मदिरा : खाने कि नखाने ?



मानिसले मनोरञ्जन तथा आनन्दका लागि मदिरा सेवन गर्ने भए पनि मानिसलाई हुने स्वास्थ्य समस्याको एउटा प्रमुख कारक तत्वका रुपमा मदिरा रहेको छ । १५ वर्षदेखि ४९ वर्ष उमेर समूहका मानिसको अशक्तता र असमयमै हुने मृत्युको प्रमुख कारणका रुपमा मदिरालाई लिने गरिएको छ । यो उमेर समूहका मानिसको मृत्युको १० प्रतिशत कारण मदिरा हुने गरेको छ । गरिब र विशेष गरी जोखिमयुक्त समूहमा रहेका मानिसको मदिरासँग सम्बन्धित कारणबाट हुने मृत्यु र अस्पताल भर्नाको दर उच्च रहेको छ ।

मदिरा सेवनका कारण बर्सेनि विश्वमा करिब ३० लाख मानिसको मृत्यु हुने गरेको छ । यस्तै गरी बर्सेनि लाखौं मानिस मदिरा सेवनकै कारण अशक्त हुने र स्वास्थ्य अवस्था कमजोर हुने गरेको छ । मदिराको हानिकारक प्रयोगकै कारण विश्वलाई ५ प्रतिशत रोगको भार थपिएको छ । यसमा पुरुषतर्फ ७.१ प्रतिशत र महिलातर्फ २.२ प्रतिशत रोगको भार थपिएको छ । मदिरा एउटा हानिकारक वस्तु हो तापनि हाल विश्वमा एउटा नियमित सेवन गर्ने वस्तुको रुपमा स्थापित हुँदै गएको छ ।

मदिराको हानिकारक प्रयोगले व्यक्तिगत शारीरिक स्वास्थ्य मात्र होइन यसले मानसिक स्वास्थ्यमा पनि हानि पुर्‍याइरहेको छ । साथै मदिराको प्रयोग पारिवारिक र सामाजिक कलहको कारण पनि बनिरहेको छ । सवारी दुर्घटनाका दृष्टिले पनि मदिरा एउटा प्रमुख कारक तत्वका रुपमा रहेको छ । यसले सामाजिक कलह वृद्धि गर्नुका साथै अपराध वृद्धि गर्न पनि प्रोत्साहित गरिरहेको छ । मानिसको कार्यक्षमतामा पनि ह्रास गराउने र सम्पूर्ण स्वास्थ्यमा हानि पु¥याउने भएकाले मदिराको सेवन नगर्नु नै राम्रो हो ।

(विश्व स्वास्थ्य संघको तथ्यमा आधारित)

 

प्रतिक्रिया दिनुहोस्