तपाईंका घरमा हाम्रा डाक्टर



म २६ वर्षीय पुरुष हुँ । मेरो नाकमाथि पहिलेदेखि नै रहेको कोठी हाल अलि बढेजस्तो, रातो भएजस्तो लाग्छ । यसको कुनै उपचार गर्नुपर्ने हो कि ? सुझाव पाऊँ। 

– हरिकृष्ण गौतम, सुनसरी ।

हरिकृष्णजी, तपाईंको जुन नाकमाथिको कोठी बढेको अनि रातो पनि भएको भन्नुभयो, त्यो तुरुन्तै छाला रोग विशेषज्ञ वा शल्यचिकित्सकलाई देखाइहाल्नुप¥यो । किनभने साधारण तया जन्मजात आउने कोठी जस्ताको त्यस्तै भएसम्म त्यो नर्मल हो, केही गर्नुपर्दैन । तर यसको आकार बढेमा तुरुन्तै देखाउनुपर्ने हुन्छ । त्यो क्यान्सर हुनेसम्मको डर हुन्छ । चेक गराएर ढुक्क भई बस्नु उचित हुन्छ ।

मेरो शरीर ज्यादै मोटो भएर हाल लगभग सय किलो छ । अपरेसन गरेर बोसो निकाल्न मिल्छ भन्छन् । यस्तो गर्नु ठीक हो कि होइन, नेपालमा कुन अस्पतालमा यो सेवा उपलब्ध छ ? जानकारी पाऊँ। 

– जगतरमण, भरतपुर । 

जगतरमणजी, शरीरको तौल अधिक हुनु धेरै किसिमले राम्रो होइन भने त्यो तौल घटाउन पनि प्राकृतिक वा प्राकृतिक नजिकको उपाय अवलम्बन गरेर घटाएमा दिगो हुन्छ, स्वस्थ पनि हुन्छ । त्यस्तो उपाय भनेको शरीरको क्यालोरी (शक्ति) आयातमा कटौती अनि खर्चमा बढोत्तरी गर्ने व्यवस्था मिलाउनु हो । त्यसको लागि खानामा चिल्लो, गुलियो (फ्याट, कार्बोहाइड्रेट) खाद्यपदार्थमा कटौती अनि शारीरिक क्रियाकलाप, व्यायाम, खेलकुद, योग आदिमा बढोत्तरी गर्ने सल्लाह दिन चाहन्छु । जहाँसम्म अपरेसन गरेर बोसो निकाल्ने भन्ने कुरा छ, अहिलेसम्म नेपालमा त्यो सेवा गर्ने गरेको थाहा छैन तर भारतमा हुन्छ भन्ने सुन्नमा आएको छ । मेरो सल्लाह छ कि प्राकृतिक किसिमले जीवनशैली सुधारेर तौल घटाउने प्रयास गर्नुहोला ।

खासगरी बस चढेर लामो यात्रा गर्दा प्रायः म भमिट गरेर हैरान हुन्छु । यसबाट बच्ने उपाय बताइदिनुभए आभारी हुने थिएँ । 

– निलम केसी, लमही ।

निलमजी, बसमा लामो यात्रा गर्दा आउने बान्ता (vomit) लाई मोसन सिकनेस भन्ने गरिन्छ । यो शरीरको खास प्रतिक्रिया हो, जुन कुरा सबैमा हुँदैन भने कसै–कसैलाई अधिक नै हुने गर्छ । यसबाट बच्न एभोमिन भन्ने चक्की यात्रा गर्नुभन्दा २०–३० मिनेटअघि खानुपर्छ । यसले ७–८ घन्टाको यात्रालाई बान्ता नआउने गराउँछ । साथसाथै यसले झुम्म गराउने र अलि–अलि 

सुताउने हुन सक्छ । यात्रामा बान्ता आउने समस्याबाट पूरै बच्ने उपाय भने हुँदैन । किनभने यो शरीरको आफ्नो खास गुण हो, जुन अन्य गुणहरुजस्तै स्थायीरूपमै अन्तर्निहित हुन्छ । अलि–अलि वाकवाकी लागेमा मुखले श्वास लिने अनि नाकले फ्याँक्ने गर्नुस् । यसरी गहिरो श्वास लिने र फ्याँक्ने व्यायाम गर्दा यसले पनि केही मात्रामा समस्या न्यूनीकरण गर्न सहयोग गर्छ ।

हामीले विवाह गरेको ४ वर्ष जति भयो । अझै बच्चा भएको छैन । एक नम्बर प्रदेशमा यसको उपचार गर्ने कुनै भरपर्दो अस्पताल छ कि काठमाडौं नै आउनुपर्छ होला ? 

