययन प्रतिवेदन प्रकाशित गरिएको छ । चपाएर खाना खाँदा त्यसबाट शरीरमा हुने ऊर्जा आपूर्ति र उनीहरुको पाचन नलीमा उत्पन्न हुने हर्मोनको घनत्वको अध्ययन गरिएको थियो । अध्ययनमा १६ जान दुब्ला र १४ जना मोटा मानिसहरु समावेश थिए । मोटा र दुब्ला दुवै समूहलाई २२०० किलो क्यालोरी (६८ प्रतिशत क्यालोरी काब्रोहाइड्रेट, २१ प्रतिशत क्यालोरी बोसो र ११ प्रतिशत क्यालोरी प्रोटिनयुक्त) भएको टेस्टिङ मिल (खाना) खान दिइएको थियो । दुवै समूहलाई एकपटक प्रति १० ग्राम खाना, १५ चोटि चपाएर र फेरि अर्को १० ग्राम खाना ४० पटक चपाएर खान लगाइएको थियो । परिणामतः दुब्लाभन्दा मोटा मान्छेहरुले तुलनात्मकरुपमा प्रतिग्राम खानालाई छिटो–छिटो र कम चपाएर खाएका थिए । मोटाहरुले दुब्लाहरुभन्दा ११.९ प्रतिशत बढी खाना खाएको पाइएको थियो । ४० पटक चपाउनेहरुले १५ पटक चपाउनेहरुभन्दा कम क्यालोरी ऊर्जा ग्रहण गरेको पाइएको थियो भने उनीहरुको रगतमा पोस्ट प्रान्डियल घ्रेलिन हर्मोनको मात्रा कम देखिएको थियो ।

हतारमा खाना खाँदा, के खाइएको हो, कति खाइएको हो, त्यो पनि थाहा हुँदैन । पेट भरेर घाँटीसम्म आएपछि बल्ल पेट भरेको थाहा हुन्छ । यसरी पाचनरस पनि सहीरुपमा सक्रिय हुन पाउँदैन । अशान्त मनले खाइएको खाना पेटमा पुगेर त्यसले पाचन बिगार्ने र मन्द विष उत्पादन गर्ने गर्दछ ।

भान्सामा टिभी राख्ने वा टिभी भएको कोठामा खाना खाने चलन अहिले बढ्दो छ । टिभी हेर्दै, मोबाइल चलाउँदै, गफ गर्दै खाने संस्कृति नै विकास हुन थालेको छ । आमा–बुबाहरु बच्चाहरुलाई जहिले पनि हतारमा छिटो–छिटो खाना खुवाई स्कूल बस चढाउने गर्दछन् । बच्चाहरु टिभीको रिमोट नलिई खाना खान मान्दैनन् । यी मोटोपन हुनुका कारणहरु हुन्, जसलाई बोध गरिएको छैन । हतारमा खाना खाँदा, के खाइएको हो, कति खाइएको हो, त्यो पनि थाहा हुँदैन । पेट भरेर घाँटीसम्म आएपछि बल्ल पेट भरेको थाहा हुन्छ । यसरी पाचनरस पनि सहीरुपमा सक्रिय हुन पाउँदैन । अशान्त मनले खाइएको खाना पेटमा पुगेर त्यसले पाचन बिगार्ने र मन्द विष उत्पादन गर्ने गर्दछ ।

