“गानो–गोला”



– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)

‘गानो’ भन्ने शब्द धेरैले सुनेका छन् । गाँउघरतिर यो शब्द धेरैले प्रयोग गर्छन् । तर यसबारे कतै लेखिएको र कुनै स्वास्थ्यकर्मीले यसबारे बोलेको भेटिँदैन । ‘गानो’ सँग ‘गोला’ पनि कहिलेकाहीँ जोडिएर आएको अथवा ‘गोला’ मात्रै छुट्टै प्रयोग भएको पनि देखिन्छ । ‘गानो गयो’, ‘पेटमा गोला सर्‍यो’ र ‘गानो–गोला’ भयो आदिजस्ता स्वास्थ्य समस्या धेरै जनामा देखिन्छ ।

चिकित्साशास्त्रको पाठ्यपुस्तकमा यस्तो ‘गानो–गोला’ नामक रोगको वर्णन कतै पनि छैन । यसकारण स्वास्थ्यको किताब पल्टाएर यो समस्याबारे जानकारी लिन सकिँदैन । एकजना गाउँले महिलाले पेटमा हात राखेर ‘यहाँनिर गानो गयो’, ‘यहाँ गोला उफ्रियो’ आदि सिकायत गर्दा चिकित्सकले यो समस्या कुनै रोगको लक्षण हो भन्ने अनुमान लगाउनुपर्ने हुन्छ । 

बेस्सरी पेट दुख्ने समस्यालाई गाउँले भाषामा ‘गानो गएको’ भन्ने चलन छ । ‘गानो’ कुनै रोग होइन । यो पेटसम्बन्धी रोगको लक्षण हो । कुनै रोगका कारण अत्यधिक पेट दुख्ने भएको अवस्थालाई ‘गानो गएको’ भनी बुझ्नुपर्छ । यस्तै प्रकारले पेटको रोगका कारणले आन्द्रा खुम्चिई ‘डल्लो’ परेर आन्द्रा छिटो चल्दा त्यो ‘डल्लो’ यताउता सर्ने हुन्छ । यो ‘गोला’ सरेको हो । पेटको बाहिरी मांसपेशी कमजोर भई च्यातिई आन्द्रा बाहिर निस्किएर छालामुनि डल्लो पर्ने पनि ‘गोला’ हो । पेटको माथिल्लो बीच भागमा एउटा मोटो रक्तनली हुन्छ । मुटुको धड्कनसँगै यो पनि चल्छ । यदि कसैको पेट बोसोरहित पातलो छ र मानसिक तनावका कारण मुटु जोडसँग धड्किएको छ भने यस्तो बेलामा पेटको माथिल्लो बीच भागमा हात राखेर अलि–अलि थिच्दा त्यहाँ रक्तनली उफ्रिएको छाम्न सकिन्छ । यसलाई ‘गोला उफ्रिएको’ भन्ने चलन छ । 

पेटमा हात राखेर ‘यहाँनिर गानो गयो’, ‘यहाँ गोला उफ्रियो’ आदि सिकायत गर्दा चिकित्सकले यो समस्या कुनै रोगको लक्षण हो भन्ने अनुमान लगाउनुपर्ने हुन्छ ।

नेपालीहरु धेरैलाई पेटको समस्या छ । यसकारण ‘गानो–गोला’को सिकायत धेरै जनाले गर्नुहुन्छ । यसबारे जानकारी हुन सके समयमै यसको उपचार गरी उत्पन्न हुन सक्ने गम्भीर खालका जटिलताहरुबाट पनि बच्न सकिन्छ । ‘गानो–गोला’को लक्षण देखाउने रोगहरुबारे यहाँ छोटकरीमा वर्णन गरेको छु ।

हर्निया

पेटको बाहिरी भित्ता कमजोर भई पेटभित्रको आन्द्राभुँडीको कुनै भाग पेटबाट बाहिर निस्कने र छालामुनि डल्लो परेर बस्ने समस्या हर्निया हो । यो पेट र तिघ्राको काछ, नाइटो, पेटको अगाडिको भित्ता, अण्डकोष आदिजस्ता ठाउँहरुमा देखिन्छ । साधारण हर्निया भित्र–बाहिर सर्छ । यदि हर्निया कुनै कारणले झरेकै ठाउँमा अड्कियो र कस्सिएर रह्यो भने बेस्सरी दुख्छ । यस्तोे ‘गानो’ को तत्काल शल्यक्रिया गर्नुपर्छ । अन्यथा आन्द्राको अड्किएको भाग मर्छ र ज्यान खतरामा पर्छ । यसकारण हर्नियाको गोला बनेको छ र यो ‘गोला’ भित्र–बाहिर सर्छ भने समयमै यसको उपचार गराउनुपर्छ । ‘गोला’ अड्किएर ‘गानो’ गयो भने खतरा उत्पन्न हुन्छ । 

