योनिको दुर्गन्ध कसरी कम गर्ने ?



– डा. राजेन्द्र भद्रा

म २२ वर्षीया युवती हुँ । मेरो पहिलो यौनसम्पर्क १८ वर्षको हुँदा भएको थियो । त्यति बेला मलाई केही समस्या आएजस्तो महसुस भएन । तर अहिले २–३ वर्ष भयो मेरो गुप्ताङ्ग अलि बढी गन्हाउँछ, चिलाउँछ । कहिलेकाहीँ पिसाब गरेपछि गुप्ताङ्ग पोल्छ । यो के भएको हो ? कृपया भनिदिनुहोला ।    

– नीना, सुर्खेत

 

प्रत्येक व्यक्तिको आ–आफ्नै किसिमको स्वाभाविक गन्ध हुने गर्दछ । विशेष गरेर व्यक्ति किशोरावस्थामा पुगेपछि हाम्रो छालामा भएका पसिना ग्रन्थिहरूका श्राव तथा त्यसमा जीवाणुका क्रियाकलापका कारणले यस्तो हुने गर्दछ । विशेष गरेर किशोरावस्थामा एपोक्राइन तथा सिवेसियस ग्रन्थिहरु सक्रिय हुन्छन् । एपोक्राइन ग्रन्थि विशेष गरेर हाम्रो काखी र यौनाङ्ग क्षेत्रमा पाइन्छ । यी नै हाम्रो शरीरको गन्धको लागि प्रमुखरुपमा जिम्मेवार हुन्छन् ।

यी लगायत हाम्रो खाना, स्वास्थ्य स्थिति, हामीले सेवन गरेका केही औषधिले पनि हाम्रो शरीरको गन्धलाई प्रभाव पार्ने गर्दछ । तपाईंले याद नै गर्नुभएको होला कि पुरुष र महिलाको शरीरको गन्धमा पनि भिन्नता हुन्छ ।

अब योनिको गन्धको कुरा गरौं । योनिको गन्धको बारेमा कतिपय महिलालाई तपाईंलाई जस्तै नै चासो हुने गर्दछ र विशेष गरेर अन्तरंग सम्बन्ध राख्नुपर्ने स्थिति आउँदा यसको चिन्ता अधिक हुने गर्दछ । तपाईंलाई छापा तथा टेलिभिजनमा गरिएका प्रचारले तपाईंको यौनाङ्ग क्षेत्र पनि फूलकै झैँ गन्ध आउनुपर्छ जस्तो लाग्न सक्छ तर वास्तविकता त्यो होइन । स्वस्थ योनिको एक विशेष आफ्नै किसिमको गन्ध हुन्छ । महिलामा भने महिनावारीको चक्रअनुरुप यसको गन्धमा पनि केही परिवर्तन आउने गर्दछ । यस्ता गन्ध व्यक्तिअनुसार पनि फरक हुने गर्दछ । कतिपय महिलामा यो गन्ध कडा किसिमको हुन्छ भने कतिपयमा हल्का किसिमको । यौनसम्पर्कपछि, वीर्य स्लखनपश्चात् पनि योनिको गन्ध फरक आउने गर्दछ ।

योनिको असामान्य गन्धप्रति विशेष चासो र चिन्ता हुनु जायज पनि छ, किनकि यसले कुनै विकार वा रोगलाई संकेत गरिरहेको हुन सक्छ ।

योनिको असामान्य गन्ध

योनिको असामान्य गन्धप्रति विशेष चासो र चिन्ता हुनु जायज पनि छ, किनकि यसले कुनै विकार वा रोगलाई संकेत गरिरहेको हुन सक्छ । के कस्तो अवस्थामा विशेष गरी योनि असामान्यरुपमा गन्हाउने गर्दछ त ? यसबारेमा चर्चा गरौं :

तपाईंले योनि गन्हाउनेदेखिबाहेक चिलाउने वा पोल्ने पनि गरेको उल्लेख गर्नुभएको हुनाले योनिको संक्रमणलाई पनि संकेत गरिरहेको छ ।

योनिको संक्रमणको कुरा गर्दा, यी प्रजनन अङ्ग संक्रमण जसमा यौनसम्पर्क हुनु आवश्यक हुँदैन भने अर्कोतिर यौनरोग पनि हुन सक्छ, जसमा यौनसम्पर्कको माध्यमबाट संक्रमण हुन सक्छ ।

योनिको गन्धको सन्दर्भमा हुने योनिको संक्रमणमध्ये एक प्रमुख ब्याक्टेरियल भेजाइनोसिस (yeast infection) हो । योनिमा सामान्यरुपमा हुने जीवाणुका मात्रामा असन्तुलन हुन जाँदा यस्तो हुन्छ । सेतो वा मैलो किसिमको र अधिक मात्रामा योनिश्राव हुने, योनिको वरिपरि चिलाउनेबाहेक योनिबाट आउने गन्ध माछाको जस्तो हुने गर्दछ । तपाईंले गन्धको प्रकार कस्तो छ भन्ने लेख्नुभएको छैन । अर्को धेरैजसो हुने योनिको संक्रमण अर्थात् इस्ट इन्फेक्सन ९थभबकत ष्लाभअतष्यल० हो । योनि र वरिपरि चिलाउने, पिसाब पोल्ने हुनेबाहेक पनिरजस्तो सेतो बाक्लो योनिश्राव भए पनि यसको गन्ध भने खराब हुँदैन । यस्तो योनिको संक्रमण यौनसम्पर्क नराखेको स्थितिमा पनि हुन सक्छ ।