हतार–हतारमा नचपाई खाना पेटमा पठाउँदा पेटमा ब्याक्टेरियाको संख्या बढ्छ, अपच हुन्छ, ढ्याउ आउँछ, ग्यास निस्किन्छ, पेट फुल्छ, पेट दुख्छ, पेट कराउँछ, पखाला लाग्छ । साथै कब्जियत, कोलाइटिस, इरिटेबल बौवेल सिन्ड्रम आदि समस्या देखिन्छ । खानालाई टुक्रा गरी पचाउन पेटको एसिडलाई कडारुपमा प्रस्तुत हुनुपर्दछ । यसरी खाना पच्न बढी समय लाग्छ । पेटले बढी बल लगाउनुपर्छ । ‘फिजियोलोजी एन्ड बिहेभियर’ नामक जर्नलमा १५ जुलाई सन् २०१५ मा सोफी माइक्ल र समूहद्वारा प्रकाशित एक अध्ययन शोधप्रतिवेदन प्रकाशित भएको छ । चपाएर खाँदा त्यसले भोक, खानाको मात्रा र पाचननलीमा रसाउने हर्मोनहरुमाथि पार्ने प्रभावसम्बन्धी १० वटा पूर्वअध्ययनलाई विश्लेषण गरिएको यस शोध प्रतिवेदनका अनुसार चपाएर खाना खाँदा त्यसले पाचननलीका हर्मोनहरुको सक्रियतालाई घटबढ गर्दछ । फलतः स्वघोषित भोक घट्छ र खाइने खानाको मात्रा घट्ने हुन्छ ।

सबै काम छोडेर, शान्त मन र एकान्त स्थानमा भोजन गर्नुपर्छ । यसरी खाना र इन्द्रियहरुसँग प्रत्यक्ष सम्बन्ध स्थापित हुन्छ । भोजनप्रति आकर्षण, श्रद्धा, प्रेम र उत्साह जाग्छ । खानाप्रतिको आकर्षण र बासनाले एच्.सी.एल., कोलेसिस्टोकाइनिन, सोम्याटोस्टाटिन र न्यूरोटेन्सिन आदि रसहरु ५० प्रतिशतले बढ्ने गर्दछ । यसरी थोरै खाए पनि पेट भर्छ, मन सन्तुष्ट बन्छ । शरीरमा पोषक तत्वहरुको अनावश्यकरुपमा संग्रह हुन पाउँदैन । खाना कतिपटक चपाउने भनेर कुनै निश्चित संख्या तोकिएको कतै पाइन्न । तर प्रत्येक गाँसमा ३२ वटै दाँतबाट यात्रा गर्नुपर्दछ भन्ने अर्थमा ३२ पटक चपाउनुपर्छ भन्ने मान्यता छ । यो औसत संख्या मात्र हो । पाचन क्रिया मुखबाट शुरु हुन्छ । भनिन्छ, लगभग ५० प्रतिशत पाचन मुखमै हुन्छ । मुखमा हुने स्यालेभरी अल्फा एमाइलेज निकाल्ने ग्रन्थि मुखमा हुन्छ, जसले सुगर र स्टार्चलाई टुक्र्याउँछ ।

अमेरिकी ‘युनिभर्सिटी अफ इन्डियन पोलिस’ का डा. क्येसडीले १३ जनालाई ५५ ग्राम बदाम खान दिई १० पटक, २५ पटक र ४० पटक चपाएर खान लगाएका थिए । त्यसपछि खाएको ३ घण्टापछिसम्म उनीहरुको भोकको परीक्षण गरिएको थियो । जसले ४० पटकसम्म चपाएका थिए उनीहरुमा अरुभन्दा कम भोक लागेको पाइएको थियो । नेदरल्यान्डको ‘युनिभर्सिटी अफ ब्यंगजेनिनजेन’ का २१ वर्ष उमेर समूहका २६ जनामा गरिएको यस्तै अनुसन्धानमा माथिको जस्तै परिणाम प्राप्त भएको थियो ।

चपाएर खाँदा ¥यालको उत्पादन १० गुणाले बढ्छ, खानाको टुक्रा सानो–सानो हुँदा इन्जाइमहरुले खानामाथि रासायनिक प्रतिक्रिया गर्न अधिक क्षेत्र उपलब्ध हुन्छ । अतः हरेक खानालाई बोधपूर्वक ३२ पटकसम्म चापएर खान सके त्यसले खानाको मात्रामा नियन्त्रण हुन्छ । फलतः मोटोपन नियन्त्रण गर्न सक्छ । चपाएर खाँदा जिब्रोलाई स्वाद, मनलाई शान्ति र सन्तुष्टि पनि प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्