प्रभावकारी बन्दै प्लाज्मा थेरापी



– भगवती तिमल्सिना 

डा. विपिन नेपाल झन्डै डेढ वर्षदेखि कोरोना संक्रमितहरुको जीवन बचाउने काममा निजी क्षेत्रबाट सक्रिय हुनुहुन्छ । कोरोना निको भएका व्यक्तिहरुबाट लिएको रगतबाट प्लाज्मा बनाई कोरोना संक्रमितको उपचारका लागि उत्तम औषधि बनाउने नेपाली चिकित्सक हुनुहुन्छ ।

आफूले सिकेको ज्ञान र सीपका माध्यमबाट जनस्वास्थ्यमा सुधार ल्याउन सरकारलाई सघाउँछु भन्दासमेत सरकारले बेवास्ता गरेपछि निजी क्षेत्रबाट नै भए पनि कोरोनाका बिरामी बचाउने कार्यमा सक्रिय रहँदै आउनुभएको छ उहाँ ।

हाल डा. नेपाललगायतको टिम ग्रान्डी अस्पतालमार्फत सयौँ कोरोना संक्रमित बिरामीलाई प्लाज्मा थेरापीका माध्यमबाट बचाउन सफल भएको छ । उहाँलाई यस्तो काम शुरु गर्न वातावरण बनाइदिने र हौसला प्रदान गर्नुपर्ने नेपाल सरकार, नेपाल रेडक्रस सोसाइटीजस्ता निकायले उल्टै कारबाही गर्ने र लाइसेन्स नै खारेज गर्ने डर–त्रास देखाई स्पष्टीकरण सोध्नेसम्मका प्रयास गरेका थिए । तर पनि उहाँले जोखिम मोलेर नै भए पनि आफ्नो कामलाई निरन्तरता दिएकाले हाल कोरोनाका धेरै बिरामी उहाँको प्लाज्मा थेरापीबाट लाभान्वित भइरहेका छन् ।

रक्तसञ्चार विज्ञ डा. नेपालको ज्ञान र सीपकै कारण नेपालका चिकित्सकलगायत थुप्रै कोरोना संक्रमित बिरामीहरु ज्यान जोगाउन सफल भएका हुन् । हक्की स्वभावका डा. नेपाल मानवजीवन बचाउने महान् कार्य गर्नका लागि आफू जस्तोसुकै परिस्थितिमा पनि जुटिरहने अठोटका साथ लागिपरेको बताउनुहुन्छ ।

नेपालको एकमात्र रक्तसञ्चार विशेषज्ञ (ट्रान्समिसन मेडिसिन) डा. नेपाल खासगरी एउटै रगतबाट कस्तो खालको रगत बनाउने, कुन खालको बिरामीलाई कुन रगत दिने भन्ने विषयका ज्ञाता हुनुहुन्छ । पाकिस्तानबाट विशेषज्ञता हासिल गरी नेपालमै केही गर्छु भनेर आउनुभएका डा. नेपाललाई सरकारले दरबन्दी सृजना गरेर उहाँको क्षमता र दक्षताको कदर गरी हौसला दिनुको सट्टा उल्टै हतोत्साही गर्दै आएको छ । विगत पाँच वर्षदेखि उहाँ ग्रान्डी इन्टरनेसनल अस्पतालमा ट्रान्समिसन मेडिसिन विभागका प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । प्लाज्मा थेरापीसँग सम्बन्धित विविध विषयमा उहाँसँग कुराकानी गरी यो लेख तयार गरिएको छ ।

 

डा. विपिन नेपाल

 

प्लाज्मा भनेको के हो ?

