सुन्ने क्षमता बचाउने उपाय



डा. पबिना रायमाझी राणा सह प्रा. (नाक, कान, घाँटी, त्रि.वि.)

तीव्र शहरीकरण र आधुनिक जीवनशैलीसँगै ध्वनिको तह बढ्दै जाने हुँदा यसले ध्वनि प्रदूषण सृजना गर्दछ । कलकारखानाबाट सृजित आवाज, संगीत र कन्सर्टहरुको ध्वनिका कारण तथा केही पेसाहरु जस्तै– सैनिक प्रहरी, ट्राफिक प्रहरी, डिजेजस्ता पेसामा संलग्न व्यक्तिहरुमा ध्वनि प्रदूषणको समस्या ज्यादा देखिन्छ ।

लामो समयसम्म चर्को आवाज आउने ठाउँमा कार्य गर्दा वा अचानक धेरै चर्को आवाज (बम विस्फोटन) सुन्दा कानमा असर पर्दछ । यसले सुनाइ क्षमता क्रमशः कम हुँदै जाने वा अचानक बन्द हुने हुन्छ । यदि ध्वनिको तीव्रता ८० डेसिबल (डी.बी.) भन्दा कम भएमा यसले कानलाई असर कम गर्दछ । तर १३० डी.बी. वा सो भन्दा अधिकको ध्वनि तीव्रता भएमा यसले छोटो समयमा श्रवण क्षमतामा क्षति गर्दछ । हाम्रो सामान्य बोलीमा ध्वनिको तीव्रता ५०–६० डी.बी., सामान्य शहरी ध्वनि तीव्रता ८० डी.बी., हवाईजहाज र हेलिकप्टरको नजिकको ध्वनि तीव्रता १०५ डी.बी., सांगीतिक कन्सर्ट, बन्दुकको आवाज र फायरका कारहरुको ध्वनि तीव्रता ११०–१३० डी.बी. सम्म हुन्छ । ८० डी.बी.भन्दा बढीको ध्वनि कानको लागि हानिकारक हुन्छ ।

ठूलो आवाज आउने औद्योगिक क्षेत्रमा काम गर्ने, गोली–बारुदको आवाजसँग रही कार्य गर्ने र ठूलो सांगीतिक वातावरणमा रही कार्य गर्ने व्यक्तिहरुमा तीव्र ध्वनिको असर पर्दछ । सुनाइमा कमी भएको लक्षण तीव्ररुपमा वा क्रमिकरुपमा देखा पर्दछ । यसको असर प्रायः ध्वनिको तीव्रता र अवधिमा निर्भर गर्दछ । श्रवणशक्ति गुमाउनु, कान कराउनु (आवाज आउनु), कान दुख्नु र रिंगटा लाग्नुजस्ता लक्षणहरु देखा पर्दछन् । यस्ता व्यक्ति रेडियो, टेलिभिजन चर्को आवाजमा बजाउने, चिच्याएर बोल्ने गर्छन् । अरुले बोलेको सामान्य बोली बुझ्न गाह्रो हुने हुन्छ । यस प्रकारको सुन्ने क्षमताको ह्रासले दैनिक क्रियाकलापमा प्रत्यक्ष असर गर्दछ ।

 

उपचार र रोकथाम

श्रवण क्षमतामा हानि भएको शंका लागेमा त्यस्ता बिरामीको श्रवण परीक्षण अडियोमेट्री जाँचबाट गरिन्छ । बिरामीहरुको लक्षणको प्रक्रिया र अडियोमेट्री रिपोर्ट दुवैलाई मिलाएर रोगको पहिचान नाक, कान, घाँटी विशेषज्ञ डाक्टरहरुबाट गरिन्छ । उपचार पद्घति बिरामीको लक्षणहरुमा निर्भर गर्दछ । बिरामीले सर्वप्रथम, आवाजको जोखिम कम गर्नु र कार्य अभ्यास परिवर्तन गर्नुपर्दछ । यस्ता केही बिरामीलाई मनोवैज्ञानिक परामर्शको आवश्यकतासमेत पर्न सक्छ । यदि बिरामीको सुन्ने क्षमता कम भएको छ भने उनीहरुलाई श्रवणशक्ति उपकरण (हियरिङ एड) को आवश्यकता पर्दछ । तर सबैभन्दा राम्रो उपाय तीव्र आवाजको जोखिमको खतराबारे सचेत भएर श्रवण क्षमताको हानि हुन नदिनु हो । यो दुवै व्यावसायिक तथा मनोरञ्जन क्षेत्रमा लागू हुन्छ ।

औद्योगिक क्षेत्रमा कार्य गर्ने श्रमिक वर्गहरुको लागि रोजगारदाताहरुले शुरुमा र निश्चित अवधिहरुमा कानको चेक गराउनुपर्दछ । यसै गरी सेना तथा ट्राफिक प्रहरीहरुले समेत निश्चित समयमा कानको परीक्षण गराउनुपर्दछ । मनोरञ्जन क्षेत्रमा बढी सरिक हुने, उच्च आवाजमा संगीत सुन्ने र मोबाइल फोनमा लामो समय कुरा गर्ने बानी कम गरेमा सुन्ने क्षमता ह्रास हुनबाट धेरै हदसम्म बचाउन सकिन्छ । उच्च आवाजमा एक्सपोज हुने व्यक्तिहरुले एयर प्लग लगाई आफूलाई ठूलो आवाजको जोखिमबाट केही मात्रामा बचाउन सकिन्छ ।v

प्रतिक्रिया दिनुहोस्