‘गोला’ अड्किएको बेला उत्तानो परेर सुत्ने, लामो–लामो सास फेर्ने, पेटलाई लुलो बनाउने र ‘गोला’लाई हातले बिस्तारै थिचेर भित्र धकेल्ने गर्‍यो भने कहिलेकाहीँ ‘गोला’ (हर्निया) भित्र पस्न पनि सक्छ । त्यसपछि कपडाकोे डल्लो बनाई त्यसले ‘गोला’ निस्किएको ठाउँमा बेस्सरी थिचेर कपडा वा बेल्टले बाँध्यो भने तत्कालका लागि यो फेरि निस्किँदैन । तर स्थायी समाधान शल्यक्रिया नै हो भन्ने बझ्नुपर्दछ ।

पित्तको पत्थरी 

यो दुख्ने र नदुख्ने खालको हुन्छ । पित्त थैलीभित्र ठूलो पत्थरी यताउता सर्दा खासै दुखाइ उत्पन्न हुँदैन । तर पत्थरीले पित्त बग्ने नलीलाई बन्द गरिदियो भने दुख्छ । यस्तै प्रकारले मसिना पत्थरीहरु पित्त थैलीबाट बग्दै गएर पित्त नलीभित्र छिर्‍यो र भित्र 

पसेर अड्कियो भने बेस्सरी दुख्छ । यस्तो दुखाइलाई पनि गाउँले भाषामा ‘गानो गएको’ भन्ने चलन छ । धेरै नै पीडा हुन्छ । केही समयपछि जन्डिस पनि देखिन्छ । यस प्रकार ‘गानो’ गएपछि जन्डिस देखियो भने पित्त–पत्थरीको शंका गर्नुपर्छ ।

मूत्रनलीको पत्थरी

मिर्गौलामा पत्थरी बनेर यो मूत्रनलीको बाटो हुँदै तल झर्‍यो र कतै अड्कियो भने बेस्सरी दुख्छ अर्थात् ‘गानो’ जान्छ । मूत्रनलीमा पत्थरी अड्किँदा बायाँ अथवा दायाँ कोखामा अत्यधिक पीडा हुन्छ । पिसाब रोकिएजस्तो हुने र पिसाबमा रगत जाने पनि हुन सक्छ । स–साना पत्थरीहरु पिसाबसँग बाहिर निस्कन्छन् । ठूला पत्थरीहरु मिर्गौलामै अथवा मूत्रनलीमा अड्किन्छन् । यसरी अड्किएका पत्थरीहरुले मिर्गौलामा असर पार्‍यो भने शल्यक्रिया गरी निकाल्नुपर्छ ।

ढाड सड्किने

गरुङ्गो सामान उठाउँदा, ढाडको हड्डी सर्‍यो (डिस्क स्लिप भयो) भने ढाडमा ‘गानो’ जान्छ । यो अवस्थामा ढाड दुख्ने, खुट्टा झमझमाउने र दुख्ने, हिँड्न नसक्ने हुन्छ । यसरी ढाड सड्किनेलाई पनि गाउँलेहरु ढाडमा ‘गानो’ गएको भन्छन् । गाउँलेहरु धेरैले पछाडि ढाडमा भारी बोक्छन् । यो भारीको सन्तुलन मिलेन भने ढाड खुस्किन सक्छ । यसो भएपछि धेरै दुःख पाइन्छ । सड्किएको ढाड पुरानै ठाउँमा आउन धेरै समय लाग्छ ।

पेटमा ग्यास भरिने

खाना अपच हुने, एसिड धेरै बन्ने, आन्द्राका जीवाणुहरुको सन्तुलन बिग्रिने आदि कारणले पेटभित्र अत्यधिक ग्यास उत्पादन भई बाहिर निस्कन सकेन भने पेट बेस्सरी फुल्ने र दुख्ने हुन्छ । आन्द्रा चल्दा ‘गोला’को रुपमा यो यताउता सर्छ । यस प्रकार पेटमा ग्यास भरिएर पनि यसले ‘गानो–गोला’को रुप लिन्छ ।

‘गानो–गोला’ रोगको लक्षण हो । कहिलेकाहीँ यो इमर्जेन्सी अवस्था हुन सक्छ । समयमै उपचार नगराउँदा ज्यान खतरामा पर्न सक्छ । धेरै पीडा हुने गरी ‘गानो–गोला’ भएको छ भने तत्काल स्वास्थ्य संस्थाको आकस्मिक कक्षमा गई उपचार गराउनुपर्दछ । 

प्रतिक्रिया दिनुहोस्