तपाईंका घरमा हाम्रा डाक्टर



मेरो एसईईको रिजल्ट आयो । पास पनि भएँ । भविष्यमा नर्स बन्ने रहर लागेकोले नर्सिङ क्याम्पस पढ्ने इच्छा छ । तर नेपालमा नर्स धेरै उत्पादन भए, तलब राम्रो छैन भन्छन् । यसले मलाई निरास बनाएको छ । सही सल्लाहका लागि अनुरोध छ । 

– रीतिमा कार्की, दमौली, तनहुँ । 

रीतिमाजी, आफूले चाहेको विषय पढ्नका लागि अन्य साधारण अवस्थाहरुले छेक्ने कुरै आउँदैन । नेपालमा नर्सको मात्रै होइन, अन्य स्वास्थ्यकर्मीको समेत तलब, सेवा–सुविधा, कार्य–घण्टा सबैको व्यवस्था अनि नियम–विनियम विरक्त लाग्ने वा कहाली लाग्ने नै छ । जहाँसम्म रोजगारीको प्रश्न छ, आटर््स, कमर्स आदि पढेकाले भन्दा सहज किसिमले काम पाउने सम्भावना अलि बढी नै हुन्छ । तलबकै कुरा गर्ने हो भने निजी अस्पतालहरुले वा स्वास्थ्य संस्थाहरुले निकै शोषण गरेर सित्तैमा, बेतलबीमा, करारमा कज्याउने गरेको सुनिन्छ । दिइहाले पनि अति नै न्यून पारिश्रमिक दिएको सुन्ने गरिन्छ । यसको तुलनामा सरकारी सेवामा अलि बिसेक छ । तर सरकारले एक–दुई लाख जनशक्ति उत्पादन हुँदा पनि २०–३० वर्षअघिको दरबन्दीमै काम चलाएर धेरैलाई बेरोजगार हुन बाध्य पारेको जस्तो देखिन्छ । यो निजी स्वास्थ्य संस्थाहरुलाई शोषण गर्ने पृष्ठभूमि बन्न गएको छ । यी सबै जीवनका वास्तविकता हुन् । जीवन भनेको संघर्ष हो । मन लागेको विषय राम्रोसँग पढ्नुस् । बिरामीको सेवा गर्नु । पछिको अनिश्चित कुराको फन्दामा अहिले नै नलाग्नुस् । निराश हुने होइन । आशावादी, हिम्मतिलो, परिणाममुखी भएर जीवनमा केही गर्नका लागि अरुभन्दा पृथक, राम्रो, मानवतावादी हुने सल्लाह दिन्छु ।

कोरोनाबाट बच्नका लागि भिटामिन ‘डी’ खानुपर्छ भन्छन् । यसका लागि औषधि नै खानुपर्छ कि अरु उपायहरु पनि छन् डा. साब ? 

– पुरन नकर्मी, बुटवल । 

पुरनजी, कोरोनाबाट बच्न भिटामिन ‘डी’ खाने भन्दा पनि महत्वपूर्ण कुरा भनेको मास्क नियमित र सही तरिकाले लगाउने, हातमा स्यानिटाइजर लगाउने वा हात साबुन–पानीले राम्रोसँग धुने गर्नुस् । त्यसै गरी भीडभाडमा नजाने र अरुसँग सुरक्षित दूरी कायम गर्ने (कमसेकम ६ फीट) गर्नुस् । जहाँसम्म भिटामिन ‘डी’ को कुरा छ, यसले शरीरको इम्युनिटी शक्ति बढाउन मद्दत गर्छ । यसको चक्की खाने त भिटामिनको मात्रा शरीरमा कम भएमा मात्रै हो । यसको प्राकृतिक स्रोत बिहानको न्यानो घाम हो, जुन किन्नुपर्दैन, प्रकृतिले सित्तैमा दिएको छ । घामबाट भिटामिन ‘डी’ प्राप्त गर्नुभएमा शरीरमा त्यसको अभाव हुन सक्दैन । तर पनि कोरोना भैहालेमा यही भिटामिन चक्की दिने गरिन्छ । यसको साथमा अन्य भिटामिन, जिंक चक्की तथा लक्षणअनुरुप अन्य औषधि पनि दिने गरिन्छ । 

कोरोनाको खोप एउटा मात्र लगाउनु र दुईवटै लगाउनुमा के फरक छ डा. साब ? दुईवटै लगाउनु अनिवार्य हो कि होइन ? 

