यौनजीवन र दम्पतीबीचको समझदारी



– डा. राजेन्द्र भद्रा

म ३५ वर्षीय महिला हुँ । मेरो १२ वर्षकी छोरी र ९ वर्षको छोरा छन् । मेरो श्रीमान् ४ वर्षपहिले खाडी मुलुक जानुभएको थियो । यस अवधिमा मैले कृषि व्यवसाय शुरु गरेँ । व्यवसाय राम्रै चलिरहेको छ । महामारी शुरु हुनासाथ श्रीमान् फर्कनुभयो र मैले शुरु गरेकै व्यवसायलाई मिलेर चलाउने सल्लाह भयो । लामो समयपछि साथै बस्न पाएकोमा रमाइलो पनि भयो । तर पछि सम्बन्ध चिसिन थाल्यो । मैले उत्पादन र उहाँले बाहिर बिक्री हेर्ने सोच भए पनि पहिलेदेखि मैले नै व्यवसाय चलाएको हुनाले मानिसहरूले मलाई नै फोन गर्छन् । तर उहाँलाई यो मन परेन, खुशी देखिनुहुन्न । यसरी असमझदारी बढेमा परिवार नै टुक्रिने हो कि भन्ने चिन्ता लागेको छ । केही सल्लाह पाउँछु कि ?

– शान्ति, पाल्पा

आत्मीयता तथा सम्बन्धहरु

मानव यौनिकताको कुरा गर्दा कतिपयले यो यौनसम्पर्कको कुरा मात्र हो भन्ने ठान्छन् । यो एक जटिल कुरा त हो नै । यसको क्षेत्र फराकिलो पनि छ । यसलाई सजिलोरुपमा बुझ्न यसका पाँच घेराहरूले सजिलो बनाउँछन् । जस्तो– ऐन्द्रिकता, आत्मीयता, यौन पहिचान, यौन स्वास्थ्य तथा प्रजनन र यौनिकीकरण ।

ऐन्द्रिकतामा इन्द्रियहरुबाट प्राप्त सुखको बारेमा चर्चा गरिन्छ । त्यसै गरी यौन पहिचानमा जैविक, लैंगिक पहिचान वा भूमिका अनि यौन परिचयको बारेमा चर्चा गरिन्छ । अनि यौन स्वास्थ्य तथा प्रजननको घेराले सन्तान जन्माउने, उनीहरूको लालनपालनदेखि विभिन्न यौनरोग (संक्रमण) का बारेमा चर्चा गरिन्छ । यौनिकीकरणमा यौन तथा यौनिकतालाई अन्य कसैलाई प्रभाव पार्न, नियन्त्रण गर्न प्रयोग गरिन्छ । यी मध्ये शारीरिक पक्षको नजिकपन ऐन्द्रिकताले दिने भए पनि भावनात्मक नजिकपन भने आत्मीयताले दिन्छ । दुई व्यक्ति सम्बन्धको विकासमा आत्मीयताले गहिरो भूमिका खेल्छ । सामान्य सम्बन्धबाट यौनसम्बन्धजस्तो अन्तरङ्ग सम्बन्धको लागि आत्मीयता र समझदारी चाहिन्छ ।

आत्मीयता अर्को व्यक्तिसँगको संवेगात्मक समीपता तथा जोडिएको स्थिति हुने एक विशेष भावनात्मक अनुभूति हो । आत्मीय सम्बन्ध जहिले पनि एक–आपसी विश्वास, हेरचाह वा वास्ता गर्ने अनि एक–अर्काको स्वीकार्यता नै मुख्य हो । आत्मीय सम्बन्धमा भएका व्यक्तिहरू अन्य व्यक्तिभन्दा बढी स्वस्थ, खुशी र सन्तुष्ट महसुस गर्ने गर्दछन् ।

