टुथपेस्टको आठ कमाल



टुथपेस्ट प्रयोग गरी हामी दाँत सफा गर्छौं । टुथपेस्ट केवल दाँत सफा गर्न मात्र नभएर अन्य कुरा सफा गर्नसमेत प्रयोग गर्न सकिन्छ भन्ने कुरा हामी कमैलाई थाहा होला । त्यसैले टुथपेस्टको प्रयोग गरेर सजिलै सफा गर्न सकिने आठ कुरा यहाँ बताइन्छ । 

१. कपाल रंगाउँदाको दाग हटाउन: तपाईंले कपाल रंगाउने गर्नुभएको छ भने सो रंग कपालमा मात्र नभएर गर्दन र अनुहारको छालामा पनि लाग्न सक्छ । यसलाई हटाउन अनेक उपाय गरिन्छ, जसले गर्दा छालामा असर पर्न पनि सक्छ । त्यसैले कपासमा अलिकति टुथपेस्ट राखेर रंग लागेको छालामा हल्का रगड्नुस् । यसले सजिलै छालामा लागेको रंगको दाग जान्छ । टुथपेस्टले छाला सुख्खा गर्न सक्ने हुँदा पछि हल्का साबुन–पानीले सफा गर्न भने नभुल्नुहोला । 

२. थर्मसको गन्ध हटाउन: कहिलेकाहीँ बाहिर जाँदा वा घरमै पनि थर्मसमा चिया राखेर आवश्यकताअनुसार पिउने गरिन्छ । यसरी चिया राख्दा चाँडै उपभोग भएमा त ठिक्कै हो नत्र थर्मसमा अप्रिय गन्ध उत्पन्न हुन्छ । त्यसैले टुथपेस्टले सजिलै सो थर्मस सफा गर्न सकिन्छ । यसका लागि थोरै पेस्ट निचोरेर थर्मसमा हाल्नुस् र तातो पानीले भर्नुस् । केही समयपछि राम्ररी थर्मस हल्लाएर पानी फ्याँकिदिनुस् । यसरी सफा गरेपछि थर्मसबाट आउने गन्ध हराउँछ । साथै थर्मसको भित्री भाग पनि सफा हुन्छ । 

३. चश्मा सफा गर्न: तपाईंको चश्मा औंलाको डाम वा धूलो लागेर घुर्मैलो हुनसक्छ । यसलाई जे पायो त्यहीले पुछ्दा कोरिन सक्छ । टुथपेस्टले सफा गर्‍यो भने चश्मा नकोरिई राम्ररी सफा हुन्छ । यसका लागि एक टुक्रा कपासमा टुथपेस्ट लगाएर बिस्तारै चश्माको शिशामा रगड्नुस् । जबसम्म टुथपेस्ट हराउँदैन तबसम्म रगड्नुस्, चश्मा क्लियर । 

४. कटिङ बोर्डको गन्ध हटाउन: कटिङ बोर्डमा प्याज वा माछाजस्ता पदार्थ काट्दा आफ्नो हात र कटिङ बोर्डमा समेत गन्ध आइरहने सम्भावना अधिक हुन्छ । त्यसैले टुथपेस्ट लगाएर हात र कटिङ बोर्ड सफा गर्दा यस्तो गन्धबाट छुट्कारा पाउन सकिन्छ । 

५. मार्करको रंग सफा गर्न: यदि बच्चाले मार्करले चित्र बनाउने वा कलर गर्ने क्रममा टेबुललगायत अन्य वस्तुमा सो मार्करको रंग लाग्यो भने चिन्ता नगर्नुस् । थोरै टुथपेस्ट लिएर कपडा वा पेपरले रगड्नुस्, मार्करबाट लागेको रंग वा दाग गायब । 

६. जुत्ताको सेतो भाग टल्काउन: यदि तपाईंसँग सेतो सोल भएको जुत्ता छ भने त्यसलाई सधैँ चम्काएर राख्न गाह्रो हुन्छ । जुत्ता लगाएको केही समयपछि हेर्दा चमकदार सेतो सोल पहेँलो वा खैरो रंगमा परिणत हुनसक्छ । यस्तो भयो भने थोरै टुथपेस्ट भाँडा माझ्ने जालीमा हालेर जुत्ताको यो भागमा रगड्नुस् र कागज वा कपडाले पुछ्नुस्, जुत्ता चम्किन्छ । 

७. आइरन सफा गर्न:तपाईंको आइरनमा कालो दाग बसिसकेको छ भने आइरन गर्दा कपडामा सो दाग लाग्न सक्छ । त्यस्तो आइरन सफा गरिहाल्नुपर्छ । त्यसैले आइरन सेलाएपछि अलिकति टुथपेस्ट हालेर कागज वा कपडाले रगड्नुस् । आइरनमा बसेको दाग सजिलै सफा हुन्छ । 

८. हेडलाइट सफा गर्न: आफ्नो सवारीसाधनको हेडलाइट मधुरो भयो भने सफा गर्नुपर्ने हुन्छ । यसमा टुथपेस्ट हालेर औंलाले सबैतिर फिँजाउनुस् र १५ मिनेट जति त्यसै रहन दिनुस् । त्यहाँ लागेको फोहोरको कारण टुथपेस्ट खैरो हुँदै जान्छ । त्यसपछि पुरानो टुथब्रसले दाँत माझेजस्तै गरी हेडलाइट सफा गर्नुस् । अन्त्यमा कपडाले पुछ्नुस् । हेडलाइट टलक्क हुन्छ । ऐना घुर्मैलो भएमा पनि यसरी नै सफा गर्न सकिन्छ । 

प्रस्तुति: रोहिणी
स्रोत: www.tips-and-tricks.co/cleaning/clean-toothpaste

प्रतिक्रिया दिनुहोस्