प्रा. गोमादेवी निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा प्रमुख अस्पताल नर्सिङ प्रशासकका साथै नेपाल नर्सिङ काउन्सिलका अध्यक्षसमेत हुनुहुन्छ । विगत ३६ वर्षदेखि अनवरतरुपमा नर्सिङ सेवाका साथै अध्ययन–अध्यापनमा तल्लिन प्रा. निरौला वि.सं. २०३८ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत विराटनगर नर्सिङ कलेजको स्टाफ नर्स पढ्ने पहिलो ब्याचमा प्रथम स्थान हासिल गर्नुहुने नर्स हुनुहुन्छ । २०४६ सालमा ब्याचलर अफ कमर्स, २०५१ सालमा ब्याचलर इन नर्सिङ, २०५९ सालमा मास्टर इन नर्सिङ इन ओमेन हेल्थ एन्ड डेभलपमेन्ट र २०७१ सालमा मास्टर इन सोसियोलोजी गर्नुभएकी उहाँ अनुभवी स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँले २०४१ सालदेखि कार्यारम्भ गरेर ११ वर्ष त्रि.वि. शिक्षण अस्पतालमा स्टाफ नर्स भई कार्य गर्नुभएको थियो । २०५२ देखि भरतपुर अस्पतालबाट सिस्टर इन्चार्जका रुपमा सरकारी सेवा शुरु गरी विभिन्न तह र क्षेत्रका अस्पतालमा विभिन्न पदमा काम गर्दै २०७० देखि वीर अस्पतालमा प्रमुख अस्पताल नर्सिङ प्रशासकका साथै २०७१ सालदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा प्राध्यापक पनि हुनुहुन्छ । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :
तपाईं नर्सिङ पेसाप्रति कसरी आकर्षित हुनुभयो ?
अस्पतालमा नर्सहरुले सेतो ड्रेस लगाएर बिरामीको स्याहार गरेको देख्दा नर्सिङ पेसा अँगाल्ने चाहना बढेको थियो । सानैदेखि घरपरिवार र समाजमा कोही बिरामी भए, चोटपटक लाग्यो भने निडर भएर प्राथमिक उपचारमा जुट्थेँ । मेरो स्वभावलाई बुझेर आमा, बुबा, दिदी र दाजुहरुले नर्स पढ्न साथ दिनुभयो ।
वर्तमान कोभिडको महामारीको अवस्थामा नर्सिङ सेवा कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
कोरोना र ननकोरोना दुवै खाले बिरामी हेर्नुपर्ने तर कर्मचारी तथा नर्सिङ स्टाफहरु नथपिँदा जनशक्तिको अभाव भएको छ । विश्वकै लागि नयाँ सरुवा रोग महामारीका रुपमा फैलिएकोले शुरुमा त ड्युटी गर्नै डराउने अवस्था आयो । कतिपय नर्स गर्भवती तथा साना दुधे बच्चा भएकाले ड्युटीमा खटाउन चुनौती भयो । बच्चा हुर्किएका र विवाह नभएका नर्सको लिस्ट बनाएर ड्युटीमा खटाउँदै सबै नर्सहरुलाई राखेर कोरोनाबाट कसरी बच्ने र बचाउने भन्ने तालिम पनि दियौं । अहिले त धेरै बुझिसके तर पनि गर्भवती र एक वर्षमुनिका बच्चा भएका नर्सलाई कोभिड वार्डमा खटाएका छैनौँ । जे होस्, शुरुका दिनमा भन्दा अहिले सहज भएको छ ।
जनशक्तिको अवस्था कस्तो छ ?