हामी तुलनात्मकरुपमा बढी व्यक्तिवादी हँदै गएका र आफ्नो फाइदाको बारेमा बढी सोच्ने भएका छौं । यसको प्रभाव हाम्रो वैवाहिक जीवनमा पनि परेको नै छ ।

यौनजीवनको चासो र चिन्ता

हाम्रो जीवनमा यौनसम्बन्धी अनेक चासो र चिन्ता हुने गर्दछ । अन्य कतिपयय घरायसी मामिलामा राम्ररी नै सरसल्लाह गरेर समस्याको समाधान गर्ने दम्पतीमा पनि यौनसम्बन्धी मामिलामा सहजरुपमा समाधान गर्न सक्ने स्थिति हुँदैन । विवाह अवधिअनुसार दम्पती वा यौनजोडीमा आफ्नै चासो र चिन्ता प्रकट हुनसक्छ । कतिपयमा गर्भ रहने चिन्ता वा कहिले गर्भको लागि तयार हुने बारेका चासो हुनसक्छ । यसमा समझदारी नभएमा यौन क्रियाकलापमा नै नकारात्मक असर गर्दछ । सन्तान जन्माउने मामिलामा दुवैको गहिरो समझदारी चाहिन्छ । कतिपयलाई यौनरोगको सन्दर्भमा चासो र चिन्ता हुने गर्दछ । यसले दम्पतीभन्दा बाहिरको सम्बन्धलाई पनि संकेत गर्दछ ।

त्यसै गरी कतिपयमा लिङ्गको नाप, स्तनको आकार, कति मोटो वा मोटी वा दुब्लो वा दुब्ली छु वा सुन्दर देखिन्न कि भन्ने चिन्ताले सताउने गर्दछ । जस्तोसुकै स्थितिमा पनि मेरो जोडीले मलाई स्वीकार्छ भन्ने समझदारी आवश्यक हुन्छ । त्यसै गरी शीघ्र स्खलन, यौन सक्षमता, यौन सुख दिन नसकिएला, पीडायुक्त होला कि भन्ने जस्ता चिन्ताको कारणले समझदारीमा कमी आएमा त्यसले यौनजीवनमा नै नराम्रो असर पार्दछ । आफ्नो यौनजोडीको शारीरिक स्वरुप जस्तो छ त्यसै अनुरुप स्वीकार गर्नु बुद्धिमानी हुन्छ । त्यसै गरी कुनै पनि कार्य गर्दा कतिपय स्थितिमा तल–माथि पर्न सक्छ । फेरि अर्कोपल्ट राम्ररी कोशिश गरौंला भनेर यौनजोडीमा सहज स्थिति बनाउन सकिए समझदारी बढ्छ । यौनसम्पर्क गर्दाको चरमसुख पनि आलोपालो गरी लिन–दिन एक–अर्कालाई सहयोग गर्न सकिन्छ ।

असमझदारी हुने अर्को एक महत्वपूर्ण कारण विवाह इतर सम्बन्धको शंका हो । केही स्थितिमा यो यथार्थ पनि हुनसक्छ । दम्पती वा यौनजोडीबाहेक अर्को कसैप्रति लगाव छ कि वा सम्बन्ध छ कि भन्ने किसिमको शंका–उपशंकाले असमझदारीको बीजारोपण गर्दछ । हाम्रा वरिपरिका कतिपय व्यक्तिहरूले यसलाई मलजल गर्दछन्, जसले थप आगोमा घिउ थप्ने काम हुन्छ । व्यक्तिगतरुपमा पनि यो मनमा एकपटक पसेपछि निकाल्न निकै गाह्रो हुन्छ । यहाँ एक विचार गर्नुपर्ने कुरा के भने, जसरी तपाईंको ध्यान आफ्नो यौनजोडी वा श्रीमान् वा श्रीमतीबाहेक अरुमा जाँदैन भने पक्कै नै उसको पनि यस्तो स्थिति होला भनेर विश्वास गर्न सक्नुपर्दछ । यस्तो बेलामा आफ्नो जोडीको चियोचर्चामा समय र स्रोत खर्च गर्नुभन्दा स्पष्टसँग कुरा गर्ने गर्नुपर्दछ ।

