आमाको चलिरहेको मुटु दान गर्नुपर्दा



लक्ष्मण अधिकारी

छोरा आईसीयु बेडमा रहेकी आमाको खुट्टामा शिर राखेर घुँकघुँक गर्दै रोइरहेको थियो । डाक्टरहरु आमाको मुटु, फोक्सो, कलेजो आदि अंगहरु निकाल्नका लागि व्यग्रताका साथ प्रतीक्षा गरिरहेका थिए । डाक्टरहरुले ४६ वर्षीया कामिनीको मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएको घोषणा गरिसकेका थिए तर उनको फोक्सोले सास फ्याँकिरहेको थियो भने मुटुले ढुकढुक गर्न छोडेकै थिएन । त्यस्ती आमाको मुटु, कलेजो काटेर लैजाऊ भन्न छोराले कसरी सक्छ ? ऊ आमाको खुट्टाबाट हात र शिर हटाएर बाहिर आउनै सकिरहेको थिएन । तर आमाका अंगहरु निकालेर भारतकै तीनवटा शहरमा तत्काल पुर्‍याउनुपर्ने चुनौती बोकेका डाक्टरहरुको उकुसमुकुस पनि बढ्दै गएको थियो । टेलिभिजनबाट गत जुन ९ मा प्रसारित यी दृश्यहरु देख्ने आम मानिसहरुले समेत भावुक बनेर आँसु झार्ने स्थिति बनेको थियो । 

आफ्नै परिवार वा आफन्तका लागि एउटा मिर्गौला, कलेजोको केही भाग काटेर दिन नै मानिसहरुले धेरै सोचविचार गर्नुपर्ने हुन्छ । यहाँ त एउटा छोराले आमाको मुटु, फोक्सोलगायतका महत्वपूर्ण अंगहरु नै निकाल्नका लागि स्वीकृति दिनुपर्ने कठिन परिस्थिति सिर्जना भएको थियो, त्यसमा पनि चलिरहेको मुटु । आमाको छातीमा ढुकढुक गरिरहेको मुटु झिकेर अरुलाई दान दिने कार्य कुनै पनि सन्तानलाई सहज कसरी हुन्छ र ? 

तर कामिनीका दुई छोरा र पतिले मानवीयताका आधारमा यो ज्यादै कठिन एवं हृदयविदारक निर्णय गरी पाँचजनाको जीवन बचाएर उदाहरणीय कार्य गरिदिए । 

आमाको छातीमा ढुकढुक गरिरहेको मुटु झिकेर अरुलाई दान दिने कार्य कुनै पनि सन्तानलाई सहज कसरी हुन्छ र ?

मस्तिष्क मृत्यु घोषित व्यक्तिका अंगहरु केही घण्टाभित्रै अर्को व्यक्तिमा प्रत्यारोपण नगरे काम नलाग्ने हुन्छन् । त्यसैले यस्ता अंगहरु एउटा निश्चित समयभित्र प्रत्यारोपण गरिसक्न चिकित्सकहरुलाई स्वतः दबाब परेको हुन्छ । त्यसैले कामिनीबाट निकालिएका अंगहरु त्यही रात विभिन्न तीनवटा शहरका पाँचजना बिरामीमा प्रत्यारोपण गरी पुनर्जीवन प्रदान गरिएको थियो । हरेक एक मिनेटको हिसाब र योजना कार्यान्वयनबाट यो अद्भूत लाग्ने प्रत्यारोपण सफल भएको थियो । दाता परिवारको उदारता, डाक्टरहरुको कार्यक्षमता, संयोजक संस्थाको चुस्त संयोजन र अन्य संस्थाहरुको तदारुकता वास्तवमा निकै प्रशंसनीय एवं अनुकरणीय रहेको थियो । कसरी सम्भव भएको थियो त यो महत्वपूर्ण कार्य ? 

