तपाईंका घरमा हाम्रा डाक्टर



म ३८ वर्षको भएँ । कोरोना शुरु भएदेखि घरी–घरी मेरो मुटुको ढुकढुकी बढेको, हल्लिएको जस्तो हुन्छ । चार–पाँच दिनसम्म यस्तो हुन्छ अनि फेरि एक हप्ता जति ग्याप भएर दोहोरिन्छ । यो के भएको होला ? सुझाव पाऊँ ।

– सुरेश गजुरेल, कास्की ।

सुरेशजी, कोरोनाको त्रासका कारण विकसित भएको मनोवैज्ञानिक असरले गर्दा यस्तो भएको हो । ४–५ दिनमा तपाईंले अलि सहज महसुस गर्नुहुन्छ, सकारात्मक सोच्नुहुन्छ अनि हराउँछ । त्यसपछि फेरि नकारात्मक सूचना, खबर, मृत्युका घटना, अस्पतालमा शय्या अभाव, सरकारले उपचार आफैं गर्नुपर्ने भनिदिएको निर्देशन, छिमेकी र चिनेका धेरैलाई संक्रमण, सके नराम्रो घटनासमेत घटेको जस्ता परिस्थितिले पुनः डर–त्रास पैदा हुँदा पुनः त्यस्तै लक्षण देखिन्छन् । तसर्थ सक्दो सुरक्षाका उपाय गर्ने, चिकित्सकको सल्लाह लिने, स्वास्थ्य मन्त्रालयका निर्देशिकाहरु पालना गर्ने, सधैँ मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, बेला–बेलामा साबुन–पानीले हात धुने गरेमा रोगको सम्भावना कम हुने कुरामा ढुक्क हुन सकिन्छ । यस्तो उपाय गर्दा पनि संक्रमण भैहालेमा अरु (९०–९५ प्रतिशत) लाई जस्तै हल्काफुल्का हो, सन्चो भैहाल्छ भनेर नकारात्मक त्रास हटाउनुपर्छ । रोग वास्तविक हो । पूर्ण होसियारी हुने, जनस्वास्थ्यका नियमहरु मनन गर्ने तर पूरै तर्सेर जीवन नै निरर्थक बनाउनु कदापि न्यायोचित होइन । सन्तुलित भोजन गर्नुस् । धूमपान, मद्यपान नगर्नुस् । नियमित व्यायाम गर्नुस् । राम्रो हुनेछ ।

 

उच्च रक्तचापको औषधि खान थालेपछि जीवनभर खानुपर्छ भन्छन् । मेरो रक्तचाप १४५/९० छ । म ५५ वर्षको भएँ । मैले रक्तचापको औषधि खानु ठीक होला कि नहोला ?

– माधव श्रेष्ठ, रामेछाप ।

माधवजी, उच्च रक्तचापको औषधि साधारणतया सधैँजसो वा जीवनभरिजस्तो खानुपर्ने हुन्छ । तर पनि रक्तचाप घटेमा चिकित्सकको सल्लाहमा औषधि घटाउन वा बन्द गर्न पनि सकिछ । उमेरअनुसार अलि–अलि बढे तापनि सबै उमेरका लाई मानिआएको नर्मल प्रेसर १२०–१३९ र ८०–८९ हो । योभन्दा अलि–अलि बढेमा जीवनशैली सुधार्ने, नून कम खाने, चिल्लो नखाने, नियमित व्यायाम गर्ने सल्लाह दिएर १५–२० दिन हेर्न सकिन्छ । नियमित प्रेसर रिकर्ड गरेर हेर्दा नाघेमा व बढ्दै गएमा औषधि शुरु गर्ने सल्लाह दिने गरिन्छ । यदि १६०/१०० भन्दामाथि भएमा तुरुन्तै औषधि खाने सल्लाह दिने गरिन्छ । त्यसैले भनिन्छ, जीवनशैली नै प्रेसरको पहिलो र सबभन्दा महत्वपूर्ण उपचार हो । औषधि शुरु गरे पनि, नगरे पनि केही गर्नै पर्ने परीक्षण गरिन्छ अनि अन्य स्वास्थ्य समस्या वा प्रेसरको कुप्रभाव भएको÷नभएको हेरिन्छ । यदि चिनीरोग भेटिएमा अलि–अलि बढ्नासाथ औषधि शुरु गर्नै पर्ने हुन्छ । तपाईंको हकमा अहिले तुरुन्त औषधि नखाई जीवनशैली सुधार्ने गरेर केही दिन हेर्न सकिन्छ । तर अत्यावश्यक केही परीक्षणहरु गरिहाल्नुपर्ने हुन्छ । त्यो सबै व्यवस्थित हुन/गराउन एकपटक मुटुरोग विशेषज्ञ भेटेर परामर्श लिने सल्लाह दिन चाहन्छु ।

 

टन्सिलले मुटु बिग्रिन्छ भन्ने सुनियो । मुटु र टन्सिलको सम्बन्ध के छ डा. साब ?

– मनोज धिताल, चोभार, काठमाडौं ।

मनोजजी, टन्सिल भयो भने र बेलैमा उचित उपचार गरिएन भने मुटुरोग, मृगौलाको रोग, बाथरोगको विकास हुने डर हुन्छ । मुटुरोगको विकास हेर्दा यदि ५ देखि १५ वर्षसम्मका स्कूले भाइबहिनीमा टन्सिल भएको बेलामा सही तथा सामयिक औषधि गरिएन भने शरीरको इम्युन प्रणाली सक्रिय भएर केही समयमा ठूला–ठूला जोर्नी समाउने, दुख्ने अनि सुन्निने हुन्छ । साथै ज्वरो आउँछ, मुटुको ढुकढुकी बढ्छ, श्वास फेर्न गाह्रो हुनसक्छ । यसलाई ‘र्‍युम्याटिक बाथज्वरो’ भनिन्छ । यसमा मुटुको भल्भमा प्रभाव पर्दै जान्छ । पटक–पटक टन्सिल हुने, बाथ ज्वरो हुने भयो भने मुटुका भल्भहरु घाइते हुँदै ड्यामेज भएर जान्छन् । पछि रोगी हुने, बढी नै च्याप्ने र मृत्युसम्म हुने हुन्छ । यो मुटुको बाथरोगको विकासको उदाहरण हो । यो गरिब देशमा बस्ने गरिबहरुलाई, समूहमा हावा कम खेल्ने वातावरणमा बस्नेहरुलाई हुने पाइएको छ । त्यसैले रोकथामको लागि घाँटी दुख्दै, टन्सिल हुँदै सही र सामयिक उपचार गर्न अति आवश्यक छ ।

 

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)
प्रतिक्रिया दिनुहोस्