तपाईंका घरमा हाम्रा डाक्टर



अहिले कोरोनाको महामारी छ । धेरैले खोप पनि लगाएका छन् । कतिलाई त्यो खोप लगाउने सौभाग्य मिलेन । मैलेचाहिँ मौकाले लगाउन पाएँ । अब म कोरोना लाग्नबाट सुरक्षित भएँ त ? 

–सन्तोष अधिकारी, जोरपाटी ।

सन्तोषजी, खोप नलगाउने भन्दा लगाउनेहरु केही मात्रामा सुरक्षित हुन्छन् नै । खोप लगाउनेलाई अलि सहज हुने र जटिलता कम हुने गरेको पाइएको छ । तर कोरोना हुँदै नहुने भन्नेचाहिँ होइन । खोप लगाएर पनि दोहोर्‍याएर कोरोना भएको रेकर्ड पनि छ । त्यति मात्रै नभएर खोपले पुरानो प्रकारको भाइरसको मात्रै सुरक्षा दिन सक्ने हुनाले यदि भाइरसको नयाँ प्रकार वा भेरिएन्टको संक्रमण भएमा त्यसले सुरक्षा दिन सक्दैन । 

नयाँ भेरिएन्ट भारत, नेपाल तथा अरु देशमा पनि प्रशस्त देखिएको छ । तसर्थ सुरक्षित नै छु भनेर ढुक्क हुने होइन । मास्क लगाउने, भीडभाडमा नजाने, ६ फीटको दूरी कायम गर्ने, साबुन–पानीले बेला–बेलामा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नेजस्ता स्वास्थ्यका सबै उपाय अवलम्बन गर्नुपर्छ । यदि रुघा, खोकी, ज्वरो, पखालाजस्ता लक्षण भएमा तुरुन्तै चिकित्सक भेटेर सल्लाह लिनुपर्छ । केही दिन नै यस्तो भइरहेमा कोरोनाको ‘पसीआरँ टेस्ट गराउनु जरुरी हुन्छ । 

कुनै घाउ–खटिरा नहुँदा पनि हिउँद महिनामा मेरो शरीर एकदमै चिलाउने हुन्छ तर वर्षा लाग्दै गएपछि आफैं हराउँछ । किन यस्तो हुन्छ ? समाधान बताइदिनुभए आभारी हुने थिएँ । 

– सुलभ पिया, नारायणघाट । 

सुलभजी, हिउँद महिनामा मात्रै शरीर चिलाउने भनेको या त शरीर सुख्खा भएर हो, या त चिसोले हो । चिसोको एलर्जीले हो अथवा धूलोको एलर्जी पनि हुन सक्छ । त्यो मौसमकै कारण पनि हुन सक्छ । त्यस्तो भएको बेलामा एलर्जीको औषधि खाएर समस्यामा कमी ल्याउन सकिन्छ । यदि यो सधैँको समस्या हो भने त्यसको समाधानको लागि एलर्जी टेस्ट गरेर कारण पत्ता लगाई त्यसबाट बच्ने उपाय गर्न सकिन्छ । एकपटक सम्बन्धित विज्ञ भेटेर परामर्श गर्न अनुरोध गर्दछु । 

मेरा पुर्खाहरुमा धेरैलाई बाथ रोग भएकाले मलाई पनि यो वंशाणुगत रोग सर्ला भन्ने डर लागेको छ । यो समस्या हुन नदिन कुनै उपाय भए बताइदिन अनुरोध छ । 

– शिव खनाल, चौतारा । 

शिवजी, तपाईंले भनेको सही हो । बाथ रोग वंशाणुगतरुपमा फैलिने गर्छ । यो रोग हुन्छ वा हुँदैन भनेर भन्न त सकिन्न तर पनि नियमित बाथको परीक्षण गरिरहने, बाथ बढी गराउने प्रोटिन पदार्थ कम उपयोग गर्ने, जीवनशैली सुधार्ने, धूमपान अनि मद्यपानबाट टाढै बस्ने गरेमा सक्दो सुरक्षित भइनेछ । 

म २४ वर्षको भएँ । खासगरी टाउकाको पछाडि मेरो कपाल फुलेको छ । कपाल कलर गर्न मन लाग्दैन । यसलाई प्राकृतिक अवस्थामा ल्याउने कुनै उपाय छ कि ? 