कोरोनाले बिगारेको फोक्सो 

३१ वर्षकी नैना पाटिललाई अप्रिल १८ मा कोरोना भएको थियो । रोग बढ्न थालेपछि उनलाई अप्रिल २२ मा महाराष्ट्रकै जलगाउँको अस्पतालमा भर्ना गरियो । त्यहाँ सुधार नभएपछि हैदराबाद लगेर किम्स अस्पतालमा भर्ना गरियो । त्यो अस्पतालमा १५ दिन उनको उपचार भयो । यस अवधिमा कोरोना त ठीक भयो तर फोक्सोमा सुधार हुनुको साटो दुवैतिरको भाग पूरै क्षति भयो । फोक्सो पूरै क्षतिग्रस्त भएपछि निको हुने कुनै उपाय थिएन । डाक्टरले नैनाको परिवारलाई, ‘नैनाको उपचारका लागि गरिएका सारा कोशिश बेकार भएकाले कुनै पनि बेला जे पनि हुन सक्ने र उनलाई पुनर्जीवन दिनका लागि अब फोक्सो प्रत्यारोपण एकमात्र विकल्प बाँकी रहेको’ कहाली लाग्दो जानकारी दिए । 

फोक्सो त्यति सहजै पाइने कुरा थिएन । न त कलेजोजस्तो टुक्रा काटेर दिन मिल्छ, न त मिर्गौलाजस्तो एउटा झिकेर नै दिन सकिन्छ । त्यसका लागि मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवारले अंग दान दिन सहमति दिनु र प्राविधिकरुपमा प्रत्यारोपणका लागि उपयुक्त हुन जरुरी छ । त्यसैले उपयुक्त फोक्सो पाउन कठिन हुन्छ । त्यसमा पनि कोरोनाको महामारीका बेला त यो असम्भवजस्तै थियो । 

तैपनि नैनाका पतिले हार खाएनन् । अंगदानसम्बन्धी कार्य गर्ने संस्थाहरुसँग सम्पर्क गरेर नाम दर्ता गरे । नैनाको अवस्था खराब हुँदै गएको थियो, कतैबाट कुनै सकारात्मक जवाफ आइरहेको थिएन । परिवारको हिम्मत क्षिण भइसकेको थियो । उनीहरुलाई भगवान्को भरोसा गर्नुबाहेक केही थिएन । तर जुन ६ तारिखको दिन चमत्कारजस्तै भयो । नैनाको पतिलाई गुजरातको सुरतबाट फोन आयो । फोनमा भनिएको थियो, ‘फोक्सो प्रत्यारोपण गर्ने टिमलाई तुरुन्तै सुरत पठाउनुस्, तपाईंकी पत्नीको ज्यान बच्न पनि सक्छ । किनकि सुरतमा कामिनी पटेलका परिवारले अंगदान गर्ने घोषणा गरिसकेका छन् ।’ 

फोन आएकै साँझ हैदराबादबाट सुरतको सेल्वी अस्पतालमा मेडिकल टिम पुग्यो । यो टिम मृत शरीरबाट फोक्सो निकालेर बिरामीमा प्रत्यारोपण गर्न सक्षम थियो । अरु शहरबाट पनि डाक्टरहरुको टिम आएको थियो । मस्तिष्क मृत्यु घोषित कामिनीका विभिन्न अंगहरु निकालेर एउटा निश्चित समयभित्र सुरक्षितरुपमा विभिन्न अस्पतालका बिरामीमा प्रत्यारोपण गर्नु ती चिकित्सकहरुलाई ठूलो चुनौती थियो । उनीहरु कामिनीका अंगहरु निकाल्न तम्तयार भए । तर अंगदाता कामिनीको छोरा उनको पाउमा शिर राखेर सबैलाई भावुक बनाउने गरी रोइरहेको थियो । 

त्यसपछि डाक्टरहरुले उसलाई ‘अब समय धेरै नै कम छ, तिमीले सहयोग गर्नुपर्छ’ भनेर सम्झाए । उनीहरुले ‘यदि मुटुलाई शरीरबाट निकालेर चार घण्टाभित्र अर्को बिरामीको शरीरमा प्रत्यारोपण गरिएन भने मुटु खराब हुन्छ र कुनै काममा आउँदैन, यस्तै अरु अंगहरु पनि निश्चित समयभित्र प्रत्यारोपण गरिएन भने काम आउँदैन, अब ढिला गर्नुहुन्न’ भनेर सम्झाएपछि छोराहरु र परिवारका अन्य सदस्य आईसीयुबाट बिस्तारै बाहिर गए । 