– रेशम पौडेल, नयाँबजार, काठमाडौं ।

रेशमजी, कोरोनाको खोपको बारेमा भन्नुपर्दा आजसम्म प्राप्त सूचना, ज्ञानअनुसार खोपको पूर्ण प्रभावकारिताका लागि दुईवटा नै खोप लगाउन जरुरी हुन्छ । यसको मतलब पाएसम्म भरसक दुवै डोज लगाउने अनि यसबाट प्राप्त हुने ९०–९५ प्रतिशत प्रभावकारिता हात पार्ने हो । तर यो सबै भैकन पनि हाम्रो देशमा ठूलो संख्यामा ज्येष्ठ नागरिकले भारतबाट प्राप्त खोपको दोस्रो डोज लगाउन नपाएको अवस्था छ । सरकारको अल्पदृष्टि अनि कमजोर कूटनीतिको सिकार ज्येष्ठ नागरिक हुन पुगेका छन् । तैपनि निराश हुनुहुँदैन । किनभने खोप नलगाउने भन्दा एउटा भए पनि डोज लगाउने केही हदसम्म सुरक्षित हुन्छन् । यसको प्रभावकारिता पनि करिब करिब ७० प्रतिशत हुन्छ । पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पाइएन भने पनि आकाश खस्ने होइन । मतलब कुनै खराब प्रभाव हुँदैन । फेरि पहिलो डोज लगाएको धेरै पछि अर्को डोज लगाउँदा पनि यसको प्रभावकारिता प्राप्त हुन्छ भन्ने कुरा आएकाले आशावादी बनौं, अर्को डोज पनि लिन पाइयोस् । 

कोलेस्ट्रोल बढ्दा मुटुलाई असर गर्छ भन्छन् । यसबाट बच्नका लागि व्यक्ति आफैँले केही गर्न सकिन्छ कि ? 

– सुमन क्षत्री, धुलिखेल, काभ्रे । 

सुमनजी, आजसम्म प्राप्त ज्ञानअनुसार रक्तसञ्चार गर्ने धमनीको अवरोध गर्ने पाप्राको कारण रगतमा उच्च कोलेस्ट्रोल हुने हो । तसर्थ कोलेस्ट्रोल बढी भएमा मुटुमा असर गर्छ भन्ने कुरा पानीजस्तै छर्लंग हुन्छ । यसबाट बच्नको लागि चिल्लो, भुटेको, तारेको खानेकुरा नखानुस् । घिउ–तेल कमभन्दा कम उपयोग गर्नुस् । त्यसमा पनि सकेसम्म र पाएसम्म प्राकृतिक तोरीको तेल, शुद्ध नखर्‍याएको घिउ नियन्त्रितरुपमा थोरै उपयोग गर्ने गर्नुस् । नियमित योग, व्यायाम, खेल, पौडीजस्ता क्रियाकलापमा लागेर स्वस्थ रहने प्रयास गर्नुस् । यी सबै कुरा जीवनशैली सुधार गर्ने तरिका वा उपाय हुन्, जुन हामी आफैंले गर्ने हो र आफ्नो स्वास्थ्यको जिम्मा आफैंले लिने हो ।

म ५१ वर्षको भएँ । शरीरको तौल चाहिनेभन्दा १५ केजी जति बढी छ । कसरी तौल घटाउने होला ? सुझाव पाए आभारी हुने थिएँ । 

– विशाल घिमिरे, चाबहिल, काठमाडौं । 

विशालजी, शरीरको तौल घटाउन सबभन्दा पहिलो तथा महत्वपूर्ण कुरा भनेको मन–मस्तिष्कदेखि नै ‘तौल जसरी पनि घटाउँछु’ भनेर गर्ने प्रण र चालिने उपायहरुप्रति नियमित हुनु हो । त्यसपछिको पाटो भनेको तौल घटाउने सिद्धान्तप्रति सुझबुझ र ज्ञान हुनु हो । जसअनुसार ऊर्जा वा शरीरले उपयोग गर्ने शक्तिप्रदायक खानाको खपतमा कटौती अनि त्यही ऊर्जाको विसर्जन वा प्रयोगमा बढोत्तरी गराउनुपर्ने हुन्छ । कार्बोहाइड्रेट तथा चिल्लोजन्य खानामा कटौती गरेर, व्यायाम गरेर, काम गरेर, खेलेर ऊर्जा विसर्जन गरी तौल घटाउने लक्ष्य पूरा गर्न सकिन्छ । त्यसको लागि सागसब्जी र फलफूल बढी खाने अनि भात, आलु, चिनीजस्ता पदार्थ एकदमै कम खाने गर्नुपर्छ । योग–ध्यान गर्ने, सकारात्मक सोच्ने अनि नियमितता दिएर जीवनशैली सुधार गर्ने गरेमा तौल आवश्यक मात्रामा घटाउन सकिन्छ । 

