नसर्ने रोगले मृत्यु बढाउँदै



नसर्ने खालका रोग (Noncommunicable diseases) मानिसको मृत्युका प्रमुख १० वटा कारणमध्ये ७ वटा हुन पुगेका छन् । सन् २००० मा मानिसको मृत्युका प्रमुख १० वटा कारणमध्ये नसर्ने रोगहरु ४ वटामात्र थिए । सन् २००० देखि सन् २०१९ सम्मको तथ्यांकहरु अध्ययन गरेर हालै विश्व स्वास्थ्य संघले प्रकाशित गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । यस रिपोर्टबाट विश्वभर नै मुटुरोग, क्यान्सर, डायबिटिज, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग र चोटपटक लाग्नबाट मानिसहरुलाई बचाउने र प्रभावकारी उपचारमा जोड दिनुपर्ने देखिएको छ ।

मानिसको मृत्युको प्रमुख १० कारणमध्येमा पनि मुटुरोग नं. १ मा नै रहेको छ भने त्यसपछि डायबिटिज र डिमेन्सिया रहेका छन् । मुटुरोग विगत २० वर्षदेखि नै विश्वमा नं. १ मृत्युको कारण बनिरहेको छ र यसले मानिसको मृत्युको संख्या पनि पहिलेभन्दा बढाउँदै लगेको छ । सन् २००० मा भन्दा करिब २० लाख बढी मानिस सन् २०१९ मा मुटुरोगसँग सम्बन्धित कारणले मरेका छन् । सन् २०१९ मा मुटुरोगसँग सम्बन्धित कारणले विश्वमा करिब ९० लाख मानिसको मृत्यु भएको छ । सवै कारणले हुने मानिसको मृत्युको कारणमध्ये मुटुरोगले १६ प्रतिशत हिस्सा ओगटेको छ ।

यस्तै गरी डायबिटिजका कारण हुने मानिसको मृत्यु सन् २००० को तुलनामा सन् २०१९ मा ७० प्रतिशत वृद्धि भएको छ । यसमा पनि पुरुषहरुको मृत्यु ८० प्रतिशतले वृद्धि भएको छ । मृत्युको तेस्रो प्रमुख कारणका रुपमा रहेको डिमेन्सिया (मुख्यतः अल्जाइमर्स) रहेको छ । यसमा पनि विश्वव्यापीरुपमा महिलाहरुको हिस्सा ६५ प्रतिशत रहेको छ ।

 

सरुवा रोग घट्दै

विश्वव्यापीरुपमा सरुवा रोगको कारण हुने मृत्युमा कमी आइरहेको देखिन्छ तर पनि कम तथा मध्यम स्तरको आर्थिक अवस्था रहेका देशहरुमा सरुवा रोग प्रमुख चुनौतीका रुपमा रहेको छ ।

निमोनिया र श्वासप्रश्वाससम्बन्धी संक्रमण (lower respiratory infections) सरुवा रोगहरुमध्ये मानिसको मृत्युको प्रमुख कारण हुन् । यी रोग मानिसको मृत्युको प्रमुख १० कारणहरुमध्येचाहिँ चौथो नम्बरमा रहेका छन् । तर जे भए पनि श्वासप्रश्वाससम्बन्धी रोगले हुने मृत्युचाहिँ सन् २००० मा भन्दा केही कम भएको दाबी गरिएको छ ।

एचआईभी एड्सबाट हुने मृत्यु पनि सन् २००० को तुलनामा सन् २०१९ मा केही कमी आएको छ । यसले पनि सरुवा रोगहरुबाट हुने मृत्युमा केही कमी आएको देखिन्छ । सन् २००० मा एचआईभी एड्स मानव मृत्युको प्रमुख आठौँ कारणका रुपमा रहेको थियो भने सन् २०१९ मा यसमा कमी आई यो १९ आंै नम्बरमा पुगेको छ । अफ्रिकालगायत कतिपय मुलुकमा भने यो रोग अझै मानव मृत्युको प्रमुख १० वटा कारणहरुभित्र नै रहिरहेको छ । तर पनि यसका कारण हुने मृत्युमा भने झन्डै आधा नै कमी आएको छ ।

