संकटमा स्वास्थ्यकर्मीको अनुभूति



कोरोना संक्रमणको महामारीले विश्वका स्वास्थ्यकर्मीहरुलाई अत्याइरहेका बेला धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा पनि उत्तिकै त्रास हुनु स्वाभाविक नै हो । यस्तै त्रास र चुनौतीका बीच काम गरेका दुईजना स्वास्थ्यकर्मीसँग साधनाका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार:

धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालयमा विगत १६ वर्षदेखि कार्यरत छु । कोभिड संक्रमणको लहर आएदेखि आकस्मिक विभागमा पारामेडिक्स तथा ट्रमा संयोजकका रुपमा कार्यरत छु । नेपाल सरकारले चीनबाट फर्काएका विद्यार्थीहरु राखिएको स्थान खरिपाटीमा धुलिखेल अस्पतालबाट मेडिकल असिस्टेन्टका रुपमा खटिएका बेला कोभिड र क्वारेन्टिन व्यवस्थापनका बारेमा पहिलोपटक बुझेँ र पछि धुलिखेल अस्पताल आएर त्यहीँ काम गर्न थालेँ । धुलिखेलमा पहिलो कोभिड पोजिटिभ केस बाह्रबिसेकी सुत्केरी आउँदा अवस्था गम्भीर थियो । हामीले पीसीआर गरेर प्रयास गर्दागर्दै पनि बचाउन सकेनौँ । त्यसपछि सबै स्टाफहरु त्रसित भए । यतिसम्म कि केही अघिसम्म बिरामी बोकेर आएका श्रीमान्, बहिनी र आमा पनि नवजात शिशु च्यापेर एउटा कुनामा बसेका थिए । कसैले मृतकलाई छुने आँट गरेनन् । अरु बिरामी आउँछन्, कहाँ राख्ने भन्ने चिन्ता भयो । आकस्मिक विभाग पूरै बन्दै गरिएको थियो । धेरै छलफलपछि सो लास नेपाली सेनाको कोभिड व्यवस्थापन टिमले पशुपतिको विद्युतीय शवदाह गृहमा लगे । 

हामीले त्यसअघि कोरोना विषयमा पढेका थिएनौँ, सिक्दै काम गरेका थियौँ । मेडिकल पर्सनले सिक्ने र गर्ने यही बेला हो । अहिले नगरे कहिले गर्ने भन्ने भित्र मनबाटै आयो र अघि सरेरै काम गरियो । तर मेरो पनि परिवार थियो, घरमा जान सक्दैनथँे । जानै पर्दा १४ दिन अस्पताल बसिसकेपछि पीसीआर गरेर मात्र जान्थेँ । दुई वर्षको अवधिमा मैले धेरै पटक पीसीआर गरेँ । हाई रिस्कमा पर्दा क्वारेन्टिन पनि बसेँ । म आफू मात्र नभई स्टाफहरुलाई क्वारेन्टिनमा खुशी राख्न चाहन्थेँ । किनभने उहाँहरुलाई खुशी राख्न सकिएन भने काम गर्न सकिन्न भन्ने मैले बुझेको थिएँ । काम गर्दाको थकानले जुत्तासम्म नखोली निदाइन्थ्यो र राति ब्युँझिएर जुत्ता खोली सुतिन्थ्यो । 

पहिलो लहरमा बिरामी साधारण अवस्थामै अस्पताल आइपुग्थे । त्यति बेला एआरआई जोन भनेर एरिया छुट्याएको थियो । पेसेन्ट त्यसमै अटाउँथे । दोस्रो लहर फैलँदा छुट्टै प्रोटोकल ट्रायल जोन र एआरआई जोन बनायौँ । त्यसले कोभिड र ननकोभिड छुट्याउन एकदमै सहज भयो । यति बेला बिरामीको चाप यति भयो कि एउटा बिरामी रिसिभ गर्न पाएको छैन, अर्को आइसकेको हुन्थ्यो । यति बेला एआरआई जोन भरिएर आकस्मिक कक्षको एलो जोन, रेड जोन हुँदै भिजिटर बस्ने ठाउँ सबै पोजिटिभ नै पोजिटिभ बस्ने ठाउँ बन्यो । यति बेला स्टाफहरुमा पनि पोजिटिभ देखिन थाल्यो । पहिलो लहरमा जस्तो दोस्रो लहरमा कन्ट्रयाक ट्रेसिङमा परेर क्वारेन्टिन बस्ने नभई पोजिटिभ भएकाले मात्र १० दिन बस्ने र सुरक्षा अपनाएर ड्युटीमा आउनुपर्ने भयो । 

