हेलमेटले कपालमा समस्या



सडक सुरक्षाका दृष्टिले मोटरसाइकल, स्कुटरजस्ता सवारीसाधन चलाउँदा हेलमेट लगाउनु अनिवार्य नै हो । विनाहेलमेट सवारीसाधन चलाउनुहुँदैन । हेलमेट प्रयोग गर्ने धेरैले हेलमेटको सरसफाइ नगरी फोहोरी हेलमेट प्रयोग गर्ने गर्छन्, जुन कपाल तथा टाउकाको छालाको स्वस्थताको दृष्टिले गलत हो । विशेषज्ञहरुका अनुसार टाउको तथा कपालमा आउने पसिनाले कपाललाई कमजोर बनाउँछ र कपाल झर्ने हुन्छ । त्यसकारण हेलमेट र कपाललाई सफा राखिराख्न जरुरी छ । छालारोग विशेषज्ञ डा. देवेश मिश्राका अनुसार फोहोरी हेलमेट लगाउने र कपाल सफा नराख्नाले त्यसैको कारण टाउकोमा फङ्गल इन्फेक्सन भएर दाद आउन सक्छ । यो दाद पोल्ने र चिलाउने हुन्छ र दिक्क लगाउँछ । यो इन्फेक्सन अरुलाई पनि सर्न सक्छ ।

फोहोरकै कारणले टाउकोमा डर्मटाइटिस (Dermatitis) हुनसक्छ । कुनै पनि वस्तुको एलर्जी हुनसक्छ । एलर्जी भयो भने टाउकोको छालामा पाप्रा जम्ने, चिलाउने, रगत निस्कने समस्या हुनसक्छ । यो समस्या फोहोरी हेलमेट लगाउनाले पनि हुन्छ । यस्तै गरी फोहोरी हेलमेटका कारण सेबोरिक एग्जिमा (Seborrhoeic Eczema) पनि हुनसक्छ । यो समस्या भएमा टाउकोको छालामा पाप्रा जम्ने, छाला रातो हुने, चिलाउने हुन्छ । ज्यादा चिलाउन थालेपछि रक्तश्राव पनि हुनसक्छ । यो रोग टाउकोको साथै गर्दनलगायत शरीरका अन्य छालामा पनि फैलिन सक्छ । 

यस्तै गरी फोहोरी हेलमेट लगाउने गर्नाले सोरायसिस हुने, जुम्रा पर्ने समस्या पनि हुनसक्छ । यस्ता समस्याबाट बच्नका लागि हेलमेटको नियमित सरसफाइ गर्नुपर्छ । यसलाई एक दुई हप्तामा साबुन–पानीले सफा गर्नुपर्छ । दैनिकजसो हेलमेटमा लागेको धूलो ब्रसले झार्नुपर्छ । 

हेलमेटको फोहोरबाट बच्न हेलमेट लगाउनुभन्दा पहिले टाउकोमा कटनको रुमाल राख्दा पनि फाइदा हुन्छ । कटनको रुमालले पसिनालाई रोकेर रोगको संक्रमणबाट बचाउन सक्छ । यसको साथै पुरुषहरुले कपाल बेलाबेलामा छोटो पारेर काट्ने तथा महिलाहरुले कपाल बाँधेर हेलमेट लगाउनाले पनि फोहोरी हेलमेटबाट हुने संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । टाउकोमा कपाल नै छैन वा धेरै छोटो छ भने पनि हेलमेट लगाउनुभन्दा पहिले टाउकोमा कटनको रुमाल राख्नु लाभदायक हुन्छ । यदि कपाल भिजेको छ भने तुरुन्त हेलमेट लगाउनुहुँदैन, कपाल सुक्न दिनुपर्छ । भिजेको कपालमाथि हेलमेट लगाउँदा संक्रमणको खतरा धेरै हुन्छ । फोहोरी हेलमेट वा अरु कारणले टाउकोमा कुनै रोगको संक्रमण भएको छ भने चिकित्सकको सल्लाह लिनुपर्छ । 

स्रोत : ओएमएच 

प्रतिक्रिया दिनुहोस्