वीर अस्पतालमा ०४६ सालमा सृजना गरेको दरबन्दीले नै काम गरिरहेको अवस्था छ । त्यसमा डेढ वर्षअघि मात्र सरकारले ४५ जना थप गरेको छ । वीर अस्पतालमा डाक्टरहरु विशेषज्ञ भएर आएपछि सेवाहरुचाहिँ थपियो तर नर्सिङ जनशक्ति बढाएको छैन । सेवा विस्तार गर्दै जाने, नर्सिङ जनशक्ति नथपिने अवस्थामा गुणस्तरीय सेवा पाउनबाट बिरामी वञ्चित हुन्छन् ।
वीर अस्पतालमा नर्सहरु कत्तिको क्षमतावान् लाग्छ ?
नेपाल सरकारको स्थायी पदमा आउने नर्सहरु लोक सेवा लडेरै आएका हुन्छन् । धेरै जनाका बीचमा प्रतिस्पर्धा गरी छानिएर आएका नर्सहरुले राम्रै अध्ययन र मेहनत गरेका हुन्छन् । वीर अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, बीपीकेएच लगायतमा पढेका नर्सहरु नै बढी छनोटमा परेका छन् । यी शैक्षिक केन्द्रमा शिक्षकदेखि विद्यार्थीसम्म दक्ष हुन्छन् ।
नर्सिङ पढेकाहरु विदेशतिर धेरै गइरहेको सुनिन्छ, यसको कारण के होला ?
बीएस्सी नर्सिङ पढ्नेहरु २० वर्षको हाराहारीका हुन्छन् भने प्रवीणता प्रमाणपत्र गर्नेहरु १८ देखि १९ वर्षका हुन्छन् । पढेर केही गरौँ भन्ने जोश–जाँगर भएको ऊर्जाशील समय हो यो । तर पढाइ सक्नासाथ रोजगारी नपाउने र पाइहाल्यो भने प्राइभेटले न्यून पारिश्रमिक दिने हुन्छ । आफूले पढ्दा लाखौँलाख खर्च हुन्छ र कमाइ कम हुने भएकै कारण विदेशिने बढी भएको देखिन्छ ।
यस विषयमा नर्सिङ संघले के गरिरहेको छ त ?
नेपाल सरकारले प्रमाणपत्र तह पूरा गरेको नर्सको न्यूनतम पारिश्रमिक २८ हजार २ सय ९० तोकेको छ । प्राइभेटमा १० हजारदेखि शुरु गरेका हुन्छन् । धेरै भनेको १६ देखि १७ हजारभन्दा बढी पाएका छैनन् । प्राइभेटमा काम गर्ने अधिकांशले यसरी नै काम गरेका छन् । विद्यार्थी हुँदैदेखि रातिको ड्युटी गर्नुपर्ने, बिरामीको स्याहार गर्नुपर्ने, बिरामीलाई हेरविचार गर्नुपर्ने यो सजिलो पेसा होइन । उनीहरुले गरेको मेहनतअनुसारको पारिश्रमिक हुनुपर्छ भन्ने हाम्रो भनाइ छ ।
नर्सिङ शिक्षा लिन चाहनेलाई के सुझाव दिनुहुन्छ ?
कतिले नर्सिङ बुझेर आउँछन् भने कतिले नबुझेर पनि आउँछन् । कतिले विदेश जाने उद्देश्यले नै पढेका हुन्छन् । नर्सिङ पढ्नेमा सेवाको भावना हुनुपर्छ । पहिला हामीले पढेको नर्सिङ र अहिलेको नर्सिङ आकाश–जमिनको फरक लाग्छ । हामीले पेसा शुरु गर्दा बिरामीलाई धेरै हेरविचार गथ्र्यौं । अहिले बिरामीलाई छुनु, हेर्नु नपरोस् भन्ने खालको मानसिकता भएको देखिन्छ । राम्रो गर्ने पनि हुन्छन् । शिक्षकहरु अनुभवी भए भने राम्रो शिक्षा पाउँछन् । शिक्षकहरुलाई नै व्यावहारिक ज्ञान नहुँदा विद्यार्थीको गुणस्तर खस्किन पुग्छ ।
सुधार कसरी गर्न सकिन्छ ?
