यसरी बन्छ हर्बल मच्छड–धूप



– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

स न् २०१२ मा मात्र विश्वभरमा २ अर्ब ७० लाख मलेरियाका रोगी भेटिएका थिए, जसमध्ये ६ लाख २७ हजारको मृत्यु भएको थियो । यस तथ्यांकले लामखुट्टे मानव स्वास्थ्यका लागि खतरनाक कीरा हो भन्ने देखाउँछ । 

चिसोभन्दा गर्मी देशहरुमा यस कीराको प्रकोप बढी हुने गर्दछ । मलेरिया आदि रोगबाट बच्न र जनचेतना जगाउन विश्वका धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु निरन्तर लागिपरेका छन् । यसैका लागि बर्सेनि ठूलो धनराशी खर्च भइरहेको छ । यसकारणले लामखुट्टे नियन्त्रण विश्वभर जनस्वास्थ्यको सरोकारको विषय हो । लामखुट्टेका कारण लाग्ने रोगबाट बच्ने भनेको यसको सर्ने माध्यमलाई छेक्नु वा लाखुट्टेलाई नै मार्नु हो । 

मच्छड अर्थात् लामखुट्टे उड्ने र मानिसको रगत चुस्ने कीरा हो । जीव विज्ञानअनुसार लामखुट्टे मेरुदण्ड नहुने जनावरहरुको अर्थोपोडा फाइलम समूहको जीव हो । लामखुट्टे प्रायः ओसिलो स्थान, झाडी, पानी जमेको स्थान आदिमा बस्ने गर्दछ, जहाँ धेरै संख्यामा प्रजनन पनि गर्दछ । लामखुट्टेले मलेरिया, डेंगु, चिकनगुनिया, येल्लो फिभर, जापानिज इन्सेफ्लाइटिस आदि धेरै गम्भीर खालका रोगहरु बोक्ने तथा सार्ने भएकोले यसको टोकाइबाट बच्नुपर्छ । आफू बसेको स्थानमा लामखुट्टे आउन दिनुहुँदैन । यसका लागि अनेक खालका साधनहरु एवं धूपहरुको प्रयोग गर्ने गरिएको छ ।

भनिन्छ, लामखुट्टे भगाउने बजारमा उपलब्ध एउटा क्वाइलको धुवाँले १ सय बट्टा चुरोट बराबरको हानि गर्दछ ।

मानिसको शरीरमा हुने पसिनाको ग्रन्थिमा रहेको कार्बनडाइअक्साइड तथा ल्याक्टिक एसिडको गन्धले लामखुट्टेलाई शरीरतिर आकर्षित गर्दछ । बजारमा लामखुट्टेको टोकाइबाट बच्ने विभिन्न खालका साधनहरु उपलब्ध छन् । केही छालामा लगाइन्छ त केही कपडामा । केही हावामा छर्किइन्छ त केही उनीहरुको स्रोतको विनाश गर्न प्रयोग गरिन्छ । विशेष त बजारमा पाइने धूपहरुले लामखुट्टेलाई मन नपर्ने गन्ध निकाल्छन्, जसले गर्दा लामखुट्टेहरु त्यस स्थानबाट अन्यत्र भाग्छन् वा त्यस्ता धूपले मान्छेको शरीरबाट निस्कने स्वाभाविक गन्धलाई ढाक्ने हुन्छ । फलतः लामखुट्टे मान्छेसम्म पुग्न सक्दैन र टोक्न पाउँदैन । केही रासायनिक धूपको गन्धले लामखुट्टेलाई लठ्ठ बनाएर पनि मान्छेलाई टोक्नबाट रोक्दछ । 

उपलब्ध लामखुट्टे भगाउने रासायनिक साधनहरु गुड नाइट झोल, अल आउट झोल, नाइट क्विन झोल, गुड नाइट क्वाइल, ओडोमस क्रिम÷जेल, ओडोमस लोसन, गुडनाइट क्रिम, लामखुट्टे भगाउने अगरबत्ती आदिको दीर्घकालीन प्रयोगले मानव स्वास्थ्यमा गम्भीर खालका समस्या निम्त्याइरहेको हुन्छ । यस्ता रासायनिक साधनले छालारोग हुने, वाकवाक लाग्ने, आँखा पोल्ने, स्वासप्रश्वाससम्बन्धी रोग हुने, चिडचिडाहट हुने, टाउको दुख्ने आदि समस्या निम्त्याउँछ । 

बजारमा उपलब्ध लामखुट्टे भगाउने रासायनिक झोल, क्वाइल र अगरबत्तीमा डी–इथिलिन, फोसफिन र मेल्फाक्विनिन नामक हानिकारक रसायन मिसाइएको हुन्छ । युरोप र अमेरिकामा यी रसायनहरुको प्रयोग ३० वर्षपहिलेबाटै निषेध गरिएको छ । भनिन्छ, लामखुट्टे भगाउने बजारमा उपलब्ध एउटा क्वाइलको धुवाँले १ सय बट्टा चुरोट बराबरको हानि गर्दछ । 