तपाईंले १८ वर्षको उमेरमा यौनसम्पर्र्क भएको कुरा गर्नुभएको छ । त्यसैले यौनरोग लागेको सम्भावनालाई पनि नकार्न सकिन्न । यौनरोगमध्ये ट्राइकोमोनियसिस भनिने संक्रमण योनिमा गन्ध गराउने मुख्य कारण हो । तपाईंको त्यस बेला एकपटक मात्रै यौनसम्पर्क भएको थियो कि त्यसपछि पनि निरन्तर यौनसम्पर्क हुँदै आएको हो ? सो एकदम स्पष्ट भएको भए जवाफ दिन धेरै सजिलो हुने थियो ।

यसको साथै योनि तथा यौनाङ्ग क्षेत्र पर्याप्तरुपमा सफा नहुनु पनि अर्को महत्वपूर्ण कारण हो ।

छापा तथा टेलिभिजनमा गरिएका प्रचारले तपाईंको यौनाङ्ग क्षेत्र पनि फूलकै झैँ गन्ध आउनुपर्छ जस्तो लाग्न सक्छ तर वास्तविकता त्यो होइन ।

 

समाधान के होला ?

योनिका केही संक्रमण यौनरोग पनि हुन सक्ने र त्यसको उपचार आवश्यक भएकोले कारण पत्ता लगाई उपचार गर्नुपर्छ । यसको लागि तपाईंलाई चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । यौनरोग लागेको रहेछ भने चिकित्सकले भनेअनुसारको सम्पूर्ण मात्राको औषधि सेवन गर्न मात्रै होइन कि आफ्नो यौनसाथीको उपचार पनि गर्नुपर्छ । यौनरोग नलागोस् भन्नाका लागि प्रत्येक यौनसम्पर्कको बेलामा कन्डमको प्रयोग सही तरिकाले गर्नुपर्दछ ।

यसको साथै अर्को महत्वपूर्ण पक्ष योनिको संक्रमण हुन नदिनु हो । योनिको सरसफाइ एक महत्वपूर्ण पक्ष हो । योनिमा हुने संक्रमणबाट बच्न वा कम गर्न निम्न केही तरिका अपनाउन सकिन्छ :

– योनि तथा यौनाङ्ग क्षेत्रलाई सफा राख्ने । हल्का किसिमको साबुन र पानीले योनिको बाहिरी भाग प्रत्येक दिन धुने । दिसा–पिसाबपछि टिस्यु पेपरले पुछ्ने गर्नुभएको छ भने अगाडि (योनि) तिरबाट पछाडि (मलद्वार) तिर लगेर पुछ्ने । पछिल्तिरबाट अघिल्तिर लगेर पुछ्दा मलद्वारमा भएका जीवाणु योनिमा पर्न सक्छन् ।

– भित्री लुगा (अन्डरवेयर) धेरै कसिलो तथा नाइलन, पोलिस्टर वा रेयोनले बनेको प्रयोग नगर्ने । बरु सुतीले बनेको मात्र प्रयोग गर्ने गर्नुपर्छ । यौनाङ्ग क्षेत्रलाई ओभानो राख्ने गर्नुपर्दछ । गर्मी र धेरै ओसिलो भएमा जीवाणुको संक्रमण हुने सम्भावना बढी हुन्छ ।

– योनिलाई सफा गर्न भनेर धेरैले योनिमा डुस दिने गर्दछन् । स्वस्थ योनिले आफूलाई सफा गर्ने आफ्नै प्राकृतिक तरिका हुन्छ । डुस दिने, कडा किसिमको साबुनको प्रयोग अनि डिओडेरान्टको प्रयोगले योनिको प्राकृतिक अवस्थामा असन्तुलन ल्याउने गर्दछ र संक्रमणलाई बढावा मिल्छ ।

– भित्री लुगा (अन्डरवेयर) दिनहुँ फेर्ने गर्नुपर्दछ । यस्ता भित्री लुगा सुती कपडाको हुनुपर्दछ ।

–  पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्दछ, ताकि पिसाब सफा होओस् ।

– अत्यधिकरुपमा सुगन्धित किसिमका साबुन, टेम्पोन, प्याड, स्प्रे वा बबल बाथजस्ता वस्तुको प्रयोग नगर्ने गर्दा संक्रमण कम गर्न सहयोग मिल्छ ।

कतिपयले महिनवारीको समयमा प्रयोग गरिने प्याड वा टेम्पोन सिफारिस गरिएको समयभन्दा लामो समयसम्म योनि वा योनि क्षेत्रमा त्यसै रहन दिने गर्छन् । यसो गरेको खण्डमा पनि संक्रमणलाई बढावा मिल्छ । महिनावारी भएको बेलामा लगाउने यस्ता आधुनिक साधन खर्चिलो हुने भएकाले पनि केही बढी समय राख्ने स्थिति हुन सक्छ । यस्तो स्थितिमा घरमा नै बनाउन सकिने सुती कपडाको प्याड बनाएर प्रयोग गर्न सकिन्छ । यस्तै प्याड धोएर, घाममा सुकाएर पुनः प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्