बस्ने सही तरिका सिकौँ



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

हामी कसरी बस्छौं, त्यस आधारमा पनि हाम्रो स्वास्थ्यको अवस्था निर्भर हुने गर्दछ । कतिपय रोग बस्नै नजान्नाले लाग्छन् । बस्ने तरिका, बस्ने साधन वा माध्यम, बस्ने अवधि र बसाइको शारीरिक स्थिति आदिको गडबडीका कारण समस्या शुरु हुन सक्छन् । त्यसैले बस्ने शैलीलाई सुधार गर्नुपर्ने हुन्छ ।

 

लामो बसाइको परिणाम

लामो समय बसिराख्नु निकै घातक हुने देखिएको छ । यससम्बन्धमा भएका अनुसन्धानअनुसार लामो समय एकै ठाउँमा बस्दा त्यसबाट खुट्टाको रक्तनलीमा क्षति पुग्छ, जसबाट खुट्टाको रक्तप्रवाहमा अवरोध भई खुट्टामा अनेक समस्या आउँछन् । यसबाट मुटुमा समेत असर पर्दछ । लामो बसाइका कारण मेटाबोलिक गडबडी, मोटोपना (खासगरी भुँडी लाग्ने र कम्मरको आकार बढ्ने), रगतमा चिल्लो तत्व (लिपिड) को वृद्धि, उच्च रक्तचाप, मुटुको रोग, मधुमेह, भित्री रक्तनलीमा रगत जम्ने (Deep vein thrombosis)  जस्ता घातक समस्या हुने गर्दछ । लामो समय बसिराख्नेहरुमा मृत्युदर पनि बढी भएको पाइएको छ । एकै ठाउँको लामो बसाइले नसा झम्झमाउने, गोडा तथा कम्मर दुख्ने, सुन्निने, नसा च्यापिने, हिँड्दा हुत्तिने र उभिँदा जीउमा सन्तुलन नहुनेजस्ता सामान्यदेखि घातक समस्यासम्म हुन सक्छ ।

पछाडि पकेटमा पर्स नराखौं

प्रायः धेरैजनाको पाइन्टको पछाडितिरको खल्तीमा पर्स राख्ने बानी हुन्छ, खासगरी पुरुषहरुमा । जब यसरी पर्स राखेर बसिन्छ त्यसबाट त्यो पर्सको पोकाले ठ्याक्कै हिपमा रहेको साइटिक नर्भलाई दबाब दिन्छ । निरन्तर दबाब परिरहँदा त्यसले नसा च्यापिने हुन्छ । पर्सकै कारणले बसाइको स्थितिलाई बिगारेर ढाडलाई बांगो बनाउने, त्यसले मेरुदण्डको सोझोपनलाई बिगार्ने र डिस्क सर्ने हुन्छ । त्यसैले पाइन्टको पछाडि पर्स राख्ने बानी छ भने आजैदेखि हटाउने र बरु अगाडि वा कमिज, कोट वा ज्याकेटको गोजीमा पर्स हाल्ने बानी बसालौं ।

 

धेरै समय एकै ठाउँमा नबस्ने

लामो समय एकै ठाउँमा नबस्नुहोस् । चाहे कुर्सी, भुइँ वा सोफा वा बेडमै किन नहोस् यदि लामो समय बस्ने काम वा बाध्यता छ भने मनमा सदैव हेक्का राख्नुहोस् कि लगातार बस्नुहुँदैन । हरेक पन्ध्र–बीस मिनेट वा आधा घण्टासम्ममा कुनै न कुनै बहानाले उभिनुहोस् । पानी पिउने, भ्mयाल खोल्ने–बन्द गर्ने, यताउति हेर्ने, सामानहरु मिलाउने, निरीक्षण गर्ने, ट्वाइलेट जाने आदि बहानामा उभिएर ठाउँ छोड्ने, गोडा चलाउने, तन्कने, उभिएरै खुट्टाको व्यायाम गर्ने, चल्मलाउने गर्नुहोस् । यसरी नै खुट्टा, कम्मर र हिपमा थप्थपाउने, लुगाबाहिरबाटै मालिस गर्ने, मिच्ने पनि गर्नुहोस् ।

 

पर्सकै कारणले बसाइको स्थितिलाई बिगारेर ढाडलाई बांगो बनाउने, त्यसले मेरुदण्डको सोझोपनलाई बिगार्ने र डिस्क सर्ने हुन्छ । त्यसैले पाइन्टको पछाडि पर्स राख्ने बानी छ भने आजैदेखि हटाऔं ।

