खराब बानी यसरी सुधारौँ



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

ख राब बानीहरुको समग्र स्वरुप नै अस्वस्थकर जीवनशैली हो । यस्ता खराब बानीहरुलाई सुधार्न सके जीवनशैली सकारात्मक र स्वस्थ बन्दै जान्छ । कतिपय व्यक्तिहरुलाई जानकारीको अभावमा खराब कुराको बानी लागेको हुन्छ भने कतिपयलाई जानकारी भएर पनि लापरबाही गरेरै खराब कुराको बानी बस्दछ । जीवनशैलीलाई बिगार्ने खराब बानी अनगिन्ती छन् । खराब बानी र सुधार गर्ने सम्बन्धमा केही टिप्सहरु उल्लेख गरेको छु । 

अल्छी गर्ने र व्यायाम नगर्ने 

हामी प्रायः बिहान छिटो उठ्न आनाकानी गर्छौं र शारीरिक अभ्यास गर्न अल्छी मान्छौं । अल्छी भएकै कारणले योग गर्दैनौं । अथवा आफूले गर्ने गरेका व्यायाम, खेलकुद, प्रातः भ्रमण, पौडी, जिम, एरोबिक्स, जुम्बा, लोकनृत्य आदि पनि नियमित गर्दैनौं । आफ्ना शारीरिक, मानसिक काम वा अभ्यासहरु हामी आलस्यका कारण नियमितरुपले गर्दैनौँ । अल्छी बानीकै कारण हाम्रो शरीर र मनमा नराम्रो असर पर्दछ र हाम्रो जीवन पनि भताभुङ्ग, लथालिङ्ग हुन थाल्छ ।

यसरी सुधार्नुस्: आलस्यपन आइहाले पनि आफैंले आफूलाई प्रोत्साहित गर्नु आवश्यक छ । समयको सम्मान गर्नुपर्छ भन्ने भावना मनमा ल्याउनुपर्छ । मैले यो काम गर्नै पर्छ भन्ने भाव ल्याएर मनदेखि नै प्रतिज्ञा र संकल्प गर्नु आवश्यक छ । अलार्म वा कसैको सहयोगले आफूलाई बिहानै उठाउन बाध्य पार्ने, कुनै एक शारीरिक अभ्यासमा रुचि नभएमा अर्को प्रकारको अभ्यास जारी राख्नुहोस् । 

अल्छी लागेको बेला संगीत बजाएर गर्ने खालका नृत्य वा व्यायामहरु गर्दा आलस्यपन क्रमशः घट्छ । यदि व्यायाम गर्न मन लागेन भने करिब दश हजार पाइला हिँड्नुहोस् । त्यसमा भर्‍याङ चढ्ने, ओर्लिने आदिलाई पनि समावेश गर्नुहोस् । नुहाउने पनि राम्रो व्यायाम हो । अल्छी लाग्दा शरीरभरि सेल्फ मसाज गर्ने, थप्थपाउने, सुतेरै भए पनि हातगोडा चलाउने लगायत बसेर, उत्तानो एवं घोप्टो परेर गर्ने आसनहरु अभ्यास गर्नुहोस् । बिहान आलस्यता वा अरु कारणले शारीरिक अभ्यास छुटेमा दिनभरि कुनै न कुनै शारीरिक सक्रियता बढाउनुस् । कहिले जोशिएर धेरै अभ्यास गर्ने तर कहिले गर्दै नगर्ने पनि नगर्नुहोस् । बरु थोरै भए पनि दिनहुँ ठीक किसिमले अभ्यास गरौं ।

यदि व्यायाम गर्न मन लागेन भने करिब दश हजार पाइला हिँड्नुहोस् । त्यसमा भर्‍याङ चढ्ने, ओर्लिने आदिलाई पनि समावेश गर्नुहोस् ।

बढी खाइरहने बानी 

अस्वस्थ जीवनशैलीको सबैभन्दा नराम्रो पक्षमध्ये बढी खाइरहने बानी पनि एक हो । शरीरको आवश्यकताभन्दा धेरै खाने, अत्यधिक तारेभुटेका वा घिउतेलयुक्त वा फास्टफुड जस्तै– बर्गर, पिज्जाजस्ता बढी क्यालोरीयुक्त बोझिलो खाना प्रायः प्रयोग गर्ने बानी निकै घातक साबित हुन्छ । त्यसमा पनि रोग भएका व्यक्तिहरुले रोगविरुद्धका खानपान गरिएको भए रोग बिग्रने वा जोखिमको अवस्था सृजना हुने हुन्छ । बढी खाने बानीले मोटोपना, उच्च रक्तचाप, हृदयरोग, लिपिड प्रोफाइलको गडबडी, मधुमेह, हाडजोर्नी, नसारोगलगायत अनेक समस्याहरु आउने हुन्छ । 

