सुत्केरीलाई देखिने मानसिक समस्या



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)

हरेकपटक परिवारमा नयाँ सदस्यको आगमन हुँदा प्रायः हर्ष तथा उल्लासको वातावरण हुन्छ । विशेषतः पहिलोपटक स्वस्थ बच्चालाई जन्म दिने महिलालाई आमा हुन पाएकोमा खुशी तथा गौरव महसुस हुन्छ । यसै कारणले महिलाहरु बच्चालाई जन्म दिएपछि केही क्षणअघिसम्मको सारा पीडा, दुःख, कठिनाइ बिर्सन्छन् । विगत नौ महिनाको गर्भ अवधिका समस्याहरु त झनै बिर्सिने नै भए । त्यसैले पनि नवजात शिशुलाई काखमा लिई आनन्दको अनुभूति गर्दै बच्चाको स्याहारसुसार गर्न लागिहाल्छिन् । तर सबैको भाग्यमा यस्तो सुखद अवस्था नहुने रहेछ ।

३४ वर्षीया करुणाले तेस्रो सन्तान पाएको छैटौं दिनमा आफूले आफैलाई आगो लगाई जीवन त्याग गरिन् । त्यसै पनि यसअघि दुईवटी छोरी–छोरी पाएकी कारण परिवारको पटक–पटकको टोकसोले हैरान थिइन् । यसपटक पनि छोरी नै भएपछि के चाहियो र ? दायाँ–बायाँ नसोची आफैलाई सिध्याउने निर्णयमा पुगिन् । यस्तै अर्को घटनामा कोठामा डेरा गरी बस्ने शिला बच्चा पाएको हप्ता–दश दिनमा त्यत्तिकै रुने, कराउने, आत्तिने गर्न थालिन् । आफ्नो कामकाज त छँदै छ, पिउसोजस्तो शिशु त्यसमाथि श्रीमती शिलाको यस्तो हालतले राधेश्यामलाई के गरुँ, कसो गरुँ भयो । दूरदराजबाट काठमाडौंमा आई सानोतिनो काम गरेर गुजारा गरिरहेका राधेश्यामको बेहाल भयो ।

बच्चा पाएपछि अधिक रक्तश्राव हुने, उच्च ज्वरो आउने तथा विविध खालका संक्रमणलगायतका अन्य स्वास्थ्य समस्याहरु तुलनात्मकरुपमा अपेक्षित नै हुन्छन् । त्यसो भएर सबैले हेक्का पनि राख्छन् । तर अन्यत्रझैँ नेपालका सुत्केरी महिलाहरुमा विभिन्न खालको मानसिक स्वास्थ्य समस्या पनि देखिन सक्छ । नेपालीहरुमा सहन सक्ने क्षमता अलि बढी छ, महिलाहरुमा झन् बढी । त्यसो भएर पनि सुत्केरी महिलामा देखिने मानसिक स्वास्थ्य समस्यालाई हल्का तवरले लिएको देखिन्छ । अनि गम्भीर एवं प्रतिकूल असर देखेपछि पछुताउनुको विकल्प हुँदैन ।

मैले बच्चा पाएकै छैन, मेरो बच्चा होइन, मेरो विवाह नै भएको छैन, मेरा दुश्मनहरुले मलाई फसाउन खोजेका छन् भन्ने गर्नु पनि मानसिक असन्तुलनका लक्षणहरु हुन् ।

त्यसो त नेपालीहरुमा तुलनात्मकरुपमा सुत्केरीपछि मानसिक समस्या प्रकट नहुनुमा कतिपय जाति विशेषमा प्रचलित संस्कारका कारण पनि हुन सक्छ । जस्तै कि नेवार जातिमा सुत्केरी व्यथाअगाडि माइती एवं घरको तर्फबाट दही–चिउरा खुवाउने गरिन्छ । यो चलन अन्य कतिपय जातिहरुमा पनि विभिन्न नाममा गर्ने गरेको देखिन्छ । यस्तो चलनले सुत्केरी हुने महिलालाई सुत्केरी व्यथाको लागि मानसिकरुपमा तयार हुन र गर्भावस्थाका कतिपय निराशाहरु हटाउन निकै सघाउ पुग्छ । अनि प्रायः सबैजसो जातिमा सुत्केरीको केही दिनमा न्वारान गराउने, चोख्याउने चलन छँदै छ । यी प्रचलनले प्रसवोत्तर समयमा मानसिक अवस्था सकारात्मक राख्न मद्दत पुग्छ । किनकि दही–चिउरा ख्वाउने बेलामा, न्वारानको बेलामा आएका अनुभवी महिलाहरुले धेरै थोरै आ–आफ्ना अनुभव सुनाउने, हौसला बढाउने कार्य तथा त्यस अवसरमा दिइने उपहारहरु, आशीर्वचनहरुले मन प्रफुल्लित अवस्थामा राख्न सघाउ पुर्‍याउँछ ।