– कार्की दम्पती, तेह्रथुम । 

कार्की दम्पतीजी, यदि विवाह गरेको दुई वर्षसम्म परिवार नियोजनको कुनै उपाय अपनाएको छैन अनि सधैँ श्रीमान्–श्रीमती सँगसँगै हुँदा पनि गर्भ रहेन भने चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । किनभने यस्तो अवस्थालाई ‘शुरुको बच्चा नहुने अवस्था’ भनेर बुझिन्छ । तर पनि बिहे गरेको १५–१६ वर्षपछि पनि बच्चा भएको रेकर्ड छ र हुने सम्भावना भैरहने हुनाले तनाव लिनुपर्ने कारण अहिले नै छैन । शुरुमा कुनै निःसन्तान क्लिनिकमा जाने, त्यो नभए स्त्रीरोग विशेषज्ञ भेट्ने र परामर्शको शुरुवात गर्न सकिन्छ । निःसन्तान उपचार केन्द्रहरु काठमाडौंमा प्रशस्त छन् । एक नम्बर प्रदेशमा पनि कहाँ कुन छ भन्ने पत्ता लगाउन सक्नुहुन्छ । यदि नभए काठमाडौं नै आएर 

सल्लाह लिने वा परामर्श गर्ने सल्लाह दिन्छु । तत्काल चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन तर पनि बेलैमा परामर्श गर्नु राम्रै हुनेछ ।

कसै–कसैको जन्मजात मुटुमा प्वाल परको हुन्छ भनेको सुनेँ । आफ्नो सन्तान यस्तो नहोस् भन्नका खातिर के सावधानी अपनाउन सकिन्छ ? 

– कोमल राई, उदयपुर । 

कोमलजी, हो तपाईंले सही भन्नुभयो । कोही–कोहीको मुटुमा जन्मजात प्वाल हुन्छ । त्यसको यकिन कारण त भन्न सकिँदैन तर सम्भावित कारणमा गर्भावस्थामा औषधि सेवन गरेमा, धूमपान–मद्यपान गरेमा, गर्भवती नै बिरामी परेमा, सन्तुलित आहारा नपुगेमा यस्तो समस्या आउन सक्छ । 

यस्ता अन्य कारणले पनि गर्भको बच्चाको वृद्धि–विकासमा प्रभाव पर्छ र मुटुमा प्वाल रहने वा अन्य जन्मजात अपूर्णता हुने सम्भावना हुन्छ । त्यसैले गर्भवती महिलाले माथि भनिएका सबै कुरामा ख्याल गर्नुपर्छ । साथै सादा जीवनशैली अपनाउने, स्वास्थ्यको ख्याल गर्ने, चिकित्सकको सल्लाहबेगर कुनै औषधि सेवन नगर्ने, खराब लतबाट टाढै बस्ने गरेमा सबै राम्रो हुनेछ ।

मेरो पाँच वर्षको छोराको खुट्टाहरु अलि बाङ्गो देखिन्छ । के कारणले यस्तो भयो होला ? केही समाधान भए बताइदिनुस् न । 

– सीमा धमला, कोटेश्वर । 

सीमाजी, सानो उमेरमा खुट्टा बाङ्गो देखिनुमा सबभन्दा कमन कारण भिटामिन ‘डी’को कमीले हुने रिकेट्स भन्ने समस्याले हुन सक्छ । एकपटक रगतमा भिटामिन ‘डी’ परीक्षण गरेर हेरेमा रिकेट्स हो वा होइन भन्ने पत्ता लाग्छ । तर अलि–अलि मात्रै बाङ्गो भनेकोले त्यो नहुन पनि सक्छ । कोहीको जन्मजात नै अलि–अलि बाङ्गो भएको हुन सक्छ । यस्तो अवस्थामा दुवै खुट्टा धनुसजस्तो बाहिर उठेको अनि भित्र दबेको रूपमा देखा पर्दछ । एकपटक हड्डी विशेषज्ञलाई देखाएमा वा परामर्श लिएमा के कारणले यस्तो भएको, यो कस्तो अवस्था हो र कसरी उपचार गर्न सकिएला भन्ने कुरा प्रस्ट हुनेछ ।

