करिब तीन दशकदेखि स्वास्थ्य विषयमा सञ्चारमाध्यममा निरन्तर कलम चलाउने जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेती मूलतः जनस्वास्थ्य, महिला अधिकार र पोषणको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
जनस्वास्थ्य विशेषज्ञका रुपमा उहाँले नेपालका धेरै जिल्लामा र दक्षिण सुडान, इरान, श्रीलंका, लाओस, भारत, चाइना र अफगानिस्तानमा समेत काम गर्नुभएको छ । आधुनिक कालमा भोजन, पोषण र जीवनशैलीको कारण मानिसको स्वास्थ्य चुनौतीपूर्ण बनिरहेको बताउने डा उप्रेतीसँग कुराकानी गरी तयार गरिएको लेख, उहाँकै शब्दमा :
जीवनको लागि भोजन
भ्रूण अवस्थादेखि नै स्वस्थ रहन, शारीरिक, मानसिक वृद्धि र विकास गर्न तथा ऊर्जाका लागि भोजनको आवश्यकता पर्छ । शारीरिक र मानसिक दुवै कार्यका लागि ऊर्जा चाहिन्छ । शरीरको सम्पूर्ण भागको तुलनामा मस्तिष्कको तौल २ प्रतिशत हुन्छ, तर मस्तिष्क सञ्चालन हुन भने २० प्रतिशत ऊर्जा आवश्यक पर्छ । केही काम नगरेको बेला पनि मुटु, फोक्सो, कलेजोले काम गरिरहन्छ । हामी सास फेरिरहन्छौँ । यसको लागि जुन ऊर्जा चाहिन्छ, त्यो दैनिक खानाबाट नै प्राप्त हुन्छ । भ्रूणले भने आमाले खाएको खानाबाट प्राप्त गर्छ । यदि आमाले पर्याप्त नखाए वा अस्वस्थकर खाना खाएमा भ्रूणकोे शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर गर्छ । केही योगीहरु भने खाना नखाएर हावा र सूर्यको तेजबाट पनि ऊर्जा प्राप्त गर्छन् भन्ने सुनिन्छ तर त्यो अरबौंमा एक हुन सक्ला ।
गर्भ, भोजन र स्वास्थ्य
आमाको स्वास्थ्यको आधारमा नै भ्रूणको स्वास्थ्य निर्धारण हुन्छ । त्यसैले विभिन्न समुदायमा परम्परागतरुपमा गर्भवतीलाई दही, चिउरालगायत विशेष किसिमका खाना खुवाउने चलन पनि छ । तर कतिपय जातजातिमा परम्परागतरुपमा गर्भावस्थामा र सुत्केरी भइसकेपछि पनि जाँडरक्सी खाने, धूमपान गर्नेे अनि शिशु राम्रोसँग सुतोस् भनेर जाँडरक्सी दिने गर्छन् । यसले गर्दा भ्रूण तथा शिशुको मस्तिष्कका कोषहरुको विकासमा अवरोध पुग्छ । अफगानिस्तानमा भने साना शिशुलाई अफिम चटाएको देखेको थिएँ, जबकि युरोपका कतिपय देशमा गर्भावस्था शुरु हुनु ३ महिनाअघि देखि नै मदिरापान र धूमपान नगर्न सल्लाह दिइन्छ ।
भ्रूण अवस्थादेखि शिशुहरु दुई वर्ष नपुगेसम्म आवश्यक पोषण तत्व नपुगेमा र गर्भवतीले जाँडरक्सी सेवन गरेमा शिशुको सिक्ने क्षमता कमजोर हुन्छ । थारु जातिमा गर्भवती महिलाको लागि भनेर भिन्नै खाना छुट्याउने गरिन्छ । कतिपय जनजातिमा सुत्केरीलाई खुवाउन भाले नै पाल्छन् अर्थात् सुत्केरीलाई पौष्टिक खाना खानुपर्छ भन्ने ज्ञान हामीकहाँ परम्परागतरुपमा नै छ ।
भ्रूण अवस्थादेखि शिशुहरु दुई वर्ष नपुगेसम्म आवश्यक पोषण तत्व नपुगेमा र गर्भवतीले जाँडरक्सी सेवन गरेमा शिशुको सिक्ने क्षमता कमजोर हुन्छ ।
डा. अरुणा उप्रेती
‘सुनौला हजार दिन’ किन सुनौलो हुन सक्दैन ?