सुधार्ने तरिका: घरबाहिरको खानपानको आशक्ति घटाउनुहोस् । घरमै प्राकृतिक खानपानको प्रयोग गर्नुहोस् । यदि खानै मन लागेमा सानो हिस्सा कहिलेकाहीँ मात्र प्रयोग गर्नुहोस् । २४ घण्टामा खानाबाट कति क्यालोरी प्रयोग गरेको छु र कति खपत भएको छ भन्ने हेक्का राख्नुहोस्, हिसाब गरी क्यालोरीको प्रयोगभन्दा खपतलाई बढी गर्ने उपाय गर्नुहोस् । भोजभतेर वा घर–होटलमा खाना नियन्त्रण गर्न नसक्ने बानी छ भने कम क्यालोरीयुक्त कुराहरु जस्तै– सलादको प्रयोग पहिले गर्नुहोस् वा खानुभन्दा तुरुन्तै अघि दुई–तीन गिलास पानी पिउनुस् ता कि खानै खान नसकियोस् । 

धेरै भोक लाग्न नदिन पानी, सलाद, रसिलो फलफूलको प्रयोग गर्नुहोस् । काम, व्यायाम वा श्रमअनुसार ठीक मात्रामा खानुपर्छ । यदि पहिल्यै मोटो शरीर छ भने त चाहिनेभन्दा घटी मात्रामा ऊर्जा प्राप्त हुने गरी खानपान गर्नुपर्छ । रोग हुनेले समस्याअनुसारको खानाबारे चिकित्सकलाई डाइट चार्ट बनाउन लगाएर सोही अनुरुप खानपान गर्नुपर्छ । खाना बार्न नसक्नेले प्राकृतिक चिकित्सकको निर्देशनमा शोधन क्रियाहरुको साथमा छोटो, लामो विभिन्न प्रकारको उपवासको प्रयोग गर्नुपर्छ । 

दुव्र्यसन गर्ने बानी 

पानपराग, पानमसला, चुरोट, खैनी आदि दैनिक प्रयोग गर्ने व्यक्तिहरु पछि क्यान्सर, दम–खोकी, क्षयरोग, हृदयरोग आदिका समस्याहरुको सिकार हुने निश्चित छ । त्यसैले अस्वस्थ जीवनशैलीका यस्ता कारक तत्वहरुलाई समयमै त्याग्नुपर्दछ । आजकल यस्ता साधनको प्रयोग गर्नेहरुलाई असभ्य नागरिकको रुपमा हेरिन्छ । 

यसरी नै रक्सी, बियर, जाँड, छ्र्याङ, वाइन पनि हानिकारक हुन्छन् । यस्ता कुराहरुको कहिलेकाहीँ प्रयोग गर्ने गर्दा यसको बानी पर्छ र दिनहुँ प्रयोगको लत लाग्ने हुन्छ । अत्यधिक प्रयोगले असामाजिक हुने, झैझगडा गर्ने वा अमर्यादित कार्यहरु गर्ने हुँदा त्यसबाट व्यक्तित्व पतन हुने, विश्वास गुम्ने, आफ्नो र परिवारकै बेइज्जत हुने हुन्छ । त्यसैले मद्यपानको बानी कदापि गर्नुहुँदैन । यदि कहिलेकाहीँ प्रयोग गर्नै परे अति नै संयमित भएर नलाग्ने गरी सीमित मात्रामा प्रयोग गर्नुपर्दछ । चिया र कफीको प्रयोग पनि दिनको एक–दुई कपमा सीमित गर्नुपर्छ । चिया–कफीको अत्यधिक प्रयोगले पनि अनेक शारीरिक तथा मानसिक रोगहरु लाग्छन् । 

लत हटाउने उपाय: दिनहुँ चुरोट, पानमसला, गुट्खा, खैनी आदि प्रयोग गर्ने बानी हटाउन त्यसको विकल्प चयन गर्नुपर्दछ । उदाहरणको लागि यस्ता दुव्र्यसन गर्ने बानी छ भने त्यसको सट्टा सौंफ, सुकुमेल, ल्वाङ, दालचिनी आदिको प्रयोग गरेर दैनिक एक–दुईपटक भए पनि मात्रा घट्छ र क्रमिक रुपले प्रयोगको लत घट्छ । 

मद्यपानको बानी हटाउन पनि त्यसको विकल्पका रुपमा यस्ता साधन तथा फलको रस, ग्रीन टी, तुलसी चिया, कागती–पानीको प्रयोग गर्ने, क्रमिकरुपमा मात्रा र प्रयोग गर्ने दिन कम गर्दै जाने, संगत हटाउने, मद्यपानलगायत अन्य दुव्र्यसनको कडा लत हटाउन विज्ञको काउन्सिलिङ र मनोपचारको आवश्यकता पर्छ । योग (शोधनक्रिया, आसन, प्राणायाम, ध्यान आदि), प्राकृतिक चिकित्सालगायत मनोपचारका विधिहरुले पनि दुव्र्यसन हटाउन मद्दत गर्छ । 

चिया–कफीको लत घटाउन पानी पिउने बानी गर्ने, वैकल्पिक पेयको प्रयोग गर्ने, कडा चिया–कफीको सट्टा हल्का मात्रा, सानो कपको प्रयोग, चिनी नराख्ने वा कम राख्नेजस्ता नियमहरुको पालना गर्नुपर्दछ । निर्विषीकरणका उपायहरु अपनाएमा यस्ता हानिकारक तत्वहरुको शारीरिक, मानसिक असरहरु घट्छन् । 

