नेपालमै कोभिड खोप परीक्षण



नेपालमै कोभिड खोप परीक्षण

कोरोना भाइरसविरुद्धको खोप परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल र काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल तयारीमा जुटेका छन् । विकासशील मुलुकहरुमा खोपको विकास गर्ने ग्लोबल अलायन्स (गाभी) लाई इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाली कम्पनीले मद्दत गर्छ । भ्याक्सिन प्रभावकारी छ भन्ने प्रमाणित भइसकेपछि विश्व स्वास्थ्य संगठनले नेपालजस्ता विकासशील मुलुकलाई वितरण गर्छ । परीक्षण गर्न लागिएको यो भ्याक्सिन अस्ट्रेलिया र चीनको सहकार्यमा क्लोभर कम्पनीले बनाएको हो ।

फाइजर, मोडेना भ्याक्सिन नेपालमा आइपुग्न अझै एकदेखि डेढ वर्ष लाग्न सक्ने भएकाले यो भ्याक्सिनलाई पनि छिटो आउन सक्ने व्यवस्था गर्न लागिएको हो । नेपालमा गर्न लागिएको यो परीक्षण तेस्रो चरणको हो । यो भ्याक्सिन कत्तिको उपयोगी छ भनेर हेर्नका लागि गरिने परीक्षण हो । कुल ३४ हजारमा गरिने यो परीक्षणमा नेपालले १ हजार ८ सयमा मात्र परीक्षण गर्दछ । यस्तो परीक्षण अरु मुलुकमा पनि गरिँदै छ । बहुमुलुक परीक्षण प्रक्रियामा नेपाललाई पनि पहिला राम्रो काम गरेकोले छानेको बताइएको छ । खोप परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डबाट गत शुक्रबार स्वीकृत भइसकेको छ । अहिलेको नयाँ अध्यादेशअनुसार मन्त्रिपरिषद्बाट पनि पास हुनुपर्छ ।

स्वास्थ्य ट्रेड युनियनको आन्दोलन अन्त्य

एक महिनादेखि स्वास्थ्य सुधारको माग गर्दै आएका स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघ–संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच गत माघ ४ गते १९ बुँदे सम्झौता भएको छ । पेसागत संगठनहरुले मंसिर ७ गते तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १८ बुँदे माग पेस गरेका थिए । स्वास्थ्य मन्त्रालय र ट्रेड युनियन तथा पेसागत संस्थाका प्रतिनिधिबीच गत पुस ८ गते वार्ता कमिटी बनी १५ गतेदेखि पटक–पटक वार्ता भए पनि सहमति हुन नसक्दा वार्ता लम्बिएको थियो । द्विपक्षीय सहमति जुटेसँगै आन्दोलनरत पक्षले आन्दोलन तथा विरोधका कार्यक्रमहरु टुंगिएको जानकारी दिएको छ ।

वार्ता कमिटीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले संयोजन गर्नुभएको थियो भने पेसागत तथा ट्रेड युनियनको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नेतृत्व लिनुभएको थियो । सहमतिमा कोभिडको उपचार निःशुल्क गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थामा रिपोर्ट छिटो दिई उपचारलाई तदारुकता बढाउनुपर्ने, सेवा विस्तार गर्ने, कोभिडलगायत ननकोभिड तथा नसर्ने रोगका विषयमा पनि सरकारले विशेष ध्यान दिई सरकारले तोकेका अस्पतालमा निःशुल्क उपचार गर्नुपर्ने लगायतका सहमति भएका छन् ।

कोरोनाबाट चिकित्सकको मृत्यु

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पूर्वउपकुलपति एवं युरो सर्जन डा. सीपी मास्केको ७९ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणपछि उपचारत डा. मास्केको गत माघ ४ गते राति १ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । डा. मास्केले लामो समयदेखि मिर्गौला र मुटु रोगको उपचार गराइरहनुभएको थियो । डा. मास्के त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालमा समेत युरो सर्जरी सेवालाई विस्तार गर्ने चिकित्सकका रुपमा चिनिनुहुन्छ । न्याम्सका अनुसार डा. मास्केले मूत्रनलीको उपचारका लागि काठमाडौं उपत्यकाबाहिरका जिल्लामा समेत सर्जरी सेवा विस्तारमा उल्लेखनीय योगदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्