– रोहिणी घिमिरे
एक दिन कपडा फेर्ने सिलसिलामा शुभेच्छा घिमिरेका आँखाले आफ्नै स्तन नियाल्न पुगे । उनले स्तनको आकारमा समानता देखिनन् । उनलाई आफू झुक्किएको हो कि भन्ने पनि लाग्यो । उनी हस्पिटलमा जँचाउन गइन् । हस्पिटलबाट जब बायोप्सीको रिपोर्ट आयो उनी छाँगाबाट खसेजस्तै भइन् । उनको दाहिने स्तनमा क्यान्सर भइसकेको रहेछ । उनी भन्छिन्, ‘मेरो त होसहवास नै उड्यो, किनकि क्यान्सर भन्नेबित्तिकै बिसेक नहुने रोग हो भन्ने मनमा गढेको थियो ।’
त्यस बेला शुभेच्छा बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययनरत थिइन् । उनको विवाह भए पनि बच्चा भने भइसकेको थिएन । क्यान्सर भएको रियालिटी भए पनि स्वप्ना पो दैख्दै छु कि भन्ने लागेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘धूमपान, मद्यपान गर्नेहरुलाई क्यान्सर हुन सक्छ भन्ने भए पनि म यी दुवैबाट टाढा थिएँ । कमै उमेरमा मलाई किन यस्तो भयो भनेर आफैंलाई प्रश्न गरिरहन्थेँ ।’
जीवन छउन्जेल बाँच्ने इच्छा जसलाई पनि हुन्छ । त्यसैले उनी पढाइ छोडेर बेलायतमै उपचार गराउन थालिन् । क्यान्सरको उपचार भनेको प्रभावित भाग नै सर्जरी गरेर फाल्ने हो । त्यसैले उनको दाहिने स्तनको पूरै मसल हटाइयो र किमोथेरापी शुरु गरियो । ६–८ महिना किमोथेरापी चल्यो । किमोथेरापीको साइड इफेक्ट सम्झदा अहिले पनि उनलाई पीडा महसुस हुन्छ ।
खपिनसक्नुको पीडा
शुभेच्छाका अनुसार त्यहाँका डाक्टरले किमोथेरापी गर्दा हुने सम्भाव्य साइड इफेक्टका बारेमा जानकारी दिँदा रहेछन् । साइड इफेक्टको औषधि दिँदा त्यस औषधिले अर्को साइड इफेक्ट गराउने रहेछ । उनी भन्छिन्, ‘साइड इफेक्टको कारण स्वास्थ्य समस्या थपिँदै गयो । त्यसलाई कम गर्न औषधि पनि थपिँदै गयो । औषधिमाथि औषधि थप्दै जाँदा मैले दैनिक २२ थरी औषधि खानुपर्ने पनि आयो ।’
किमोथेरापीको साइड इफेक्टले शरीरका अंगहरु ड्यामेज हुने खतरा पनि त्यत्तिकै हुने रहेछ । उनी भन्छिन्, ‘मेरो कपाल, आँखिभौंका रौं, नङ झरे । आँखा सुख्खा भयो । छालामा एलर्जी भयो, स्वाद हरायो । खान मन नलाग्ने, खाँदा बान्ता आउने भयो । यस्ता थुप्रै समस्या देखिए ।’ उनी भन्छिन्, ‘रेडियो थेरापी गरेको एक महिनापछि मलाई निकै थकान महसुस भयो । त्यसैले दैनिक ४–५ लिटर पानी खाने गरेको थिएँ । धन्न भित्री अंगमा क्षति हुन पाएन । उपचारकै क्रममा ह्वाइट सेल कम भएर ५ दिन आइसोलेसनमा बस्दा आफूलाई माया मारिसकेको थिएँ ।’
मेरो कपाल, आँखिभौंका रौं, नङ झरे । आँखा सुख्खा भए । छालामा एलर्जी भयो, स्वाद हरायो । खान मन नलाग्ने, खाँदा बान्ता आउने भयो । यस्ता थुप्रै समस्या देखिए ।
–शुभेच्छा
पीडा थप्नेहरु
कलकले उमेरमा स्तन नै गुमाउनुपर्दा गहिरो पीडाको महसुस त हुने नै भयो । अर्कोतिर कुरा काट्नेहरुले पनि उनीलाई पीडा थपिरहेका थिए । शुभेच्छा भन्छिन्, ‘म्यासेजमार्फत ए लौ ∕ राम्री मान्छेलाई पनि क्यान्सर हुन्छ र ? भन्दै खिल्ली उडाउने, पहिलो जन्मको पापले यस्तो भएको भन्नेहरु पनि थिए । कतिपयले त बच्चा नपाएकाले स्तन क्यान्सर भएको भन्न पनि भ्याए ।’
