यौनसम्पर्कमा पीडा



– डा. राजेन्द्र भद्रा

म एक विवाहित महिला हुँ । मेरो श्रीमान्को उमेर ३७ र मेरो उमेर ३० वर्ष भएको छ । ममा यौनचाहना प्रशस्तै छ । श्रीमान् पनि यौनसम्पर्क राख्न एकदम रुचाउनुहुन्छ । तर म यौनसम्पर्कबाट टाढा भाग्ने गर्दछु । यस कारणले गर्दा मसँग श्रीमान् एकदमै रिसाउनुहुन्छ । मलाई यौनसम्पर्क सधैँ पीडायुक्त हुने गरेको छ । अब त हाम्रो सम्बन्ध नै बिग्रिएलाजस्तो भएको छ । किन यौनसम्पर्क पीडायुक्त भएको होला ? कसरी यो समस्यालाई समाधान गर्न सकिएला ?  

– सृष्टि आले, गोरखा 

यौनसम्पर्कमा किन पीडा हुन्छ ?

यौनसम्पर्क एक आनन्ददायी क्रियाकलाप हो । यौनसम्पर्कको माध्यमबाट नै शायद मानवले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द प्राप्त गर्दछ । असीम आनन्द, चरम सुख, स्वर्गीय आनन्दजस्ता कतिपय शब्दहरू पनि यो यौनसम्पर्कको आनन्दसँग जोडिएका छन् । 

तर अर्कोतिर यथार्थ के पनि हो भने, सबै यौनसम्पर्क सुखमय नहुन सक्छन् । दुखाइपूर्ण तथा अप्ठ्यारो यौनसम्पर्कलाई चिकित्सकीय भाषामा डिसपारेउनिया (Dyspareunia) भनिन्छ । पीडायुक्त यौनसम्पर्क पुरुष तथा महिला दुवैमा हुनसक्छ । तर अहिलेको चर्चा महिलामा हुने पीडायुक्त यौनसम्पर्कको बारेमा केन्द्रित गरौं । तपाईंको प्रश्नमा पर्याप्त जानकारी नभएको हुनाले तपाईंको समस्या यसै कारणले भएको होला भनी यकिन भन्न नसकिए पनि यौनसम्पर्कमा पीडा हुने कारणहरूका बारेमा चर्चा गरिँदै छ । 

यौनसम्पर्कको बेला महिलामा अनेक कारणले पीडा हुनसक्छ । यसका पनि दर्जनौं शारीरिक र मानसिक कारण हुन सक्छन् । यौनसम्पर्क पीडायुक्त हुने एक प्रमुख कारण योनि सुख्खा हुनु हो । तपाईंलाई थाहै होला कि महिलामा यौन उत्तेजना भएपछि योनि रसाउन थाल्छ । यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा, त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुने गर्दछन् । यौन उत्तेजनाको बेलामा यी रक्तनसाहरूमा रगतको बहाव बढ्न जान्छ । 

योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन् तर यसको भित्ताबाट नै रसाएर आउँछ । शुरुमा यी रस योनिको भित्रतिर मात्र रहे पनि निकै नै निस्किएमा योनिद्वारभन्दा बाहिरतिर पनि आउने गर्दछ । योनिरस कति मात्रामा आउँछ भन्ने कुरा यौन उत्तेजनाको स्तरमा भर पर्ने गर्दछ । कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुने गर्दछ । पर्याप्त मात्रामा रस नआउँदा योनि सुख्खा हुन्छ । योनि सुख्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पनि पीडादायक हुन्छ । यस्तो बेलामा यौनसम्पर्क गर्दा योनि पोल्ने पनि गर्दछ । 

योनि सुख्खा भएमा यौनसम्पर्क नै पीडामय बन्छ । आकलझुकल योनि सुख्खा हुनु वास्तवमा त्यति ठूलो समस्या नहुन सक्छ । तर निरन्तररुपमा त्यस्तो भएमा यो चासोको विषय हुन जान्छ ।

