– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)
महिनावारी हुने प्रक्रियाले महिला जगत्लाई साह्रै अन्यायमा पारेको छ । प्रकृतिलाई त दोष दिन मिल्दैन, किनभने सृष्टिको निरन्तरताका लागि महिनावारी प्रक्रिया जरुरी छ । प्रकृतिले यो जिम्मा महिलालाई प्रदान गरेको छ । महिनावारीले नै प्रजनन क्षमता इंगित गर्दछ । तर यही महिनावारीलाई लिएर मानव जातिले भने विभिन्न नियम, कानुन, पाप, धर्मको कुरा अघि सारेर महिलाको जीवनलाई थिलथिलो नै बनाइदिएको छ ।
किशोरी अवस्थामा पुगेपछि पनि महिनावारी शुरु भएन भने परिवारलाई पीर पर्न थाल्छ । महिनावारी शुरु भैसकेकी किशोरी वा पति विदेशमा रहेकी बुहारीको समयमै महिनावारी भएन भने पनि गर्भ रह्यो कि भन्ने आशंका शुरु हुन्छ । अप्रत्याशितरुपमा गर्भ रहन गयो भने त काण्ड पुगिहाल्छ ।
कलेजो, मुटुमा खराबी उत्पन्न भई, उच्च रक्तचाप, थाइराइड ग्रन्थिको काम घटबढ हुनाले एवं रगत नजम्ने समस्या तथा रगतको क्यान्सरले पनि असामान्य प्रकारको महिनावारी हुनसक्छ ।
प्रजनन उमेरमा पाठेघरमा मासु पलाएर, गर्भ रहेको बिग्रेर, कतिपय परिवार नियोजनका साधनका गलत प्रयोग वा साइड इफेक्ट भएर, पाठेघरको मुख वा पाठेघरमा क्यान्सर भएर पनि महिनावारी गडबड हुन्छ । यस्तो खाले समस्याका कारण महिनावारी ढिलो भएको अवस्थामा पनि अरुले गर्भ रह्यो कि भनेर आशंका गरिहाल्छन् । बुढ्यौलीका कारण महिनावारी सुकिसकेकी महिलामा फेरि पछि कुनै बेला हल्का महिनावारी भयो भने पनि अनावश्यक तनावको विषय बन्छ । तर यी सबै खाले समस्याबाट किशोर वा पुरुषलाई चाहिँ हाइसन्चो छ ।
बुढेसकालमा किन देखा पर्छ रगत ?
किशोरी वस्थामा प्रवेश गरेपछि प्रायः महिलाको महिनावारी शुरु हुन्छ । तर महिनावारी चक्र महिलापिच्छे फरक–फरक हुनसक्छ । अधिकांश महिलामा २६ देखि ३४ दिनमा र केही महिलामा २१ देखि ३५ दिनको अवधिमा महिनावारी हुनसक्छ । नियमित तथा सामान्य प्रकारको महिनावारीभन्दा तल–माथि (फरक) हुनासाथ असामान्य मानिन्छ । किशोरी वा महिलाको उमेर समूहअनुसार यसको कारक तत्व फरक हुनसक्छ ।
असामान्य महिनावारी विभिन्न प्रकारको हुन्छ । नियमित अन्तरालमा हुने तर महिनावारी हुँदा बढ्ता रगत जाने वा धेरै दिनसम्म रगत जाने वा दुवै स्थिति हुनसक्छ । अर्को थरी असामान्य महिनावारीमा नियमित अन्तरालमा हुने तर छिटो–छिटो हुने (२१ दिनको अन्तरालभन्दा कम) वा ३५ दिनभन्दा बढ्ता अन्तरालमा (ढिलो–ढिलो) महिनावारी हुनसक्छ । असामान्य महिनावारीकै सिलसिलामा यदि हल्का (थोरै) मात्रामा रगत जाने एवं दुई दिनभन्दा कम समयसम्म मात्र जाने अवस्था पनि हुनसक्छ ।
माथि उल्लिखित अवस्थाहरु असामान्य नै भए पनि नियमित अन्तरालमा हुन्छ तर मासिक श्रावको अन्तराल नै अनियमित हुने परिस्थितिलाई मेट्रोरेजिया भनिन्छ । यसमा महिनावारी हुँदाको रगतको मात्रा पनि फरक–फरक हुनसक्छ । यसको अलावा पाठेघरको मुख छुनासाथ एवं महिनावारीको बीच–बीचमा हुने रक्तश्रावलाई पनि यसैमा समेटिएको छ ।
उमेर ढल्किँदै जाँदा महिनावारी गडबडी हुँदै जानु स्वाभाविक हो । तर कुनै पनि महिलामा पछिल्लोपटक १२ महिनासम्म महिनावारी नभएको अवस्थालाई रजोनिवृत्ति मान्नुपर्दछ । यसरी लामो समयसम्म महिनावारी बन्द भैसकेकी महिलामा योनिमार्गबाट फेरि रगत देखा पर्नु गम्भीर खालको स्त्रीजन्य समस्या
