साना बालिकाको बलात्कार किन हुन्छ ?



– डा. राजेन्द्र भद्रा

स–साना नानीहरू बलात्कृत भएको विभिन्न समाचार देखिन्छ । यौनाङ्ग नै विकास नभएका साना नानीहरूलाई पुरुषहरूले किन बलात्कार गर्छन् ? यस्तो कार्य महिलाहरूले चाहिँ गरेको सुनिदैन, किन होला ?

– पुष्पा, काठमाडौं

 

नेपालको मुलुकी अपराध संहिताले बलात्कारलाई अपराध मानेको छ । कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा या मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।

करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, होस ठेगान नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनिमा लिङ्ग केही मात्रै पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिनेछ । दश वर्षभन्दा कम उमेरकी बालिका भए सबैभन्दा बढी १६ देखि २० वर्ष कैद हुने उल्लेख गरेकोले पनि स–साना बालिकामा पनि यस्तो अपराध हुने यथार्थलाई संकेत गरेको देखिन्छ ।

महिलाले बलात्कार गर्छन् ?

पुरुषले महिलालाई बलात्कार गर्ने सन्दर्भमा समाजमा पर्याप्त चर्चा हुने गरेको छ र यसलाई अपराध मानिएको छ । महिलाले पुरुषलाई, पुरुषले पुरुषलाई अनि महिलाले महिलालाई गर्ने बलात्कारको बारेमा भने कम चर्चा हुन्छ । एक अध्ययनमा १०.२ प्रतिशत महिलाहरू र ५.१ प्रतिशत पुरुषहरुले आफूमाथि बलात्कार भएको उल्लेख गरेका थिए भने विद्यार्थीहरुमाझ गरिएको अर्को अध्ययनमा २.४ प्रतिशत पुरुष र १.८ प्रतिशत महिलाहरूले जबर्जस्ती यौनसम्पर्क राख्न बाध्य पारेको देखिएको थियो । चर्चामा नभए पनि महिलाले पनि पुरुषलाई बलात्कार गर्ने गरेको पाइन्छ । एक अर्को अध्ययनमा करिब ७ प्रतिशत पुरुषलाई लिङ्ग पसाउन बाध्य पारेका थिए र त्यसो गर्ने कार्यमा ८० प्रतिशत महिला थिए ।

महिलाले बलात्कार गरेको त्यति नसुनिनुमा हाम्रो मूल्य मान्यताका साथै अन्य कतिपय कारण हुनसक्छन् । यसबारे अध्ययन–अनुसन्धान पनि कम नै भएका छन् । हाम्रो ऐन कानुन पनि केही अपवाद छोडेर पुरुषमाथि हुने बलात्कारको मामिलामा मौन देखिन्छ ।

 

बालबालिकालाई फकाउने, माया गरेजस्तै गर्ने र आत्मीय व्यवहारको प्रयोग गरिँदा उनीहरूले यो माया नै हो कि पासो हो भन्ने छुट्याउन सक्ने स्थिति हुँदैन ।

 

बलात्कार किन हुन्छ ?

यस जटिल प्रकृतिको व्यवहार मानिसले किन गर्दछ भन्ने सन्दर्भमा अनेक विधाका विज्ञहरूले आ–आफ्नै किसिमले व्याख्या गर्ने गरेको पाइन्छ । पहिले जनावर जगत्मा जबर्जस्ती यौनसम्पर्क हुँदैन भन्ने ठानिन्थ्यो तर यिनीहरुमा पनि यौनसम्पर्कको लागि जबर्जस्ती व्यवहार हुने प्रमाणहरू अनुसन्धानमा भेटिएका छन् ।

जैविक विकासवादी व्याख्याअनुसार सफल तथा सक्षम पुरुषले यौनजोडी सहजरुपमा प्राप्त गर्ने र प्रजनन कार्यमा सफल हुन पर्याप्त सम्भावना हुने हुँदा उसलाई जबर्जस्ती गर्नुपर्ने स्थिति हुँदैन तर यस्ता सम्भावना नभएका पुरुषहरुले जबर्जस्ती गर्ने गर्दछन् । सक्षम तहमा रहेका वा उच्च हैसियतमा पुरुषले पनि यस्तो बलात्कार गर्ने र अन्य परिस्थितिमा प्रजनन क्षमता नभएका बालिका वा प्रौढ महिला बलात्कारमा पर्ने स्थितिले यो व्याख्या केही अपुग भएको देखाउँछ ।

