यौनसम्पर्कका लागि असहमति



– डा. राजेन्द्र भद्रा

प्रश्न: म अहिले २२ वर्षको भएँ । मेरो गर्लफ्रेन्डको उमेर २१ वर्ष जति भएको छ । म ऊसँग यौनसम्पर्क राख्न चाहन्छु तर ऊ मान्दिन । यस्तो स्थितिमा मैले के गर्नु राम्रो हुन्छ, कृपया उचित सल्लाह पाऊँ ।

– ९७७९८४५८६४३..

यौनसम्पर्कको चाहना

किशोरावस्था वा युवा अवस्थामा स्वाभाविकरुपमै अर्को व्यक्तिप्रति यौनिकरुपमा आकर्षित होइन्छ । यसै क्रममा मन पराइन्छ अनि प्रेम वा शृङ्गार रसका भावनाहरु आउँछन् । यसै क्रममा यौनसम्पर्क राख्न पनि पुगिन्छ । यी भावनाहरूको उचित व्यवस्थापन सामान्य सामाजिक जीवन यापनको लागि आवश्यक हुन्छ ।

तपाईंले गर्लफ्रेन्ड भनेर उल्लेख गर्नुभएको छ, मैले यसलाई प्रेमिका भनेर बुझेको छु । तर पनि तपाईहरूबीचको सम्बन्ध के–कस्तो छ, स्पष्ट छैन । यहाँ क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्याउनु आवश्यक हुन्छ । क्षणिक आकर्षणलाई नै प्रेम ठान्दा अप्ठ्यारोमा पर्ने सम्भावना हुन्छ । विशेष गरी किशोरावस्थामा आकर्षण वा मोह (infatuation) लाई नै वास्तविक प्रेम हो जस्तो लाग्न सक्छ । उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्रै सीमित हुने सम्भावना कम हुन्छ । तपाईंले अहिले किशोरावस्था पार गरिसक्नुभएकोले शायद यस्तो दोधार छैन होला । प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्याउन सक्नुपर्छ । प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो र दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ । यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र सो व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । यस्तो सम्बन्धमा यौनसम्पर्क राख्ने कुरा सर्वोपरि हुँदैन । त्यसमा पनि बल वा दबाब प्रयोग गरेर यौनसम्पर्क राख्ने कुरा सोच्न सकिन्न ।

 

प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र सो व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ ।

 

सम्पर्क राख्न किन नमानेको ?

विवाहपूर्व यौनसम्पर्क राख्दा आ–आफ्नै प्रभाव पर्न सक्छ । विवाहको उमेर अहिले आधुनिक समाजमा पछिल्तिर धकेलिएको छ तर यौनचाहना किशोरावस्थादेखि नै तीव्र हुने कुरा यथार्थ हो । किशोरावस्थामा वा युवावस्थामा हुने असीम यौनचाहनालाई शान्त पार्न कतिपयले विवाहपूर्व नै भए पनि यौनसम्पर्क गर्ने गर्दछन् । यसबाट पर्न सक्ने प्रभावबारे जानकारी राख्नु आवश्यक छ । अहिले विवाह गर्नुभन्दा पहिले नै यौनसम्पर्क राख्ने चलन बढ्दो छ । तर अझै पनि हाम्रो सामाजिकरुपमा अमान्य भएको कारणले सामाजिक बहिष्कार तथा हेलाको सामना गर्नुपर्ने हुनसक्छ ।

यस किसिमको यौनसम्पर्क प्रायः हतारमा गरिने भएकाले गर्भनिरोधका उपायहरू अपनाइँदैन । त्यसैले गर्भ रहने सम्भावना हुन्छ । यदि गर्भ रहेमा बेइज्जती सहनुपर्ने, चाहनै नहुँदा पनि वैवाहिक सम्बन्धमा बाँधिन बाध्य हुनुपर्ने, परिपक्व नै नभई अभिभावक भूमिका निर्वाह गर्नुपर्ने हुन जान्छ । गम्भीर आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्याको सामना गर्नुपर्ने हुन सक्छ । अर्को पक्ष, गर्भ तुहाउन गरिने प्रयासको आफ्नै समस्या छन् । त्यसै कारण विचारै नपुर्‍याई गरिने यौनसम्पर्कबाट बच्नु आवश्यक छ । जति सानो उमेरमा यौनसम्पर्क शुरु गर्‍यो त्यति नै धेरै यौन साथी हुने सम्भावना हुन्छ, जसले कतिपय यौनजन्य संक्रमणको जोखिमलाई बढाउँछ ।

जैविक विकासवादको कुरालाई हेर्ने हो भने पनि यौनसम्पर्कपछि हुने गर्भ, सन्तानको जन्म वा अन्य कुरासम्बन्धी मूल्य पुरुषको तुलनामा महिलाले बढी चुकाउनुपर्ने स्थिति हुन्छ । यौनसम्पर्कपछि गर्भ रहेको स्थितिमा पुरुषले सन्तान हुर्काउने सन्दर्भमा जैविकरुपमा धेरै मेहनत गर्नुपर्दैन । तर महिलाको हकमा ९ महिनासम्म गर्भमा राख्नुपर्ने, पीडायुक्त प्रसवसहित सन्तान जन्माउने अनि जन्मेको सन्तानलाई स्तनपान गराउनुपर्ने, हुर्काउन पर्ने वा हेरचाह गर्नुपर्ने हुन्छ । त्यसैले सामान्यरुपमा महिलाले सजिलै यौनसम्पर्क राख्न मान्दैनन् । कतिपय कारणले पुरुषको तुलनामा महिलाले यौनसम्पर्कपछि धेरै नै बढी मूल्य चुकाउनुपर्ने भएको हुनाले जैविकरुपमा महिला धेरै नै सोच विचार गर्ने गर्दछन् र सजिलै यौनसम्पर्क गर्न मान्दैनन् । मेरो विचारमा यसलाई असामान्य कुरा केही छैन । समाजले पनि यस्तै अनुभवबाट सिकेका कुराबाट महिलालाई प्रशिक्षित गरेको हुन्छ ।

