गर्भावस्थामा हुने असामान्य रक्तश्राव



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)

गर्भावस्थाको क्रममा शुक्रकीटले डिम्बलाई निषेचित गरेको केही दिनपछि निषेचित डिम्ब पाठेघरमा आई बस्दा हल्का रगत देखिनु स्वाभाविक हो । तर गर्भावस्थामा अन्य कुनै बेलामा रगत देखा पर्नु राम्रो मानिदैन । त्यसो त गर्भावस्थाको शुरुवातीतिर रगत देखा पर्नाको कारण र गर्भावस्थाको मध्य वा अन्त्यतिर रगत देखा पर्नाको कारण भने फरक हुनसक्छ । 

गर्भावस्थाको शुरुवातीतिर गर्भपतन भएर, नलीमा रहेको गर्भ फुटेर वा मोलर खालको असामान्य (अंगुरको दानाजस्तो) गर्भ रहेर रक्तश्राव हुन्छ भने गर्भावस्थाको मध्य वा अन्त्यतिर साल गलत ठाउँमा बसेर वा सुत्केरीपूर्व साल छुट्टिएर असामान्य रक्तश्राव हुनसक्छ । यसरी गर्भावस्थाको कुन महिनातिर रक्तश्राव भएको हो त्यसकै आधारमा यसको कारण अनुमान लगाई वा निदान गरी सोही मुताबिक व्यवस्थापन गरिन्छ ।

गर्भवती बेलाको दोस्रो चरणतिर साल गलत ठाउँमा बस्नाले तथा सुत्केरीपूर्व साल छुट्नाले अधिक रक्तश्राव हुनसक्छ ।

केही समयअघि नियमित वार्ड राउन्ड लिने क्रममा प्रसूतिपूर्व कक्षमा छिर्नै लाग्दा ड्युटीमा रहेका जुनियर डाक्टरहरु हस्याङफस्याङ गर्दै एउटी सुत्केरी व्यथा लागेकी महिलालाई ट्रलीमा राख्दै अपरेसन कक्षमा सार्न हतारिँदै थिएँ । कारण बुझ्दा साल पाठेघरको मुखतिर बसेको आशंका गरिएको, पाठेघरको मुख पनि खासै नखुलेको र गर्भेशिशुको मुटुको चालमा पनि गडबडी आउन थालेको कारण यथाशीघ्र सिजेरियन अपरेसन गरी डेलिभरी गर्ने निर्णय गरिएको जवाफ दिए । 

करिब एक घण्टापछि अपरेसनपश्चात् आमा र नवजात शिशु दुवै स्वस्थ रहेको थाहा पाएँ । साथै साल पनि छुट्टिएको प्रमाण भेटिएको जानकारी पाएँ । गर्भावस्थामा साल असामान्य तवरले पाठेघरको तल्लो भाग वा मुखतिर बसेको खण्डमा सुत्केरी व्यथा लाग्न थालेदेखि साल छुट्टिएर रगत बग्ने समस्या आउँछ । यस केसमा पनि शायद यस्तै भयो, धन्न समयमै उचित निर्णय लिएका कारण आमा र बच्चा दुवैको राम्रो भयो । 

गर्भावस्थाको १३ देखि २८ हप्तासम्मको अवधिलाई मध्यत्रैमासिक र गर्भावस्थाको २९ हप्तादेखि ४० हप्तासम्मको अवधिलाई तेस्रो त्रैमासिक मानिन्छ । गर्भावस्थाका अन्य त्रैमासिकमा भन्दा तेस्रो त्रैमासिकदेखि सुत्केरी व्यथा लाग्नुअगाडिसम्म पृथक खालका समस्याहरु आउन सक्छन् । बच्चा उल्टो वा गलत तरिकाले बस्नु, सुत्केरी व्यथापूर्व पानी फुट्ने समस्या, महिना नपुग्दै व्यथा लाग्ने समस्या, गर्भावस्था लम्बिने समस्याजस्तै प्रसूति सेवामा एकाधपटक आइपर्ने समस्या हो– गर्भावस्थाको मध्य वा अन्त्यतिर रक्तश्राव हुने समस्या । 

रगत बग्नाका कारण 

गर्भवती बेलाको दोस्रो चरणतिर साल गलत ठाउँमा बस्नाले तथा सुत्केरीपूर्व साल छुट्नाले अधिक रक्तश्राव हुनसक्छ । साल कहाँ बसेको छ भन्ने कुरा भिडियो एक्सरे (अल्ट्रासाउन्ड) बाट थाहा पाउन सकिन्छ । गर्भावस्थाको दोस्रो त्रैमासिकमा कथंकदाचित साल पाठेघरमा ठीक ठाउँमा बसेको छैन वा पाठेघरको तल्लो भाग र मुखतिर आई बसेको छ भने रगत बग्न सक्छ । यसरी साल बेठीक ठाउँमा रही रक्तश्राव हँुदा पहिलोचोटि थोरै मात्रामा भए पनि पछि अत्यधिक मात्रामा हुनसक्छ । साल गलत ठाउँमा रहेको थाहा पाउनेबित्तिकै नियमित अन्तरालमा भिडियो एक्सरे दोहोर्‍याइरहनुपर्दछ । त्यसै गरी तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भवती जाँच गराउनु बुद्धिमानी हुन्छ । गर्भवती महिलाको रक्तसमूहअनुसारको ३–४ पोका रगतको सञ्चय गरिराख्नुपर्दछ । साल बेठीक ठाउँमा रहेका महिलाले अनुभवी स्वास्थ्यकर्मीको निगरानीमै सुत्केरी गराउनुपर्दछ ।