अन्तिम बिदाइमा कठिनाइ  

सुरत बाडोलीकी ४६ वर्षीया कामिनी पटेल उच्च रक्तचाप बढेका कारण गत मे १७ को बिहान उठ्न सकिनन् । स्थानीय अस्पताल लैजाँदा उनलाई ब्रेन ह्यामरेज भएको डायग्नोसिस भयो । त्यसपछि उनलाई गुजरातको सेल्वी अस्पताल लगियो । न्युरो सर्जनहरुले ब्रेन सर्जरी गरेर त्यहाँ जमेको रगतको ढिक्का निकाले तर उनको हालतमा सुधार भएन । स्वास्थ्य बिग्रिँदै गई उनी कोमामा गइन् । उनी जुन ५ सम्म निरन्तर कोमामा थिइन् । सोही दिन डाक्टरहरुले कामिनीको मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएको र उनको मृत्युको घोषणा गर्न औपचारिकता मात्र बाँकी रहेको दुःखद खबर परिवारलाई सुनाए । 

भारतमा यसरी ब्रेन डेथ भएको व्यक्तिका अंगहरु निकालेर अर्को बिरामी व्यक्तिमा प्रत्यारोपण गर्न सकिने कानुन र अभ्याससमेत भएकाले डाक्टरहरुले कामिनीका परिवारलाई उनका अंगहरु दान गर्न सकिने सम्भावना सुनाए । डाक्टरहरुले, ‘जे गरे पनि अब कामिनी फर्किएर आउन सक्ने छैनन् तर उनका अंगहरु दान गरेर अरु धेरैलाई पुनर्जीवन दिन सकिन्छ’ भनेर अंगदानका लागि प्रेरित गरे । लामो छलफलपछि उनका पति र दुई छोरा कामिनीका अंगहरु दान गर्न तयार भए ।

त्यसपछि अंगदानसम्बन्धी कार्य गर्ने संस्थालाई जानकारी गराइयो । सो संस्थाले अंग प्राप्तिका लागि प्रतीक्षामा रहेका विभिन्न बिरामीका परिवारलाई सम्पर्क गरी सम्बन्धित चिकित्सक टोली पठाइदिन आग्रह गर्‍यो । त्यसपछि हैदराबाद, मुम्बई, अहमदाबादबाट डाक्टरको टिम सुरतको सेल्वी अस्पताल पुगे । 

कामिनीका अंगहरु निकाल्नका लागि डाक्टरहरु तयारी अवस्थामा थिए तर कामिनीको परिवार उनी निकट भावविह्वल अवस्थामा बसिरहेका थिए । डाक्टरहरुले समय कम भएको सम्झाएपछि उनीहरु अन्तिम बिदाइ गर्दै बाहिर निस्के । त्यसपछि डाक्टरहरु आईसीयुमा प्रवेश गरे । 

अंगहरु यसरी पुर्‍याइयो 

कामिनीका अंगहरु निकाल्ने अनुमति दिएर परिवार बाहिरिँदा रात परिसकेको थियो । ती अंगहरु निकालेर त्यसै रात केही घण्टाभित्रै भिन्न तीनवटा शहरका पाँचजना बिरामीमा प्रत्यारोपण गरिसक्नुपर्ने थियो । सुरतबाट करिब ३ सय किलोमिटर टाढा मुम्बईको रिलाइन्स अस्पतालमा मुटु प्रत्यारोपण गर्नुपर्ने एक बिरामी जीवन मृत्युको दोसाँधमा अल्झिरहेकी थिइन् । सुरतबाट ९४० किलोमिटर टाढा हैदराबादकी ३१ वर्षीया नैना पाटिललाई फोक्सोको जरुरत थियो । यस्तै गरी करिब २७० किलोमिटर टाढा अहमदाबादमा दुईवटा मिर्गौला र कलेजोको पर्खाइमा तीनजना बिरामी जीवनका अन्तिम दिन गन्ती गर्दै थिए । यी सबै चुनौतीका सामु डाक्टरहरु उभिएका थिए । 

अंगदाताबाट अंग निकाल्ने, सुरक्षित राख्ने र प्रत्यारोपण गर्ने कार्यको सम्पूर्ण संयोजन गुजरात स्टेट अर्गान एन्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाइजेसन (NOTTO) ले गरिरहेको थियो । अंगहरुलाई द्रुत मार्गबाट सम्बन्धित अस्पतालमा जतिसक्दो चाँडो पुर्‍याउने कार्यमा विभिन्न एजेन्टहरु, प्रहरी र अंगदानसम्बन्धी संस्था सक्रिय बनिरहेका थिए । 

