गर्भेशिशुको असामान्य बसाइ



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)

गर्भावस्था र त्यसबाट आउने परिणाम सुखद होस् भन्ने प्रत्येक दम्पतीको अपेक्षा हुन्छ । तर सोचेजस्तो हुन्न, विभिन्न समस्या आइपर्न सक्छन् । गर्भावस्थामा आइपर्ने समस्याहरुमध्ये गर्भेशिशुको बसाइ असामान्य हुनु पनि हो । गर्भेशिशुको असामान्य बसाइबाट उत्पन्न हुन सक्ने जटिलताहरु धेरै छन् । यी जटिलताका कारण गर्भेशिशुको ज्यान जाने सम्भावना हुन्छ । समयमै हेक्का राखिएन भने गर्भवतीको पनि ज्यान जाने अवस्था आउँछ ।

करिब ४० हप्ता अवधिको गर्भावस्थामा ३६ हप्तासम्म गर्भेशिशुवरिपरि पानीको मात्रा पर्याप्त हुन्छ । यस बेलासम्म पाठेघरभित्र शिशु ओल्टोकोल्टो फेर्ने क्रम जारी रहन्छ । त्यसैले ९ महिनासम्म गर्भेशिशुको बसाइ गलत भए पनि चिन्ता गर्नुपर्दैन । तर गर्भावस्थाको ३६ हप्तापछिबाट पानीको मात्रा घट्दै जाने हुनाले गर्भेशिशुको बसाइ असामान्य छ भने खतरा हुन्छ ।

 

किन असामान्य बस्छ ?

गर्भेशिशु असामान्य बस्नुको सबै कारण थाहा छैन । महिना नपुग्दै सुत्केरी व्यथा लाग्दा तुलनात्मकरुपमा शिशु सानो हुनुचाहिँ प्रमुख कारण हो । यदि गर्भेशिशु सानो छ, गर्भेशिशुवरिपरि पानी धेरै वा निकै कम छ, पुठ्ठाको हड्डी साँघुरो छ, साल पाठेघरको तल्लो भागमा आएर बसेको छ वा साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिएको छ भने यस्तो स्थिति आउँछ ।

यस्तै गरी पटक–पटक बच्चा पाएर गर्भवती महिलाको पेटको मासु धेरै खुकुलो भएको छ, गर्भवती महिलाको पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा बच्चामा जन्मजात केही शारीरिक खराबी (जस्तै– गर्भेशिशुको टाउकोमा पानी भरिने हाइड्रोकेफालस समस्या) छ, गर्भेशिशुमा वंशाणुगत खराबी (ट्राइजोमी वा मांसपेशी शिथिल हुने समस्या) छ, जुम्ल्याहा शिशु छ भने पनि शिशुको बसाइ असामान्य हुन सक्छ ।

पाठेघरमै जन्मजात शारीरिक खराबी छ वा साल पाठेघरको माथिल्लो एक कुनामा टाँसिने समस्या छ भने शिशु असामान्य बस्ने समस्या हुन्छ । गर्भवती जाँचको क्रममा गर्भेशिशुको मुटुको धड्कनको अवस्थितिबाट गर्भेशिशु असामान्य बसेको आशंका गरिन्छ । आजकल भने अल्ट्रासाउन्डको प्रयोगबाट यसको निश्चित गर्न सकिन्छ ।

गर्भावस्थाको शुरुतिर गर्भेशिशुको वरिपरिको पानीको मात्रा धेरै हुनुको साथै गर्भेशिशुको आकार पनि सानो हुने हुँदा बच्चाको बसाइ स्थिति परिवर्तन भइरहन्छ । गर्भावस्थाको ९ महिना पूरा भएपछि ३ प्रतिशत महिलामा गर्भेशिशु उल्टो बस्ने, ०.५ प्रतिशत महिलामा तेर्सो बस्ने हुन्छ भने ०.५ प्रतिशत महिलामा शिशु छड्के बस्ने गरेको पाइन्छ । गर्भेशिशुको बसाइ असामान्य हुँदा धेरै जोखिम हुन्छन् ।

 

गर्भावस्थाको ३६ हप्तापछिबाट पानीको मात्रा घट्दै जाने हुनाले गर्भेशिशुको बसाइ असामान्य छ भने खतरा हुन्छ ।

 

