गर्भाशयमा पानीको मात्रा



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)

कोभिड–१९ को दोस्रो लहरबीच निषेधाज्ञाका कारण गर्भवती महिलाले नियमित रुपमा पाउने गरेको सेवा पनि प्रभावित भएको छ । यसको कारण महिना पुगेका गर्भवतीको गर्भाशयमा पानीको मात्रा कम हुन जाने समस्या समयमै पत्ता लगाउन गाह्रो भइरहेको छ । यसले गर्दा गर्भेशिशुको चाल कम हुने, गर्भभित्रै शिशुको मृत्यु हुने समस्या बढ्दो छ । कोभिड–१९ को पहिलो लहरकै क्रममा पनि यस्तो समस्या देखिएको थियो । समयमै पत्ता लगाउन सकिएको खण्डमा अनाहकमा हुने शिशु मृत्युदर घटाउन सकिन्छ ।

महिलाको गर्भ वरिपरिको पानीले शिशुलाई सुरक्षित कवचका रुपमा काम गरेको हुन्छ । शुरुवाती अवस्थामा गर्भवती महिलाको रगतबाट छानिएर गर्भेशिशु वरिपरिको पानी बने पनि गर्भावस्थाको १२ हप्ताबाट गर्भेशिशुबाटै पानी बन्न थाल्छ । गर्भेशिशु वरिपरिको अधिकांश भाग शिशुले निल्ने र त्यसैबाट बन्ने पिसाबबाट पानी निर्माण हुन्छ । यसका साथै शिशुको फोक्सो एवं सालबाट पनि थोरै मात्रामा यस्तो पानी बन्दछ । गर्भेशिशु वरिपरिको पानी बन्ने, निल्ने र पिसाब बन्ने प्रक्रियामा आउने भिन्नतासँगै पानीको मात्रा र यसमा रहने तत्वहरुमा फरकपना आउन सक्छ । अल्ट्रासाउन्डबाट शिशु वरिपरि पानी कति मात्रामा छ, थाहा पाउन सकिन्छ ।

गर्भेशिशु वरिपरिको पानीको मात्रा कम हुँदा १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुनसक्छ ।

गर्भेशिशु वरिपरिको पानीले शिशुलाई बाह्य चोटपटकबाट बचाउनुका साथै शिशुको मांसपेशी विकसित हुन, तापक्रम निर्धारण गर्न, थोरै मात्रामा भए पनि पोषण प्रदान गर्न र विभिन्न खाले संक्रमणबाट बचाउन मद्दत गर्दछ । गर्भेशिशुले यस्तो पानी निल्ने कार्यले गर्भेशिशुको अपरिपक्व खाद्यनली तथा श्वास–प्रश्वास प्रणालीका तन्तु विकसित हुन मद्दत गर्दछ ।

पानीको मात्रा कम हुने समस्या

गर्भेशिशु वरिपरिको पानीको मात्रा कम हुँदा १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुनसक्छ । महिना नाघेपछि, थाहा नपाई पानी बगिरह्यो, गम्भीर प्रकारको गर्भेशिशु नबढ्ने समस्या, गर्भेशिशुको मिर्गाैला, पिसाब नली, वंशाणु अंशमा गडबडी, गर्भवती महिलामा थाइरोइड ग्रन्थिको समस्या, मुटुमा खराबी एवं कतिपय औषधि सेवनको कारणले शिशु वरिपरि पानीको मात्रा कम हुनसक्छ ।

गर्भेशिशु वरिपरि पानीको मात्रा कम हुँदा गर्भ अवधिको तुलनामा पेट सानो देखिने, पेट छाम्दा पूरै बच्चा तथा हातखुट्टा मात्र छामिने, गर्भवती महिलालाई बच्चा कम चलेको अनुभूति हुने हुन्छ । पानी कम भएको वा गर्भेशिशुको कम वृद्धि विकास, विकलाङ्ग, मिर्गौलामा खराबी भएको हुनसक्छ । यसको कारक तत्व खुट्याउने क्रममा वंशाणु अंश, जन्मजात संक्रमण, मूत्र प्रणाली एवं खाद्य प्रणालीका लागि अल्ट्रासाउन्ड, ईसीजी, इको गराउनुपर्दछ ।

