तपाईंका घरमा हाम्रा डाक्टर



अचेल होल बडी चेकअप गर्ने फेसनजस्तै चलेको देखिन्छ । केही नभएको मानिसको लागि होल बडी चेकअप आवश्यक छ कि छैन होला ?

– जीवन कार्की, रौतहट ।

जीवनजी, ३० वर्षको उमेर नाघेको हरेकले वर्षको एकपटक साधारण स्वास्थ्य जाँच गरेको राम्रै हुन्छ । जहाँसम्म होल बडी चेकअपको कुरा छ, व्यापारिक उद्देश्यले गराइने स्थानमा भन्दा सरकारी अस्पतालमा गरिने होल बडी चेकअपमा अत्यावश्यक परीक्षणहरु समेटिएका हुन्छन् । प्रायः सबैले बर्सेनि मुख्य–मुख्य जाँचहरु गराउनु जरुरी नै छ । किनभने आजकल सानै उमेरमा विभिन्न नसर्ने रोगहरु, मुटुका रोगहरु अदि देखिन थालेका छन् ।

 

म २४ वर्षीया महिला हुँ, गर्भवती छु । यस अवस्थामा वाकवाक आउने समस्या हटाउने कुनै उपाय भए बताइदिन अनुरोध छ ।

– नूतन, काठमाडौं ।

नूतनजी, गर्भवती हुँदा वाकवाक लाग्ने धेरैलाई हुन्छ । अझ कोहीलाई त अचाक्ली वाकवाक लाग्छ । कसैलाई केही नहुन पनि सक्छ । त्यो शशीरको प्राकृतिक प्रतिक्रिया हो । गर्भावस्थामा औषधि खाएर वाकवाकी रोक्नु भरसक राम्रो होइन । साह्रै भएमा भने औषधि नै पनि खानुपर्ने हुन्छ । जहाँसम्म सल्लाह दिनुपर्दा सुख्खा खानेकुरा अनि झोल कुरा अलग–अलग खाने गर्नुस् । सुख्खा खाँदा सुतेर खाने, अलि–अलि वा थोरै–थोरै गरेर खाने गर्नुस् । जे खाऊँ–खाऊँ लाग्छ त्यो खानेकुरा खान प्रयास गर्नुस् । वाकवाकी लागेको बेलामा मुखले श्वास लिने र नाकले फ्याँक्ने, व्यायाम गर्नेजस्ता उपायहरु अपनाउन सकिन्छ । यदि अति नै गाह्रो भएमा सुरक्षित किसिमको औषधि खान सकिन्छ, यसका लागि स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नु जरुरी हुन्छ ।

 

स्वास्थ्यसम्बन्धी लेखहरुमा नियमित एक्सरसाइज गर्नु भनेको देखिन्छ । मानिसलाई एक्सरसाइजको किन आवश्यकता पर्दछ ?

– शुभ खड्का, दक्षिणकाली ।

शुभजी, नियमित व्यायाम गर्नु भनेको स्वस्थ हुनु, सम्पूर्ण नसर्ने रोगहरु (उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, चिनीरोग, क्यान्सर, उच्च कोलेस्ट्रोल, उच्च तौल) लाग्न बाट रोक्नु वा बच्नु, रोग लागेको भएमा रोगको रोकथाम एवं नियन्त्रण गर्नु हो । यस्ता फाइदा अन्य पनि छन् । जो मान्छे नियमित व्यायाम गर्छ, ऊ फूर्तिलो, छरितो, निरोगी, सुन्दर, ठिक्क तौल भएको हुन्छ । चिनीरोग, रक्तचाप, उच्च कोलेस्ट्रोल, उच्च तौलजस्ता अवस्थाको लागि त नियमित व्यायाम औषधिजस्तै हो । जसले गर्दा औषधिको मात्रा कम भए पनि यस्ता समस्या नियन्त्रणमा आउने, औषधि कम लाग्ने, औषधि शुरु गर्न पनि पछि सार्न सकिने हुन्छ । नियमित व्यायाम गर्नेको निद्रा राम्रो हुन्छ, शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुन्छ । त्यसर्थ स्वस्थ हुन र निरोगी हुन पनि चाहने हो भने नियमित व्यायाम गरौँ । त्यो व्यायामको रुप खेल्ने, छिटो–छिटो हिँड्ने, योग गर्ने, दगुर्ने जे गरे पनि हुन्छ । कम्तीमा दिनको ३० मिनेट वा सकेसम्म बढी यसका लागि छुट्याउने गरौं ।

 

हालै आएको कोरोनाको भ्याक्सिनबाट विदेशमा धेरैलाई साइड इफेक्ट भएको, मृत्यु भएको सुनिएकोले भ्याक्सिन पाउँदा पनि लगाउने कि नलगाउने भन्ने दोधारमा छु । उपयुक्त सुझावको अपेक्षा गर्दछु ।

– रोहित केसी, धुम्बाराही, काठमाडौं ।

रोहितजी, कोरोनाको भ्याक्सिनको बारेमा धेरै अनावश्यक हल्ला, गलत सूचना, नभएका भनाइहरु सुन्नमा र देख्नमा आएका छन् । सत्य कुरा के हो भने, यी भ्याक्सिनहरु पचासौं हजार स्वयंसेवक मान्छेहरुमा परीक्षण भई सुरक्षित प्रमाणित भएर मात्रै आम जनसमुदायमा लगाउने निर्णय गरिएका हुन् । संसारका धेरै देशमा यो खोप सुरक्षितरुपमै लगाइएका छन् । खासै डर लाग्दो र नराम्रो प्रभाव देखिएको छैन । अति साधारण लक्षण देखिन सक्ने र अति नै दुर्लभ वा एकदमै कम मान्छेमा रियाक्सन हुन सक्ने भए तापनि त्यो नगन्य छ । यो भ्याक्सिन वैज्ञानिकहरुको अथक् मेहनत अनि प्रयास र अध्ययनबाट मात्रै सम्भव भएको । यो विज्ञानको सत्यको पाटोसमेत भएको, साथै हामी सबै चिकित्सक, स्वास्थ्य कार्यकर्ता, अस्पताल स्टाफहरुले लगाइसकेको अवस्थामा त्यो दोधार पालिरहन आवश्यक छैन भन्न चाहन्छु । यो भ्याक्सिन लगाउने मौका मिलेमा सहजै लगाउने सल्लाह दिन चाहन्छु ।

 

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)
प्रतिक्रिया दिनुहोस्