इलेक्ट्रोनिक डिभाइसहरुको अधिक प्रयोग 

मोबाइल, टीभी, ल्यापटप, कम्प्युटर आदिजस्ता विभिन्न प्रकारका इलेक्ट्रोनिक डिभाइसहरुको अत्यधिक प्रयोग गर्ने बानीले पनि जीवनशैलीलाई अस्तव्यस्त पारिरहेको छ । खानपान, पारिवारिक मेलमिलाप, सृजनशीलता, शारीरिक अभ्यास, सुत्ने बानी, समय आदि अनेक क्रियाकलापहरुलाई यस्ता साधनहरुले नकारात्मक प्रभाव पारिरहेको छ । उत्पादनमूलक कार्यमा प्रयोग गरेकै भए पनि अत्यधिक प्रयोगले अनेक समस्याहरु उत्पन्न गर्दछ । मोबाइलको बढी प्रयोग गर्दा यसबाट निस्कने विकरणले हानि गर्न सक्छ र अनिद्रा, मस्तिष्कको ट्युमर तथा क्यान्सर, मस्तिष्कको गतिविधिमा गडबडीलगायत अन्य कुराहरुमा असर पर्ने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन् । 

उचित प्रयोग गर्ने तरिका: मोबाइलको प्रयोग कम वा निश्चित समयसम्म गरौं । सामाजिक सञ्जालहरुमा घन्टौंसम्म समय बर्बाद नगरौं । सही समय, शरीरको सही स्थिति, आँखाको सुरक्षा, ढाडको सही स्थिति आदिबारे ध्यान दिनुपर्छ । मनोरञ्जन, भान्छा, सञ्चार तथा सूचना आदिका लागि प्रयोग गरिने यस्ता डिभाइसहरु सृजनशीलता, स्वास्थ्य प्रवद्र्धन तथा जीवनशैलीको व्यवस्थापन आदिका लागि प्रयोग गर्न सकिन्छ । युटुबका माध्यमबाट हामी योग, व्यायाम आदि सिकेर अभ्यास गर्न सक्छौं, संगीत सुनेर आनन्द लिन सक्छौं, ज्ञानविज्ञानका कुराहरु जान्न–बुझ्न सक्छौं ।

अस्वस्थकर खानपान 

अप्राकृतिक, अस्वस्थकर र असन्तुलित खानपानले रोग उत्पन्न गर्दछ । बढी चिनी, नून, मैदा आदिलाई सेतो विष मानिन्छ, जसको प्रयोग कम गर्नुपर्दछ । तामसिक खानपानले शरीर र मनलाई विकृत बनाउँछ । 

सन्तुलित बनाउने उपाय: अप्रशोधित, अर्गानिक, मिसावट नभएको, सात्विक खानपान गर्नुपर्छ । यसका साथै कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, खनिज, भिटामिन, रेसा र पानी मिसिएको खानपान गर्नुपर्छ । सलाद, हरियो तरकारी, फलफूलको मात्रा बढाउनुपर्छ ।

नकारात्मकता र हिंसा 

नकारात्मक सोच, झुटो बोल्ने बानी, मन, बचन र कर्मबाट हिंसा अपनाउने आदि क्रियाकलापबाट मानसिक एवं शरीरमा पनि रोग लाग्न सक्छ । यसबाट अनेक समस्या जन्मन्छन् । अरुप्रति गरिने नकारात्मक व्यवहारले आफैंलाई नै हानि गरिरहेको हुन्छ ।

सकारात्मक हुने उपाय: हरेक कुरालाई सकारात्मकरुपले विचार गर्ने, सकारात्मकताको ध्यान गर्ने, सत्य बोल्ने र गलत कामहरु नगर्ने, हरपल खुशी रहन प्रयास गर्ने, आफूभित्रै खुशी खोज्ने, सन्तुष्ट रहने, प्रशन्न र शान्त हुने, योगको अभ्यासहरु गर्ने गर्दा लाभ मिल्दछ । कहिलेकाहीँँ आफैं सकारात्मक हुन गाह्रो हुन्छ । तनाव, चिन्ता, डिप्रेसन आदि मानसिक समस्याहरु भएमा मनोपरामर्श तथा अरु उपचारहरु पनि गराउनुपर्ने हुन्छ । 

हाम्रा आनिबानीहरु खोतल्दै जाने हो भने आफूलाई अनगिन्ती खराब बानीहरु पाउन सक्छौं । त्यस्ता बानीहरुले कतिपय व्यक्तिहरु दुःखी पनि हुन्छन् र आफूलाई दोषी देख्छन् । स–साना गल्तीहरुलाई सुधार्ने हो भने समस्या बढ्न पाउँदैन । जीवनका नराम्रा बानी सुधारेर आफूलाई सही मार्गमा लैजानु नै स्वस्थ जीवनशैलीको रुपान्तरण गर्नु हो, यसलाई सदैव मनन गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्