तर पछिल्लो समय बढ्दो शहरीकरण, वैदेशिक रोजगारीका कारण नेपाली समाज पनि संयुक्त परिवारबाट एकल परिवारमा, अझ नितान्त नौलो ठाउँमा पति–पत्नी मात्र डेरामा गुजारा गर्न थालेपछिको परिदृश्य भने गर्भवती एवं सुत्केरी महिलाको हितमा छैन । त्यसैले पनि होला पछिल्लो समय सुत्केरीपश्चात् अलि गम्भीर खालको मानसिक समस्या बढ्दो क्रममा छ । बच्चालाई जन्म दिएको दुई महिनाभित्र केही महिलालाई विभिन्न मानसिक स्वास्थ्य समस्या देखिन सक्छ । सुत्केरी महिलामा देखिने मानसिक स्वास्थ्य समस्याहरुमा उदासीपन, अवसाद (डिप्रेसन) र मानसिक असन्तुलन (प्रसवोत्तर मनोविकृति) गरी तीन प्रमुख प्रकारका हुन सक्छन् ।

बच्चा जन्माएको तेस्रो वा चौथो दिनमा झन्डै आधा सुत्केरी महिलाको मनमा नरमाइलो हुने, झिँजो लाग्ने वा चिडचिडाहटपन हुने गरेको पाइएको छ । तर यस्ता लक्षणहरु क्षणिक मात्र हुन्छन् । एक–दुई दिनमा पूरै हराएर जान्छन् । यस्तो समस्यालाई प्रसवोत्तर उदास भनिन्छ । भर्खरै आमा बनेका महिलालाई ढाडस दिने, सघाउने, तिनीहरुको ख्याल राख्ने, तिनीहरुको गुनासा भए सुन्ने, मन बहलिने परामर्श दिए मात्र पनि पुग्छ । यसको लागि खास प्रकारको मेडिकल उपचारको आवश्यकता हुँदैन । समयक्रममा यो समस्या स्वतः आफै कम भएर जान्छ ।

कहिलेकाहीँ आत्महत्या गर्नुपूर्व बच्चालाई मारेर फालिदिने वा बच्चालाई काखमा लिएर नदी–तलाउमा हाम फाल्ने गरेको समेत पाइन्छ । नेपालमा बच्चा पाउने उमेरका महिलाले बढी आत्महत्या गर्ने गरेको पाइएको छ ।

प्रसवोत्तर अवसाद (डिप्रेसन) भयो भने मन उदास हुन्छ, राम्रोसँग निद्रा लाग्दैन, बेलाबेलामा विनाकारण रुन मन लाग्छ, नवजात शिशुको स्वास्थ्य राम्रो छैन कि तथा बच्चाको राम्रो स्याहारसुसार गर्न सक्दिन कि भन्ने डर हुन्छ । हाँस्न, बोल्न, कुरा गर्न, बच्चाको स्याहार गर्न वा रमाइलो गर्न पनि मन लाग्दैन । डिप्रेसन भएपछि कुनै कुरामा पनि चाख लाग्दैन । डिप्रेसन बढ्दै जाँदा बाँच्न मन लाग्दैन, आत्महत्या गर्ने जस्ता नराम्रा विचार आउँछन् । डिप्रेसन यस्तो रोग हो, जसले गर्दा मनमा खाली नराम्रा विचार, नकारात्मक कुराहरु मात्र आउँछन् । राम्रा विचारहरु मनमा ल्याउँछु भने पनि बिरामीले सक्दैन । अर्को समस्या के छ भने, परिवारले यी लक्षणलाई सामान्यरुपले लिने गर्छन् । कमजोरी भएर होला, श्रीमान्सँगै नभएर होला, छोरी पाएर होला, लागुभागु लागेर होला आदि भन्ने गरिन्छ । तर डिप्रेसनबारे यथेष्ट जनचेतना नभएर र परम्परावादी सोचले यस्तो भन्ने गरिएको हो ।

डिप्रेसन रोगको पहिचान भएन र रोग बढ्दै गयो भन्ने आत्महत्या गर्नेसमेत डर हुन्छ । कहिलेकाहीँ आत्महत्या गर्नुपूर्व बच्चालाई मारेर फालिदिने वा बच्चालाई काखमा लिएर नदी–तलाउमा हाम फाल्ने गरेको समेत पाइन्छ । नेपालमा बच्चा पाउने उमेरका महिलाले बढी आत्महत्या गर्ने गरेको पाइएको छ । यसको एउटा कारण सुत्केरी अवस्थामा हुने अवसाद पनि हुन सक्छ ।