मेरो ओठ र जिब्रोमा बेला–बेला साना खटिराहरु आउँछन् । हप्ता–दश दिनमा हराउँछन् । उपचार गरेको छैन । यसको समाधान कसरी गर्न सकिएला ? सुझावका लागि अनुरोध छ । 

– विवेक सिं, कलंकी, काठमाडौं । 

विवेकजी, ओठमा अनि जिब्रोमा स–साना खटिरा आउने–जाने क्रिया पाचन प्रक्रियामा वा पेटमा गडबडी भएर वा भिटामिनको कमीले हुनसक्छ । उपचार नगरी ठीक भएकोमा चिन्ताको विषय खासै भएन । जिब्रो, मुख, ओठका समस्याहरु दन्त चिकित्सकले हेर्ने अनि उपचार गर्ने गर्छन् । त्यसैले एकपटक दन्त चिकित्सकलाई त्यस्ता खटिराहरु आएका बेलामा देखाउनुस् अथवा फिजिसियनलाई भए पनि देखाउनुस् । हाललाई भिटामिन ‘बी’ कम्प्लेक्स र जुकाको औषधि खाएर विचार गर्नुस् । समस्या समाधान नभएमा विशेषज्ञ डाक्टरलाई देखाएर उपचार गराउनुस् ।

मेरो उमेर ३८ वर्ष भयो, विवाह भएको छैन । यो उमेरमा विवाह गर्दा सन्तान जन्माउन जोखिम हुन्छ भन्छन् । विवाह गर्न दबाब पनि छ । उचित सल्लाहका लागि अनुरोध छ । 

– राधिका, लगनखेल, ललितपुर 

राधिकाजी, साधारणतया महिलाले पहिलो बच्चा जन्माउने उपयुक्त उमेर २५ वर्षको हाराहारी हो भने ३० वर्षसम्म पनि सुरक्षित नै जन्माउन सक्छन् । लाखौँमा एकाध घटना हेर्ने हो भने ४० वर्षपछि पनि बच्चा जन्मेका रेकर्ड छन् । त्यसर्थ तपाईंको उमेर अलि–अलि जोखिमयुक्त भए पनि असम्भव वा खराब प्रभाव हुन्छ नै भन्ने छैन । त्यसबाहेक बिहे गर्ने निर्णय गर्ने यहाँले हो । बच्चा जन्मने वा नजन्मने कुराभन्दा पनि एक्लो जीवनभन्दा संयुक्त जीवन, पारिवारिक जीवन, जीवनसाथीसँगको जीवन हुनु भन्ने कुरा महत्वपूर्ण हो । यसमा अरुको दबाब गौण हुन्छ । त्यसर्थ विवाह गर्न कहिल्यै ढिलो हुँदैन, मिल्दो 

जोडी पाएमा तुरुन्त लगनगाँठो कस्नुस् । घाटा/नोक्सानको कुरा केही हुँदैन ।

नेगेटिभ ग्रुपको रगत दुर्लभ हुन्छ । यस्तो ग्रुपको रगत हुनेले चोटपटक लाग्नबाट सावधानी अपनाउनुपर्छ भन्छन् । यसको मतलब के होला ? बुझाइदिनुभए  आभारी हुने थिएँ । 

– कालिका खड्का, चरिकोट, दोलखा । 

कालिकाजी, मानिसको रगत ग्रुप हेर्दा ‘ए’, ‘बी’, ‘ओ’, ‘एबी’ हुन्छन् भने यी सबै ९५–९६ प्रतिशत पोजिटिभ हुन्छन् । ४–५ प्रतिशत नेगेटिभ हुन्छन् । सबै ग्रुपमा पोजिटिभ र नेगेटिभको अनुपात उस्तै हो भने समुदायमा ग्रुपको बाहुल्यता हेर्दा, ‘ई’ ग्रुप सबभन्दा बढी भेटिन्छ । त्यसपछि ‘ए’, त्यसपछि ’बी’ र अन्तिममा ‘एबी’ भेटिन्छ । सावधानी सबैले अपनाउनुपर्छ तर पनि नेगेटिभ रगत ग्रुप दिन अनि लिन गाह्रो, समस्या र दुर्लभ हुन्छ । त्यसै कारणले बढी सावधानी हुनुपर्ने भनिएको होला । 

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्