रासायनिक साधनहरु हानिकारक हुने भएको हुँदा सरोकारवालाहरुले त्यसको सहज विकल्पको खोजी गरिरहेका छन् । त्यस दिशामा भएका विभिन्न वैकल्पिक अध्ययनले जडीबुटीले बनेका त्यस प्रकारका साधनहरु रासायनिक साधनहरुभन्दा उत्तम एवं प्रभावकारी हुने देखाएको छ । पछिल्ला अनुसन्धानहरुका अनुसार सिट्रोनेलाको पात, निलगिरी, लेमनग्रास, तुलसी पात, ल्वाङ, बेसार, कागतीको बोक्रा, नीमको पात, लसुन, अजवाइन, पुदिना, दालचिनीको बोक्रा, कपुर, अरेण्डको तेल आदिबाट हर्बल धूप निर्माण गर्न सकिन्छ । माथि उल्लिखित अधिकांश घटकहरुमा उड्डयनशील तेल हुने गर्दछ, जसले लामखुट्टे भगाउन प्रमुखरुपमा कार्य गर्ने गर्दछ । 

भारतमा गुड नाइट बनाउने कम्पनीले नै हर्बल गुड नाइट पनि निर्माण गरेको छ । त्यस्तै मुक्ता ल्याब्रोट्रिजले पनि क्याचे मस्क्युटो इन्स्टा नामक हर्बल झोल निमार्ण गरेको छ तर त्यसको उपलब्धता सबैतिर हुन सकेको छैन । यसै गरी विभिन्न जडीबुटी मिसाएर हर्बल धूप बनाउने काम धेरै स्थानमा स–सानो स्केलमा भइरहेको पाइएको छ । यसरी जडीबुटीबाट बनेका लामुखुट्टे भगाउने धूप प्रभावकारी, सस्तो र हानिरहित हुन्छ । 

कसरी बन्छ हर्बल धूप ? 

लामखुट्टे भगाउने हर्बल साधनहरु बनाउन सजिलो छ । रासायनिक साधनहरुमा रसायन घटकको सट्टा माथि उल्लिखित प्राकृतिक घटक सामग्रीहरुको सम्यक् समिश्रणबाट हर्बल साधनहरु सहजै बनाउन सकिन्छ । जडीबुटीजन्य वनस्पतिहरुकै प्रयोगबाट झोल, क्रिम, धूप आदि सबै खाले साधनहरु निमार्ण गर्न सकिन्छ । यसरी निर्मित साधनहरुको स्ट्याब्लिटीका लागि हानिरहित इथ्यानोल (खाने रक्सी) आदिको झोल मिसाउने गरिन्छ । 

घटक सामग्रीहरुको उचित मात्रा तौल गरी त्यसलाई डिस्टिलेसन गरेर त्यसभित्रको अपेक्षित तत्व झोल स्वरुपमा निकालिन्छ । उक्त झोलमा कीरा नपरोस् भनेर त्यसमा केही प्रिजर्भेटिव राखिन्छ । त्यसपछि त्यस झोललाई गुड नाइट वा अल आउट झोलको बट्टाभित्रै पनि रिफिल गरेर प्रयोग गर्न सकिन्छ । त्यस्तै उपलब्ध र उपयोगी वनस्पतिलाई मिश्रण गरी त्यसमा इथ्यानोल वा मट्टीतेल मिसाएर जेल वा क्रिम तथा सुकाएर क्वाइल वा म्याट तयार गर्न सकिन्छ । 

यसरी बनाइने साधनहरुमा माथि उल्लिखित सबै घटक अनिवार्यरुपमै हाल्नुपर्छ भन्ने हुँदैन । ती मध्ये आफ्नो सेरोफेरोमा उपलब्ध ३ देखि ५ वटा जडीबुटी मिसाएर मात्र पनि धूप बनाउन सकिन्छ । 

हर्बल साधनहरुमा के–के घटक राख्ने वा कसरी बनाउने भन्ने विषयमा धेरै अनुसन्धानहरु भएका छन् । ती अनुसन्धानहरुका परिणामले हर्बल साधनहरु प्रभावकारी पनि हुन्छन् भन्ने निष्कर्ष दिएका छन् । विभिन्न अनुसन्धान रिपोर्टअनुसार वानस्पतिक घटकहरुको सम्यक समिश्रण एवं योग गरेर ठूलो परिमाण एवं व्यापारिक दृष्टिले लामखुट्टे भगाउने साधनहरु उत्पादन गर्न सकेमा त्यसले विश्वव्यापीरुपमा ठूलो परिमाणमा जनस्वास्थ्यको क्षतिलाई जोगाउन सकिन्थ्यो । साथै रासायनिक साधनहरुको प्रयोगबाट हुने गरेको दीर्घकालीन समस्याबाट सहजै बच्न सकिन्थ्यो । जनस्वास्थ्यका हिसाबले संवेदनशील समूह बच्चाहरुको स्वास्थ्यलाई पनि प्रत्यक्षरुपमा जोगाउन सकिन्थ्यो । 

यस वैकल्पिक विषयमा समयमै सबैले सबैतिरबाट अध्ययन, प्रयोग एवं जनचेतना जगाउन सके लामखुट्टेको टोकाइबाट बच्न प्रयोग भइरहेको रासायनिक साधनहरुको दुस्प्रभावबाट लाखौंलाख व्यक्तिलाई सहजै बचाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्