नेपालका करिब ४० प्रतिशत बालबालिकामा दीर्घ कुपोषण रहेको र यसलाई घटाउँदै लाने उद्देश्यले सरकारले केही वर्षअघिदेखि ‘सुनौला हजार दिन’ नामक अभियान सञ्चालन गरिरहेको छ । गर्भधारण भएदेखि दुई वर्ष पुग्दासम्मको अवधिमा शिशुको करिब ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकोले यस अवधिमा शिशुलाई स्वस्थकर, पोषिलो खाना उपलब्ध होस् भन्ने उद्देश्यले यो सञ्चालन गरिएकोे हो । तर यो अभियान सञ्चालन गर्दा स्थानीयरुपमा उत्पादन हुने खानेकुरा र तीनमा पाइने पौष्टिक तत्वहरुका बारेमा समुदायलाई जानकारी दिने कुरामा भने ध्यान दिइएको छैन । समुदायलाई यस्तो ज्ञान नदिएमा यो कार्यक्रम लाभदायक तथा दिगो हुन सक्तैन । बाहिरको ‘प्लपी नट’ र बालभिटा दिएर सरकारले शिशुको दिन सुनौलो बनाउन सक्दैन ।
मैले काठमाडौंदेखि अछामसम्मका विभिन्न ५ वटा जिल्लाका केही अस्पताल, मेडिकल कलेज, जिल्ला अस्पताल, स्वास्थ्य चौकीहरुमा पुगेर अध्ययन गर्दा त्यहाँ गर्भवतीको जाँच गर्ने र आइरन चक्की, क्याल्सियम, फोलिक एसिड पनि दिएको पाएँ । तर आप्mना घरवरिपरि पाइने खानाको पौष्टिक तत्व कति छ, स्वस्थकर खाना कसरी बनाउनुपर्छ भन्ने बारेमा भने जानकारी दिइएको पाइँन । गर्भवतीले स्वस्थ खान नखाए आइरन चक्की, फोलिक एसिडले मात्र केही फाइदा गर्दैन । फोलिक एसिडको कमी भयो भने भ्रूणको मेरुदण्डमा खराबी भएर अपांगता हुने सम्भावना हुन्छ । तर फोलिक एसिड औषधिको रुपमा लिनुभन्दा सागपात, गेडागुडीलगायत अन्नहरु खाएर प्राप्त गरेको बढी फाइदाजनक हुन्छ ।
क्याल्सियमले भ्रूणको हड्डी मजबुत बनाउँछ, शिशुलाई भिटामिन ‘ए’ दिनुपर्छ भन्ने कुरा महिला स्वयंसेविकालाई थाहा छ । तर हाम्रो भोजन जस्तो– दूध, दही, मही, आलस, कोदो, भाँगो, फापर, तिलमा पनि क्याल्सियम पाइन्छ र यो गर्भवतीले खानुपर्छ भन्ने थोरै स्वयंसेविकालाई मात्र थाहा छ । यसैले सुनौला हजार दिनको आभियानको उद्देश्य राम्रो भए पनि स्थानीय पौष्टिक खानालाई बेवास्ता गरिएकाले यस्तो परनिर्भर कार्यक्रमले खासै फाइदा दिनेछैन ।
बाहिरको ‘प्लपी नट’ र बालभिटा दिएर सरकारले शिशुको दिन सुनौलो बनाउन सक्दैन ।
पत्रु खानाको चुनौती
आधुनिकताका नाममा वर्तमान पुस्तामा परम्परागत स्वस्थ खाना छोडेर पत्रु खाना (जंकफूड) प्रति मोह बढ्दै गएको तथा अस्वस्थकर जीवनशैली अपनाएकाले बालबालिका, महिला, गर्भवती मानिसको स्वास्थ्यमा चुनौती थपिदिएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सन् १९९६ मा २ प्रतिशत नेपालीमा मात्र मोटोपन थियो भने २०१६ मा यो संख्या २२ प्रतिशत पुगेको देखिन्छ । यसको कारण अस्वस्थकर खानपान तथा अस्वस्थकर जीवनशैली नै हो ।