सूर्यास्तपछि सधैँ बन्द रहने सुरतको एअरपोर्ट पनि मानिसको जीवन बचाउने कुरा भएकोले त्यो रात खुला गरिएको थियो । सुरत एअरपोर्टबाट मुम्बई र हैदराबाद जाने चार्टर फ्लाइट तयार गरिएको थियो ।

एअर लिफ्टका लागि एअरपोर्ट जाने र सडकमार्गबाट पूरै दूरी तय गर्ने विशेष एम्बुलेन्सहरु र तिनलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीका गाडीहरुका लागि ट्राफिक प्रहरीले तीनवटा ग्रीन करिडोर तयार गरी बाटो खालि गराएर ट्राफिक सिग्नलमा पनि रोक्न नपर्ने व्यवस्था गरिदिएको थियो । 

इन्स्टिच्युट अफ किड्नी डिजिज एन्ड रिसर्च सेन्टर (IKDRC) अहमदाबादका निर्देशक डा. विनित मिश्रा भन्छन्, ‘मुटु, फोक्सो, कलेजो, मिर्गौला, आँखाको कर्निया निकाल्ने टिम फरक हुन्छ । कर्निया निकाल्न स्थानीय टिम थियो । अरु अंग निकाल्न तीनै अस्पतालबाट गएका थिए । सबैभन्दा पहिलो प्राथमिकता मुटुलाई दिइन्छ । त्यसरी सबैभन्दा पहिले मुटु निकालेर ग्रीन करिडोरबाट एअरपोर्ट पठाइयो । त्यसपछि फोक्सो निकालियो । त्यसपछि मिर्गौला र कलेजो निकालेर हामीले अहमदाबाद ल्यायौँ र प्रत्यारोपण गर्‍यौँ । पूरा टिमले एकसाथ काम गरेमात्र यस्तो कार्य सफल हुन्छ ।’

कामिनीको फोक्सो लिन आएका किम्स अस्पताल हैदराबादका सर्जन डा. सन्दीप अवतार भन्छन्, ‘हामीलाई नैनाको लागि फोक्सो लिन सुरत बोलाइएकोले गएका थियौँ । अनौठो कुरा हामीलाई के भयो भने कुनै शहरबाट मिर्गौला र कलेजो, कतैबाट मुटु प्रत्यारोपणको टिम आएको थियो । हैदराबादबाट हामी फोक्सोको टिम गएका थियौँ । तीनवटा शहरबाट तीन खालको टिम आएको छ र चौथो शहरमा टिम दाता अस्पतालमा बसेको छ । यस्तो अवस्थामा अंग निकालेर समयमा अर्को शहरको अस्पतालमा पुर्‍याउनु सपनाजस्तै हो । यो ज्यादै चुनौतीपूर्ण हुन्छ ।’ 

मुटु हवाईजहाजमा राखेर १ सय मिनेटमा सुरतबाट मुम्बई पुर्‍याइयो र निकालेको चार घण्टाभित्र प्रत्यारोपण गरियो । यस्तै फोक्सो हवाईजहाजबाट अढाइ घण्टामा हैदराबाद पुर्‍याएर तत्काल प्रत्यारोपण गरिएको थियो । 

कामिनी पटेलको मिर्गौला र कलेजो अहमदाबादमा सडकको बाटोबाट लगिएको थियो । सामान्यतया ५ घण्टा लाग्ने यो बाटो ग्रीन करिडोर बनाएर रातको अँध्यारोमा ३ घण्टामा तय गरिएको थियो । राति नै अहमदाबादको किड्नी डिजिज एन्ड रिसर्च सेन्टरमा उपचाररत ३१ वर्षकी एक महिलालाई एउटा मिर्गौला र अहमाबादकै स्टर्लिङ अस्पतालमा उपचाररत २७ वर्षकी अर्की एक महिलालाई अर्को मिर्गौला प्रत्यारोपण गरियो । उनको कलेजोचाहिँ अहमदाबादकै अर्को एक अस्पतालमा उपचाररत ५८ वर्षका पुरुषमा प्रत्यारोपण गरिएको थियो । 