यसै गरी व्यथा लाग्नु ठीक अगाडि वा लाग्नेबित्तिकै अत्यधिक रक्तश्राव हुनुको कारणचाहिँ बच्चा जन्मिनुअगाडि नै पाठेघरबाट साल छुट्नाले हो । गर्भावस्थामा उच्च रक्तचाप हुँदा, पेटमा चोट पुग्दा, पाठेघरमा पानी धेरै हुँदा, जुम्ल्याहा बच्चा हँुदा यस्तो परिस्थिति आउन सक्छ । यस्तो अवस्थामा धेरैजसोलाई सिजेरियन अपरेसन गरेर बच्चा निकाल्नुपर्ने अवस्था आउने हुनाले अस्पतालमै सुत्केरी गराउनुपर्दछ ।

सुत्केरी व्यथाका बेला बच्चा जन्मिसकेपछि सालनाल र अन्य झिल्ली पाठेघरबाट छुट्टिने एवं निस्कने क्रममा थोरै रगत बग्न सक्छ । तर सुत्केरीपश्चात् पाठेघर राम्ररी नखुम्चिएमा, पाठेघरभित्र सालका टुक्रा वा झिल्ली बाँकी रहेमा, सालनाल छुट्टिनुअगाडि बल गरी तानेमा अत्यधिक रक्तश्राव हुनसक्छ । यसको अलावा योनिद्वारको भित्ता, पाठेघरको मुख वा योनिद्वार च्यातिएमा, सुत्केरी महिलामा रगत जम्ने खराबी भएमा, रक्तअल्पता भएमा, पाठेघर वा योनिमार्गमा कहीँ संक्रमण भएमा पनि बढी रक्तश्राव हुनसक्छ । यी कारणहरुअनुसार नै कारक तत्वको उपचारका साथै सलाइन पानी र रगतको जरुरत पर्न सक्छ ।

गर्भ तुहिने समस्या 

नियमितरुपमा भइरहनुपर्ने महिनावारी रोकिनुलाई गर्भाधान हुनुको प्रमुख लक्षणका रुपमा लिइन्छ । गर्भ आएपछि महिनावारी रोकिने प्रक्रिया सुत्केरीपछिको केही महिनासम्म जारी रहन्छ । तर कसै–कसैमा गर्भाधानको क्रममा शुक्रकीट र डिम्बको मिलनपछिको निषेचित डिम्ब पाठेघरमा बस्ने क्रममा हल्का रातोपनजस्तो रक्तश्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिदैन । 

विशेषतः २८ हप्ताअगाडि वा पछाडि गरी गर्भावस्थामा रगत बग्ने कारण फरक–फरक हुन्छ । विकासोन्मुख देशहरुमा गर्भावस्थाको २८ हप्तासम्ममा (विकसित देशहरुमा २० हप्ता) पाठेघरभित्रको भ्रूण (गर्भे शिशु) तथा अन्य वस्तुहरु पाठेघरको मुख हुँदै बाहिर आउने प्रक्रियालाई गर्भ तुहिएको रुपमा लिइन्छ ।

डिम्ब वा शुक्रकीटमा वंशाणुगत समस्या भएमा, पाठेघरमा भ्रूण बस्ने वातावरण अनुकूल नभएमा, पाठेघरमा मासु बढेमा, जननेन्द्रिय भित्र विषाणुजन्य संक्रमण भएमा, गर्भावस्थाको शुरुतिर अधिक ज्वरो आउने कुनै संक्रमण भएमा गर्भावस्थाको पहिलो त्रैमासिकभित्र योनिमार्गबाट अत्यधिक रगत बग्ने (गर्भ तुहिने) हुनसक्छ । यसै गरी पाठेघरबाहिर डिम्बवाहिनी नली वा अन्य भागमा गर्भ रहँदा पनि कुनै बेला अत्यधिक रक्तश्राव हुनसक्छ । यस्तै सग्लो गर्भको ठाउँमा अंगुरको दानाजस्तै बन्ने खालको मोलर गर्भ रहँदा पनि गर्भावस्थाको शुरुतिर वा मध्यतिर असामान्य रक्तश्राव हुनसक्छ ।

सारांशमा, गर्भावस्थामा रगत बग्ने समस्यालाई हल्का तवरले लिनुहुँदैन । सम्बन्धित चिकित्सकसँग परामर्श लिई आवश्यक जाँचपड्ताल गराउनु बुद्धिमानी हुन्छ । समयमै आवश्यक उपचार गराएको खण्डमा आमा र बच्चा दुवैका स्वास्थ्य राम्रो हुन्छ । 

प्रतिक्रिया दिनुहोस्