शरीरमा कुनै संक्रमण भैसकेपछि त्यसविरुद्ध लड्ने एन्टिबडी प्लाज्मामा नै तैरिएर बसेको हुन्छ । अहिले कोरोना संक्रमणको परिप्रेक्ष्यमा प्लाज्मा थेरापी भन्नाले बिरामीलाई कोरोना भयो र निको भयो भने त्यो बिरामीको शरीरमा कोरोनासँग लड्न सक्ने एन्टिबडी बनेको हुन्छ । त्यो एन्टिबडी तैरिएर प्लाज्मामा बसेको हुन्छ । त्यो प्लाज्मा निकालेर अर्को कोरोना संक्रमण भएर गम्भीर भएका बिरामीलाई दिँदा त्यसले न्युट्रेलाइज गर्न मद्दत गर्छ ।

कोरोना लागेर बिरामी आईसीयुमा भर्ना भएको छ, भाइरसको परिमाण धेरै छ भने पनि त्यसलाई न्युट्रेलाइज गरिदिन्छ । त्यो भनेको पोजिटिभ नेगेटिभजस्तै हो । न्युट्रेलाइज गरेर कोरोना संक्रमितलाई निको पार्ने काम गर्दछ । त्यो प्रोसेसलाई कन्भुलेसन प्लाज्मा थेरापी भनिन्छ । यो एक–डेढ सय वर्षको इतिहास बोकेको विधि हो । कुनै पनि भाइरल रोगको महामारी जस्तो– मिजल्स, मम्स, स्मल पक्स, इबोला आदि शुरुमा फैलिँदा कुनै पनि औषधि र भ्याक्सिन बनेको थिएन । कन्भुलेसन प्लाज्मा थेरापीकै माध्यमबाट यसरी नै उपचार गरिँदै आएको थियो । त्यति बेला यो उपचार सुस्त तरिकाले गरिँदै आएको थियो । अहिलेको परिप्रेक्ष्यमा पनि कुनै औषधि नबनेको बेलामा तीव्र गतिमा यो एउटा वैकल्पिक थेरापी विधि सफलताका साथ अपनाइएको हो ।

 

कोरोना संक्रमणपछि विश्वमा यसको प्रयोग कस्तो छ ?

कन्भुलेसन प्लाज्मा थेरापी विश्वव्यापी क्लिनिकल परीक्षणकै रुपमा अपनाइएको छ । कोरोनाको महामारी भएका बेलामा यसले विश्वमा के–कस्तो काम गरिरहेको छ ? त्यसको परिणाम त पूर्णरुपमा आइसकेको छैन तर केही प्रतिशत भने काम गरेको प्रमाणित भैरहेको छ । अमेरिकामा ३५ हजार मानिसमा गरेको अनुसन्धानले २३ प्रतिशतसम्म एकदम राम्रोसँग काम गरेको पाइएको छ । बिरामीको अस्पताल बसाइ कम गराउने, छिटो निको गर्नलाई मद्दत गर्नेजस्ता परिणाम देखाएको छ । त्यसै गरी चीनमा गरेको अनुसन्धानअनुसार पनि राम्रै नजिता देखिएको छ ।

यिनै प्रयोगलाई आधार मानी नेपालमा हामीले पनि विगत डेढ वर्षदेखि कोरोना संक्रमितको उपचार गरिरहेका छौँ । अझ भन्ने हो भने, नेपालमा कोरोना शुरु नहुँदैदेखि ट्रान्समिसन मेडिसिन तथा रगत प्रत्यारोपणसम्बन्धी रक्तसञ्चार विशेषज्ञको हैसियतले मैले नेपाल सरकार, नेपाल रेडक्रस सोसाइटीसँग यससम्बन्धमा केही गर्नुपर्‍यो भनेँ । मलाई कोरोना नेपालमा आउँछ–आउँछ भन्ने लागेको थियो । यो महामारी चीन हुँदै युरोपतिर फैलिरहँदा म सरकारी निकायमा प्लाज्मा थेरापीसबन्धमा बुझाउन निकै नै धाएको थिएँ, तर कसैले वास्तै गरेनन् । अन्ततः कोरोना भाइरस नेपालमा प्रवेश मात्र गरेन दोस्रो लहरसमेत आएर समुदायस्तरमै महामारीको रुपमा फैलिएको छ ।

 

एक्लो प्रयासमा प्लाज्मा थेरापी दिने योजना कसरी बनाउनुभयो ?