उत्पादनमै गुणस्तर कायम गर्नुपर्छ । नेपाल सरकारले नै उत्पादित जनशक्तिको प्रयोगका लागि योजना बनाउनुपर्छ । अहिले चिकित्सा शिक्षा आयोग पनि बनेको छ । आयोगले नै स्वास्थ्य क्षेत्रका सबै उत्पादनको गुणस्तर अनुगमनदेखि पाठ्यक्रम तय गर्नुपर्ने ऐनमा तोकिएको छ । चिकित्सा शिक्षा ऐन २०७५ ले काउन्सिलका धेरै कामहरु आयोगले गर्ने गरी जिम्मेवारी तोकेको छ । आयोगमा नर्सिङका प्रतिनिधिसमेत अटाउने ठाउँ राखिएको छैन । नर्सिङको स्पेसालिटिका बारेमा डाक्टरलाई भन्दा नर्सलाई नै बढी थाहा हुन्छ । चिकित्सा शिक्षा आयोगमा नर्सिङको प्रतिनिधित्व नै नभएकाले नर्सिङ शिक्षाको गुणस्तर कतातिर जान्छ भन्ने चिन्ताको विषय भएको छ ।
कोरोना महामारीको यो अवधिमा वीर अस्पतालका नर्सहरुले कुनै पीडाको सामना गर्नुपर्यो कि ?
शुरुका दिनमा हामीलाई नै रोग लाग्ला, परिवारलाई सारिएला भन्ने डर थियो । अस्पताल व्यवस्थापनले कोरोना संक्रमितको सेवामा खटिएका चिकित्सक, नर्स, कर्मचारीलाई आइसोलेसन र क्वारेन्टिनमा राख्ने व्यवस्था त मिलायो तर डरका कारण सकेसम्म ड्युटी गर्नु नपरे हुन्थ्यो भन्ने पनि भयो । पछि–पछि डर कम हुँदै गयो । शुरुका दिनमा त पीपीई कम हुँदा झन् डर बढ्यो । नर्समात्र नभई डाक्टरहरु झनै डराएर बोलाएको समयमा नआउने, बिरामीको अवस्था नाजुक हुँदै जाने अवस्थामा बिरामीका आफन्तको खप्की नर्सले नै खानुपर्ने अवस्था पनि आयो । नेपालमा कोरोनाका बिरामीको उपचार र हेरचाहमा डाक्टरको भन्दा नर्सको भूमिका अहम् रह्यो भन्दा पनि हुन्छ ।
वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु कत्तिको संक्रमित हुनुभयो ?
वीर अस्पताल रिफरल केन्द्रीय अस्पताल हुनुका साथै काठमाडौंको केन्द्रमा रहेको अस्पताल भएका कारण सबै खाले बिरामी आउने हुँदा डाक्टर, नर्स, प्यारामेडिक्स गरी झन्डै ५ सयको हाराहारीमा स्टाफहरु संक्रमित भए । अहिले पनि केही स्टाफहरु संक्रमित छन् । एकैपटक धेरैजना स्टाफ संक्रमित हुँदा २ देखि ३ हप्ता काम गर्न नसक्ने भएकाले व्यवस्थापन गर्नै कठिनाइ भयो ।
कोरोना महामारीका समयमा समाज र परिवारको व्यवहार कस्तो पाउनुभयो ?
नेपालको परिवेश र व्यवहारका कारण कतिजना सरसफाइमा खटिने कर्मकारीका साथै सिनियर नर्सिङ स्टाफहरुले पनि डरले राजीनामा नै गरे । धेरैजसो सरसफाइमा खट्नुपर्ने कर्मचारीलाई घरबेटीले हेर्ने दृष्टिकोण कडा भएको पाइयो । कतिलाई पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट नल्याएसम्म घरभित्र प्रवेश नदिनेसम्मका व्यवहार भए । त्यसपछि ड्युटीमा खट्नेका लागि अस्पताल व्यवस्थापनले नै क्वारेन्टिनको व्यवस्था मिलायो ।
यस्तो खालको महामारीका विषयमा कोर्समा पढाइ हुन्थ्यो कि हुँदैनथ्यो ?