बीसौं–पच्चीसौं वर्षसम्म फरक परिवेशमा हुर्केका व्यक्तिको जीवनमा अन्य व्यक्तिहरूसँग पनि पक्कै नै घनिष्ट सम्बन्ध रहेको हुनसक्छ । त्यस्ता व्यक्तिमध्ये केही विपरीत लिङ्गी पनि हुन सक्छन् । व्यवसायको सन्दर्भमा पनि धेरै नै परिचित–अपरिचित व्यक्तिहरूसँग स्वाभाविकरुपमा नै कुराकानी हुने गर्दछ । यस्ता कुरालाई लिएर यहाँ अनावश्यकरुपमा प्रणय सम्बन्ध थियो भन्ने कुरामा शंका गर्नु जायज हुँदैन । कसैसँग त्यति घनिष्टता थियो भने तपाईंसँग किन प्रणय सम्बन्ध वा विवाह हुन्थ्यो होला र ? वा आफ्नो घरपरिवारको उन्नतिको लागि मरिमेट्ने गरिन्थ्यो त ? यहाँ यस्ता साथीभाइ वा व्यवसामा संलग्न व्यक्तिसँगको सम्बन्धलाई स्वीकार गर्नुभएन भने झन् परतिर भाग्ने र सामान्य भेटघाटलाई पनि लुकाउनुपर्ने स्थिति आउँछ, जसले समझदारी र अनि सम्बन्धलाई झनै बिगार्छ ।

राम्रो आत्मीय सम्बन्ध र समझदारीको लागि खुला कुराकानी, एक–अर्कालाई शारीरिकका साथै मानसिक सहयोग, प्रेममय सम्बन्ध आवश्यक कुरा हुन् ।

समझदारी किन ?

जसै–जसै हामी अहिले तथाकथित आधुनिक समाजतिर अग्रसर छौं, हामी कतिपय सामाजिक तथा नैतिक मूल्यमान्यताको अवलम्बनमा कमजोर हुँदै गएका छौं । हामी तुलनात्मकरुपमा बढी व्यक्तिवादी हुँदै गएका र आफ्नो फाइदाको बारेमा बढी सोच्ने भएका छौं । यसको प्रभाव हाम्रो वैवाहिक जीवनमा पनि परेको नै छ । आत्मीयता र समझदारीको कमीको स्थितिमा दम्पती वा श्रीमान्–श्रीमती नभएर दुई व्यक्ति एकसाथ आफ्ना केही भौतिक आवश्यकताको परिपूर्तिको लागि साथ बसेको जस्तो मात्र छ । आत्मीय सम्बन्ध अनि समझदारीको विकास त्यसमा कसरी आनन्द लिने भन्ने सिक्न बिर्सिएका छौं । श्रीमान्–श्रीमती वा यौनजोडी वास्तवमा एक–अर्काका पूरक हौं भन्ने कुरा पनि याद गर्दैनौं । भनिन्छ, कतिपय स्थितिमा यो सुखी यौनजीवनको लागि प्रणय सम्बन्ध भन्दा पनि महत्वपूर्ण हुन्छ । हामीले देखेका छौं कि कतिपय स्थितिमा सानो असमझदारीले छुट्टिएर बसेका जोडीले एक हदसम्म माया गर्ने भए पनि साथै बस्ने स्थिति हुँदैन । तर गहिरिएर हेर्ने हो भने समझदारी र प्रणय सम्बन्ध पनि एक सिक्काको दुई पाटा वा पूरक नै हुन् ।

