स्वास्थ्य समाचार



सरकारी नर्सहरुको छुट्टै संघ 

सरकारी सेवामा कार्यरत नर्सहरुले छुट्टै संघ गठन गरेका छन् । सरकारी सेवामा कार्यरत नर्सहरुको हकहितका लागि भन्दै उनीहरुले संघ गठन गरेको बताएका छन् । उनीहरुले हालै कल्पना श्रेष्ठको अध्यक्षतामा १७ सदस्यी तदर्थ समिति गठन गरी काठमाडौं जिल्ला प्रशासन कार्यलयमा ‘सरकारी नर्सिङ संघ’ (गोनान) दर्ता गरेका हुन् । हाल सो संघमा करिब ७ सय सदस्य रहेको बताइएको छ । 

सरकारी सेवामा कार्यरत नर्सहरुको तदर्थ समितिको उपाध्यक्षमा वीर अस्पतालमा कार्यरत रमिला चौलागाईं हुनुहुन्छ । महासचिवमा राजकुमारी ज्ञवाली, सचिवमा मित्रा देवकोटा, कोषाध्यक्षमा प्रमिला थकाली र अन्य १२ जना सदस्य रहेका छन् । बिरामीलाई छिटोछरितो सेवा दिनुका साथै नर्सको हकहितमा पनि निरन्तर लाग्ने उद्देश्यले संघ स्थापना गरिएको उपाध्यक्ष चौलागाईंले बताउनुभएको छ । सो संघले आगामी ३ महिनाभित्र अधिवेशन सम्पन्न गरी जिल्लाहरुमा पनि संघ विस्तार गर्दै लैजाने भएको छ । सरकारी सेवामा कार्यरत नर्सहरुको सेवा, सुविधा, ड्युटी अवधि, पारिश्रमिकमा गरिने विभेद्लाई समेत समान बनाउन सरकारलाई दबाब दिने उद्देश्यले संघ दर्ता गरिएको संघका अध्यक्ष कल्पना श्रेष्ठ बताउनुहुन्छ । 

 

प्याथोलोजी एसोसिएसनको निर्वाचन 

डा. रुणा झाको अध्यक्षतामा क्लिनिकल प्याथोलोजी एसोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौंमा हालै सम्पन्न निर्वाचनबाट एसोसिएसनको नयाँ कार्यसमिति चयन भएको हो । एसोसिएसनको उपाध्यक्षमा डा. सुनीति श्रेष्ठ, सचिवमा डा. निराजन मैनाली, सहसचिवमा डा. शंकर काफ्ले र कोषाध्यक्षमा डा. ऋचा पाण्डे निर्वाचित भएका छन् । त्यस्तै गरी अन्य सदस्यहरुमा डा. गणेश पराजुली, डा. निशा शर्मा, डा. स्वेच्छा मास्के, डा. विवेक केसी, डा. फहद आलम र डा. ज्वलन्त पौडेल रहेका छन् । 

 

आफैं पारिश्रमिक निर्धारण 

नेपाल फिजियोथेरापी संघले फिजियोथेरापिस्टहरुको न्यूनतम मासिक तलब रु. १८ हजारदेखि ५५ हजारसम्म तोक्नुका साथै परामर्श शुल्क पनि तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिजियोथेरापिस्टहरुको मासिक तलब, सेवा शुल्कसम्बन्धी कुनै निर्णय नगरेको भन्दै आफैंले तलब तथा पारिश्रमिक तोकेको संघले बताएको छ । सो संघले हालै विज्ञप्ति जारी गर्दै शुल्क वृद्धिसम्बन्धी जानकारी गराएको हो । संघले फिजियोथेरापी सेवाप्रदायकहरुको योग्यता र अनुभवका आधारमा न्यूनतम तलब र परामर्श तथा सेवा शुल्क तोकिएको बताएको छ । २०७८ वैशाखबाट लागू हुने गरी शुल्क निर्धारण गरिएको जानकारी दिएको छ । केही समयअघि चिकित्सकहरुले पनि यसै गरी आफैं शुल्क निर्धारण गरेकोमा त्यसको व्यापक विरोध भएको थियो । तलब निर्धारण गर्दा दैनिक ७ घण्टाको कार्यालय समय मानेर निर्धारण गरिएको उल्लेख गरिएको छ । बिरामीको उपचारमा लाग्ने समय र फिजियोथेरापिस्टको सक्रियताको आधारमा न्यूनतम सेवा शुल्क निर्धारण गर्ने र फिजियोथेरापिस्टहरुले विशेष सीप अथवा प्रविधिको प्रयोगबापत शुल्क लिन पाउने कुरा बताइएको छ । 

 

टेकुमा जीन एक्सपर्ट विधि 

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण गरिने भएको छ । उक्त प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट 

बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म परीक्षण गर्ने जानकारी गराइएको छ । 

सो प्रयोगशालाका अनुसार यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट ३ घण्टामा आउने हुन्छ । छिटो रिपोर्ट चाहिनेहरुका लागि यो विधिबाट कोरोना परीक्षण गर्न लागिएको बताइएको छ । तुरुन्त उपचार गर्नुपर्ने अवस्था भएका भनी चिकित्सक तथा अस्पतालको सिफारिस भएमा यो विधिबाट परीक्षण गर्न पाइने र रु. १००।– शुल्क लाग्ने जानकारी दिइएको छ ।  

  

डेन्टल एसोसिएसनमा डा. मास्के 

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. सुभित मास्के निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचनले उनलाई अध्यक्षमा चयन गरेको हो । सो निर्वाचनबाट महासचिवमा डा. गालव अधिकारी र कोषाध्यक्षमा डा. निश्चल कुँवर विजयी भएका छन् । एसोसिएसनको उपाध्यक्ष, सहसचिव र सदस्यहरूमा पहिले नै निर्विरोध छनोट भइसकेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्