पान पनि क्यान्सरको कारक बन्छ !



– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

नेपाल, भारत र केही अन्य दक्षिण एसियाली देशहरुमा पान खाने चलन संस्कृतिको रुपमा स्थापित छ । अध्ययनहरुका अनुसार विश्वका ६० करोड जनसंंख्याले दैनिकरुपमा पान खाने गर्दछन् । संवेदनशील कुरा के हो भने, सुर्ती, रक्सी, चिया कफीपछि पानलाई चौथो अधिक मनोत्तेजक पदार्थ मानिन्छ । एक खिल्ली पानले ६ कप कफी खाए बराबरको मनोत्तेजना दिन्छ भन्ने अध्ययनले देखाएको छ । आखिर पानमा त्यस्तो के छ ? पान खाने संस्कृति नेपाली समाजको विविध क्षेत्रसँग अन्तरसम्बन्धित छ । समाजमा पान खाने संस्कृतिले बहुआयामिक दीर्घकालीन प्रभाव पारिरहेको पाइन्छ ।

नेपालमा पाइने पानका जातहरुमा देशी, बंगला, सञ्चारी र मिठापत्ता हुन् । जानकारहरुका अनुसार पानको पातका ६४ जातहरु भारतमा पाइएका छन् । तीमध्ये प्रमुख जातहरु देशी, काली, रायटेक आदि महाराष्ट्रमा उत्पादन हुन्छ । साँची, मिठु (मिठापत्ता), जहाजी र बंगलापान आसाम एवं पश्चिम बंगालमा, देशी देशावरी, कपुरी, मधही, बनारसी, कलकतिया, बंगला पान उत्तर प्रदेशमा हुन्छ ।

नेपालमा जनकपुरिया पान र भारतमा बनारसी एवं बंगाली पान चर्चित पानको प्रकार मानिन्छ । ती प्रकारहरुमा पनि धेरैले जर्दा (सुर्तीयुक्त) र मिठ्ठा राखी पान खाने गर्छन् । हिजोआज पानको नयाँ भेराइटी फायर पान खाने चलन युवा पुस्तामा फेसनको रुपमा आएको देखिन्छ । समग्ररुपमा हेर्दा पान खाने संस्कृति नेपालको धर्म, स्वास्थ्य, अर्थतन्त्र, रोजगारी, कृषि, सौन्दर्य उद्योग आदिसँग प्रत्यक्षरुपमा सम्बन्धित छ ।

 

जर्दा पान खानाले धेरैलाई मुखको क्यान्सर हुने सम्भावना हुन्छ । खाने पानमा राखिने सुर्ती कडा मनोत्तेजक पदार्थ हो । पान खाँदा चपाउने क्रममा सुर्तीको रस पेटसम्म जाने भएकोले त्यसबाट पाचन प्रक्रियामा नकारात्मक असर गर्दछ ।

 

पानको धार्मिक उपयोगिता

हिन्दू धर्मावलम्बीहरुले पूजापाठ, अनुष्ठान आदि शुभ कार्यहरुमा सुपारीसँग प्रायः पानको पात प्रयोग गरेको पाइन्छ । परापूर्वकालदेखि नै यसलाई नेपाली एवं मिथिलाको पनि सांस्कृतिक पहिचान मानिन्छ । पानको पातलाई शुद्ध र पवित्र मानेर देवतालाई पनि चढाइन्छ । अष्टलक्ष्मी, गणेश, भैरव, जगदम्बाको पूजा र श्राद्धमा समेत पान चढाइन्छ । बिहेवारीमा सगुनको रुपमा पनि पान लानु शुभ मानिन्छ । ज्योतिष शास्त्रीय हिसाबले घरबाट कतै टाढा निस्कँदा पान खाएर हिँड्दा साइत पर्ने विश्वास गरिन्छ । मिथिलामा कोजाग्रत पूर्णिमा, छठपर्व, भाइटीका आदि विशेष दिनहरुमा पानको बिक्री बढी हुने गर्दछ । त्यस दिन भगवान्लाई पान चढाउने र कहिल्यै पनि पान नखानेहरुले समेत पान खाने चलन पाइन्छ । भोजभतेरमा खानापछि सम्मानस्वरुप पान–सुपारी टक्र्याउने चलन धेरैतिर पाइन्छ ।