उनी सम्झिन्छिन्, ‘अस्पतालमा मेरै छेउको बेडमा क्यान्सरकै कारण १८ वर्षकी किशोरीको दुवै स्तन हटाउनुपर्यो । के उनलाई बच्चा नभएर क्यान्सर भएको हो त ? भन्ने लाग्यो ।’ यस्तै पीडा दिएका कारण पछि–पछि त आफन्तको फोन नै रिसिभ नगरेको उनी बताउँछिन् ।
स्तन क्यान्सर र सन्तान सुख
जवानी उमेरमा एउटा मात्रै स्तन हुँदा अशोभनीय हुनु स्वाभाविक नै हो । त्यसैले डाक्टरकै सल्लाहमा शुभेच्छाले कृत्रिम स्तन राखिन् । सिलिकन राखेर हुनेसम्म दुवै स्तनको आकार उस्तै बनाइएको छ । उनी भन्छिन्, ‘एकपटक सिलिकन राखेपछि ३०–४० वर्षसम्मलाई भइहाल्ने रहेछ । यदि म ५०–५५ वर्षभन्दा माथिको हुँदो हुँ त डाक्टरले नै सिलिकन राख्ने सल्लाह नदिने रहेछन् ।’ कृत्रिम स्तनले उनलाई शुरुमा जीउ भारी भएजस्तो, घाँटी दुख्ने, गह्रौं हुने, शारीरिकरुपमा नै असजिलो महसुस भए पनि पछि यसकै लागि विशेष योग, व्यायाम गर्दै जाँदा सहज हुँदै गएको उनी बताउँछिन् ।
उनलाई ३२ वर्षको उमेरमा अर्थात् सन् २०१६ मा स्तन क्यान्सर भएको थियो । उनले उपचार शुरु गरेको ३ वर्षसम्म धेरथोर औषधि खाइरहनुपर्यो । क्यान्सरलाई जित्न सके पनि आमा बन्नचाहिँ नसकिने हो कि भन्ने चिन्ता थियो । विकल्पहरु सोच्दासोच्दै प्राकृतिकरुपमै गर्भ रह्यो तर पाठेघरबाहिर बसेकाले पहिलो गर्भ खेर गयो । दोस्रोपटकको गर्भ भने सफल भयो । अहिले छोरी नै ५ महिनाकी भइसकेकी छन् । क्यान्सरको पीडालाई सन्तान–सुखले बिर्साइदिएको छ ।
क्यान्सरबारे चेतना
खानपान, साहस र धैर्यतामा सन्तुलन मिलाउन सक्यो भने क्यान्सरलाई जित्न सकिने रहेछ भन्ने उनलाई लागेको छ । यही कुरा अरुलाई बुझाउने उद्देश्यले ‘क्यान्सर, करी एन्ड मी’ नामको पुस्तक लेखेको उनी बताउँछिन् । नेपालसहित अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ५–६ देशमा उनको यो पुस्तक उपलब्ध छ । अंग्रेजी भाषामा लेखिएको यो पुस्तक तीन खण्डमा विभाजन गरिएको छ । क्यान्सर खण्डमा क्यान्सर हुँदाका अनुभवबारे लेखिएको छ भने करी खण्डमा क्यान्सर हुँदा औषधीय गुण भएका मसला कसरी खाइयो र यसका प्रभाव एवम् रेसिपीबारे वर्णन गरिएको छ । उनी भन्छिन्, ‘मी खण्डमा यो क्यान्सरले मलाई के सिकायो भन्ने कुरा दर्शाएको छु ।’
उनी अहिले नेपालीहरुका लागि अध्ययन गर्न सहज होस् भनेर यस किताबलाई नेपालीमा रुपान्तरण गर्ने कार्यमा लागिरहेकी छिन् । नेपालीमा प्रकाशन भएपछि हरेक नेपालीका लागि क्यान्सरका विषयमा यो पुस्तक गाइड लाइन हुने उनको विश्वास छ । क्यान्सरले सानो–ठूलो उमेर भन्दो रहेनछ । तर आधुनिक उपचारसँगै नेपाली परम्परागत खानेकुरासहित घरयासी उपचारलाई पनि अवलम्बन गर्ने हो क्यान्सर जित्न सकिने रहेछ भन्ने उदाहरण बनेकी छिन् शुभेच्छा । ३२ वर्षको उमेरमै क्यान्सरसँग लड्नुपरे पनि अहिले उनी काठमाडौंमा आएर श्रीमान् र छोरीको प्रेममा लुट्पुटिएर बसेकी छिन् । विशेष गरी क्यान्सरपीडितहरुका लागि अहिले उनी प्रेरणाकी स्रोत बनेकी छन् ।
क्यान्सर हुँदा शुभेच्छाले के खाइन् ?