स्त्री जननेन्द्रियका कारण असामान्य महिनावारी हुनुका कारणहरुमा पाठेघरमा मासु पलाउने, पाठेघरको मध्य तह वा वरिपरि इन्डेमेट्रिओसिस हुनाले, कपर टी प्रयोगले, डिम्बबाहिनी नली वा डिम्बाशयमा डल्लो बन्नाले तथा पाठेघर मलद्वारतिर फर्किनाले महिनावारी हुँदा रगत बढी जाने वा धेरै दिनसम्म जाने हुनसक्छ । अत्यधिक मोटोपना, मानसिक तनाव, अत्यधिक शारीरिक अभ्यास, इन्डोक्राइन ग्रन्थिमा गडबडी, पाठेघरको भित्री तहको क्षयरोग, पाठेघरको भित्री तह एक–आपसमा टाँसिने, पिल्स चक्कीको अनियमित प्रयोग, कुपोषण आदि अन्य कारण हुन् । त्यसै गरी कलेजो, मुटुमा खराबी उत्पन्न भई, उच्च रक्तचाप, थाइराइड ग्रन्थिको काम घटबढ हुनाले एवं रगत नजम्ने समस्या तथा रगतको क्यान्सरले पनि असामान्य प्रकारको महिनावारी हुनसक्छ । यसको अलावा महिनावारी हुनको लागि टाउकोभित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थिदेखि डिम्बाशय एवं पाठेघरको भित्री तहबीच सामञ्जस्य हुनुपर्नेमा कतै खराबी उत्पन्न भयो भने पनि यस्तो समस्या उब्जिन सक्छ ।
तर पाठेघरको मुखको क्यान्सर हुँदा, पाठेघरको मुखमा मासु पलाउँदा, पाठेघरको मुखमा गर्भ बस्दा, पिल्स चक्कीको प्रयोगका कारण रक्तप्रवाह बढ्दा, पाठेघरको मुखमा क्लाइमाइडिया संक्रमण वा क्षयरोग लाग्दा तथा पाठेघरको मुखमा इन्डोमेट्रिओसिस हुँदा पाठेघरको मुख छुनासाथ रगत देखा पर्न सक्छ ।
डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन उमेरको अन्त्य ताका स्थायीरुपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ । यो क्रममा लगातार कम्तीमा १२ महिनासम्म महिनावारी हुँदैन । नेपालमा सामान्यतया ४० वर्षदेखि ५५ वर्षसम्ममा नेपाली महिलाहरुको महिनावारी सुक्ने गरेको छ । महिलाको उमेर घर्केपछि डिम्बाशयमा डिम्ब निख्रिनाले तथा टाउकोभित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थिदेखि पाठेघरको भित्री तहको आ–आफ्नो काममा शिथिलता आउनाले महिनावारी सुक्छ ।
महिनावारी सुकेपछि पुनः पाठेघर वा स्त्री जननेन्द्रियबाट रगत देखा पर्नु (रक्तश्राव हुनु) निको मानिँदैन । यस्तो अवस्थामा विभिन्न जाँच पड्तालबाट पाठेघर एवं यसको वरिपरिका अंप्रत्यंगहरुमा क्यान्सर छ/छैन निक्र्योल गर्नुपर्दछ । किनकि यो उमेर समूहका एक तिहाइ महिलामा अप्रत्याशितरुपमा पाठेघरबाट रक्तश्राव हुनुको कारण जननेन्द्रियको क्यान्सर नै हुनसक्छ ।
पाठेघरको भित्री तह चाउरिनाले, पाठेघरको मुख, डिम्बवाहिनी नलीको क्यान्सर हुनाले, पाठेघरमा मासु पलाउनाले, आङ खसी पाठेघरको मुखमा अल्सर हुनाले, पाठेघरमा लामो समय कपर टी राख्नाले वा बिर्सनाले तथा विनाकारण पनि पाठेघरबाट रक्तश्राव हुनसक्छ ।
यस्ता खाले बिरामीलाई महिनावारी सुकेको समयावधि, महिनावारी सुक्नुअगाडि रगत बग्ने मात्रा, अवधि तथा अन्तराल, आङ खस्ने समस्या, इस्ट्रोजेनयुक्त कुनै औषधिको सेवन तथा नजिकको नातेदार कसैलाई पाठेघर तथा डिम्बाशयको क्यान्सर भए/नभएको सोध्नुपर्दछ । बिरामीलाई अधिक मोटोपना, उच्च रक्तचाप, मधुमेह छ/छैन तथा स्त्री जननेन्द्रियको आन्तरिक परीक्षणबाट कतिपय कारक तत्वबाट ठम्याउन सकिन्छ । रगतको जाँच, भिडियो एक्सरे, पाठेघरबाट मासु निकालेर एवं पाठेघर तथा पेटमा दुरबिनको सहायताले जाँच (हिस्टेरोस्कोपी तथा ल्याप्रोस्कोपी) बाट पत्ता लगाउन सकिन्छ ।
महिनावारी सुकिसकेकी महिलामा रक्तश्राव हुनाको कारक तत्वअनुसार नै उपचार गर्नुपर्दछ । तर कुनै कारण पत्ता लागेन र रक्तश्राव पनि धेरै छैन भने बिरामीलाई नियमित निगरानीमा राखी आवश्यक जाँचहरु दोहोर्याइराखे पुग्छ । यदि पटक–पटक यस्तै समस्या दोहोरिरहेमा पाठेघर तथा दुवैतिरको डिम्बाशय निकाल्ने शल्यक्रिया गर्नु उपयुक्त हुन्छ । कथंकदाचित क्यान्सर लागेको निक्र्यौल भएमा शल्यक्रिया वा केमोथेरापी उपचार वा रेडियोथेरापी (बिजुलीले सेक्ने) आवश्यक हुनसक्छ । त्यसैले यस्तो समस्या (महिनावारी सुकिसकेकी महिलामा रक्तश्राव हुने) भएकी महिलाले समयमै जाँच पड्ताल एवं उपचारतर्फ लाग्नुपर्दछ ।