पहिला बढी हिँड्नुपथ्र्याे, धेरै खाना खाँदा पनि शरीरले प्राप्त गरेको ऊर्जा खर्च हुन्थ्यो । अब कम हिँडिन्छ, कम शारीरिक श्रम गरिन्छ तर खाना धेरै त्यसमा पनि पत्रु खाना खाइन्छ । यसले गर्दा मोटोपन बढ्छ । मोटोपन धेरै रोगको कारक हुन्छ । युवतीहरुमा मोटोपन हुँदा पछि बच्चा पैदा गर्न कठिन हुन्छ । पहिला पुरुषको दाँजोमा महिलालाई उच्च रक्तचाप, डायबिटिज, मिर्गौला रोग, घुँडा दुख्ने समस्या, मुटुको रोग कम देखिन्थ्यो । महिलाहरुले पानी बोक्ने, घाँस काट्ने, घरको सरसफाइ गर्ने, भान्साको काम गर्ने गर्दा शारीरिक व्यायाम हुन्थ्यो तर अहिले विशेष गरी शहरिया महिलामा व्यायामको कमी भएकाले यी रोगहरु बढ्न थालेको तथ्यांकबाट देखिन्छ । पहिला महिलाहरु घाममा बसेर तेल लगाउने चलन हुँदा भिटामिन ‘डी’ पर्याप्त मात्रामा पाउँथे । अहिले नेपाली महिलाहरुमा देखिएको ठूलो समस्या भिटामिन ‘डी’ को समस्या छ, किनभने छाला कालो हुन्छ भनेर महिलाहरु घाममा बस्दैनन् । खाना, व्यायाम तथा हिँडाइमा ध्यान दिँदैनन् ।
बजारका पाकेटबन्द तयारी खाना, होटलहरुमा खुवाइने खानाहरुमा नून, चिनी, चिल्लो, रासायनिक पदार्थ बढी हुन्छन् तर शरीरलाई आवश्यक पर्ने सूक्ष्म पौष्टिक तत्व, भिटामिन र रेसादार पदार्थ हुँदैन । रेसादार पदार्थ नखाँदा कब्जियत हुन्छ र बल गरेर दिसा गर्नुपर्दा पाठेघर खस्ने समस्या हुन सक्छ ।
कुपोषण भएपछि पाठेघरलाई ठीक ठाउँमा अड्याएर राख्ने मांसपेशीहरु कमजोर हुन्छन् अनि पाठेघर निस्कने समस्या पनि हुन्छ । महिलाको प्रजनन स्वास्थ्यमा पोषणको ठूलो भूमिका हुने भए पनि घर–परिवारले यसमा त्यति ध्यान दिँदैनन् । स्वास्थ्य मन्त्रालयले पनि भान्साका स्वस्थकर खानाको बारेमा औपचारिक छलफल चलाउने, जानकारी दिने काममा त्यति ध्यान दिएको पाइँदैन ।
स्वस्थ खाना त्याग्दा
गर्भवती महिलाले पत्रु खाना खाँदा पौष्टिक तत्व कमी हुन्छ तर मोटोपन बढ्छ । यसले आमा तथा शिशुलाई मधुमेह, उच्च रक्तचाप हुने सम्भावना बढ्छ । यो समस्या अहिले विशेष गरी शहरिया महिलाहरुलाई धेरै छ । त्यसैले महिलाहरु विशेष गरी गर्भवतीले पत्रु खाना छोडेर स्थानीय स्तरमा पाइने स्वस्थकर खाना खानुपर्छ । युवा अवस्थामा खाएको खानाले महिनावारी सुकेपछि पनि प्रभाव पार्छ । चाउचाउ, कुरमुरेजस्ता पत्रु खानाको खोलमा चिल्लो, नून, रसायन, चिनी आदि पदार्थ जति छ भनेर लेखिन्छ त्यो भन्दा ३७ देखि २ सय प्रतिशतसम्म बढी हुन्छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयको अध्ययनबाट नै सिद्ध भएको छ । यो अध्ययन गरेपछि पनि स्वास्थ्य मन्त्रालयले यस्तो खानाको विरोधमा खासै कदम चालेकोचाहिँ छैन । त्यसैले उपभोक्ताले नै यस्ता खाना अस्वीकार गर्नुपर्छ ।
पत्रु खाना नबेच्ने नीति
केही हप्तापहिले सरकारले १ देखि ५ कक्षासम्मका बालबालिकालाई दिइने दिवा खाजामा पत्रु खाना नदिने राम्रो निर्णय गरेको छ । यसको साथै ६ देखि १२ कक्षासम्मका विद्यार्थीका लागि पनि स्कुलका क्यान्टिनमा पत्रु खाना बेच्न नपाउने नियम ल्याउन जरुरी छ ।
यसो गर्दा बालबालिका तथा किशोर–कोशोरीले स्वस्थ खाना खान पाउँछन् । यो अभ्यासले भविष्यमा उनीहरु र उनीहरुका सन्ततीलाई पनि स्वस्थ खाना खाने बानी पार्छ । तर यो नीति कतिसम्म सफल हुन्छ भन्ने कुरा शिक्षा र स्वास्थ्य मन्त्रालयले स्कुलमा कति अनुगमन गर्छ, त्यसमा भर पर्छ ।
स्वस्थकर तथा पौष्टिक खाना के हो ?