लैङ्गिक असमानता हुनु, दण्डहीनता, बाल्यकालमा हिंसामय वातावारणमा हुर्किनु वा हिंसा भोग्नु, मानसिकरुपमा नै विकृत हुनुजस्ता कतिपय कुरा यौन हिंसाको कारकको रुपमा प्रस्तुत भएको पाइन्छ ।

 

बालबालिकाको बलात्कार

स–साना बालबालिका बलात्कार हुने कुरा हाम्रो समाजको तीतो यथार्थ हो । बालबालिकामा बलात्कारजस्ता यौन हिंसालगायत अन्य कतिपय हिंसा कुनै एक कारणले मात्रै हुने नभई जटिल तथा बहुआयामिक कुराहरू र त्यसको अन्तरक्रियाले यसलाई बढावा दिइरहेको पाउँछौं ।

व्यक्तिगतरुपमा मातापिताको कुरा गर्दा, बालबालिकाको मातापिता कलिलो उमेर भएका, एकल अभिभावक, हेरचाह गर्न सक्ने सीपमा कमी, हिंसाको सिकार भएको हुनु, लागू पदार्थको प्रयोग गर्ने हुनु, शारीरिक तथा मानसिक रोग भएको स्थिति तथा सम्बन्धमा समस्या भएको छ भने यस्ता कुराले बालबालिकाको हिंसाको जोखिमलाई बढाउन सक्छ । परिवारको कुरा गर्दा, परिवारमा कमजोर आर्थिक तथा सामाजिक स्थिति, तनाव अवस्था उच्च रहेको, परिवारमा घरेलु हिंसा भएको स्थितिले पनि बालबालिकाको हिंसाको जोखिमलाई बढाउन सक्ने देखिएको छ । त्यसै गरी समाजको सन्दर्भमा भने बालबालिकाको सुरक्षाको कानुनी स्थिति कमजोर भएको स्थिति, बालबालिकालाई महत्व नदिने, सामाजिक असमानता, संगठित हिंसाका स्थिति (जस्तै– युद्ध वा सशस्त्र विद्रोह), आमसञ्चारमा हिंसाका साथै सामाजिक मूल्य मान्यताजस्ता कुराले पनि बढावा दिन्छ । लैङ्गिक असमानतालगायत अन्य कतिपय सामाजिक मूल्य मान्यता पनि यस्तो हिंसा बढाउने कारण बन्दछ ।

त्यसै गरी बालबालिकाका सन्दर्भमा कम सक्रिय, शान्त, कुनै पारिवारिक समस्यामा रहेका, एकान्त मन पराउने वा एक्लै बस्ने वा बस्नुपर्ने स्थिति भएका बालबालिका बढी जोखिममा हुने देखिन्छ । बालकमा यौन हिंसा हुने भए पनि बालिकाको यौन हिंसा बलात्कार हुने जोखिम बढी रहेको देखिन्छ । नेपाली समाजको हकमा पनि माथि उल्लिखित कपितय कुरा भएको पाउँछौं ।

कुनै खास व्यक्तिले बालबालिकालाई यौन दुराचार वा हिंसा गर्ने मूल कारण यौन आनन्द प्राप्त गर्न नै हो भन्न सकिन्छ तर माथि चर्चा गरिएका कुरा पनि यसमा जोडिएर आउँछन् । बालबालिकालाई फकाउन वा धम्क्याउन सजिलै सकिने र आफूलाई के भइरहेको छ भन्ने पनि थाहा नपाउने भएकोले उनीहरूको जोखिम उच्च हुन्छ । हामीले कतिपय स्थितिमा बाल यौन दुराचारी (paedophiles) चपेटामा यौन हिंसा वा बलात्कारको सिकार भएको पाउँछौं । तर बालबालिकामाथि गरिने यस्ता बलात्कार वा यौन हिंसा अन्य व्यक्तिले पनि गर्ने गरेको पाइन्छ ।

रोक्न के गर्न सकिएला ?

