स्वास्थ्य पूर्वाधार निर्माणतिर सरकार



अस्पताल नभएका स्थानीय तहमा अस्पताल स्थापना गरी आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पु¥याउन सरकारले गत मंसिर १५ गते एकैचोटि मुलुकभर ३०९ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको छ । साथै अन्य आवश्यक स्थानमा यस्ता आधारभूत अस्पताल थप निर्माण गर्दै जाने बताएको छ । सोही दिन सरकारले सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने लक्ष्यका साथ तीनवटा सरुवा रोग अस्पतालको शिलान्यास पनि गरेको छ । अहिले चितवनको भरतपुर, कर्णालीको सुर्खेत र बाराको कलैया उपमहानगरपालिकामा सरुवा रोग अस्पतालको शिल्यान्यास गरेको हो ।

आधारभूत अस्पताल ५ देखि १५ शय्याका र सरुवा रोग अस्पताल ५० शय्याका हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ती सबै अस्पताल एकै डिजाइनका बनाइने र ती अस्पताल निर्माण तथा सञ्चालन गर्न आर्थिक स्रोतको व्यवस्था गरिसकिएको बताइएको छ ।

अस्पताल निर्माण तथा शुरु सञ्चालन खर्च करिब ५८ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । ५ शय्याको अस्पतालको निर्माण तथा सञ्चालन शुरु गर्न ८ करोड, १० शय्याका लागि ११ करोड र १५ शय्याको अस्पतालका लागि १८ करोड रुपियाँ लाग्ने अनुमानअनुसार बजेट छुट्याइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

५ शय्याको अस्पतालमा एकजना मेडिकल अधिकृतसहित १२ जना स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुईजना मेडिकल अधिकृतसहित १७ जना स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अधिकृतसहित २७ जना स्वास्थ्यकर्मी रहने गरी योजना बनाइएको जानकारी गराइएको छ । २०७७ मंसिर १५ गते शिल्यान्यास गरिएका आधारभूत अस्पताल र सरुवा रोग अस्पतालको निर्माण तथा सञ्चालन २०७९ मंसिरसम्ममा गरिसक्ने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सरकारले अस्पतालका लागि पहाडमा ९ रोपनी र तराईका जिल्लामा कम्तीमा १४ कठ्ठा जग्गा हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ ।

सबै स्थानीय तहमा आभारभूत अस्पताल सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ५१, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेशमा ५७, कर्णाली प्रदेशमा ४२ र सुदूरपश्चिम प्रदेशमा ५४ वटा आधारभूत अस्पताल निर्माण गरिने भएको छ । यसै गरी प्रत्येक प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ । मुलुकभर एकैचोटि यति ठूलो संख्यामा अस्पताल शिलान्यास हुनु स्वास्थ्य पूर्वाधार निर्माणका दृष्टिले ठूलो फड्को नै हो । हाल कोभिड–१९ को महामारी चलिरहेको र अस्पताल पूर्वाधारको अभाव खट्किरहेको सन्दर्भमा यति धेरै स्वास्थ्य पूर्वाधार निर्माणको थालनीलाई जनस्वास्थ्यको हिसाबले महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्