समझदारीको अर्थ हामीले माया गर्ने यौनजोडीको सन्दर्भमा सचेत, संवेदनशील र सहज हुनु हो । यहाँ कुनै व्यक्तिको बारेमा पर्याप्त जानकारी हुनु पर्याप्त छैन । यसको लागि व्यक्तिको भावनात्मक प्रज्ञानता चाहिन्छ । आत्मीय सम्बन्ध यौनजोडी वा दम्पतीको बीचको समझदारीको लागि आधार नै हो, जुन स्वस्थ यौनजीवनको लागि आवश्यक हुन्छ । कुनै पनि व्यक्ति सर्वगुणसम्पन्न हुँदैन, केही न केही कमी–कमजोरी सबैजसो व्यक्तिमा हुन्छ नै । दुवैले एक–अर्कामा भएका यस्ता कमी–कमजोरीलाई कोट्याउँदै मन दुखाउनुभन्दा जे–जस्तो स्थिति छ त्यसैलाई स्वीकार्नु श्रेयष्कर हुन्छ । घरायसी वा कामको बोझले अहिले एक–अर्कालाई पर्याप्त समय दिन नसकिने स्थिति पाइन्छ । दुवैजनाले समय–समयमा एक–आपसमा पर्याप्तरुपमा रमाइलो वातावरणमा एकान्तवास गर्ने परिस्थिति सृजना गर्नुपर्दछ । सम्बन्ध प्रणययुक्त हुनु त प¥यो नै, यसले एक–आपसमा विश्वास बढाउन र एक–अर्काप्रति समर्पित भएर जीवन बिताउने वातावरण निर्माण गर्दछ । राम्रो आत्मीय सम्बन्ध र समझदारीको लागि खुला कुराकानी, एक–अर्कालाई शारीरिकका साथै मानसिक सहयोग, प्रेममय सम्बन्ध आवश्यक कुरा हुन् ।

 

समझदारीको लागि आपसी सञ्चार

दुई व्यक्तिको बीचमा समझदारी हुन वा समझदारीको विकास हुन अन्तरव्यक्ति सञ्चार अत्यावश्यक हुन्छ । भाषाको विकास भएपछि हामी अहिले धेरै हदसम्म बोलेर नै अर्थात् मौखिकरुपमा आफ्ना भावना वा चाहना व्यक्त गर्ने गर्दछौं । तर मानव विकासको क्रममा यौन भाषाको विकासभन्दा पहिले नै भएको हुनाले सञ्चारको अमौखिकरुपमा हाउभाउ, हेराइ, स्पर्श, आलिङ्गन, सुमसुम्याइजस्ता कुराले हाम्रो जीवनमा अझै महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । त्यसैले यहाँ पनि ती सबै नै सञ्चारका तरिका अपनाइए आत्मीयता अनि एक–आपसी समझदारीलाई बलियो बनाउन सकिन्छ ।

यसको लागि आफ्नो यौनजोडीका कुरामा ध्यान दिने, दुईजनाले एकान्तवासमा पर्याप्त समय बिताउने, आफ्ना मनमा लागेका भावनाका साथै विचारहरू भन्ने, आफू तथा आफ्नो यौनजोडीले किन कुनै निश्चित किसिमको व्यवहार गरिरहेको छ सोको बारेमा बुझ्न प्रयास गर्ने गर्नुपर्छ ।

यौनक्रियाकलाप एकदमै अन्तरङ्ग सम्बन्ध हो । आफ्ना अपेक्षाको बारेमा पनि आफ्नो यौनजोडीलाई भन्नुपर्दछ । यस्ता अपेक्षाहरू धरातलीय यथार्थमा आधारित हुनुपर्दछ । यदि यस्ता अपेक्षाहरू आफ्नो यौनजोडीले पूरा गर्न नसकेको छ भने पनि कोमल तरिकाले भन्नुपर्दछ । यस्तो बेलामा दोष दिनु वा थोपर्नु बुद्धिमानी हुँदैन। प्रेम, आत्मीयता अनि समझदारी नै सुखमय यौनजीवनको आधार हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्