समस्या र कारण जटिल भएजस्तै यसको समाधान पनि सरल छैन । कुनै एक उपायले मात्र यौन हिंसाको समस्यालाई कम गर्न सकिन्न । यसको लागि समाज र राज्यका विभिन्न अङ्गहरूले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नु जरुरी छ । कानुनीरुपमा बलात्कारको सजायलाई कठोर बनाउनु महत्वपूर्ण हुन्छ भने यसको कार्यान्वयन पनि त्यति नै सशक्त हुनुपर्दछ । दण्डहीनताको स्थिति रहन दिनुहुँदैन ।

बालबालिकालाई फकाउने, माया गरेजस्तै गर्ने र आत्मीय व्यवहारको प्रयोग गरिँदा उनीहरूले यो माया नै हो कि पासो हो भन्ने छुट्याउन सक्ने स्थिति हुँदैन । कतिपय स्थितिमा उनीहरूले विश्वास गर्ने व्यक्तिबाट नै हिंसा हुँदा स्थिति जटिल हुन्छ । राम्रो र नराम्रो स्पर्शको बारेमा राम्ररी सिकाउन सकिए र यस्तो घटनाको सूचना अर्को विश्वासिलो व्यक्तिलाई तुरुन्तै दिन सकिने स्थिति भयो भने यौन हिंसाबाट शुरुमै बचाउन सकिन्छ ।

बालबालिका त्यसमा पनि कम सक्रिय, शान्त, कुनै पारिवारिक समस्यामा रहेका, एकान्त मन पराउने वा एक्लै बस्ने वा बस्नुपर्ने स्थिति भएका बालबालिका बढी जोखिममा हुने भएकाले त्यस्तो परिस्थिति सिर्जना नहुने स्थिति बनाउनुपर्दछ ।

हाम्रा बालबालिकालाई यसबारे केही कुरा सिकाउन सकियो भने पनि यौन हिंसाबाट बचाउन सहयोग पुग्छ । जस्तो–

– यौनाङ्गलगायत शरीरका अङ्गहरूको बारेमा स्पष्टसँग भन्न सक्ने गरी सानैदेखि सिकाउने ।

– यौनाङ्ग गोप्य अङ्ग हो भन्ने सिकाउनुपर्छ । मातापिताले लुगा फेराइदिँदा वा नुहाइदिँदा वा चिकित्सकले परीक्षण गर्दाबाहेक कसैले हेर्न दिनुहुँदैन ।

– यी गोप्य अङ्गहरू कसैले पनि स्पर्श गर्नुहुँदैन । कस्तो किसिमको स्पर्श नराम्रो हो भनेर पनि सिकाउनुपर्दछ । यौन हिंसा गर्ने व्यक्तिले गोप्य अङ्गको स्पर्शबाट नै हिंसाको शुरुवात गर्दछ ।

– बालबालिकालाई अन्य व्यक्तिले गर्ने व्यवहार स्पष्टरुपमा गोप्य नराखी भन्न सिकाउनुपर्दछ । हिंसा गर्ने व्यक्तिले गोप्य राख्न भनेका र त्यसो नगरे थप समस्या हुने कुरा भनेका हुन सक्छन् । तर मातापितासँग खुलेर सबै कुरा भन्ने गर्दा समस्याबाट बचिन्छ भनेर सिकाउनुपर्छ ।

– कसैले पनि गोप्य अङ्ग जस्तै– स्तन वा यौनाङ्गको फोटो वा भिडियो खिच्न हुँदैन भनेर सिकाउनुपर्छ ।

– मन नपरेको, असजिलो वा डर लागेको परिस्थितिबाट कसरी निस्कने भन्ने कुरा पनि सिकाउनुपर्छ ।

– असुरक्षित महसुस गर्दा वा तुरुन्तै लिन आउन भन्नु छ भने यसको लागि कूट शब्द (कोड वर्ड) दिई सहयोगको लागि सञ्चार गर्न सिकाउनुपर्छ ।

सामाजिकरुपमा बलात्कारबाट बच्नुपर्ने दयित्व मूलतः महिलामा रहेको पाइन्छ । यसमा पनि आमूल परिवर्तन जरुरी छ । कलिलै उमेरदेखि पुरुषलाई पनि यौनभावनाको व्यवस्थापन गर्न, अर्को व्यक्तिको सम्मान गर्न, माया वा स्नेह गर्न, आदर–सत्कार गर्न, हिंसा नगर्न सिकाइनुपर्दछ । अर्को व्यक्तिको आदर गर्न र हिंसा नगर्न सिकेको व्यक्तिले यौन हिंसा मात्रै होइन सामान्य हिंसा गर्नसमेत सक्दैन । हिंसायुक्त वातावरण नभई स्नेहयुक्त वातावरणमा हुर्केको व्यक्ति हिंसा गर्न सिक्दैन । समाजमा नै परिवर्तन ल्याउने यस्ता प्रयासको लागि हामीले दीर्घकालीन योजना बनाउनुपर्छ, अर्को सभ्य पुस्ता तयार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्