यौन कार्य सम्पादनको चिन्ता



– डा. राजेन्द्र भद्रा

मेरो उमेर ३१ वर्षको भयो । विवाह भएको तीन वर्ष हुन लाग्यो । अहिले मलाई यौनसम्पर्क गर्दा एकैछिन्मा यौन अंग शिथिल हुने समस्या छ । श्रीमतीले केही नभने पनि के सोचेकी होलिन् भन्ने लाग्छ । यसले गर्दा सधैँ डर लागिरहन्छ । लिङ्ग उत्तेजित राखिराख्न के गर्नुपर्ला ? जानकारी पाए आभारी हुने थिएँ । 

– निरज, नवलपरासी 

लिङ्ग कसरी उत्तेजित हुन्छ ?

हामीले इन्द्रियहरुबाट सन्देशहरु ग्रहण गर्छौं । त्यो मस्तिष्कसम्म पुग्छ र चेतनरुपमा हामी सो कुरा थाहा पाउँछौं । यौनसम्बन्धी कुराहरु पनि यसै गरी हाम्रो मस्तिष्कसम्म विभिन्न तरिकाले पुग्छन् । विभिन्न अङ्गहरु (स्रोत) बाट, स्नायु प्रणालीका नसाहरुबाट, विद्युतीय तरङ्ग वा रसायनहरुको माध्यमबाट सन्देशहरु मस्तिष्कसम्म पुग्छन् । त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामी सो कुरा थाहा पाउँछौं ।

यौनउत्तेजना हुने किसिमका सन्देशहरु प्राप्त भएमा सो व्यक्तिमा यौन उत्तेजना बढ्छ । कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ व्यक्तिअनुसार फरक हुन सक्छ । यौन उत्तेजना हुन शुरु भएपछि लिङ्गका धमनीहरुबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ । साथै लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो र लामो हुन्छ । यसलाई नै हामी लिङ्ग उत्तेजित भएको भन्छौं ।

एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारको क्रममा खाइने कतिपय औषधिहरू पनि यसको कारण हुन सक्छन् ।

किन उत्तेजित नभएको ?

चाहिएको बेलामा सोचेजस्तो गरेर लिङ्ग उत्तेजित नभई यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन् । लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई सो स्थितिमा राख्न नसक्ने समस्यालाई अंग्रेजीमा इम्पोटेन्स (impotence) भनिन्छ ।

राम्ररी लिङ्ग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक दुवै हुन सक्छन् । लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मकरुपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरेर भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या गराउन सक्छ । यस्तै एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारको क्रममा खाइने कतिपय औषधिहरू पनि यसको कारण हुन सक्छन् । पार्किनसन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधिहरूले पनि यस्तो गराउन सक्छन् । साह्रै थकाइ लागेकोले होस् वा अधिक मादक पदार्थको सेवन गरेकोले होस्, लिङ्ग उत्तेजनामा नकारात्मक असर परेको हुन सक्छ ।

तनाव, चिन्ता, ग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामा नै अरुचि हुनु, यौनजोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भन्ने चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोगजस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुन सक्छन् ।

यौन कार्य सम्पादनको चिन्ता

मानिस यन्त्र नभएकोले उसका कार्यहरु सधैँ एकै नासका हँुदैनन् । त्यसैले कहिलेकाहीँ मात्रै यस्तो भएमा अनावश्यकरुपमा चिन्ता लिनुपर्दैन । तपाईंको कुरा गर्दा योनिमा प्रवेश गराउनुभन्दा पहिले राम्ररी उत्तेजित हुने गरेको छ भने शारीरिक पक्ष ठीक नै मान्न सकिन्छ । श्रीमतीसँगको यौनसम्पर्क स्वाभाविकरुपमा नै तनावपूर्ण वा डर नहुने स्थिति हो । तपाईंको श्रीमतीले कुनै प्रतिक्रिया नदिनुले पनि तपाईंमा चिन्ता नै थपेको देखिन्छ । यसले पनि लिङ्ग शिथिल हुन सघाएको छ ।

शारीरिक तथा मानसिकरुपमा तयार नभई यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबपूर्ण स्थिति भएमा समस्या झनै चर्को हुन सक्छ । कतिपय स्थितिमा पुरुषले आफूले चाहेअनुसारको यौन कार्य सम्पादन गर्न नसक्दा आफ्नी श्रीमती वा यौन साथीलाई सुख दिन दबाबको अनुभूति गर्न सक्छन् वा आफ्नो यौन सक्षमतामा पक्का हुन नसकेको स्थिति हुन सक्छ ।

समस्या कम गर्न के गर्ने ?

किशोरावस्था तथा युवावस्थामा लिङ्गको उत्तेजना सजिलै हुने गरे पनि अनपेक्षितरुपमा यसरी लिङ्गको उत्तेजना नहुँदा त्यसबारे निकै नै चासो तथा चिन्ता हुन जान्छ । निरन्तर प्रयासपछि पनि सफलता हासिल गर्न नसक्दा समस्या झनै चर्को हुन सक्छ । सर्वप्रथम त कारण नै पत्ता लगाउनुपर्ने हुन्छ । किनकि त्यसको उपचार वा समाधान त्यसैमा भर पर्ने गर्दछ । अन्य कुनै शारीरिक कारण नभएको स्थितिमा कार्य सम्पादनको चिन्ताले धेरै कुरालाईृ बिगार्न सक्छ ।

जब कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ, बिस्तारै यो चिन्ता जति बढ्दै जान्छ, त्यसैअनुसार कार्य सम्पादन क्षमतामा ह्रास आउन थाल्छ । कतिले त यौन क्रियाकलापबाट परहेज नै गर्दछन् अनि आत्मसम्मान घट्न थाल्छ । साथै सम्बन्धमा समस्या आउन थाल्छ । यसबारे सधैँ चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौन कार्य सम्पादनमा सुधार आउँदैन । यस किसिमको दुश्चक्र तोड्नको लागि निम्न उपायहरू फाइदाजनक हुन सक्छन् । पहिलो त मनमा भएको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । लिङ्ग उत्तेजनामा समस्या भयो भनेर आत्मविश्वास घट्न नदिई यसलाई कायम राख्न वा बढाउन प्रयास गर्नुपर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ ।

यो विषयमा आफ्नी श्रीमती वा यौनजोडीसँग चर्चा गर्न गाह्रो हुन सक्छ तर यससम्बन्धी एक–आपसी कुराकानी गर्दा तपाईंको चिन्तालाई कम गर्न र समझदारीको विकास गर्न सहयोग पुग्छ । यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत गर्छ । यौनसाथीको कुनै पनि नकारात्मक किसिमको टिप्पणीले समस्यालाई बढाउने गर्दछ र यसको लागि पनि संवादले सहयोग गर्दछ । समस्या रहिरहेमा यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक हुन्छ । उहाँको सल्लाहमा कहिलेकाहीँ औषधि सेवन गर्नुपर्ने हुन्छ । कतिपयले सम्मोहन अर्थात् हिप्नोसिसले मद्दत गर्ने कुरा गरेका छन् ।

यसको समाधानको सन्दर्भमा महत्वपूर्ण कुरा दृढ अठोठ तथा धैर्यता हो, जुन यसको लागि अति नै आवश्यक हुन्छ । भावनात्मक तथा प्रणय सम्बन्धको लागि समर्पित भएर प्रयास गर्नुपर्छ । दिक्क अर्थात् बोर भएको स्थितिमा पनि यस्तो समस्या पर्छ ।

प्रतिक्रिया दिनुहोस्