बियरले कपाल नबिगारोस्



फेसनमा रुचि हुनेहरुले अहिले कपालमा बियर लगाएर सुन्दर बनाउने प्रयास गरिरहेको देखिन्छ । तर यसले कपाललाई पुर्‍याउने क्षतिबारे चाहिँ त्यति सचेत भएको पाइँदैन । कपालको वृद्धि तथा मजबुतीका लागि भनेर लगाइने बियरले नै कपाललाई नोक्सान गरिरहेको विशेषज्ञहरुको भनाइ छ । 

कपाल सुन्दर बनाउने सम्बन्धमा धेरै किसिमका घरेलु उपचारहरु प्रचलनमा देखिन्छन् भने यसबारेमा धेरै किसिमका विज्ञापन पनि भएको देखिन्छ । यस्तै प्रभावमा परेर विशेषगरी महिलाहरुले कपाललाई सुन्दर, मजबुत र टिकाउ बनाउनका लागि बियरको प्रयोग (Beer for Hair Treatment) गर्ने गर्दछन् । यसरी कपालमा बियर लगाउँदा कपाल लामो हुने, बजबुत हुने तथा कपालसँग सम्बन्धित अन्य कैयौँ समस्याको समाधान हुने  विश्वास गरिन्छ । 

वर्षा याममा कपालसम्बन्धी अनेक समस्या देखा पर्ने गर्छन् । यस्ता समस्याबाट बच्नका लागि कैयौँले कपालमा बियरको प्रयोग गर्दछन् । बियरको प्रयोगले कपालमा थुप्रै फाइदा पनि हुन्छन् तर बियरलाई सही तरिकाले कपालमा प्रयोग गर्न नसकेमा हानि पुग्छ । विशेषगरी कपाल धुने कार्यमा बियरको प्रयोग गरेको देखिन्छ । बियरमा रहेको भिटामिन ‘बी’, प्रोटिन र फ्लेवोनायड्सजस्ता एन्टिअक्सिडेन्टले कपाललाई पोषण प्रदान गर्छन् । यस्तै बियरमा पाइने सेलेनियम तथा सिलिकनजस्ता खनिज तत्वहरुले कपाललाई पोषण उपलब्ध गराउँछ । तर सही तरिकाले प्रयोग गरिएन भने बियरले कपाल तथा टाउकोको छालासँग सम्बन्धित समस्याहरु  सिर्जना हुनसक्छ ।

बियरले हुनसक्ने समस्या : 

यदि तपाईं कपाललाई बियरले धुने गर्नुभएको छ भने बियरलाई सीधै कपालमा नलगाउनुहोस् । बियरलाई सीधै कपालमा लगाउँदा कपाल सुख्खा हुने र कपाल टुक्रिने समस्या हुनसक्छ । किनकि बियरमा अल्कोहलको मात्रा हुन्छ । अल्कोहललाई सीधै कपालमा लगाउनु हानिकारक मानिन्छ । त्यसैले कपालमा लगाउँदा पानी मिसाएर वा स्याम्पु–पानी मिसाएर फिका बनाई लगाउनुपर्छ । 

कपालमा १० मिनेटभन्दा बढी बियर लगाइराख्नाले कपालमा रुखोपन आउन सक्छ, जसले गर्दा कपालहरु टुक्रिने हुन्छ । धेरैजसोले कपालमा बियर लगाउँदा धेरै समय राखिने भएकाले कपाल टुक्रिने, झर्ने समस्या हुन्छ । त्यसैले कपालमा बियर लगाउँदा १० मिनेटभन्दा बढी राख्नुहुँदैन । साथै बियर लगाइसकेपछि माइल्ड टाइपको स्याम्पुले धुनुपर्छ । कपालमा बियर लगाउँदा कपालको लम्बाइभरि नै बियर लगाउनुहुँदैन । कपालको जराको भाग अर्थात् टाउकोको छालामा मात्र लगाउनुपर्छ । लम्बाइमा लगाउँदा कपाल सुख्खा भएर टुक्रिन्छ । साथै कपालमा बियर प्रयोग गर्दा एकैपटक धेरै मात्रामा गर्नुहुँदैन ।

जसको कपाल सुख्खा टाइपको छ, उसले कपालमा बियरको प्रयोग नगर्नु नै राम्रो हो । किनकि बियरको प्रयोगले कपाल अझ सुख्खा हुन्छ । कपाल टुक्रिने, सेतो हुने लगायतका अन्य विभिन्न समस्या आउन सक्छ । यस्तै गरी तैलीय कपालमा बियरको प्रयोग गरिसकेपछि कन्डिसनिङ गर्नुहुँदैन । वयली वा तैलीय कपालमा बियरले कन्डिसनरको काम गरेको हुन्छ । एकैचोटि दोहोरो कन्डिसनिङ हुँदा कपालमा क्षति पुग्न सक्छ । 

स्रोत : ओएमएच

प्रतिक्रिया दिनुहोस्