– दीपक रानाभाट, जडीबुटी, काठमाडौं । 

दीपकजी, २४ वर्षमै तपाईंको कपाल फुलेछ । उमेर नै नपुगी अलि छिटो फुलेको पक्कै हो । यसलाई प्राकृतिकरुपमा अर्थात् नर्मल अवस्थामा ल्याउने भन्ने हुँदैन । यदि कालो कपालकै चाहना भएमा कलर गर्ने मात्रै उपाय छ । कालो लगाउने कुरा पनि टाउकाको कति क्षेत्र सेतो कपालले ढाकेको छ, त्यसमा भर पर्छ । कताकति मात्र सेतो कपाल भए मतलब नगरे पनि हुन्छ । होइन भने कालो लगाएर सन्तोष लिन सक्नुहुन्छ । मेरो सल्लाहचाहिँ यस्तो छ– कपाललाई जस्तो छ त्यस्तै रहन दिनुस् । कलर गर्नु नै पर्छ भन्ने जरुरी छैन । त्यत्तिकै राख्दा कलरबाट हुने साइड इफेक्टको डर पनि भएन । त्यसैमा प्राकृतिकपन पनि रहन्छ । कपालको चिन्ता नगरी सधैँ सकारात्मक सोच्नुस् । सुखी र खुशी हुनुस् । त्यसैमा जीवन छ । त्यसैमा आनन्द महसुस गर्नुस् ।

बान्ता हुँदा गाउँघरतिर अरुले टाउकोमा थिचिदिने चलन छ । त्यसो गर्दा टाउकोमा फुलिएका नसा फुट्छन्, थिच्नुहुँदैन भनेको पनि सुनिन्छ । खासचाहिँ के हो बताइदिनुहुन्छ कि ? 

– रेशम गिरी, कपिलवस्तु । 

रेशमजी, बान्ता हुँदा अरुले टाउकाको कन्चटतिर दुईवटा हातले सपोर्ट गर्ने, अलि–अलि दबाउने गर्नु भनेको सहयोग, सपोर्ट, दुखमा सहभागिता र पीडामा कमी ल्याउनका लागि हो । त्यसो गर्दा नसा फुट्ने डर त्यति हुँदैन । जथाभावी थिच्ने त होइन नि ! खाली पीडामा सहभागिता देखाएको मात्रै हो नि ! त्यसैले यस्ता कुरामा धेरै मन नडुलाउनुस् ।

हाम्रो स्कुलमा नाथ्री फुट्दा नाक थुनेर उत्तानो पारी सुताइन्थ्यो । त्यसो गर्दा रगत फोक्सोतिर जान्छ बरु टुक्रुक्क बसेर नाक थुन्नुपर्छ भनेको सुनेँ । खास के गर्नु ठीक हो डा. साब ? 

– शर्मिला नकर्मी, भरतपुर । 

शर्मिलाजी, नाकबाट रगत आउँदा अर्थात् नाथ्री फुट्दा शरीरको सबभन्दा माथि अर्थात् उचाइमा नाक पारेर रहनुपर्छ । यसका लागि बसेर वा उठेर, टाउको पछाडि फर्काएर, शरीर पनि सक्दो पछाडि फर्काएर रहनुपर्छ । त्यसपछि नाकमा बूढी औंला र चोर औंलाले समाएर नाक थुन्ने गर्नुपर्छ । फोक्सोमा त्यसै रगत जाँदैन, बरु घाँटी व पेटमा जान सक्छ । हातले नाक थुन्दा नाकमा रगत बग्ने भाग वा क्षेत्र भेटिएमा रगत रोकिने सम्भावना रहन्छ । यदि त्यसरी पनि नरोकिएमा तुरुन्त अस्पताल जानुपर्छ, पर्खनुहुँदैन ।

म ३६ वर्षको पुरुष हुँ । शारीरिक रुपमा कुनै खोट त छैन तर मलाई स्त्रीप्रति कुनै आकर्षण हुँदैन । यौनसम्पर्क गर्न पनि मन लाग्दैन । मलाई विवाह गर्न घरबाट ठूलो दबाब छ । के गरौं ? सही सल्लाहको अपेक्षा गर्दछु । 