दोस्रो लहरमा धुलिखेल अस्पतालका हाइजिन स्टाफ प्रेम तामाङलाई पनि पोजिटिभ देखियो, खोप पनि लगाउनुभएको थिएन । उहाँ आकस्मिक कक्षमा आइपुग्दा अत्यन्तै जटिल अवस्था थियो । अक्सिजनको लेबल घटेको थियो । स्वाँ–स्वाँ गरिरहनुभएको थियो । एक घण्टा लगातार सुख्खा खोकी आई नै रह्यो । त्यसपछि झनै अक्सिजन लेबल घट्यो र उहाँको मुखबाट रगत नै निस्कन थाल्यो । त्यसपछि आकस्मिक विभागका प्रमुख डा. सानु श्रेष्ठलगायतको टिमले उहाँलाई चाहिने सबै व्यवस्था गर्दै एक घण्टासम्म निरन्तर प्रयास गर्‍यौँ । थोरै आशा थियो । त्यसपछि भेन्टिलेटरमा राखियो र उहाँलाई बचाउन सफल भयौँ । अहिले राम्रो भएर ड्युटी गरिरहनुभएको छ । दोस्रो लहर आउँदा देशैभरि अक्सिजनको अभाव भयो । अक्सिजन अभाव हुन थालेपछि धुकधुकी चलाइरहने नीति लिएर १५ लिटर चलाएकालाई ६ लिटर, ६ लिटरलाई ३ लिटरमा झार्दै काम गर्नुपर्ने अवस्था भयो । आकस्मिक विभागमा टनाटन बिरामी थिए, हामी आत्तियौँ । अक्सिजन जहाँ छ त्यहाँबाट काँधमै बोकेर इमर्जेन्सीमा पुर्‍याइयो । त्यसपछि डा. राजीव श्रेष्ठ, डा. विराज कर्माचार्यले १२ सिलिन्डर अक्सिजन ल्याइपुर्‍याउनुभयो । त्यो ठूलो उपहार आएजस्तो भयो । कोभिड केयर युनिट र आईसीयुका बिरामीलाई लगायौँ । यदि त्यो अक्सिजन समयमा आई नपुगेको भए धेरै बिरामी गुमाउनुपथ्र्यो होला । 

धुलिखेल अस्पतालमा नजिकका बिरामी मात्र नभई हेलिकोप्टरमार्फत बेनी, संखुवासभा, पोखरा, स्याङ्जालगायत धेरै ठाउँबाट ल्याइएका थिए । यस्ता बिरामी ज्यादै जटिल अवस्थाका पनि थिए । कतिपयलाई हेलिकोप्टरबाट झार्नासाथ अक्सिजन दिनुपरेको थियो । अस्पतालले होम केयर नीतिअन्तर्गत रामेछाप र सिन्धुपाल्चोकसम्म गएर शंकास्पद बिरामीको स्वाब संकलन गर्ने, अक्सिजनको मात्रा परीक्षण गर्ने, ब्लड झिकेर ल्याउने गर्‍यो । यस्ता केस १ हजार ५ सय थिए । 

