तपाईंका घरमा हाम्रा डाक्टर



जाडो मौसम शुरु हुनासाथ मलाई घाँटी दुख्ने समस्या हुन्छ, यस समस्याबाट कसरी बच्न सकिन्छ होला ?

– बच्चन कार्की, ढुंगेअड्डा ।

बच्चनजी, जाडोमा घाँटी दुख्ने समस्या चिसोले गर्दा हो । त्यो हावाबाट, पानी पिउँदा, न्यानो कपडा नलगाउँदा, चिसो खानेकुरा खाँदा जसरी पनि हुनसक्छ । यसबाट बच्नका लागि जाडोमा सधैँ न्यानो कपडा लगाउने, तातो पानी मात्रै पिउने, चिसो खानेकुरा केही नखाने (जस्तो– फ्रिजको), बेला–बेलामा मनतातो नून–पानीले घाँटी कुल्ला गर्ने, मुखले भन्दा नाकले श्वास फेर्ने गर्नुपर्छ । साथै सादा पानीको बाफ लिने गरेमा बच्न सकिएला । त्यति गर्दा पनि घाँटी दुखिरहेमा तुरुन्तै चिकित्सक भेटेर अवस्था हेरी निदान अनि उपचार गर्न आवश्यक छ ।

 

स्वास्थ्यका लागि मर्निङवाक गर्नु धेरै राम्रो भन्छन् । के बिहान नै हिँड्नु आवश्यक छ ? स्वास्थ्यका लागि हिँड्ने सही तरिका के हो ?

– दिनेश चाचन, कालिमाटी, काठमाडौं ।

दिनेशजी, मार्निङवाक भनेकै बिहान हिँड्नेलाई भनेको हो । त्यो राम्रो पनि हो । तुलनात्मकरुपमा बिहान हावा पनि सफा हुन्छ । धूलोका कणहरु जमिनमा थिग्रिएका हुन्छन् । शान्त वातावरण हुन्छ । तसर्थ हिँड्न आवश्यक नै छ । यदि बिहान हिँड्न सम्भव छैन भने दिनको अरु समयमा हिँडे पनि हुन्छ । त्यही हो, दैनिक नियमित कमसे कम ४० मिनेटदेखि एक घण्टासम्म पसिना आउने गरी छिटो–छिटो हिँड्नुपर्‍यो । यो सबै उमेर अनि बानी तथा शरीरको स्टामिनाअनुसार निर्णय गर्ने कुरा हो । साथै हिँड्दा वैज्ञानिक तरिकाअनुसार हिँड्नुपर्छ । शुरुको ३–४ मिनेट ‘वार्मअप समय’ अनि त्यसपछि छिटो–छिटो हिँड्ने, खास ‘हिँडाइको समय’ अनि अन्तिमको ३–४ मिनेट ‘समअप समय’ गरी समय मिलाएर हिँड्ने गर्नुपर्छ । आफ्नो शारीरिक अवस्थाअनुसार ठिक्क समयावधि निक्र्योल गर्नुपर्छ । जति हिँड्दा शरीर थाक्छ तर नकारात्मक वा अप्ठेरो हुँदैन त्यतिसम्म हिँड्न सकिन्छ । अर्थात् ठिक्कको नाडीको चाल निकालेर त्यतिसम्म हिँड्न सकिन्छ ।

 

मेरो अनुहार र ढाडमा मासको दानाजत्रा कोठी छन् । बढेको, दुखेको त छैन । यसलाई काट्नुपर्छ भन्छन् । के गर्दा ठीक होला ?

– सुनिता मल्ल, काठमाडौं ।

सुनिताजी, बढेको वा दुखेको छैन भने त्यस्ता कोठीहरू आउँदैमा केही हँुदैन । आत्तिनुपर्दैन जस्तो लाग्छ मलाई त । यदि नयाँ विज्ञानको कुनै व्याख्या आएको भएमा छालारोग विशेषज्ञसँग परामर्श गरेमा राम्रो होला । काठमाडौंमै भएकोले कि वीर अस्पताल, कि शिक्षण अस्पतालमा छाला विभागमा देखाएमा उचित सल्लाह पाइनेछ ।

 

म सानो हुँदा छातीमा आएको पिलो निको भए पनि दाग बसिरहेको थियो । अहिले ४६ वर्ष भएँ, त्यो दाग अझै दुखेको अनुभव हुन्छ । यसले कुनै हानि गर्छ कि ? सुझावका लागि अनुरोध छ ।

– जगत कार्की, भरतपुर ।

जगतजी, बच्चामै आएर ठीक भैसकेको पिलोको दागले खास केही गर्दैन । यदि भित्र पीप भएको भए वा भित्री घाउ रहेको भए अहिलेसम्म दुःख दिइसक्थ्यो होला, दुख्थ्यो वा पोल्थ्यो होला । साधारण दुखेजस्तो अनुभव मात्रै भएको कारण मनोवैज्ञानिक होलाजस्तो लाग्यो । पहिलेको दाग देखेर भएको अनुभव मात्रै हो ।

 

म ५२ वर्षको भएँ । राति ३ बजेतिर ब्युँझेपछि निद्रा लाग्दैन । उठेपछि निद्रा नपुगेको अनुभव हुन्छ । यो समस्यालाई कसरी हटाउन सकिएला ?

– तरुण कार्की, बालाजु, काठमाडौं ।

तरुणजी, मान्छेलाई स्वस्थ रहन येथेष्ट अर्थात् कमसेकम ७ घण्टा सुताइ आवश्यक हुन्छ । त्यो लामो समय प्राप्त नभएमा बौद्धिक उत्पादकत्व घट्छ, मानसिक स्वास्थ्यमा प्रभाव पर्छ, शारीरिक स्वास्थ्यमा प्रभाव पर्छ । निद्रा नपुगेको अनुभव हुनु स्वाभाविकै हो । अब कसरी निद्रा पुर्‍याउने भन्नेतिर सोच्न जरुरी छ, जसको लागि नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, सकारात्मक सोच्ने, ध्यान–योग गर्नेतिर लाग्नुस् । यति गर्दा पनि नभएमा एकपटक फिजिसियन वा मनोवैज्ञानिकलाई भेटेर उचित परामर्श लिने सल्लाह दिन्छु ।

 

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्