विवाहपूर्व सहवास: रमाइलो कि चुनौती ?



डा. राजेन्द्र भद्रा

प्रश्न: म २४ वर्षकी महिला हुँ । अहिले स्नातकोत्तर तहमा अध्ययनरत छु र पार्ट टाईम काम पनि गर्दै छु । घर काठमाडौंबाहिर हो, हाल डेरामा छु । मेरो एक प्रेमी पनि छ र ऊसँग सम्बन्ध भएको करिब २ वर्ष भयो । ऊ पनि फ्ल्याट भाडामा लिएर एक्लै बसेको छ । उसले मलाई पछि विवाह गर्ने नै हो, पढाइ नसकिएसम्म सँगै बसौं भनिरहेको छ । एक मनले भन्छ– कुरा त ठिक्कै हो, तर अर्को मनले भन्छ– यो कुरा त ठीक होइन । के गर्दा राम्रो होला ? सल्लाह चाहन्छु ।

– सीमा सुवेदी 

विवाहपूर्वको सहवास 

पूर्वीय संस्कृतिमा विवाहलाई विशेष स्थान दिइएको पाइन्छ । विवाह संस्कारले पुरुषार्थहरूमध्ये ‘काम’ परिपूर्तिमा विशेष महत्व राख्छ । विवाह शरीरहरूको मात्रै मिलन नभई दुई आत्माको पनि मिलन मानिन्छ । यी गहिरा अर्थलाई मनन गर्ने सन्दर्भमा अहिलेको समाजमा ह्रास आएको र आध्यात्मिक, नैतिक पक्षभन्दा भौतिक अनि कानुनी पक्ष हाबी भएको पाइन्छ । 

सहवासलाई सामान्यरुपमा लिँदा साथसाथै बस्ने वा साथसाथै उठबस गर्ने भन्ने बुझिन्छ । तर यसको अर्थ हाम्रो समाजमा यौनसम्पर्क राख्नु पनि हुन्छ । सामाजिक वा कानुनी विवाह गर्नुभन्दा पहिले नै महिला र पुरुषको जोडी एकैसाथ बस्नुलाई नै हामी विवाहपूर्वको सहवास भन्न सक्छौं । अहिले 

चल्तीमा अंग्रेजीमा लिभिङ टुगेदर (living together) शब्दको प्रयोग भएको पाइन्छ । नेपालमा यो अझै पनि कमै मात्र चलनमा भए पनि बिस्तारै बढ्दोरुपमा छ । 

यस्तो सहवास किन ? 

सहवासमा किन बस्न लागेको हो भनेर अहिलेको अल्पकालीन आवश्यकताको आधारमा मात्रै होइन दीर्घकालीन लक्ष्यमा पनि स्पष्ट हुनुपर्दछ । अहिले विवाहभन्दा पहिले नै यौन आनन्द लिने तथा आर्थिक सहजताको लागि सहवासको निर्णय गरिएको हुनसक्छ । 

दीर्घकालीन लक्ष्यको बारेमा पनि सोच्नुपर्दछ । विशेष गरी सम्बन्धमा दुवैको प्रतिबद्धता के–कस्तो छ भन्ने महत्वपूर्ण हुन्छ । पछि विवाह गर्ने?नगर्ने, विवाहपूर्व नै सन्तान जन्माउने वा नजन्माउने र त्यसले ल्याउने सामाजिक वा कानुनी समस्या कसरी सामना गर्ने ? 

सन्तान जन्मेपछि हुर्काउने जिम्मा कसले लिने ? पछि कारणवश सम्बन्धले निरन्तरता नपाएमा के गर्ने भन्ने पनि राम्ररी विचार गर्नुपर्दछ ।  

ववाहभन्दा पहिले नै यौन आनन्द लिने तथा आर्थिक सहजताको लागि सहवासको निर्णय गरिएको हुनसक्छ ।

फाइदा के होलान् ? 