एलर्जीको औषधिले मुख मात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हर्मोनको कमी यसका कारण हुन सक्छन् । अन्य शारीरिक कारणहरू पनि हुन सक्छन् । जस्तोः

योनिद्वार वा भगक्षेत्रको छालामा समस्या हुनसक्छ । त्यसै गरी भगाङ्कुरको संक्रमण वा शोथमा पनि यौनसम्पर्क पीडायुक्त हुनसक्छ । योनिद्वार वा ब्रथोलिन्स ग्लान्ड (Bartholin’s Gland) को संक्रमण पनि दुखाइको कारण हुनसक्छ । मूत्रनली वा मलद्वारमा कुनै समस्या छ भने पनि महिलाको लागि यौनसम्पर्क पीडादायक हुनसक्छ । 

यौनसम्पर्क राख्दा महिलाहरूमा पीडा हुने कारणहरूमा योनिको संक्रमण पनि एक हुनसक्छ । सामान्य भन्दा धेरै, मैलो अनि गन्हाउने पानी आउनु, योनि संक्रमणका लक्षण हुन सक्छन् । योनिको संक्रमणबाहेक पनि कुनै रसायनको कारणले शोथ भएको छ भने पनि पीडा त हुने नै भयो । त्यसै गरी पाठेघरको मूख वा पाठेघरको संक्रमण वा अन्य खराबी पनि यौनसम्पर्क गर्दा दुख्ने कारण बन्न सक्छन् ।

त्यसै गरेर यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा पनि यस्तो हुने गर्दछ । विशेष गरेर भयातुर वा डर भएको कारणले गर्दा यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको संकुचन हुन जान्छ र सो कडा हुन्छ ।

यस्तो बेलामा यौनसम्पर्क राख्न खोज्दा सो यौनसम्पर्क पीडायुक्त हुन्छ । अंगे्रजीमा यस किसिमको अवस्थालाई भेजाइनिसमस (Vaginismus) भन्ने गरिन्छ । किन यस्तो हुन्छ एकिनका साथ भन्न गाह्रो छ । पहिलो यौनसम्पर्क शारीरिक तथा मानसिकरुपमा पीडादायक हुन गएको स्थितिमा लामो समयसम्म यसको असर रहन सक्छ । तपाईंहरूको पहिलो यौनसम्पर्कको अनुभव कस्तो रह्यो ? सोको बारेमा लेख्नुभएको छैन । 

समाधान के त ? 

समाधानको लागि तपाईंको समस्याको कारण के हो, सोको निदान गरेपछि त्यसै अनुसार उपचार गर्नुपर्दछ । योनि सुख्खा भएमा यौनसम्पर्क नै पीडामय बन्छ । आकलझुकल योनि सुख्खा हुनु वास्तवमा त्यति ठूलो समस्या नहुन सक्छ । तर निरन्तररुपमा त्यस्तो भएमा यो चासोको विषय हुन जान्छ । योनिरस नआए यौनसम्पर्क गर्न नै असजिलो हुन्छ । योनिरस पर्याप्त मात्रामा नभई यौनसम्पर्क गरेको कारणले यस्तो हुन गएको हो र पर्याप्त मात्रामा योनिरस निस्किन्छ जस्तो लाग्दैन भने अन्य चिल्लो पदार्थको प्रयोग गर्न पनि सकिन्छ । 

भ्यासेलिन वा त्यस्तै कुनै तेलयुक्त चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ तर त्यसले हाम्रो शरीरमा भएका सूक्ष्म छिद्रलाई बन्द गर्ने सम्भावना भएकोले त्यसको तुलनामा पानीमा घुल्ने 

चिल्लो पदार्थ (K-Y jelly) प्रयोग गर्नु बढी उपयुक्त हुनसक्छ । यसले कन्डमलाई पनि क्षति गर्दैन । कतिपयले थुकलाई एक राम्रो विकल्पको रुपमा प्रयोग गर्ने गरेका हुन्छन् । तपाईंहरूले यसो गर्न सक्नुहुन्छ । 

तपाईंलाई योनि तथा प्रजनन अंगको संक्रमणको शंका छ भने एकपल्ट स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी रोगको निदान गर्नु बेस होला । 