स्वास्थ्य समस्याले पोलिरहेको पीडा कम गर्न शुभेच्छाकी हजुरआमा घरको डाक्टरजस्तै साबित भइन् । शुभेच्छा भन्छिन्, ‘हजुरआमाले मेरो शारीरिक लक्षणअनुसार ज्वानो, मेथी, अदुवा, लसुन, प्याजलाई विभिन्न तरिकाले खान सुझाउनुभयो । यसले एलर्जीलगायतका समस्यामा निकै राहत मिल्यो । त्यस्तै तोरीको तेल तताएर मालिस गरिदिनुभयो । यसले दुखाइ कम हुने रहेछ ।’
हाम्रो संस्कृति, परम्परामा पनि यति धेरै औषधीय गुण भएका खानेकुरा रहेछन् भन्ने कुरा विदेशमा भए पनि स्वयंले अनुभव गर्न पाएकोमा उनी खुशी व्यक्त गर्छिन् । हजुरआमाले भनेका कुरालाई निकै प्राथमिकतामा राखी गुगल सर्च गरेर समेत खानपानको सन्तुलन मिलाउने गरेको उनी सम्झन्छिन् । उनी भन्छिन्, ‘औषधीय गुण भएका घरयासी मसलाको उपभोगका कारण नै २२ वटा औषधि खाइरहेको अवस्थामा डाक्टरले मलाई ५–६ वटा औषधि घटाइदिनुभएको थियो ।’
क्यान्सरको उपचार गराइरहँदा शुभेच्छाले नेपाली खानेकुरा जाउलो, खिचडी, दाललाई बढी प्राथमिकतामा राखिन् । आफ्नै हजुरआमाको निर्देशनमा जिम्बु, टिमुर, बेसार, वीरेनुन, लसुन, प्याज आदि राखेर बनाएका खानेकुरा खाइन् । उनलाई उपचार गर्ने डाक्टरले पनि बेसार, मरिच, दूध खान सल्लाह दिएका थिए रे !
उनले विशेष के खाएर क्यान्सर जित्न सफल भइन् त ? हेरौं उनकै शब्दमा ।
अदुवा : मैले किमोथेरापी गरेको बेलामा अदुवाको उपभोग धेरै गरेँ । वाकवाकी आएको बेला र पेट दुखेको बेलामा सुकाएको अदुवा वा अदुवाको पेस्ट सेवन गरेँ । खानामा पनि अदुवाको मात्रा बढाएर खाएँ । त्यसले मलाई वाकवाकी र पेट दुख्ने समस्यामा धेरै सहयोग गर्यो ।
बेसार : बेसारले एकदमै राम्रो एन्टी–इन्फ्लामेटरीको काम गर्छ । तर धेरै कमलाई यो थाहा छ कि थोरै कालो मरिच बेसारसँग मिलायो भने बेसार १० गुणा प्रभावकारी हुन्छ भन्ने कुरा । मैले हरेक बेलुका दूधमा बेसार, मरिच, ल्वाङ, सुकुमेल, अलैँची र केशर हालेर पिउने गर्थें ।
ज्वानो : ज्वानोको झोल र ज्वानो हालेर भुटेको भात मैले धेरै खाएँ । अझै पनि खाने गरेको छु । ज्वानोमा पाचन गर्ने तत्व धेरै मात्रामा छ । जाडो महिनामा रुघा लागेको बेलामा ज्वानो–पानी पिउने गर्थें । यसले मेरो नाक र घाँटी सन्चो हुन्थ्यो । किमोथेरापीको बेलामा दाँत अलि दुखेको हुँदा मैले ज्वानो चपाएँ । ज्वानोमा थाइमल भन्ने तत्व हुन्छ । यसले दुखाइ कम गराउँछ । दूध र दूधबाट बनेका परिकार र माछामासु खान पटक्कै मन लाग्दैनथ्यो । तर ज्वानोमा क्याल्सियम र आइरन प्रशस्त भएकाले मलाई यसको कमी भएन ।