स्वास्थ्य समाचार



दोस्रो डोज ढिलो लगाउँदा प्रभावकारी

कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको ८ देखि १२ हप्तापछि दोस्रो डोज लगाउँदा थप प्रभावकारी हुने कुरा स्वास्थ्य मन्त्रालयका विज्ञहरुले बताएका छन् । विश्वका अधिकांश देशहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको ३ देखि ४ हप्ताभित्र दोस्रो डोज लगाउँदै आएका छन् । तर नेपालमा भने ८ देखि १२ हप्तामा मात्र दोस्रो डोज खोप लगाउँदा प्रभावकारी हुने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गठित कोरोना खोप विज्ञ सल्लाहकार समितिले सरकारलाई १२ हप्तापछि दोस्रो डोज खोप लगाउनाले प्रभावकारिता बढ्दै जाने सल्लाह दिएको बताइएको छ । विश्व स्वास्थ्य संगठनको सल्लाहअनुसार यसअघि नेपाल सरकारले दोस्रो खोपको मात्रा ४ हप्तापछि लगाउने निर्णय गरेको थियो । कोरोनाको खोप ढिला लगाउँदा थप प्रभावकारी देखिएकोले सो सिफारिस गरिएको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउनुभयो । विश्व स्वास्थ्य संगठनले फेब्रुअरी १० मा दोस्रो खोप जति लामो समयावधिमा लगायो त्यति बढी प्रभावकारी हुने जनाएको थियो । ‘हामीले दोस्रो मात्राको खोप ८ देखि १२ हप्ताभित्र लगाउनको लागि सरकारलाई सिफारिस गरेका छौं’, डा. उप्रेतीले भन्नुभयो ।  पछिल्लो अध्ययनले कोरोना खोपको दोस्रो डोज १२ हप्तापछि लगाउँदा रोगसँग लड्ने क्षमता बढेर जाने देखिएको शुक्रराज तथा सरुवा रोग ट्रपिकल अस्पताल, टेकुका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले बताउनुभएको छ । नेपाल सरकारलाई भारत सरकारले माघ ८ गते सेरम इस्टिच्युटबाट उत्पादित कोभिसिल्ड १० लाख डोज खोप उपहारस्वरुप उपलब्ध गराएको थियो । सोही खोप नेपाल सरकारले पहिलो चरणको अभियान माघ १४ गतेबाट शुरू गरेको थियो ।

 

कोभ्याक्स सुविधाको खोप आयो

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले निःशुल्करुपमा पाउने कोरोना भाइरसविरुद्धको  खोपमध्ये ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरमv इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । कोभिसिल्ड यसअघि भारत सरकारबाट १० लाख डोज निःशुल्करुपमा र १० लाख डोज सशुल्क नेपालमा भित्र्याइसकिएको छ ।

नेपाल ल्याइएको यो खोप भने कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत प्राप्त गर्ने खोप भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउँदै छन् ।

 

जोन्सन एन्ड जोन्सनको खोप स्वीकृति

कोरोनाविरुद्धको खोप उत्पादनमा भएको प्रगतिसँगै जोन्सन एन्ड जोन्सनबाट उत्पादित खोपलाई अमेरिकामा प्रयोगका लागि अनुमति दिइएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले यो खोपलाई अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको हो ।

सन् २०२० डिसेम्बरदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याएको अमेरिकामा यसअघि फाइजर र मोर्डनाको खोप प्रयोगमा आइसकेको छ । अमेरिकाको लागि यो तेस्रो प्रकारको खोप हो । यो खोप अमेरिकामा उपलब्ध दुईभन्दा फरक छ । यो खोप एक डोज मात्र लगाए पनि पुग्ने पहिलो भ्याक्सिन भएको अमेरिकाले दाबी गरेको छ । कोरोना भाइरसले स्वरुप बदलेको (भेरियन्ट) युके भेरियन्ट बी १ दशमल्भ १ दशमल्भ ७ छ भने साउथ अफ्रिकाको बी प्वाइन्ट १ प्वाइन्ट ३५१, ब्राजिल भेरियन्ट पी १ लाई समेत निष्क्रिय बनाउन यो खोपले मद्दत गर्ने बताइएको छ । यी फरक–फरक भेरियन्टमा देखिएका कोरोना भाइरसलाई पनि जोन्सन एन्ड जोन्सनको भ्याक्सिनले काम गरेको देखिएको विज्ञहरुले जनाएका छन् । त्यसैले अहिलेसम्मको अध्ययनले नयाँ खालको भाइरसलाई पनि न्यूनीकरण गर्न मद्दत मिलेको जनाएको छ । यो खोपलाई अमेरिकाले सन् २०२१ को फेब्रुअरी २७ मा आकस्मिक प्रयोगका लागि स्वीकृति दिएको छ ।

जोन्सन एन्ड जोन्सन फर्मास्युटिकल्स कम्पनीले जेन्सिन फार्मासिटीका बेल्जियम र बेथ इजरायल डिकनेस मेडिकल सेन्टरसँगको सहकार्यमा यो खोप बनाएको हो । यो खोप विश्व स्वास्थ्य संगठनमा पनि आकस्मिक स्वीकृतिका लागि आवेदन गरिसकिएको छ ।  यसको पूर्ण प्रभावकारिता ६६ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्