नौलो साहित्यिक स्वास्थ्य खुराक “मर्फिन”



– रोहिणी घिमिरे

पुस्तकरुपी ‘मर्फिन’ स्वास्थ्य–कथाहरुको सँगालो हो । स्वास्थ्य क्षेत्रका विषयमा मात्र लेखिएको यो कथा सङ्ग्रह नेपाली साहित्यको इतिहासमा शायद पहिलो हुनुपर्छ । वरिष्ठ स्वास्थ्य पत्रकार लक्ष्मण अधिकारीद्वारा रचित अधिकांश कथाका विषयवस्तु स्वास्थ्य विज्ञानका क्षेत्रमा भइसकेका प्रगति र भविष्यमा हुन सक्ने प्रगतिका परिकल्पनामा आधारित छन् । साथै स्वास्थ्य क्षेत्रका विविध घटनालाई आधार बनाएर लेखिएका कथा पनि यसमा समाविष्ट छन् । सबै कथाहरू डाक्टर, नर्स, अस्पताल, बिरामी, औषधिलगायत विषयका वरिपरि घुमेका छन् । 

करिब दुई दशकदेखि स्वास्थ्य क्षेत्रको खोजमूलक पत्रकारिता, पुस्तक लेखन र सम्पादन कार्यमा सक्रिय अधिकारीको गहिरो अनुसन्धानबाट यी कथा सृजित भएका हुन् । लेखकले नजिकबाट देखेका, भोगेका तथ्यहरूमा आधारित भई तयार गरेका यी कथाले स्वास्थ्य क्षेत्रका विविध विषयलाई उजागर गरेका छन् । यस ‘मर्फिन’ कथा सङ्ग्रहमा स्वास्थ्य क्षेत्रका विकृति, विसंगति, कमजोरी, बदमासी, दुर्बल एवम् सबल पक्षहरूलाई कथाको रुपमा प्रस्तुत गरिएको छ । 

‘मर्फिन’ कथा सङ्ग्रहमा स्वास्थ्य क्षेत्रका विकृति, विसंगति, कमजोरी, बदमासी, दुर्बल एवम् सबल पक्षहरूलाई कथाको रुपमा प्रस्तुत गरिएको छ ।

हुन त ‘मर्फिन’ पीडा कम गर्ने औषधि हो, जुन डाक्टरको सिफारिसबाट मात्रै प्रयोग गर्न पाइन्छ । तर यस सङ्ग्रहको एक कथामा एउटा क्लबको नाम मर्फिन राखिएको छ र तानवग्रस्त मानिस यहाँ गीत–गजल सुनेर आफ्ना पीडा कम गर्ने प्रयास गर्छन् । त्यस्तै यी कथा पढेर मनको पीडा भुली आनन्दको अनुभूति गर्न सकिने अर्थमा पनि यस पुस्तकको नाम ‘मर्फिन’ जुराइएको यसका लेखक अधिकारीले नै बताएका छन् । 

हालै मञ्जरी प्रकाशनले बजारमा ल्याएको यस कथा सङ्ग्रहमा लेखकले स्वास्थ्य क्षेत्रमा घटेका र घट्न सक्ने कुरालाई सूक्ष्म तरिकाले विश्लेषण गरी कथाको रुपमा उतारेका छन् । पुरुषत्व नामको कथा यसको एउटा उदाहरण हो । सन्तान प्राप्त गर्न नसकी तड्पिएकी श्रीमती र बाबु बन्न नसक्ने थाहा पाएर पनि आफ्नो पुरुषत्व दर्शाउन सबै दोष श्रीमतीमाथि थोपर्ने श्रीमान्को देखावटी अभिनय अनि उसको भित्री पीडासमेत यस कथामा मार्मिक ढंगले दर्शाइएको छ । साथै बाँझी महिलाको नामले जिउनुपर्दाको पीडा र गोप्यरुपमा तान्त्रिकबाट उपचारको नाममा के–के गरी गर्भधारण गर्नुपर्ने बाध्यता कथामा पढ्दा आँसु नआऊला भन्न सकिन्न । यस्तै मान्छेको आयु, मी टु, गर्भको रहस्य आदि कथाहरु समाजमा घटेका र घट्न सक्ने कुराहरुलाई समेटेर लेखिएका कथा हुन् । 

मान्छेको आयु शीर्षक कथा पढ्दा साँच्चै मान्छेको आयु उसको मानसिक स्वास्थ्यमा भर पर्छ भन्ने लाग्छ । यस कथामा श्रीमान्को मुटु चलाउन पेसमेकर राखिएको हुन्छ । त्यसैले मृत्यु नजिकै आएको देखी उसले आफ्नो मृत्युको काउन्ट डाउन शुरु गर्छ र अन्त्यमा मर्छ । उसकी श्रीमतीलाई क्यान्सर भएको हुन्छ तर पति–वियोगपछि पनि आफ्नो मनलाई स्वच्छ राख्छे । आफ्नो मृत्युको काउन्ट डाउन शुरु नगरी सकारात्मक सोच राख्छे र आयु लम्ब्याउँछे । यस कथामा लेखकले मान्छेको मनले आयु निर्धारणमा भूमिका खेलेको हुन्छ भन्ने दर्शाउन खोजेका छन् । ‘तनको बाघले भन्दा मनको बाघले खान्छ’ भन्ने उखान नै पनि छ नि !