स्वस्थकर खाना महँगो हुन्छ भन्ने कतिपयको बुझाइ हुन्छ तर हामीले दैनिक खाने दालभात, रोटी, ढिँडो, हरियो तरकारी, अचार, फलफूल आदि सबै पौष्टिक हुन्छन् । तर भोजन सही तरिकाले पकाएको र ताजा हुन जरुरी छ । खाना एकैचोटि धेरै पकाउने, बासी खाने चलनचाहिँ ठीक होइन ।
महिलाहरुमा रगतको कमी भयो भने गर्भवती अवस्थामा पनि रगतको कमी हुन्छ र भ्रूण सानो हुन जान्छ, जन्मिदा कम तौलको, कमजोर जन्मिने सम्भावना हुन्छ ।
फलामको भाँडामा पकाइएको खाना, कोदो, फापर, लट्टे, पालुङ्गो, दही आदि नियमित खाने हो भने यसले स्वस्थ हुन सहयोग गर्छ । स्थानीय रुपमा पाइने कर्कलो, सिस्नु, फर्सीको मुन्टाजस्ता सागपातको प्रयोग गर्दा रक्तअल्पताको समस्या हुँदैन । दक्षिण भारतमा महिनावारी शुरु भएकी किशोरीलाई मेथीको लड्डु बनाएर खुवाउने विशेष चलन छ । यो खाँदा रगतको कमी हुँदैन ।
यस्तै घरवरिपरि नै पाइने विभिन्न गेडागुडी, सागपात, फलफूल, माछामासु, अण्डा, दूध–दही, ठाउँअनुसार पाइने विभिन्न अन्नहरु जस्तो– मकै, गहुँ, कोदो, फापर, उवा, जौ, चना आदि गर्भवतीलाई पर्याप्त मात्रामा खुवाउन सके आमा र शिशु दुवैलाई रगतको कमी नहुने मात्र होइन कि अन्य भिटामिन र सूक्ष्म पोषक तत्वहरुको पनि कमी हुँदैन । तर यस्तो खाना पनि कोचेर खुवाउनुचाहिँ हुँदैन । धेरै शारीरिक कार्य गर्नुपर्ने गाउँघरमा गर्भवतीलाई आराम दिनुपर्छ, साथै शहरमा धेरै समय कम्प्युटरमा काम गर्ने, मोबाइल हेर्ने, व्यायाम नगर्ने, बसिरहने प्रवृत्ति हुन्छ । यसो गर्दा खाना नपच्ने, मोटोपन र अनेक किसिमका रोगहरुले सताउँछ । अनि जीवनभर औषधिको भरमा बाँच्नुपर्ने हुन्छ ।
परम्परागत खाना किन छ स्वस्थकर ?