पहिलो चरणमा बिरामी लिन जान एम्बुलेन्स चालकहरु हिचकिचाउँथे । त्यसपछि चालकको मनोबल पनि बढाउने र सुरक्षित पनि हुने गरी चालक बस्ने एरिया र बिरामी बस्ने एरिया छुट्याएर बीचमा स्टिलको बार लगाइयो । साथै पारामेडिक्स र चालकलाई डाउन ड्रफिङ (पीपीई लगाउने र सुरक्षित तरिकाले फुकाल्ने) को तालिम दियौँ । शुरुको अवस्था र अहिलेको अवस्थालाई नियाल्दा धेरै अन्तर छ । पहिला केही बुझेकै थिएनौँ, अहिले तालिमसहितको सिकाइ, भोगाइ, र्‍यापिट रेस्पन्स टिम बनिसकेको छ । पछिल्लो समय २४ घण्टा ड्युटीपछि चिकित्सक, स्टाफहरुको बैठक बसेर सबै बिरामीको अवस्थाको बारेमा जानकारी गराउने र समस्याको समाधान निकाल्ने गर्छौं । अहिले खोप अलि बढेकाले हो कि सहज भएको छ । पोजिटिभ बिरामी भए पनि पहिलाको जस्तो जटिल अवस्थाका कमै छन् । अहिले हामीसँग सबै सामग्री स्टक छ । खोप लगाएको संक्रमित र नलगाएकोमा धेरै फरक छ । खोप लगाएपछि कोरोना हुन्न भनेर खुल्ला हिँड्नुहुँदैन । 

धुलिखेल अस्पतालको एम्बुलेन्स डीपीएस (डिस्प्याच सेन्टर) मा ४३ वटा एम्बुलेन्स छन् । डा. रामकण्ठ माकजुको प्रयासमा नेपाल टेलिकमबाट १०२ नम्बर निःशुल्क उपलब्ध गराएको छ । यसमा कल गर्नासाथै बिरामीले तत्कालै सेवा पाउँछन् । 

आफू संक्रमित भएको थाहा हुँदाहुँदै पनि लुकाउने र भीडमा घुलमिल हुने क्रम सर्वसाधारणमा मात्र नभई जानेबुझेकै मान्छेमा पनि पाइयो । पछिल्लो समय चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा सामेल हुनुभएका व्यक्तिमा पनि त्यस्तो पाइयो । जहाँ संक्रमितको लागि छुट्टै सिटको व्यवस्था गरिएको थियो । 

यस्तै अनिशा न्यौपाने बिरामीको सेवा गरी बिरामीलाई निको बनाएर फर्काउने उद्देश्यका साथ नर्सिङ पेसामा आएकी हुन् र धुलिखेल अस्पतालमा कार्यरत छिन् । 

उनी भन्छिन्– 

‘चीनमा कोरोना भाइरसका बिरामीको बारेमा चर्चा भैरहँदा नेपालमा पनि आउने हो कि भन्ने मनमा डर थियो । त्यति नै बेला धुलिखेल अस्पताल आईसीयु (सघन उपचार) विभागमा स्टाफ नर्स भएर काम गर्न थालेँ । 

सबैभन्दा नराम्रो कोभिडको दोस्रो लहर फैलिएको बेला थियो । अक्सिजनको अभाव हुँदा कोभिड संक्रमित बिरामीहरुको अक्सिजन लेबल अत्यन्तै कम २ प्रतिशतमा झरिसकेको अवस्था आएको थियो । मोनिटरहरु कराइरहेका हुन्थे, बिरामी र बिरामीका आफन्तसँगै म पनि धेरै आत्तिएर रोएकी थिएँ । त्यति बेला आईसीयु इन्चार्जले मलाई सम्झाइरहनुभएको थियो । त्यस बेला अस्पतालका सबै अक्सिजन प्रयोग भैसकेका थिए । ठूला–ठूला सिलिन्डरमा थोरथोरै बाँकी थियो तर ती सिलिन्डर हामीले उचाल्न सक्दैनथ्यौँ, साना सिलिन्डर सबै सकिएका थिए । यस्तो अवस्थामा बिरामीका कुरुवाहरुले पनि आफँै अक्सिजन व्यवस्थापन गरेर सघाउनुभएको थियो । 