असामान्य बसाइका जोखिमहरु

गर्भेशिशुको चाक तल भएको अवस्थामा सुत्केरी व्यथाको क्रममा पहिले चाक त्यसपछि जीउ र अन्तिममा टाउको जन्मिन्छ । यस क्रममा जीउ जन्मिएलगत्तै पाठेघरको मुख एक्कासी खुम्चिन्छ भने पाठेघरको तल्लो भागमा टाउकोले जस्तो जीउको अन्य भाग (चाक) ले निरन्तर चाप दिन सक्दैन । चाक र जीउ सहजरुपमा जन्मिए पनि टाउको निक्लिने बेला धेरैजसो समस्या उत्पन्न हुन्छ र बच्चाको ज्यान जाने गर्दछ । यस्ता खाले सुत्केरी घरमै गराउने क्रममा टाउको जन्माउन नसकी योनिद्वारमा गर्भेशिशु अड्काएर अस्पताल ल्याउनेहरुको संख्या धेरै पाइन्छ । जीउ जन्मेपछि टाउको निक्लिन धेरै समय लाग्यो भने निस्सासिएर गर्भेशिशुको मृत्यु हुन्छ र कथंकदाचित गर्भेशिशु जिउँदो जन्मिहाल्यो भने पनि शिशुको मस्तिष्कमा धेरै बेर अक्सिजनको अभाव हुँदा यस्तो शिशु पछि गएर सुस्त खालको हुन सक्छ । त्यसै गरी गर्भेशिशु तेर्सो वा छड्के बस्दा व्यथा लाग्नेबित्तिकै शिशुवरिपरिको पानीको थैलो चाँडै च्यातिई नालबाहिर आई गर्भभित्रै शिशुको मृत्यु हुने सम्भावना बढ्छ । यी समस्या समयमै पहिचान भए पनि यस्तो प्रकारको सुत्केरीको क्रममा औजारको प्रयोग गर्नुपर्ने, जननेन्द्रियमा चोट लाग्ने, सिजेरियन (अपरेसन) को आवश्यक हुने, बेहोस पार्ने विधि (एनेस्थेसिया) को कारणले सुत्केरी आमालाई पनि जोखिम हुन्छ ।

योनिद्वारबाट उल्टो बच्चा जन्मिने क्रममा शिशुको टाउकोभित्र रक्तश्राव हुने, बच्चा निस्सासिने, रगत जम्मा हुने, हड्डी भाँच्चिने, स्नायु (नसा) मा दखल पुग्ने, कलेजो, मिर्गौलाजस्ता कोमल भित्री अंगहरुमा चोट पुग्ने कारणले नवजात शिशुमा मृत्युदर ह्वात्तै बढ्छ । त्यसकारण पनि आधुनिक प्रसूति विज्ञानमा गर्भेशिशुको बसाइ असामान्य छ भने योनिद्वारबाट सुत्केरी गराउनुभन्दा सिजेरियन अपरेसनलाई तुलनात्मकरुपमा बढी सुरक्षित मानिन्छ । नवजात शिशुमा पर्न जाने जोखिमहरु विशेषज्ञ डाक्टरको दक्षता, शिशुको तौल, उल्टो बच्चाको खुट्टाको अवस्थिति र गर्भवती महिलाको पुट्ठाको हड्डीको बनावटमा पनि निर्भर हुन्छ ।असामान्य बसाइ भएको प्रसूति योनिद्वारबाट हुने क्रममा एक हजार गर्भमध्ये ५ देखि ३५ जना शिशुको ज्यान जाने गर्दछ । दक्ष स्वास्थ्यकर्मी (प्रसूति सेवाप्रदायक) को अभाव, रगत तथा यथाशीघ्र अपरेसन (सिजेरियन)को सुविधा नभएको ठाउँमा यो संख्या अझ बढ्न जान्छ ।

सतर्कता

गर्भेशिशुको असामान्य बसाइ गर्भजाँचको क्रममा पत्ता लाग्ने हुनाले तालिमप्राप्त स्वास्थ्यकर्मीकहाँ गर्भवती जाँच गराउनुपर्दछ । आजकल अल्ट्रासाउन्डको सहयोगले गर्भेशिशुको असामान्य बसाइको निक्र्योलता सजिलै गर्न सकिन्छ । अल्ट्रासाउन्डले गर्भेशिशुको गलत बसाइको निश्चितता गर्न, गर्भेशिशु वा महिलाको पाठेघरमा भएको कुनै जन्मजात खराबी पत्ता लगाउन, सालको अवस्थिति थाहा पाउन, बच्चावरिपरिको पानीको मात्रा तथा गर्भे बच्चाको तौल पत्ता लगाउन मद्दत गर्दछ । ३६ हप्तासम्ममा धेरै गर्भवती महिलामा गर्भेशिशुको बसाइमा स्थिरता आइसक्छ । पहिलोपटकको गर्भमा त्यस बेलासम्म पनि गर्भेशिशु असामान्य बसेको कारणले स्वास्थ्यकर्मीले सिजेरियन (अपरेसन) गरेर मात्र सुत्केरी गराउनु बुद्धिमानी हुन्छ ।

गर्भेशिशुको बसाइ गलत हुँदा तालिमप्राप्त सुँडेनी वा स्वास्थ्यकर्मी नै भए पनि गाउँघरमै बच्चा पाउनतर्र्फ लाग्नुहुँदैन । नवजात शिशुलाई कृत्रिम श्वासप्रश्वास र सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन्छ । यी सबै कारणले सिजेरियन गरेर मात्र बच्चा निकाल्नुपर्ने हुनाले अस्पतालमा लान ढिलाइ गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्