तपाईले यौनसम्पर्कको समेत कुरा गर्न भ्याउनुभएको छ भने निकै नै गहिरो सम्बन्ध रहेको संकेत गर्दछ । तपाईंकी प्रेमिकाको रुपमा तपाईंको नजिक आउनुले कुनै किसिमको यौन आकर्षण भएको मान्न सकिन्छ, यौन आकर्षण वा यौन चाहना भयो भन्दैमा यौनसम्पर्क गर्दै हिँड्नुपर्छ भन्ने पनि छैन ।

 

के गर्नुपर्ला ?

तपाईंको सन्दर्भमा तपाईंले यौन चाहना पूरा गर्न चाहनुहुन्छ भने हस्तमैथुनजस्ता उपाय गर्न सक्नुहुन्छ । दुवैजना संलग्न हुन चाहनुहुन्छ भने पनि यौन आनन्द लिने तर यौनसम्पर्क राख्ने दबाबलाई न्यूनीकरण गर्ने वातावरण दुवैजना मिलेर गर्नु राम्रो हुन्छ । यस्ता निर्णय वा भनौं अठोटलाई पालना गर्न नसक्दा समस्यामा परिन्छ । पहिलो यौनसम्पर्क कुनै पनि व्यक्तिको लागि एक विशेष घटना हो । यसको लागि दुवैजना नै शारीरिक, मानसिक अनि भावनात्मकरुपमा तयार भएपछि मात्रै यौनसम्पर्कमा सलग्न हुनुपर्छ । यस कुरामा जबरजस्ती गर्नुले वास्तवमा सम्बन्धलाई नै धरापमा पार्दछ । फेरि यो गैरकानुनी पनि हो ।

पहिलो यौनसम्पर्क जीवनको अति नै विशेष घटना भएकोले पनि त्यसै किसिमको महत्व दिनुपर्छ । तपाईंहरु दुवैजना तयार नभएको स्थितिमा यसमा हतारो गर्नुपर्ने कारण छैन । तपाईंहरूले यौन आनन्दको लागि वैकल्पिक उपाय अपनाउने कुराको थालनी गर्नुभए/नभएको थाहा भएन । तर यो एक राम्रो उपाय हुनसक्छ । वैकल्पिक यौन आनन्दका उपायका कुरा गर्दा हस्तमैथुन, यौन परिकल्पना, चुम्बन, आलिंगन, यौन संवेदनशील अंग सुमसुम्याउने वा मर्दन गर्ने, शरीरको घर्षण गर्ने, एक–आपसी हस्तमैथुनदेखि यौन साहित्य पढ्ने वा यौन चलचित्र हेर्नेसमेतका कुरा गर्न सकिन्छ । यस्ता कतिपय कुरा गर्दा योनि–लिंग मैथुन नगरीकनै यौनसुख पनि पाइने हुन्छ ।

त्यस्तो नहोस्, तर तपाईंको सम्बन्धले कुनै कारण निरन्तरता पाउन नसकेको स्थितिमा तपार्इं वा तपाईंको प्रेमिकामा पछि हुने ग्लानि, हीनताबोध अनि असहजपन पनि निकै नै कम हुन्छ । एक अर्थमा यौनसम्पर्क गहिरो प्रणय सम्बन्धको प्रतिकको रुपमा पनि मानिन्छ । अहिलेको सम्बन्धले निरन्तरता पाउन नसकेको स्थितिमा त्यसबाट बाहिर निस्कन गाह्रो हुन्छ । यसलाई बिर्सेर अर्को सम्बन्ध स्थापित गर्न पनि असजिलो हुन्छ । केही दूरी राखेको स्थितिमा यो सजिलो हुन्छ । पुरुषले तुलनात्मकरुपमा सजिलै यौनसम्पर्क राख्न साँचो प्रेम सम्बन्ध रहेको साथै अनेक कुरा गर्ने र यौनसम्पर्क राखिसकेपछि त्यसलाई त्यसै अनुरुपको महत्व नदिने, निरन्तरता नदिने वा महिलाको चरित्र पनि बलियो नभएको आरोपसमेत लगाउने भएको हुनाले यौनसम्पर्कको मामिलामा महिलाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, जुन कुरा ठिक्कै हो ।

यहाँ तपाईंको प्रेमिकाले तपाईंसँगको सम्बन्ध गहिरो नै भए पनि आफूलाई एक सीमाभित्र राख्न चाहनुभएको देखिन्छ, जुन आफैंमा एक बुद्धिमत्तापूर्ण कार्य हो । तपाईंले उहाँलाई साँचो प्रेम गर्नुहुन्छ भने तपाईंले यसको सम्मान गर्नुहोस् र उहाँ तयार नभएसम्म अनावश्यकरुपमा दबाब नदिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्