यसका फाइदाहरूमध्ये एक–अर्कालाई राम्ररी चिन्ने–बुझ्ने मौका दिन्छ, जसबाट म यो व्यक्तिसँग जीवन बिताउन सक्छु कि सक्दिन भन्ने निर्णय लिन सहज हुन्छ । एक्लै बस्दाको भन्दा यसरी सहवासमा बस्दा विवाहित जीवनको दैनिकी कस्तो होला भन्ने एक झलक प्राप्त गर्न सकिन्छ । एक्लै बस्दा सबै दैनिक कार्य एक्लैले गर्नुपर्ने हुन्छ भने सँगै बस्दा बाँडेर गर्न मिल्छ । कतिपय निर्णय गर्दा सरसल्लाह तथा विचार विमर्श गर्ने अवसर पनि राम्ररी मिल्छ । अनि तपाईंले सोच्नुभएजस्तै आर्थिक भार पनि एक हदसम्म कम हुने गर्दछ । 

बेफाइदा के होलान् ? 

शुरुमा सम्बन्धको सन्दर्भमा कतिपयले पछि विवाह गर्ने उद्देश्यले सहवास थाले पनि यौनसुखलगायत विवाहपछि प्राप्त हुने कुरा पहिले नै पाइने हुनाले कतिपयलाई विवाह नै नगर्ने सोच पनि आउन सक्छ । यसले गर्दा विवाह नै नगरिने स्थिति पनि आउन सक्छ । यस्तो सहवासको लचिलो अवस्थामा अभ्यस्त भइसकेको जोडीमा विवाहपछि पारपाचुके तुलनात्मकरुपमा बढी हुने स्थिति देखिएको छ । विवाह गरेको अवस्थाभन्दा यसरी साथै बस्ने गर्दा दीर्घकालीन प्रतिबद्धता विवाह भएको स्थितिभन्दा कम हुने देखिएको छ । 

यौन जीवन  

भने पनि नभने पनि सहवासको एक उद्देश्य यौनसुख प्राप्त गर्ने हुन्छ नै । यसलाई सुखमय बनाउन दुवैको जिम्मेवारी चाहिन्छ नै । पहिले भेटघाट मात्र गर्दा यौनसम्पर्क राख्ने वातावरण सहज नहुने स्थिति हुन्थ्यो भने त्यसमा आमूल परिवर्तन हुन्छ । पहिले तारतम्य मिलाउन अनेक उपाय गर्नुपर्ने हुन्थ्यो भने अहिले सो सहजै प्राप्त हुने स्थिति हुन्छ । यसलाई सुखमय राख्न दुवैले केही कुरामा विचार गर्नु बेस हुन्छ । 

यसरी बस्दा यौनसम्बन्धी मूल्य मान्यताको कारणले महिलामा बढी तनाव हुने स्थिति हुन्छ । यस्तो बेलामा तनावको व्यवस्थापन तपाईंहरूको यौन जीवनको लागि आवश्यक हुन्छ । सहजै पाइने भएको हुनाले शुरुका केही समयमा राम्ररी नै यौन क्रियाकलापमा संलग्न भए पनि केही समयपछि एकनासेपनले सताउन सक्छ । नौलोपन ल्याउन सकेमा यौन जीवनमा ऊर्जा मिलिरहन्छ । अर्को कुरा, पुरुष हो वा महिला हरदम यौनसम्पर्कको लागि तयार नहुन सक्छन् भन्ने कुरालाई बुझ्नुपर्दछ । पहिले थोरै समयको लागि भेटघाट गर्दा त्यस्तो नलागे पनि साथै बस्न थालेपछि यो स्पष्ट हुन्छ । यौनसम्पर्क राख्नमा हरदम रुचि नदेखाउनुलाई अन्यथा अर्थ लगाउनुहुँदैन । 

नियमित यौनसम्पर्क हुने स्थितिमा गर्भधारणको सम्भावना निकै नै हुन्छ । कहिलेकाहीँ भेटघाट भएको भन्दा नियमितरुपमा नै गर्भनिरोधको उपाय गर्नु बेस हुन्छ । नचाहेको गर्भ रहेमा तपाईंले चाहेको जीवनको लक्ष्य नै प्रभावित हुनसक्छ । प्रभावकारी तथा आफूलाई उपयुक्त गर्भ निरोधका उपाय अपनाउनु श्रेयष्कर हुन्छ । यसको लागि स्वास्थ्य केन्द्रमा परामर्श तथा सेवाको निम्ति सम्पर्क गर्न सक्नुहुन्छ । 

के–कस्ता कुरामा विचार पुर्‍याउनुपर्ला ? 