परम्परागत नेपाली खाना स्वस्थकर छ । यसमा भिटामिन, कार्बोहाइड्रेड, प्रोटिन, सूक्ष्म पोषण तत्व पर्याप्त छ ।
खाना पकाउँदा लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, धनियाँ, जीरा, मरिच, दालचिनी, टिम्बुर, जिम्बु, कागती आदि औषधीय गुण भएका वस्तुको प्रयोग गरिन्छ । स्वाद र स्वस्थता दुवै पाउनु नेपाली परम्परागत खानाका विशेषता हुन् । यसरी पकाएको भोजनमा रोगसँग लड्ने शक्ति छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ ।
चामल, दाल गहुँ, कोदो फापर, जुनेलो, उवा, तरुल, चुकन्दर, सखरखण्ड, कर्कलो, सिस्नुजस्ता खाद्यवस्तु पौष्टिकताले भरिपूर्ण छन् । चेपाङहरुले खाने गिठ्ठा, भ्याकुर आदि पनि ऊर्जाका स्रोत हुन् । यिनमा रेसादार पदार्थका साथै सूक्ष्म पोषक तत्वहरु पनि हुन्छ ।
यसको साथै हाम्रा वर्षभरिका परम्परागत चाडपर्वहरु पनि पौष्टिक भोजनसँग जोडिएका छन् । वैशाखको अक्षय तृतियामा खाइने जौको सातु र सर्वत गर्मीमा लाभदायक छ । असार १५, साउने सङ्क्रान्ति, साउन १५, जनै पूर्णिमा, ठूलो एकादशी, दशैँ, तिहार, छठ, लोसार, माघे सङ्क्रान्ति आदि चाडपर्वमा खाने भोजन समयअनुसार आवश्यक पर्ने पौष्टिक खानासँग सम्बन्धित छन् ।
यस्तै विभिन्न जातजाति तथा समुदायले चाडपर्वहरुमा खाने खानाहरु पनि पौष्टिकताले भरिपूर्ण छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने खानाहरु र तिनमा पाइने पौष्टिक तत्वका बारेमा कृषि मन्त्रालयले सूची प्रकाशित गरेको छ । तर यो जानकारी समुदाय र आममानिससमक्ष पु¥याउन सकेको छैन ।
पहिले कर्णालीको गेडागुडी, फापर, जौ, कोदो अपहेलित थियो भने अहिले धेरै माग छ । अहिले त कर्णालीको ‘मार्सी चामल’ पनि काठमाडौंको बजारमा पाइन्छ । आमसञ्चारमा भएको प्रचारकै कारण यसो भएको हो । त्यसैले कृषि मन्त्रालयले तयार गरेका जानकारी आममानिसमा पुर्याउन जरुरी छ ।
कोदो, फापर मधुमेहका लागि स्वस्थकर हुन्छ भन्ने प्रमाणित भएपछि अहिले यी खाद्यवस्तु पाँचतारे होटल, ठूला मलहरुमा पनि पाइन थालेको छ । आममानिसले अहिले कोदोको मम, रोटी, पिज्जा, चाउमिन खोजेर खान थालेका छन् ।
हाम्रो परम्परागत ज्ञान बीचमा हराएको थियो । अहिले वैज्ञानिक अध्ययनले सिद्ध गरेपछि तिनको पुनः खोजी हुन थालेको हो । म त कोदो, फापर, सुप हरेक हप्तामा दुई–तीनचोटि खान्छु । कोरोना महामारीको समयमा धेरै नेपालीले बेसार, मरिच, दालचिनी आदि मसलाको बारेमा धेरै चासो दिए र प्रयोग गरे, जुन हाम्रो परम्परागत भान्सामा प्रयोग हुँदै आएको छ ।
परम्परागतरुपमा गर्भवती तथा सुत्केरी अवस्थामा खुवाइने मसला पनि विशेष किसिमको हुन्छ । यसमा शरीरलाई चाहिने सूक्ष्म पोषक तत्वहरु जस्तो– क्याल्सियम, लौहतत्व आदि भरपूररुपमा पाइन्छ । साथै ज्वानोमा पनि पर्याप्त क्याल्सियम हुन्छ । आमाले खाएपछि शिशुलाई पनि पुग्छ, दूध पनि बढी आउँछ ।
तर कतिपय हाम्रो संस्कारले महिलालाई कुपोषित पनि बनाएको छ । सुदूरपश्चिममा महिनावारीमा हरियो तरकारी, दूध खानुहुँदैन भनेर छाउपडीमा बसेकालाई खान दिँदैनन् । यो नराम्रो चलन हो । कतिपय समुदायमा गर्भवतीले केरा खानुहुँदैन, यसले बच्चा ठूलो हुन्छ र बच्चा निस्कन गाह्रो हुन्छ भन्ने भ्रम छ । तर यस्ता वस्तु भने गर्भवती महिलाले खानुपर्छ ।