स्वास्थ्य क्षेत्रमा विकास भएका र भविष्यमा आउन सक्ने प्रविधिलाई पनि कथामा उतारिएको छ । अतृप्त मुटु यस्तै एउटा कथा हो । यो कथा पढ्दा लेखकको कल्पना निकै गहिराइमा पुगेको रहेछ भन्ने पाठकलाई लाग्न सक्छ । यस कथामा जसको मुटु प्रत्यारोपण गरिएको हो उसैको बानी व्यवहार सर्ने र अगाडिका कुरा सबै बिर्सने दर्शाइएको छ । यसै विषयमा अनुसन्धान रिपोर्ट तयार गर्ने क्रममा पूर्वप्रेमिका भेट्न आउँदा पनि उसले नचिनेको कथाको अन्त्यमा मात्र थाहा हुन्छ । प्रेम–रसका शब्दहरुको समेत संयोजनले कथा पठनीय बनेको छ । 

अहिले मान्छेले भोगेका समस्याबाहेक भविष्यमा हुन सक्ने मस्तिष्क प्रत्यारोपणको कुरा पनि पुस्तकमा अटाइएको छ, जुन भविष्यमा साकार नहोला भन्न सकिँदैन । एउटा कथामा पाठेघरको प्रत्यारोपण गरेर बच्चा जन्माएकी महिलालाई उनकै दिदीले पाठेघर दिएको रहेछ भन्ने कुरा थाहा पाउँदा अचम्म लाग्छ । यसरी कथाकारले प्रसङ्ग मिलाएर कथाको अन्त्यमा रहस्यको पोको खोलिदिँदा पाठकलाई फिल्म हेरेझैँ भान हुन्छ । हाम्रै वरिपरिका घटना समेटिएका यी कथा पाठकलाई चकित पार्ने खालका भएको प्रतिक्रिया फेसबुकमार्फत डा. अरुणा उप्रेतीले समेत दिएकी छिन् ।

यस सङ्ग्रहका कथालाई प्रेम र यौनका प्रसङ्गहरुले सिँगार्न सक्नु कथाकार अधिकारीको खूबी मान्नै पर्छ । वरिष्ठ पत्रकार तथा कथाकार श्रीरामसिंह बस्नेतले समेत ‘कथाका पारखीहरुका लागि नौलो परिकार’ भनी सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेका छन् । त्यस्तै साहित्यकार एवम् चिकित्सक डा. रवीन्द्र समीरले यस कथाको उत्कृष्टता सामाजिक सञ्जालमार्फत यसरी स्पष्ट पारेका छन्– ‘कथाकारको शिल्प तथा दूरदृष्टि उत्कृष्ट छ । भविष्यमा चिकित्सा विज्ञानले गर्न सक्ने मस्तिष्क प्रत्यारोपण, मुटु प्रत्यारोपणजस्ता जटिल विषयमा मात्र हैन मनोवैज्ञानिक पक्षलाई केस्रा–केस्रा केलाएर लेख्नु कथाकारको गहन अध्ययन तथा परिकल्पनाको उपज हो ।’ साहित्य पोस्ट उत्तम कृति पुरस्कारका लागि छानिएका १० उत्कृष्ट पुस्तकमध्ये यो ‘मर्फिन’ कथा सङ्ग्रह पनि परेको छ ।

मर्फिन औषधिको सेवनले दुखाइको पीडा कम गरेजस्तै यस कथा सङ्ग्रह ‘मर्फिन’ को अध्ययनले मन चङ्गा गराई आयु लम्ब्याउन सहयोग नपुर्‍याऊला भन्न सकिँदैन । २२० पृष्ठको यस कथा सङ्ग्रहको मूल्य रु. ३५०।– गहनताको हिसाबमा उचित नै देखिन्छ । बिरामी हुन् वा स्वस्थ व्यक्ति, सबैका लागि आत्मबल बढाउन यो कथाको पुस्तक सहयोगी हुनेछ ।  

 

प्रतिक्रिया दिनुहोस्