मेरो हातका औँलाहरुमा बाक्लै मुसा छन् । धेरै घरेलु उपचार गरिसकेँ मुसा गएन । यसको कुनै राम्रो उपचार छ बताइदिनुभए आभारी हुने थिएँ । 

– शिवराम, हेटौँडा । 

शिवरामजी, हातमा भएका मुसाहरु हटाउन आफैं प्रयास गर्ने वा घरेलु उपचार भनेर विभिन्न क्रियाकलाप गर्ने सल्लाह दिन सकिँदैन । किनभने यी घरयासी उपाय प्रमाणित उपाय होइनन् । फेरि मुसा पत्तीले काट्ने गरिन्छ, त्यो पनि सफा तथा उचित तरिकाले होइन । मुसाबाट आएको रगत वा श्रावले फेरि नयाँ मुसा आउन सक्छ । यसको उपचारका लागि छालारोग विशेषज्ञ भेटेर परामर्श गर्ने वा छाला विभाग भएको अस्पताल जाने अनि सम्बन्धित चिकित्सकलाई देखाएर उपचार गराउने बाटो अवलम्बन गर्नुहुन सल्लाह दिन्छु ।

म ४० वर्षीया महिला हुँ । मेरो विवाह भएको छैन । यस उमेरमा विवाह गरेमा सन्तान हुने सम्भावना हुन्छ कि हुँदैन ? बताइदिनुभए आभारी हुने थिएँ । 

– कृतिका, धोबीघाट, काठमाडौं । 

कृतिकाजी, यो उमेरमा पनि अन्य स्वास्थ्य अवस्था (नियमित महिनावारी, अन्य कुनै दीर्घरोग नभएको) ठीक भएमा बच्चा हुने सम्भावना सिद्धान्ततः हुन्छ । तर रिस्क पनि उत्तिकै हुन्छ । बच्चा नहुने वा भए पनि बच्चामा कतै कमजोरी नहोला भन्न सकिन्न । तर पनि धेरै महिला छन्, जसले ४० वर्षसम्म पनि नर्मल नै बच्चा जन्माएका छन् । तसर्थ सकारात्मक सोच्नुस्, आशावादी बन्नुस्, सबै राम्रो हुनेछ । पारिवारिक जीवन बिताएर पूर्णतातिर उन्मूख हुनुहोस् ।

म २२ वर्षको भएँ । हाल मलाई पढेको कुरा बिर्सिने बानी पर्न थालेको छ । यो समस्याबाट बच्ने कुनै उपाय छ भने बताइदिनुहोला । 

– रुद्र कँडेल, दुलेगौँडा ।

रुद्रजी, अलि–अलि बिर्सने समस्या सबैको हुन्छ । पुरानो कुरा नबिर्सने हो भने सबै कुरा सम्झनको लागि मानव मस्तिष्कले धान्न सक्दैन । त्यसैले नयाँ कुरा सम्झना गर्न पुराना केही कुरा बिर्सने प्राकृतिक नियमजस्तै हो । कुनै कुरा सम्झनको लागि त्यस कुरालाई खास तरिकाले लिनुपर्छ, एक चित्त भएर सुन्नु र मनन गर्नुपर्छ । केही साधारण कुरासँग सम्बन्धित बनाएर पनि सम्झन सजिलो हुन्छ । 

पढ्दा पनि एक चित्त भएर, ध्यान दिएर, अन्य कुरामा ध्यान जान रोकेर, कुनै सम्झिरहने कुरासँग जोडेर, धेरै पटक दोहो¥याएर, पढेको पुस्तक वा नोटमा कुनै चिह्न दिएर वा अन्डरलाइन गरेर अथवा रंग भरेर पढेमा सम्झने निश्चय नै हुन्छ । विद्यार्थीलाई मैले पढेको सम्झन सकिन, अरुजस्तो हुन सकिन कि भन्ने शंका लागिरहने हुनु स्वाभाविक नै हो । तर उनीहरुले अत्यावश्यक कुराहरु औसतरूपमा सम्झने र परेको बेलामा राम्रै नतिजा ल्याउने गरेको पनि पाइन्छ । आशा छ, तपाईंले अब आवश्यक कुरा सम्झनुहुनेछ ।

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)
प्रतिक्रिया दिनुहोस्