निम्न केही कुरामा विचार पुर्‍याउन सकेमा सहवासको जीवन केही सहज बनाउन मद्दत मिल्न सक्छ ।

ल सहवासको कारणको बारेमा राम्ररी दुवैजना स्पष्ट हुनुपर्दछ । यो आर्थिक, सम्बन्ध वा अन्य कारण के हो भन्ने सन्दर्भमा स्पष्ट हुन दुवैबाट खुलेर कुराकानी गरिनुपर्दछ । यी निर्णय हल्कारुपमा नभई गम्भीररुपमा लिइनुपर्दछ ।

  • एक–अर्काको अपेक्षाका बारेमा पनि राम्ररी बुझ्नुपर्दछ । सँगै बस्ने चाहना हाबी हुँदा जीवनका अरु पक्ष र अपेक्षाको बारेमा ध्यान नदिने स्थिति आउन सक्छ, जसले पछि अप्ठ्यारो पर्न सक्छ । त्यसैले सहवासमा आफ्ना के–कस्ता अपेक्षा छन् भन्ने खुलेर भन्नुपर्दछ । आफ्नो प्रेमी वा साथीको अपेक्षामा पनि सुन्नुपर्दछ । 
  • आर्थिक पक्षको बारेमा कुरा गर्नुपर्दछ । खर्चको सन्दर्भ केही व्यक्तिगत हुन्छ भने कतिपय साझा । सहवासमा बसेपछि आयअनुसारको आ–आफ्नो आवश्यकता तथा घरखर्च सन्दर्भमा कति र केका लागि खर्च गर्न तयार हुने भन्ने बारेमा कुराकानी गरिनुपर्दछ । के–कस्ता खर्च तपाईं वा तपाईंको साथीलाई अनावश्यक लाग्छ र सोको व्यवस्थापन कसरी गर्ने भन्र्ने स्पष्ट हुनुपर्दछ । आय वा खर्चको साथै सम्पत्ति तथा ऋणको बारेमा पनि कुराकानी गरिनुपर्दछ । 
  • घरायसी कामको बाँडफाँड पनि राम्ररी विचार गरिनुपर्दछ । हाम्रो सामाजिक मूल्यअनुरुप नै महिलाले सबैजसो घरायसी काम गर्नुपर्ने स्थिति आउने वा नआउने बारेमा स्पष्ट हुनुपर्छ । दोहोरो भार तपाईंमा परेमा तपाईंको अध्ययनको उद्देश्य पूरा नहुन सक्छ । 
  • सहवासमा दुवैले केही छोड्नुपर्ने हुन्छ । आफ्नो फाइदामा मात्रै केन्द्रीत हुँदा यसले द्वन्द्व निम्त्याउन सक्छ । यसको लागि तपाईं र तपाईंको प्रेमी दुवैले नै कति र के कुरामा सम्झौता गर्ने भनेर तयार रहनुपर्दछ । सम्झौता गर्न नसकिने वा त्यसको सीमाको सन्दर्भमा पनि राम्ररी सोच्नुपर्दछ । 

अन्त्यमा, सहवासमा बसेपछि अपेक्षा त सबै राम्रो नै हुन्छ भन्ने रहन्छ तर वास्तविकता त्यस्तो नहुन सक्छ । त्यसैले राम्रोको साथै खराब वा अति खराब स्थितिको बारेमा पनि मानसिकरुपमा तयार रहनुपर्दछ । यदि स्थिति नराम्रो भयो भने छुट्टिनुपर्ने स्थिति आउन सक्छ । सहवासमा बसिसकेको भनेर भावी जीवन नयाँ प्रेम वा वैवाहिक सम्बन्ध राम्ररी स्थापित गर्न पनि अनेक चुनौती आउन सक्छन् । त्यसैले यसको लागि तयार हुनुपर्दछ । यसको लागि पनि योजना बनाउनुपर्दछ ताकि आवश्यक परेमा आपतको स्थितिमा नपरियोस् । 

प्रतिक्रिया दिनुहोस्