– कृष्ण, धुलिखेल । 

कृष्णजी, ३६ वर्षको उमेरमा पनि स्त्रीप्रति कुनै आकर्षण र यौनचाहना नहुने भन्दा सोच्नै पर्ने हुन्छ । शारीरिकरुपमा देखिने कुनै खोट नभए पनि तपाईमा लोग्ने मान्छेमा हुनुपर्ने मेल हर्मोनमा कमी वा अभाव हुन सक्छ । त्यो कुरा पत्ता लगाउन जरुरी छ । कुनै इन्डोक्रिनोलोजिस्टलाई देखाएर वा परिवार क्लिनिकहरुमा गएर परामर्श, आवश्यक परीक्षण गरेमा सही निदान अनि उपचार गर्न सम्भव छ । त्यसपछि नर्मल जीवन हुन सक्छ । जहाँसम्म विवाहको कुरा छ, घरको दबाबमा विवाह गर्नु राम्रो होइन । किनभने त्यसमा आफ्नो मात्रै होइन, आफ्नो पार्टनरको पनि जीवन बर्बाद हुन सक्छ । बरु मिल्छ भने परिवारका सबैसँग सही कुरा बताएर सल्लाह गर्ने, होइन भने बुबालाई मात्र भए पनि आफ्ना कुरा राखेर निदान एवं उपचारतिर लाग्नुपर्‍यो । धेरै समस्याका समाधान सहज हुन्छन्, सम्भव हुन्छन्, मात्र जिम्मेवार भएर त्यसमा लाग्नुपर्‍यो ।

म ५३ वर्षको पुरुष हुँ । राति मनमा कुरा खेलेर निद्रा पर्दैन । यस्तो भएको निकै महिना भइसक्यो । कुनै औषधि खाएको छैन । यसको कुनै समाधान भए बताइदिन आग्रह गर्दछु । 

– रञ्जन आले, हाल : पनौती । 

रञ्जनजी, निद्रा नपरेमा मस्तिष्क तथा शरीरलाई चाहिने आराम पुग्दैन । दिनभरि टर्रो महसुस हुन्छ । थकान महसुस हुन्छ । शारीरिक सक्रियता घट्छ । केही गर्ने तयारीपना वा तत्परता घट्छ । मनमा धेरै कुरा खेलेमा ध्यान गर्ने, योग गर्ने, सकारात्मक सोच्ने, सुजबुझ बढाउने, हरेक कुरामा सबै परिवेश हेरी अर्थ लगाएर चित्त बुझाउने गर्नुपर्छ । धेरै समस्या प्राकृतिकरुपमा आफैं प्रयास गरेर समाधान गर्न सकिन्छ । आफ्नो हातमा नभएको कुरामा वा असम्भव कुरामा चिन्ता गर्ने, काल्पनिक चिन्ता गर्ने व्यवहारले भलो गर्दैन । केही समय प्रयास गरेर हेर्नुहोस्, समाधान हुन पनि सक्छ । यदि कुनै उपाय नलागेमा चिकित्सकको सल्लाह लिएर, परेमा औषधि नै खाएर भए पनि सुत्नु अनि निदाउनु शरीरको लागि अति आवश्यक छ । त्यहीँको धुलिखेल अस्पताल वा काठमाडौंको वीर अस्पताल वा शिक्षण अस्पतालमा गएर मनोचिकित्सक भेटी परामर्श गर्नुहोला, समाधान हुने नै छ ।

अजकल धेरै केटाकेटी कानमा एयरफोन राखेर गीत सुन्दै हिँडेको देख्छु । मलाई पनि त्यसो गर्न रहर लाग्छ । यसो गर्दा कानमा कुनै असर पर्छ कि भन्न डर पनि छ । सही सुझावको अपेक्षा गर्दछु । 

– सहदेव थापा, इटहरी । 

सहदेवजी, कानमा एयर फोन लगाएर ठूलो स्वरमा सधैँ संगीत सुन्ने गरेमा पछि गएर कानको श्रवण शक्तिमा ह्रास आउने हुन्छ । यसो भन्दैमा एयर फोन लगाएर सुन्नु नै हुँदैन भनेको पनि होइन । ठिक्कको स्वरमा कहिलेकाहीँ सुनेमा त्यस्तो हानि नहोला । रहर नै लागेको छ भने एयर फोन किन्नुस्, अरुलाई डिस्टर्ब पनि नहुने, कहिलेकाहीँ सुन्न पनि मिल्ने, मनको इच्छा पनि पूरा हुने । बरु ठिक्क स्वरमा र कहिलेकाहीँ टाढा हिँड्दा सुन्ने गर्नुस् । 

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्