किशोरी अवस्थामा शरीर हलक्क बढ्ने, महिनावारी शुरु हुने भएकोले र गर्भवती तथा सुत्केरी अवस्थामा रगतको कमी नहोस् भनेर उनीहरुलाई खाना बढी तथा विशेष प्रकारको दिनुपर्ने हुन्छ । यस्तो बेला कुनै पनि बहानामा खाना कटौती गर्नुहुँदैन । यस्तै गरी रजोनिवृत्ति हुने बेलामा पनि पोषणयुक्त खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
फ्रिजका खाना कम स्वस्थकर
अहिले विशेष गरी शहरी मानिसहरुको व्यस्तता, अल्छीपन र पश्चिमी परम्पराको नक्कल गर्ने प्रवृत्तिले गर्दा बजारमा फ्रिज गरिएका मम, पिज्जा, माछामासुका परिकारलगायत विभिन्न खानाहरु किनेर खाने गरिन्छ । पहिले नै तयार गरेर लामो समय राखिने यस्ता खानामा रसायन पनि हुन्छन् । यसले शरीरमा नकारात्मक असर गर्छ । त्यस्तै घरमै बनाएका स्वस्थकर तथा पोषणयुक्त खानाहरु पनि एकैचोटि धेरै बनाउने र फ्रिजमा राखेर पटक–पटक तताउँदै खाने चलन बढेको छ । यसो गर्दा जस्तोसुकै स्वस्थ र पौष्टिक खाना भए पनि त्यसको पौष्टिक गुणस्तरमा ह्रास आउँछ । फ्रिजमा खाना राख्नुपर्दा ४८ घण्टाभन्दा बढी नराख्नु र जति चाहिने हो त्यति मात्र झिकेर तताउनुचाहिँ ठीक हो ।
पहिला खाना पाकेको दुई घण्टाभित्र अर्थात् पकाएको चुलोको खरानी चिसो नहुँदै खानुपर्छ भन्ने राम्रो परम्परा थियो । अहिले त्यो सम्भव नहोला तर सकेसम्म ताजा खानेकुरा खानुपर्छ भन्ने त्यो ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ ।
रेसादार पदार्थ नखाँदा कब्जियत हुन्छ र बल गरेर दिसा गर्नुपर्दा पाठेघर खस्ने समस्या हुन सक्छ ।
उपवास र स्वास्थ्य
पहिला ‘उपवास’लाई धर्मसँग मात्र सम्बन्धित मान्ने र स्वाङ भन्ने गरिन्थ्यो । तर अहिले वैज्ञानिक अध्ययनले शरीर स्वस्थ राख्न यो राम्रो तरिका भन्ने प्रमाणित भएको छ । इन्टरमिट्टेन्ट फास्टिङ (Intermittent fasting) बाट (२४ घण्टामा ८ घण्टाभित्र खाने, १६ घण्टा नखाने) हुने फाइदाबारे अध्ययन गरेर प्रमाणित भएको छ । उपवासले स्वास्थ्यमा पर्ने अध्ययन गरेका वैज्ञानिकले त सन् २०१६ को नोवल पुरस्कार नै पाए ।
कतिपय भिक्षुहरुले परम्परागतरुपमै इन्टरमिट्टेन्ट फास्टिङ गर्ने गरेका छन् । यस्तो उपवासले शरीरको तौल घट्ने मात्र होइन, कतिपय रोगहरु पनि निको हुन मद्दत गर्छ । मोटो र युरिक एसिड भएको मानिसले हप्ताको एक दिन पानी मात्र खाएर उपवास बस्ने गर्दा रोग र तौल दुवै घटेको पाइएको छ ।
भोजन गर्दा आनन्द पनि हुनुपर्छ । भोजन संस्कृतिसँग मिल्ने खालको हुनुपर्छ । मन नपरी खाएको खानाले फाइदा गर्दैन । त्यस्तै पकाउने मानिसले पनि रिसाएर, झगडा गरेर बनाएको छ भने त्यस्तो खानाले समेत नकारात्मक असर गर्छ । खाँदा स्वस्थकर वातावरणमा नरिसाई खानुपर्छ ।
मानसिक तनाव भएका बेला खाना खाएमा पाचन राम्रो हुँदैन, पेट गडबडी हुन्छ । स्वस्थ वातावरणमा खुशी भएर पकाएको खानाले सकारात्मक इनर्जी दिन्छ भने रिसाएर पकाएको खानाले नकारात्मक इनर्जी दिन्छ । त्यसैले स्वस्थ वातावरणमा आनन्दित मनले घरमै पकाएको ताजा एवं सन्तुलित खाना खाएर नियमित व्यायाम गरौँ अनि जीवनलाई स्वस्थ र आनन्दमय बनाऔं, खान नजानेर रोगी बन्नु त साह्रै नराम्रो होइन र ?