प्रसवोत्तर मनोविकृति पाँच सयजना सुत्केरी महिलामध्ये एकजनालाई हुने गम्भीर खालको मानसिक स्वास्थ्य समस्या हो । यसले भयंकर रुप लिन सक्छ । यो रोग बच्चा जन्मेको एक–दुई दिनमै पनि देखिन सक्छ । यो समस्यामा बोलिचाली तथा व्यवहारमा असामान्य परिवर्तन हुने, विनाकारण ज्यादै खुशी हुने, बढी बोल्ने, गीत गाउने, नाच्ने, बढी सिँगारपटार गर्ने र कसैले भनेको नमान्ने खालका लक्षणहरु देखिन्छन् । कसै–कसैले त आफू देवी भएको वा देवीले शक्ति दिएको घमण्ड गर्छन् र सबैलाई ठीक पार्ने वा भष्म गर्ने कुरा पनि गर्न सक्छन् ।

यो समस्या भएकामध्ये कसै–कसैलाई मिथ्याभास हुन सक्छ । यो समस्या हुनेहरुले कसैले टेलिफोन गरेको, आकाशवाणी आएको, बोलाएको, गाली गरेको जस्ता कुराहरु गर्न सक्छन् । त्यस्तै हुँदै नभएको वा हुनै नसक्ने कुराको विश्वास पनि गर्न सक्छन् । मैले बच्चा पाएकै छैन, मेरो बच्चा होइन, मेरो विवाह नै भएको छैन, मेरा दुश्मनहरुले मलाई फसाउन खोजेका छन् भन्ने गर्नु पनि मानसिक असन्तुलनका लक्षणहरु हुन् । यसमा सबैलाई शंका गर्ने, डराउने, बच्चालाई हेरचाह गर्न नमान्ने र बच्चालाई मार्न खोज्ने समेत हुन सक्छ ।

उपचार

सुत्केरी महिलामा यस्ता मानसिक समस्या किन हुन्छन् भन्ने जिज्ञासा लाग्नु स्वाभाविक नै हो । बच्चा जन्माउँदा के हुने हो, कसरी हुने हो भन्ने मानसिक तनाव निकै हुन्छ । गर्भावस्थामा बढ्ने इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको मात्रा बच्चा जन्मनेबित्तिकै ह्वात्तै तल झर्ने भएको कारण विभिन्न मानसिक समस्या देखिन सक्ने अनुमान गरिएको छ । केही अध्ययनले मनोसामाजिक समस्याहरुले यस्ता रोगहरु निम्त्याउँछन् भनेका छन् । जस्तै– बच्चा जन्माउने कि नजन्माउने द्विविधा, अनिच्छित गर्भ रहेको र बाध्यतापूर्ण गर्भ, श्रीमान् वा परिवारजनसँगको बेमेलले पनि मानसिक स्वास्थ्य समस्या देखा पर्दछ ।

त्यस्तै बाबु वा आमालाई डिप्रेसन वा मानसिक असन्तुलन छ भने वंशाणुगत कारणले छोराछोरीलाई पनि हुन सक्छ । पहिले डिप्रेसन वा मानसिक असन्तुलन भएर निको भएकी महिलाले बच्चा पाउँदा पनि पहिला भएको रोग देखिन सक्छ । नेपालमा यस्ता मानसिक असन्तुलनका लक्षणहरु देखिनेबित्तिकै भूतप्रेत लाग्यो भनेर धामीझाँक्रीबाट उपचार गराउने चलन छ । मानसिक असन्तुलन भएर यस्तो भएको हुन सक्छ वा यी लक्षणहरु मानसिक असन्तुलनको कारण भएको हुन सक्छ भन्ने परिवारले बुझ्नुपर्छ। उपचारको कुरा गर्नुपर्दा प्रसवोत्तर उदासीपन एवं सामान्य खालको डिप्रेसन छ भने परिवारको माया, ममता, हौसला, पौष्टिक आहार आदिले धेरै सहयोग गर्छ । सामान्य डिप्रेसनमा मनोविमर्शकर्ताको सल्लाह–परामर्श लिनु राम्रै हुन्छ । डिप्रेसन कडा खालको छ भने औषधि सेवन गर्नुपर्दछ । डिप्रेसनका कारण महिलाले आत्महत्या गर्ने कुरा गर्छिन् वा प्रयास पनि गरिसकिन् भने अस्पतालमा भर्ना गरेर मानसिक रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

सुत्केरी महिलालाई कडा खालको मनोविकृति वा मानसिक असन्तुलन नै भयो भने अस्पतालमा भर्ना गरेर उपचार गराउनु राम्रो हुन्छ । उपचार पाउन नसके आमा तथा बच्चाको ज्यानको असुरक्षा हुन्छ । औषधि उपचारका साथै श्रीमान् तथा परिवारजनको माया, ममता, हेरचाह र सहयोग अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्