यस्तै गरी क्षयरोगको कारण हुने मानव मृत्युमा पनि कमी आएको छ । सन् २००० मा यो रोग मानव मृत्युका प्रमुख १० कारणहरुमा ७ औं नम्बरमा थियो भने सन् २०१९ मा यसमा कमी हुँदै १३ औं नम्बरमा झरेको छ । अर्थात् विश्वमा नै यस अवधिमा क्षयरोगबाट हुने मृत्युमा ३० प्रतिशत कमी आएको छ । तर पनि क्षयरोग मानव मृत्युको प्रमुख १० वटा कारणमध्ये अफ्रिकामा ८ औं नम्बरमा रहिरहेको छ भने दक्षिण–पूर्वी एसिया क्षेत्रमा मानव मृत्युको प्रमुख ५ औं कारणका रुपमा रहेको छ ।

मुख्यतः गरिब देशहरुमा मलेरिया, क्षयरोग, एचआईभी एड्सजस्ता सरुवा रोग मानव मृत्युको प्रमुख १० कारणहरुमध्येमा नै छन् ।

 

आयुसँगै अशक्तहरुको संख्या बढ्यो

अहिले विभिन्न कारणले गर्दा मानिसको औसत आयु वृद्धि भएको छ । सन् २००० को तुलनामा सन् २०१९ मा विश्वका मानिस औसतरुपमा ६ वर्षभन्दा बढी बाँचिरहेका छन् । सन् २००० देखि सन् २०१९ सम्ममा विश्वका मानिसको औसत आयु ६७ वर्षबाट वृद्धि भएर ७३ वर्ष पुगेको छ । तर औसतमा मानिस करिब ५ वर्ष मात्र राम्रो स्वास्थ्य अवस्थामा बाँच्न सकेको छ । मानिसको उमेरको बढोत्तरीसँगै अशक्ततामा पनि वृद्धि भएको छ ।

यसको प्रमुख कारणहरुमा मुुुटुरोग, स्ट्रोक, फोक्सोको क्यान्सर र फोक्सोका अन्य दीर्घ रोगहरु नै हुन् । यिनै रोगका कारणले सन् २००० मा भन्दा सन् २०१९ मा करिब १० करोड बढी मानिसले आपूmले बाँच्न पाएको थप आयुमा स्वस्थ जीवन विताउने अवसर पाएनन् ।

चोटपटक मानिसको मृत्यु तथा अशक्तताको अर्को प्रमुख कारण भएको छ । सवारी दुर्घटनाको वृद्धि यसको प्रमुख जिम्मेवार हो । अफ्रिकी मुलुकहरुमा सन् २००० को तुलनामा सन् २०१९ मा सवारी दुर्घटनाका कारण हुने मृत्यु र अशक्ततामा करिब ५० प्रतिशत वृद्धि भएको छ । अन्य विकासोन्मुख मुलुकहरुमा पनि सवारी दुर्घटनाबाट हुने मृत्यु र अशक्ततामा योभन्दा केही कम भए पनि वृद्धिचाहिँ भएको छ । सवारी दुर्घटनाबाट हुने मृत्युमा ७५ प्रतिशत हिस्सा पुरुषहरुको रहेको छ । यसले गर्दा मानिसले स्वस्थ जीवन जिउन पाउने अवसर गुमाएका छन् ।

अमेरिकन मुलुकहरुमा चाहिँ लागू पदार्थको सेवन मानिसहरुको अशक्तता र मृत्यु (disability and death) को कारणका रुपमा ठूलो चुनौतीका रुपमा देखा परेको छ । ती मुलुकहरुमा सन् २००० को तुलनामा सन् २०१९ मा लागू पदार्थको कारण हुने मृत्युमा झन्डै तीन गुणा वृद्धि भएको छ । यो क्षेत्रमा लागू पदार्थको कारण हुने अशक्तता र असमयमै हुने मृत्यु अझै पनि प्रमुख १० कारणहरुमध्ये नै रहेको छ ।

(विश्व स्वास्थ्य संघको प्रतिवेदनमा आधारित)
प्रतिक्रिया दिनुहोस्