त्यस बेला पनि म ग्रान्डी अस्पतालमा नै कार्यरत थिएँ । नेपालमा कोरोना आएपछि के गर्ने भनेर प्रोटोकल बनाउन शुरु गरेँ । नेपालमा आइहाल्यो भने यसो गर्नुपर्छ भनेर नेपाल राष्ट्रिय ल्याब्रोटरी प्रयोगशाला (एनपीएचएन) मा गएर आफूले बनाएको खाका दिएँ । त्यसपछि नेपालमा पनि कोरोनाले प्रवेश गर्‍यो । अनि मात्र बल्ल उहाँहरुले चासो दिन थाल्नुभयो र ल अब प्लाज्मा बनाऊँ भन्नुभयो । हामीले बनाएकै खाकालाई केही सम्पादन गरेर सरकारले राख्यो । फेरि खाका एक महिनाजति त्यत्तिकै थन्किएर बस्यो । मैले परिचित विभिन्न विशेषज्ञहरुलाई कोरोना र प्लाज्माका विषयमा भनिसकेको थिएँ । आईसीयुमा भर्ना भएको कोरोनाको बिरामीलाई प्लाज्मा थेरापीले काम गर्न सक्छ, त्यसको लागि म तयार छु भनेको थिएँ । त्यति बेलासम्म ल्याबमा खाका तयार भएर बसिसकेको थियो ।

यति नै बेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयु इन्चार्ज डा. सुवास आचार्यले मलाई कोरोनाग्रस्त डा. ज्ञानेन्द्र कार्कीको उपचारका लागि हामीले सबै विकल्प चलाइसक्यौं, सम्भावना शून्य नै छ, तिमीले मद्दत गर्नुपर्‍यो भन्नुभयो । म त्रि.वि. शिक्षण अस्पतालको चिकित्सक त होइन तर जहाँको भए पनि सहयोग गर्छु भनेँ, प्रोटोकल त मसँग थियो । यसपछि मैलै एनपीएचएनमा कुरा गर्दा सकारात्मक या नकारात्मक कुनै पनि उत्तर दिनुभएन । पहिलो शुरुवात गर्ने कुरा तपाईंको विचारमा गर्नुस् भन्नुभयो । त्यसपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) मा भनेंँ, त्यहाँ पनि खासै सम्बोधन गर्नुभएन । त्यसपछि हामीले आफैले जोखिम मोलेर शुरु गर्‍यौं । शुरु गरेपछि समाचार बाहिर आयो अनि एनएचआरसीका उपाध्यक्षले ‘हामीलाई नसोधी किन गरेको ? लाइसेन्स खारेजसम्म हुनसक्छ’ भन्ने चेतावनी दिनुभयो ।

अब सबैतिरबाट यस्तो खालको रेस्पोन्स आउँछ भन्ने थाहा थियो । नयाँ काम शुरु गर्दा चुनौती त हुन्छ नै । मैले जानेको काम मैले नगरे कसले गर्ने त ? यो विषयमा त मैले पढेर आएको छु । चुनौती त मैले लिनै खोजेँ । चुनौती मोलेर हामीले गरेको यो पहिलो केस एकदमै राम्रोसँग सफल भयो । आमसञ्चारका माध्यमबाट बाहिर आयो । कतिपय मिडियाबाट त्रिवि शिक्षण अस्पतालमै प्लाज्मा बनाएको भनेर पनि आयो । त्यसपछिका समयमा अरुको पनि माग बढ्दै गयो । मैले नै सक्दो मद्दत गर्दै गएँ । यसपछि त्रिवि शिक्षण अस्पताल, मेडिसिटी, एपीएफ अस्पताललगायतबाट माग बढ्दै गयो । यतिका काम गरिसकेपछि सबैको चासो र माग बढ्दै गएकाले एनएचआरसीले पनि कन्भुलेसन प्लाज्मा थेरापीका लागि बल्ल हामीलाई स्वीकृति दियो ।