कोमा र ब्रेन डेथ

कोमा अवस्थामा रहेको मानिसको आँखा बन्द भएर पूरै बेहोस भए पनि उसको मस्तिष्कमा केही गतिविधि भइरहेको हुन सक्छ । यो बेहोसी पनि अस्थायी वा स्थायी हुन सक्छ । यस्तो बिरामी निको हुन पनि सक्छ । तर बे्रन डेथ भएको बिरामीको मस्तिष्कमा कुनै गतिविधि हुँदैन, यो भनेको पूर्ण त मृत्यु नै हो । ब्रेन डेथ भएको मानिसको सबै न्युरोलोजिकल कार्यहरु रोकिन्छन् र यस्तो बिरामीलाई निको पार्ने प्रविधि अहिलेसम्म विकास भएको छैन । 

धेरै मानिसले जब फोक्सोले सास फेर्न छोड्छ, जब मुटु ढुकढुक नगरी बन्द हुन्छ, तब मात्र मानिसको मृत्यु हुन्छ र यी अंग चलिरहका अवस्थालाई मानिसको मृत्यु भन्न मिल्दैन भनेर सोचेका हुन्छन् तर त्यसो होइन । मस्तिष्कको मृत्यु भइसकेपछि पनि मेसिनको सपोर्टबाट मुटु र फोक्सो चलिरहेको हुन्छ । मेसिन हटाएपछि सबै आफैँ बन्द हुन्छन् । मस्तिष्क मृत्यु भइसकेको मानिस बाँच्न नसक्ने भएकाले कानुनी तथा प्राविधिक रीत पु¥याएर परिवारका सदस्यको सहमतिमा उसका अंगहरु निकाली अर्को बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ । 

खासगरी मस्तिष्कमा चोट लागेका, ब्रेन स्ट्रोक भएका र मेसिन सपोर्टमा राखेर उपचार गराइरहेका बिरामीको अवस्था हेरीकन पटक–पटक परीक्षण गरेर डाक्टरहरुको टिमले बे्रन डेथको निक्र्योल गर्छन् । बोल्न सक्छ÷सक्तैन, आँखामा प्रकाश पर्दा आँखा चलाउँछ/चलाउँदैन, तिखो वस्तुले घोच्दा वा छालामा चिमोट्दा प्रतिक्रिया दिन्छ/दिँदैन आदि निश्चित तोकिएका मापदण्डहरु हेरेर अरु डाक्टरहरुको समेत राय लिई मस्तिष्क मृत्युको निर्णय गरिन्छ । यसमा देशको कानुनले दिएको निर्देशन महत्वपूर्ण हुन्छ ।

नेपालमा मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन–२०७२ मा मस्तिष्क मृत्यु (ब्रेन डेथ) सम्बन्धमा व्यवस्था गरिएको छ । 

डाक्टरहरुको प्रशंसा 

अंग प्राप्त गर्ने बिरामीका परिवार माया मारिसकेका आफ्ना प्रियजनलाई अंग दिएर पुनर्जीवन दिएकोमा ज्यादै भावुक बनेर दाता परिवारलाई धन्यवादबाहेक बोल्नै नसक्ने स्थितिमा थिए । सोच्दै नसोचेको कार्य अचानक भइदिँदा उनीहरुले कामिनी पटेललाई साँच्चै नै भगवान्को रुपमा हेरेको बताए ।

अंग प्रत्यारोपण प्रक्रिया ज्यादै जटिल छ र मुस्किलको कार्य हो । त्यसमा पनि एकजना मृतकबाट धेरै अंग निकालेर विभिन्न शहरका अस्पतालमा निश्चित समयमा पुर्‍याई प्रत्यारोपण गर्नु ज्यादै चुनौतीपूर्ण कार्य हो । 

सारा मानिसहरु कोरोनाका कारण पीडित भइरहेका छन् । डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी सबै कोरोनाले घेरिएका छन् । धेरै अस्पताल त कोभिड डेडिकेटेट बनेका छन् । यस्तो अवस्तामा अंग प्रत्यारोपणजस्तो जटिल कार्य सम्पन्न गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रशंसा जति गरे पनि कम नै हुन्छ । धेरैले उनीहरुको खुलेरै प्रशंसा गरेका छन् ।

(स्रोत : इन्डिया टिभी (रजत शर्माको आजकी बात), इन्टरनेट, स्वास्थ्यसम्बन्धी ऐन आदि ।)

प्रतिक्रिया दिनुहोस्