बस्ने सही तरिका

बस्दा ढाड सोझो राख्नुहोस् । टाउकोदेखि हिपसम्म सीधा राखेर, माथितिर तन्काएर र भुँडीलाई अगाडितिर लगेर बस्ने बानी गर्नुपर्छ । कुर्सीमा बस्दा खुट्टालाई कुर्सीको तलतिर लगी टाउको र मेरुदण्डको रेखामा राख्दा त्यसले स्वतः ढाड सोझो बनाउन मद्दत पुग्छ । शुरुमा यसरी बानी गर्ने क्रममा पनि कम्मर–ढाड दुख्न सक्छ । तर बानी गर्दै गएपछि केही दिनमा आफैं ठीक हुन्छ । कतिपय व्यक्ति गर्दन झुकाएर बस्छन् । त्यसले पनि समस्या पर्छ र गर्दनको हाड खिइने र नसा च्यापिने रोग लाग्छ, गर्दन तथा टाउको दुख्छ, रिंगटा लाग्छ । त्यसैले बस्दा गर्दन सीधा राख्नु जरुरी छ ।

सही ढंगले बस्ने बानी गर्नुपर्छ । बस्नुअघि बस्ने स्थान ठीक छ कि छैन जस्तै– कुर्सी बलियो र सुरक्षित छ कि छैन, चिप्लने वा लड्ने खालको ठाउँ छ कि, आफुलाई थाम्ने छ कि छैन जस्ता कुरामा ध्यान दिनुपर्दछ । नुहाउने क्रममा पनि बस्ने ठाउँ नमिल्दा चिप्लने भएर ज्यान जाने डर हुन्छ । ज्यादै अग्लो वा होचो कुर्सी पनि ठीक हुँदैन । अग्लोमा बस्दा सन्तुलन गुमाइने डर हुन्छ भने ज्यादै होचोमा बस्दा वा उठ्दा खासगरी मोटा व्यक्तिमा घुँडामा जोड परी घुँडा दुख्ने रोग लाग्न सक्छ ।

सामान्य स्वस्थ व्यक्तिले भन्दा बिरामी व्यक्तिले बस्दा बढी ध्यान दिनु जरुरी हुन्छ । रिंगटा लाग्दा, कमजोरी हुँदा, रक्तचाप धेरै बढ्दा, मधुमेहमा रगतमा चिनीको मात्रा घट्दा, दम बढ्दा तुरुन्त सुरक्षित स्थानमा बसिहाल्नुपर्छ र उकालो चढ्दा वा हिँडडुल गर्दा यस्ता व्यक्तिहरुले झन् बढी ध्यान दिनुपर्छ । यस्तो बेला बस्दै थकाइ मार्ने र आराम भएपछि मात्र अवस्था हेरी सुचारु गर्न सकिने÷नसकिने निर्णय गर्नुपर्छ ।

कुर्सी र सोफाको छनौट

कतिपय व्यक्तिहरु आरामदायी कुर्सी वा सोफाको लागि बढी नै रकम खर्च गर्छन् । ठूलो गद्दा भएको, फराकिलो र बढी महँगा खालको सोफा वा घुम्ने लचकदार कुर्सी पनि स्वास्थ्यका दृष्टिले त्यति राम्रो हुँदैन । यस्ता कुर्सी वा सोफाले शारीरिक स्थिति बिगार्ने भएकोले हाड–नसा, मांंसपेशी, रक्तनली आदिमा नकारात्मक प्रभाव पार्ने हुन्छ । त्यसैले सामान्य खालका कुर्सी र सोफा नै स्वास्थ्यका लागि उपयोगी हुने देखिन्छ ।

 

भुइँमा बस्नु कत्तिको उचित ?

भुइँमा बस्दा पनि तरिका मिलाएर बसियो भने कुनै नोक्सान हुँदैन, बरु फाइदादायी नै हुन्छ । तर शरीरलाई यसरी फिट बनाउनुपर्छ कि जसबाट उठबस गर्न र भुइँमा बस्न ठीकठाक होस् । तर प्रायः भुइँमा बस्दै नबस्ने र कहिलेकाहीँ मात्र बस्ने गर्दा त्यसले शरीरमा बानी नपर्न सक्छ । बढी मोटा व्यक्तिहरुलाई भुइँमा बस्न सकस हुन्छ । प्राकृतिक वातावरण, चौर, माटोमा प्रत्यक्ष सम्पर्क हुने गरी भुइँमा बस्नु स्वास्थ्यको लागि उपयोगी मानिन्छ । तर सिमेन्टको भुइँमा सोझै बस्नु हानिकारक हुन सक्छ । कतिपय मोटा व्यक्तिहरु भुइँमा बसेर योगाभ्यास गर्छन् । मकहाँ केही व्यक्तिहरु ढाड दुखेर आएका थिए, जो भुइँमा बसेरै तास खेलेका कारण हलचल गर्नै नसकिने गरी कम्मरको नसा च्यापिने समस्याबाट पीडित भएका थिए । उनीहरुलाई निको पार्न निकै मेहनत गर्नुपरेको थियो । मोटो वा तौल निकै बढी भएको व्यक्तिले उठबस गर्दा घुँडा टेक्नुपर्ने, निहुँरिनुपर्ने भएकोले कम्मरमा जोड परेर घुँडा र कम्मर दुख्ने हुन्छ ।

 