कुनै तनाव वा भय छ भने त्यसलाई कम गर्नुपर्दछ । यसको लागि यौनसम्पर्क राख्नबाट भागेर समाधानमा पुगिँदैन । यसका लागि राम्ररी सहज वातावरणमा कुराकानी गर्नुहोस् र त्यस्तो केही भए त्यसलाई हटाउने प्रयास गर्नुहोस् । 

श्रीमान् रिसाउने कुरा 

वैवाहिक जीवनको एक अभिन्न पाटोको रुपमा मात्रै होइन यौनसम्बन्धलाई वैवाहिक जीवनको आधारको रुपमा नै हेर्ने गरिन्छ । त्यसैले वैवाहिक सम्बन्धमा यौनसम्पर्क राख्ने अनि यौनआनन्द प्राप्त गर्ने अपेक्षा विवाहित जोडीमा हुन्छ नै । 

तपाईंलाई थाहै होला कि पूर्वीय संस्कृतिमा यौनसम्पर्क भन्ने शब्द मात्रै प्रयोग नभई ‘सम्भोग’ भन्ने शब्दको प्रयोग भएको पाइन्छ । यो ‘सम’ं‘भोग’ शब्दको मिलनबाट बनेको शब्द हो र यसको अर्थ दुवैले समानरुपमा भोग गर्न पाउने कुरा हो । यसको अर्थ श्रीमान् र श्रीमती वा भनौं यौनजोडीले यौनसुखलाई समानरुपमा उपभोग गर्न पाउनुपर्छ भन्ने हो । यसको मर्मलाई हेर्ने हो भने यौनसुख प्राप्त गर्ने कार्यमा सहकार्यको अपेक्षालाई दर्शाउने मात्र होइन, यहाँ एकले अर्को व्यक्तिलाई दबाब वा जबरजस्ती गर्ने कार्यलाई पनि स्वीकार गरिँदैन । 

जे होस्, सामान्यरुपमा वैवाहिक जीवनको दैनिकीलाई हेर्दा यौनसम्पर्क राख्नु र त्यसबाट यौनसुख प्राप्त गर्न पाउनु एक अपेक्षित कुरा नै हो । तर अपेक्षितरुपमा यौनसुख प्राप्त गर्न नपाएको स्थितिमा कुनै व्यक्तिलाई बेखुशी हुनु वा धेरै भएपछि रिस उठ्नु स्वाभाविक नै हो । 

तर तपाईँ तथा तपाईंको श्रीमान्ले बुझ्नुपर्ने कुरा के हो भने, न त रिसाउनुले तपाईंको समस्याको समाधान गर्छ, न त यौनसम्पर्कबाट भाग्नाले । समाधानको लागि तपाईंहरु दुवैले नै आपसमा भएको समस्याका बारेमा खुलस्त कुराकानी गर्नुपर्छ । यो समस्या दुवैको नै हो । त्यसैले दुवैले नै समाधानको लागि प्रयासरत हुनुपर्छ । 

यौनसम्पर्कसँग जोडिएको तपाईंको पीडालाई सुन्नुभएपछि तपाईंको स्थिति पक्कै नै बुझ्नु नै हुनेछ । त्यसपछि कसरी एक–अर्कालाई सहयोग गर्न सकिन्छ, त्यसको बारेमा विस्तृतरुपमा छलफल गर्न सकिन्छ । यौनसुख प्राप्तिका लागि योनि–लिंग यौनसम्पर्कलाई सहज बनाउनेदेखि अन्य किसिमका मैथुन वा यौनक्रियाकलापको बारेमा छलफल गरी सहमतिमा कार्यान्वयन गर्न सकिन्छ । 

आफैंले समाधान खोज्न गाह्रो भएमा वा भय वा तनावको स्थिति छ भने मनोपरामर्श वा मनोचिकित्साको लागि मनोपरामर्शदाता वा मनोचिकित्सकको सहयोग लिनु पनि मनासिब नै हुन्छ । 

प्रतिक्रिया दिनुहोस्