एकपटक दुईजना भेन्टिलेटरमै हुनुहुन्थ्यो भने तीनजना बाहिर हुनुहुन्थ्यो । भेन्टिलेटरबाहिरका बिरामीलाई सबै थाहा हुन्थ्यो । जब मोनिटर कराउँछ उहाँहरु आत्तिएर रुने/कराउने गर्न थाल्नुभयो । श्वासप्रश्वासको मात्रा कम भइरहेको थियो । यो अवस्थामा आफू पनि सम्हालिएर बिरामी र आफन्तलाई सम्झाउँदै बिरामीको अवस्था कसरी सुधार गर्ने भन्ने चिन्ता भयो । आईसीयुका बिरामीमध्ये भेन्टिलेटरमा राखेका बिरामी धेरै जटिल हुने हुँदा उहाँहरुको अवस्था मिनेट–मिनेटमा हेर्नुपर्ने हुन्थ्यो । 

जति बेला अस्पतालबाट अक्सिजन सकिएको सूचना आयो त्यसपछि म धेरै निराश भएँ । म स्वास्थ्यकर्मी भएर पनि बिरामीलाई बचाउने उपाय अपनाउन सकिन भनेर रुन थालँे । आईसीयु इन्चार्ज गायत्री दिदीले मलाई सम्झाउनुभयो । डाक्टरहरु पनि आउनुभयो र मलाई सम्झाउँदै बिरामीको अवस्था स्थिर कसरी राख्ने भनेर कोशिश गरिरहनुभयो । अक्सिजन सकिएपछि बिरामीको चिच्याहट, मानसिक तनावलाई कम गर्न खालि सिलिन्डर जोडेर मनोबल उच्च पार्ने कोशिश गरेँ । यतिसम्म कि म आत्तिएर अब म यो पेसा नै गर्दिन, मेरो आँखाअगाडि बिरामीले अक्सिजन नपाएर छट्पटाइरहँदा मैले केही गर्न सकिन भन्ने सोचेर म धेरै रोएँ । 

इन्चार्ज, डाक्टरहरुले धेरै सम्झाउनुभयो । मेरो अगाडि सबै बिरामी र आफन्तहरु पीडाले छट्पटाइरहनुभएको थियो । यदि इन्चार्ज दिदी नहुनुभएको भए मैले विवेक गुमाउथेँ होला । दुई घण्टासम्म अक्सिजन नहुँदा अति ठूलो संकट पर्‍यो । एकजना बिरामीका आफन्तले त्यति नै बेला ल्याएको एउटा सिलिन्डरका कारण बिरामीलाई पालैपालो लगाएर बचाइयो । दुई घण्टापछि अस्पतालले २० वटा अक्सिजन सिलिन्डर ल्याएर हामीलाई ढुक्कसँग काम गर्ने वातावरण सृजना गर्‍यो । यो अवस्था फेरि पनि नआउला भन्ने छैन । बजारमा हेर्दा सबै मान्छे खुल्लंखुल्ला हिँडेका छन् । यो अवस्थाले भोलिका दिनमा जे पनि हुनसक्छ । आमनागरिकले अत्यन्तै सुरक्षा अपनाउनुपर्छ । समस्या भैसकेपछि पनि नेपालीमा चेतना नआएको देख्दा साह्रै दुःख लाग्छ । 

शुरुका दिनमा मनभित्र डर पाल्दै शंकास्पद बिरामी मात्र हेरेका थियौँ । कोभिड नयाँ भाइरस भएकाले ज्ञान पनि थिएन । पीपीई लगाउँदै काम गरिरहेको थिएँ । कोभिड केस आउँदै छ भनेर एआरआई जोनबाट कल आयो । हामी दुईजना ड्युटीमा थियौँ, निकै आत्तियौँ । कसरी काम गर्ने होला, कतै हामीलाई पनि हुने हो कि भन्ने डर थियो । तर अस्पतालले राम्रो परामर्श दिएर काम गरायो । हामीलाई छुट्टै कोठामा बस्ने, खाने, आफ्नो सुरक्षा अपनाएर उपचार गर्ने वातावरण अस्पतालले बनाएको थियो । यति हुँदाहुँदै पनि घरमा जानुअघि पीसीआर परीक्षण गरेर जान्थ्यौँ । तैपनि मनमा डर भने भई नै रहन्थ्यो र अहिले पनि कायमै छ । 

प्रतिक्रिया दिनुहोस्