यात्रा गर्दा, सवारीसाधन चलाउँदा

कतिपय व्यक्तिलाई बस, कार वा अन्य सवारीसाधनमा बस्दा वा लामो समयको हवाईजहाज यात्रामा समेत खुट्टा सुन्निने, रगतको नली थुन्निने र रगत जम्ने पनि हुन सक्दछ । यस्तो अवस्थामा गोडा चलाइराख्ने, घरी–घरी हिपलाई सिटबाट उचाल्ने, उभिने र मिल्छ भने खुट्टालाई नझुन्ड्याईकन एकै सतहमा राख्ने प्रयास गर्नुपर्छ । यसो गर्दा गोडा नसुन्निने वा कम सुन्निने हुन्छ । बसेर वा बस्नुअघि सिट बेल्ट सही ढंगले बाँध्नु, सिटको उचाइ र दूरी आप्mनो शरीरअनुरुप मिलाउनु, बाइक चलाउँदा हेल्मेट लगाउनु आदि पनि महत्वपूर्ण कुराहरु हुन् । यात्रामा बान्ता वा अन्य समस्या आउनेहरुले समस्या हुन नदिन वा भैहालेमा त्यसको व्यवस्थापनमा यसो गर्छु भन्ने पूर्वयोजना बनाउनु पनि आवश्यक छ ।

 

खाना खाँदा कसरी बस्ने ?

खाना खाँदा सफासुग्घर भई भुइँमै बस्ने हाम्रो परम्परागत चलन फेरिँदै गएको छ र कुर्सी–टेबुलमा खानपान गर्ने तरिका लोकप्रिय बनिरहेको छ । जेमा बसे पनि खानपानका क्रममा बस्दा कम्मर र घाँटीको लुगा खुकुलो बनाउनुपर्छ । बस्दा आरामको अनुभव हुनु जरुरी छ । खान बस्दा अनावश्यक रुपले निहुँरिने वा ज्यादै ठाडो भएर खाने दुवै हानिकारक तरिका हुन् ।

विभिन्न काममा बसाइ

कम्प्युटरमा काम गर्दा पनि मनिटर आँखाको तहमा आउने, ढाड सोझो हुने र गर्दन तथा टाउको सीधा हुने किसिमले गर्नुपर्छ । यसरी नै शारीरिक वा मानसिक काम गर्दा शरीरमा अनावश्यक तनाव नपर्ने गरी गर्नु आवश्यक छ । चाहे खेतमा काम गर्दा होस्, चाहे लेखपढ गर्न बस्दा होस् अथवा भान्छामा काम गर्दा वा कार्यालयमा कुनै काम गर्दा नै किन नहोस्, बस्ने तरिकामा ध्यान दिनु अति आवश्यक छ । ध्यानमा बस्दा वा प्राणायाम गर्दा पनि आराम हुने किसिमले सुखासनमा बस्नुपर्दछ । बसाइ र मानसिक स्वास्थ्य

तपाईं कसरी अरुका अगाडि बस्नुहुन्छ र आपूmलाई कसरी प्रस्तुत गर्नुहुन्छ, सोही आधारमा मानिसले तपाईंको मूल्यांकन गर्दछन् । बस्दा शारीरिक हाउभाउ (बडी ल्यांग्वेज), व्यवहार, तपाईंका वाणी, आँखाको भाषा आदिका माध्यमबाट अरुले तपाईंको बानी, व्यवहार र विचारको अनुमान लगाउन सक्छन् । बस्दा असंयमित, अशिष्ट र आप्mनो कमजोरी अरुका अगाडि छरपस्ट हुने गरी बस्नुहुँदैन । मर्यादित, सभ्य र अनुशासित ढंगले बस्नु जरुरी छ । रोगी र अशक्त अवस्थामा बाहेक काम केही नगरी बसिराख्ने मान्छेलाई पनि मानिसहरुले मानसिकरुपमा अस्वस्थ वा ठग ठान्ने हुनाले त्यसमा पनि सचेत हुनु जरुरी छ ।

 

गलत बसाइमा सुधार

यदि गलत बसाइ छ भने त्यसलाई सुधार्न र गलत परिणाम निस्केको छ भने त्यसलाई सुधार्नको लागि उपचार आवश्यक छ । गलत बसाइ र यसका परिणामलाई सुधार्न आसनको अभ्यास उपयोगी छ । ताडासन, मेरुदण्डासन वा मर्कटासन, मकरासन, भुजंगासन, विपरीत हस्तपाद उत्थितासन, सेतुबन्धासन, उष्ट्रासन, मत्स्यासन आदिको अभ्यास उपयोगी हुन सक्छ । कतिपयलाई फिजियोथेरापी र प्राकृतिक चिकित्सा पनि आवश्यक पर्दछ । बढी समस्या हुनेले आपूmखुशी नगरी योगथेरापिस्ट, योग तथा प्राकृतिक चिकित्सक एवं फिजियोथेरापिस्टको सल्लाहमा मात्र गर्नुपर्दछ ।

 

योग मोडेल : मिरी बराकोटी
(बी.एन.वाई.एस. मेडिकल छात्रा)
प्रतिक्रिया दिनुहोस्