यस्तो समस्या हुँदा गर्भावधिअनुसार शिशुलाई पर्ने असर पनि फरक–फरक हुन्छ । गर्भावस्थाको मध्यताका यस्तो समस्या देखिएमा गर्भ तुहिने, विकलाङ्ग शिशु जन्मिने, शारीरिक अङ्ग थिचिन सक्ने हुनाले फोक्सो र हातखुट्टामा समस्या देखिने, शिशु वरिपरिको झिल्ली हातखुट्टामा टाँसिने, महिना नपुग्दै बच्चा पाउने, गर्भभित्रै शिशुको मृत्यु हुने पनि हुनसक्छ । यस्तो समस्याले गर्भावस्थाको मध्यपछि भने शिशु वृद्धि विकास कम हुने, पानी निकै कम हुँदा सुत्केरी व्यथाका क्रममा सालनाल थिचिने, च्यापिने हुँदा शिशुको मृत्यु पनि हुनसक्छ । गर्भेशिशु वरिपरि पानीको मात्रा कम हुने समस्यामा खासै उपचार चाहिँदैन । बच्चाको स्वस्थता सुनिश्चितता गर्न एवं गर्भको अवधि पूरा हुन दिनुपर्दछ । बेडमा नै प्रशस्त आराम गर्ने, झोलिलो पदार्थ बढी पिउने गर्नुपर्दछ । पानीको मात्रा निकै कम छ भने सिजेरियन अपरेसनको जरुरत पर्दछ ।

पानीको मात्रा बढी हुने समस्या

यस्तो समस्या हुँदा पेट गर्भको अवधिको तुलनामा ठूलो देखिन्छ । गर्भवती महिलामध्ये करिब २ देखि ५ प्रतिशतमा यस्तो समस्या हुनसक्छ । गर्भेशिशु वरिपरि पानीको मात्रा बढी हुने समस्याको दुई तिहाइमा कुनै कारण नभेटिन सक्छ । गर्भेशिशुमा जन्मजात विकलाङ्ग, गर्भवती महिलामा मधुमेह, जुम्ल्याहा बच्चा छ, दम्पतीबीच रगत समूह मिलेन भने पनि यस्तो समस्या हुनसक्छ । त्यसै गरी गर्भेशिशुले बढी पिसाब गरेमा, गर्भेशिशुमा मुटुको समस्या भएमा, आंशिकरुपमा पिसाब नली थुनिदा, जुम्ल्याहा बच्चाबीच रगत आदानप्रदान भएमा, गर्भेशिशुको फोक्सोमा बढी पानी भएमा, गर्भेशिशुले कम निलेमा, गर्भेशिशुको टाउकोमा खप्पड नभएमा, खाद्यनलीमा बाधा पुग्ने गरी घाँटीमा डल्लो आएमा, सालमा समस्या आएमा पनि यस्तो समस्या देखिन्छ । यसका साथै हड्डीसम्बन्धी समस्या, गर्भेशिशुको ट्युमर, वंशाणु कोषमा खराबी, दम्पतीबीच रगत समूह नमिलेर एवं गर्भवती महिलामा मुटु तथा मिर्गौलामा समस्या हुनसक्छ ।

गर्भेशिशु वरिपरि पानीको मात्रा बढी हुँदा गर्भवती महिलामा स्याँस्याँ बढ्ने, खुट्टा–पैताला सुन्निने, कसै–कसैमा पिसाब कम्ती हुने, पेट गर्भावधिभन्दा निकै ठूलो हुने, गर्भेशिशुका हातगोडा छाम्न गाह्रो हुने एवं गर्भेशिशुको धड्कन सुन्न गाह्रो हुने हुन्छ । साथै महिना नपुग्दै व्यथा लाग्न सक्छ । यसको कारण खुट्याउने क्रममा गर्भवती महिलाको सुगर जाँच्नुका साथै अल्ट्रासाउन्डमा गर्भेशिशुको शारीरिक बनावट के कस्तो छ, मुटुको चाल कति छ, शिशुले निल्छ/निल्दैन भनेर हेरिन्छ । कतिपयमा भाइरल तथा ब्याक्टेरियल संक्रमणसम्बन्धी रगत परीक्षण गर्नुपर्ने हुन्छ ।

जन्मजात विकलाङ्ग, गर्भेशिशुको वंशाणु कोषमा खराबी, आमामा मधुमेह, दम्पतीबीचको रगत समूह नमिलेर पानी बढी हुने समस्या भएमा वा महिना नपुग्दै व्यथा लागेमा नवजात शिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ । यस्तोमा सानो सुतक भैहाल्यो भने नाल बाहिर आउन सक्ने र साल छुट्टिन सक्ने, गर्भेशिशु उल्टो वा गलत तरिकाले बस्न सक्ने, सुत्केरीपश्चात् अधिक रक्तश्राव हुने हुनसक्छ । साधारण खालको पानी बढ्ने समस्यामा विनाकुनै औषधि सुत्केरी व्यथासम्म व्यवस्थापन गर्न सकिन्छ । समस्या निकै बढी भएमा अस्पतालमा भर्ना राखी सुगर नियन्त्रण, पानी निकाल्ने उपचार, फोक्सोबाट पानी बन्ने क्रिया घटाउने तथा पानी बढी मात्रामा सोस्ने औषधि चाहिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्