आर्थिक उपार्जनमा पान

खानका लागि नेपालमा खपत हुने पानको पात भारतबाट नै आयात हुन्छ । खाने पानमा राखिने अन्य सामग्री (पानमसलाहरु) पनि भारतबाट नै आयात हुन्छ । तराईका जिल्लाहरुमध्ये झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा आदि जिल्लामा २०४४ सालदेखि कृषकस्तरमा पान लगाउँदै आएको पाइन्छ । केही समयअघिदेखि मात्र तुलनात्मक दृष्टिले थोरै क्षेत्रफलमा झापा जिल्लाको शनिश्चरे, मोरङको लेटाङ, मधुमल्ला, सुनसरीको पञ्चकन्या र श्रीपुर तथा सप्तरी जिल्लामा व्यावसायिक स्तरमा परीक्षणको रुपमा पान खेती गर्न थालिएको छ । यसरी खेती गर्दा प्रतिकठ्ठा/प्रति सिजन रु. १२–१५ हजारसम्म खुद मुनाफा हुने कृषकहरु बताउँछन् । पान खेतीको लागि उष्ण प्रदेशीय जंगल क्षेत्र उपयुक्त मानिएको छ । कृषकहरुले अन्य खेतीमा लगाउने केही खर्च र श्रम पान खेतीमा लगाउने हो भने कृषकको आर्थिक समुन्नति हुने मात्र नभई मुलुकको अर्थतन्त्रमा पनि ठूलो सघाउ पुग्ने सम्भावना देखिन्छ ।

 

सौन्दर्य एवं शानका लागि

पानको उपभोग नेपाली एवं मैथिली संस्कृतिको विशेष पक्ष हो । मधेसमा नारी र पुरुष दुवैले पान खाने चलन रहेको पाइन्छ । पान खानु वा खुवाउनुलाई मधेसमा शानको विषय मानिन्छ । पानले मुखको शोभा बढाउँछ भन्ने मान्यता रहेको छ । स्वरलाई सुरिलो पार्ने हुँदा गायकहरुले भारतमा पनि विशेष गरी पान खाने गर्दछन् । अचेल नारीहरु लिपस्टिकको प्रयोग गरेर ओठ रातो बनाउँछन् तर पहिलेका नारीहरु पान खाएर आफ्नो ओठको नैसर्गिक लालिमा बनाउने गदर्थे । पानले सासलाई ताजा राख्न सघाउँछ । पान खाएपछि कामोत्तेजनमा वृद्धि हुने र स्मरण शक्ति बढ्ने मान्यता छ ।

 

स्वास्थ्यका दृष्टिमा पान

आयुर्वेद शास्त्रका अनुसार मुखको स्वच्छताका लागि दिनचर्यामा पान (ताम्बुल) सेवन गर्न निर्देश गरिएको छ । पानमा १ सय ५ गुण हुने बताइएको छ । वाग्वटकृत अष्टाङ्ग संग्रहका अनुसार खानापछि, सुतेर उठेपछि, नुहाएपछि र बान्तापछि दुईवटा पानको पात, एक टुक्रा सुपारी खयर र चुनासँग खाएमा त्यो अम्मल नभई पाचनक्रियाको सहयोगी हुन्छ । कमजोरी, रुघाखोकी, सर्दी, नेत्ररोग, विष विकार, मूच्र्छा रोग, मदात्य, क्षयरोग र रक्तपित्त विकारमा पनि लाभदायी हुन्छ । तर यस्तो प्रभाव दिने पानमा सुर्ती राखिएको हुनुहुँदैन । घाँटी खुल्ला बनाउने पानको पातमा भिटामिन बी र सी हुन्छ । पानको पातको लेप अनुहारमा लगाउँदा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ । ल्वाङ, सुकुमेल मिसाइएको मिठा पान खाँदा खोकीबाट पनि राहत मिल्छ ।

सादा पान खानु आफैंमा स्वस्थकर मानिन्छ तर खाने पानमा राखिने गुट्खा, चुन, सुर्ती, सुपारी, प्रशोधित खयर/कत्था एवं अन्य सुगन्धदायक मसलाहरु हानिकारक हुन्छन् । क्यान्सर लगाउने हुन्छन् । तथ्यांकहरुका अनुसार जर्दा पान खानाले धेरैलाई मुखको क्यान्सर हुने सम्भावना हुन्छ । खाने पानमा राखिने सुर्ती कडा मनोत्तेजक पदार्थ हो । पान खाँदा चपाउने क्रममा सुर्तीको रस पेटसम्म जाने भएकोले त्यसबाट पाचन प्रक्रियामा नकारात्मक असर गर्दछ । जर्दायुक्त पानले दाँतलाई कालान्तरमा कालो बनाउने र दाँतको स्वास्थ्य नराम्रोसँग बिगार्छ ।

विशेष कुरा के हो भने, पान खाँदा धेरैले सुर्ती, सुपारी, गुट्खालगायत अन्य पदार्थको नशा पनि सँगै सेवन गरिरहेका हुन्छन् । तर यसप्रति सचेत हुनु जरुरी छ । जर्दायुक्त पानको सेवन चुरोट खानुभन्दा पनि खतरनाक हुन्छ । पान खानु शान होला तर पान खाएर जताततै प्याचप्याच थुकेर भित्ता रंगाउनु असभ्यता हो । पान खाने चलनलाई सभ्य संस्कृतिको रुपमा कायम राखौं ।

प्रतिक्रिया दिनुहोस्