पहिलो प्लाज्मा थेरापी गरेर कोरोना जित्न सफल व्यक्ति डा. कार्की विराट मेडिकल कलेजका सञ्चालकसमेत हुनुहुन्थ्यो । उहाँलाई प्लाज्मा दिने व्यक्ति काठमाडौंबाहिरको नेपाली सेनामा आबद्ध सुरक्षाकर्मी हुनुहुन्थ्यो । उहाँ विदेशबाट आउनुभएको कोरोना निको भएको व्यक्ति हुनुहुन्थ्यो । शुरुमा उहाँलाई प्लाज्मा दिँदा खासै फरक पर्दैन, बरु अर्को बिरामीलाई नयाँ जीवन दिन सक्नुहुन्छ भनेर हामीले सम्झायौं । त्यसपछि उहाँ रगत दिन तयार हुनुभयो । उहाँलाई हामीले सामान्य रक्तदान मात्र हो भन्ने बुझाएपछि मात्र रक्तदान गर्नुभएको थियो । त्यसपछि हामीले आवश्यकताअनुसार प्लाज्मा बनाएर डा. कार्कीलाई प्रत्यारोपण गर्न सफल भयौं ।

 

एकजनाले दिने रगतबाट कतिजनालाई बचाउन सकिन्छ ?

एकजना व्यक्तिबाट लिएको रगत तीनजनासम्मलाई काम लाग्छ तर त्यो खालको मेसिन नेपालमा त्रि.वि. शिक्षण अस्पताल र निजामती अस्पतालमा मात्र छ । यो पनि चौतर्फीरुपमा दबाब आएपछि मात्र त्रि.वि. शिक्षण अस्पतालमा तीनजनासम्मलाई दिन मिल्ने कम्पोनेन्ट बनाउने मेसिन चालू गरिएको हो । यसबाहेक ३५ वटा ठाउँमा एउटा व्यक्तिबाट एउटा व्यक्तिलाई मात्र दिन मिल्ने खालका मेसिनहरु छन् । काठमाडौंको अवस्था हेर्ने हो भने, एकजनाबाट तीनजनासम्मलाई दिन सकिन्छ । देशभरको परिस्थितिलाई हेर्दा एकजनाबाट एकजनालाई मात्र दिन सकिन्छ । त्यसमा पनि निजामती अस्पतालमा भएको मेसिनले सोही अस्पतालको बिरामीको लोड नै धान्न सकेको अवस्था छैन ।

 

तपाईंलाई मानवको जीवन बचाउँछु, मसँग ज्ञान र सीप छ भन्दा पनि सरकारको स्वीकृति लिन निकै संघर्ष गनुपर्दा कस्तो अनुभव भयो ?

नेपालमा कोरोना बिरामीमा प्लाज्मा थेरापी गर्नु भनेको बिल्कुलै नयाँ औषधि परीक्षण गर्नेजस्तै विषय थियो । यो परीक्षणकालकै अवस्था थियो । परीक्षण गर्दा कुनै मान्छेको ज्यान नै जान पनि सक्छ । यो काम मैले ठूलै चुनौती मोलेर नै गरेको हुँ । मेरो संघर्ष नै मानवजीवन बचाउने उद्देश्यले गरेको थिएँ तर केही गरी पहिलो केसमै केही समस्या आइदिएको भए मेरो त क्यारियर नै डुब्थ्यो । मलाई सरकारको कुनै पनि निकायले सपोर्ट नगर्दा नमीठो अनुभव भएको थियो ।

५४ वर्षदेखि ब्लड बैंक चलाएको नेपाल रेडक्रसमा, नेपाल सरकारको आधिकारिक निकायमा मेरो क्षमता अटाउन नसक्नु नेपाल र नेपाली जनताका लागि दुर्भाग्य नै मान्नुपर्छ । नेपाल रेडक्रसमा अहिलेसम्म ट्रान्समिसन मेडिसिनको डाक्टरको दरबन्दी नै छैन । मैले सरकारसमक्ष पटक–पटक म सहयोग गर्न तयार छु भन्दासमेत सुनुवाइ नभएकोमा साह्रै दुःख लाग्छ । विगत ६ वर्षदेखि सरकारको सबै निकायको ध्यानाकर्षण गराउने र ट्रान्समिसन मेडिसिनका विषयमा प्राविधिक शिक्षा दिएर जनशक्ति उत्पादनका लागि पनि सल्लाह दिँदै आएको छु तर पनि सरकारले सुनेन । मैले सरकारी निकायमा बसेर आमजनताको धेरै सेवा गर्न सक्थेँ होला भन्ने लागेको थियो तर त्यसको लागि सरकारले बाटो नखोलिदिँदा आफैं अचम्मित छु ।

प्रतिक्रिया दिनुहोस्