झाडापखाला, टाइफाइड, कोलेरा, टीबीजस्ता महामारी पहिला पनि हुन्थे र कोर्समा पढाइ हुन्थ्यो । तर कोरोना त विश्वकै लागि नयाँ हो । विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्ड, स्वास्थ्य मन्त्रालयका निर्देशिका र अनुसन्धानबाट निस्किएका निष्कर्ष नै हाम्रो लागि मार्गनिर्देशन हो । यही खालको रोगका बारेमा अहिलेसम्म कोर्समा थिएन । अब यस्ता विषय पनि कोर्समा समावेश हुनुपर्छ ।
कोरोनाको महामारी यथावत् नै रहेको बेला राजनीतिक उतारचढाव बढेको छ । यस सन्दर्भमा के भन्न चाहनुहुन्छ ?
राजनीतिक उतारचढावले कोरोनाको महामारी झनै फैलन सक्ने देखिन्छ । नयाँ खालको कोरोना बेलायतमा फैलिएसँगै विभिन्न देशमा लकडाउन गरेको अवस्था छ । संक्रमण नियन्त्रण गर्न अरु मुलुक चनाखो भैरहेको अवस्थामा नेपालमा भने सबै क्षेत्र खुल्ला छ । यसले पछि भयावह स्थिति ननिम्तेला भन्न सकिन्न । यदि त्यस्तो भयो भने धेरैको ज्यान नै जान सक्ने अवस्था पनि हुन सक्छ ।
नर्सको उत्पादन र खपतको स्थिति कस्तो छ ?
नर्सको उत्पादन धेरै भैरहेको छ तर खपत कम छ । नेपाल सरकारमा जम्माजम्मी अनमीसम्म गर्दा १३ देखि १४ हजारको हाराहारीमा खपत छ । उत्पादन धेरै तर खपत कम हुँदा र बेरोजगारी बढेकै कारण प्राइभेट अस्पताल, क्लिनिकहरुमा न्यूनतम पारिश्रमिक पनि नपाई काम गरेको अवस्था छ । यसले गर्दा पेसाप्रति उत्साहित र जिम्मेवार हुन नसकेको देखिन्छ । आफूले लाखौं लगानी गरेर हासिल गरेको ज्ञान–सीप दिँदा उत्तिकै सेवा–सुविधाको अपेक्षा हुनु स्वाभाविक नै हो । सेवा–सुविधाले काम गर्न उत्साहित र जिम्मेवार बनाउँछ नै । अर्कोतर्फ धेरै निजी क्षेत्रबाट उत्पादन हुने हुँदा गुणस्तरीयतामा कमी आएको छ । कारण, दक्ष जनशक्तिको अभावमै पढाइ हुने, काउन्सिलले निर्धारण गरेका मापदण्डको पालना नगर्ने, निजी क्षेत्र व्यवसायीकरणभन्दा पनि व्यपारीकरणतर्फ लम्कने गरेको महसुस भैराखेको छ । यसले गर्दा गुणस्तरीय सेवा पाउनबाट सर्वसाधारण नागरिक वञ्चित हुन्छन् कि भन्ने चिन्ता बढेको छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
नर्सिङ शिक्षामा अनमी बन्द नै भएको अवस्था भयो भने स्टाफ नर्स पनि बिस्तारै एसएलसीबाट नभएर दश जोड दुईबाट लिने व्यवस्था गर्नुपर्छ । स्टाफ नर्स पढ्न दश जोड दुई साइन्स नै पढ्नुपर्छ भन्ने छैन । दश जोड दुईपछि नर्सिङ पढाउँदा विद्यार्थीमा परिपक्वता आउनुका साथै गुणस्तरीय जनशक्ति उत्पादन गर्न मद्दत मिल्छ । उत्पादन राम्रो भएमात्र गुणस्तरीय सेवा र नतिजा पनि राम्रो हुन्छ ।