यौन जीवनमा प्रभाव पार्ने कलेजो रोग



– डा. राजेन्द्र भद्रा

म ३० वर्षकी भएँ । श्रीमान् ३२ वर्षको हुनुहुन्छ । मेरो श्रीमान्लाई केही समयपहिले जन्डिस भएको थियो । जचाउँदा हेपाटाइटिस भएको भन्नुभयो । अहिले यो ठीक भएको छ । मेरा केही साथीले जन्डिस पनि यौनसम्पर्कको माध्यमबाट सर्छ भनेको सुनेँ । यदि यो सत्य हो भने सर्न नदिन के उपाय गर्न सकिएला ? जानकारी पाए आभारी हुने थिएँ ।

– लीला कुमारी 

कलेजोको शोथ

हामीले बोलिचालीमा भन्ने गरेको जन्डिस वा कमलपित्त विभिन्न कारणले हुनसक्छ । यसको एक प्रमुख कारण भने कलेजोको शोथ हो । कलेजो एक महत्वपूर्ण अङ्ग हो । यसले पोषक तत्वसम्बन्धी कार्य, रगत सफा गर्ने, संक्रमणसँग लड्नेजस्ता महत्वपूर्ण काम गर्दछ । कलेजोको शोथ (inflammation) हुनुलाई अंग्रेजीमा हेपाटाइटिस (hepatitis) भन्ने गरिन्छ । 

विभिन्न किसिमको संक्रमणकारी विषाणु तथा अन्य वस्तु जस्तै कि विषालु पदार्थ, औषधिजस्ता अनेक कुराले कलेजोको शोथ गराउने वा कलेजोमा हानि पुर्‍याउने हुनसक्छ । कलेजोको शोथ भएर कमलपित्त (जन्डिस) भएको कुरा त पक्कै सुनेका छौं । 

हेपाटाइटिस गराउने विषाणुहरूका केही प्रमुख प्रकारलाई हेपाटाइटिस ‘ए’ भाइरस (HAV), हेपाटाइटिस ‘बी’ भाइरस (HBV), हेपाटाइटिस ‘सी’ भाइरस (HCV), हेपाटाइटिस ‘डी’ भाइरस (HDV) र हेपाटाइटिस ‘ई’ भाइरस (HEV) भनेर चिन्ने गरिन्छ । यी देखि अन्य केही विषाणुले पनि हेपाटाइटिस गराउँछन् । यी सबैले नै कलेजोमा शोथ गराउने भए पनि यी कसरी सर्दछन् तथा कस्तो किसिमको असर गर्दछन् भन्ने कुरामा भने भिन्नता छ । विशेष गरी हेपाटाइटिस ‘बी’ तथा ‘सी’ ले कलेजोको दीर्घकालीन रोग गराउँछन् । यी नै कलेजोको सिरोसिस (cirrhosis), क्यान्सर गराउने प्रमुख कारण हुन् । साथै विषाणुको कारणले हुने हेपाटाइटिससम्बन्धी मानवमृत्युको कारण हो । विशेष गरेर हेपाटाइटिस ‘डी’ भाइरसको संक्रमण हेपाटाइटिस ‘बी’ भाइरस भएको व्यक्तिलाई हुने देखिन्छ । 

कलेजोमा संक्रमण र यौन जीवन 

सामान्यतया हामीले कलेजो शोथ वा संक्रमणलाई यौन क्रियाकलाप वा यौन जीवनसँग पनि सम्बन्धित होला भन्ने सोच्ने गर्दैनौं । आज हामी यस पक्षको बारेमा चर्चा गर्ने छौं । 

यसको लागि मुख्य त कलेजोको शोथ वा संक्रमण गर्ने विषाणु कसरी सर्दछन् भन्ने कुरा हेर्नुपर्दछ । हेपाटाइटिस ‘बी’ भाइरस यौनसम्पर्कको माध्यमबाट सर्ने गर्दछ र एचआईभीसँग तुलना गर्दा यो हेपाटाइटिस एचआईभीभन्दा ५० देखि १०० गुणा बढी यौनसम्पर्कको माध्यमवाट सर्न सक्छ । हेपाटाइटिस ‘बी’ योनिरस, थुक तथा वीर्यमा पाइन्छ । मुख मैथुन तथा गुदा मैथुनबाट पनि यो सर्न सक्छ । यो विषाणु हाम्रो शरीरभन्दा बाहिर पनि हप्तौं वा सो भन्दा बढी बाँच्न सक्ने भएको हुनाले भाइब्रेटर वा अन्य यौनखेलौनाको प्रयोगबाट पनि यो विषाणु सर्न सक्छ । सामान्यतया चुम्बनबाट यो सर्ने गर्दैन तर गहिरो चुम्बन जसमा थुक एक–अर्कोमा साटासाट हुन्छ र मुखमा घाउचोट छ भने हेपाटाइटिस ‘बी’ भाइरस सर्ने सम्भावना हुन्छ । 

पुरुषसँग यौनसम्पर्क राख्ने पुरुषहरूमा अन्य मानिसमा भन्दा १० देखि १५ गुणा बढी संक्रमण हुने देखिएको छ । त्यसै गरी हेपाटाइटिस ‘डी’ पनि यौनसम्पर्कवाट सर्ने गर्दछ । त्यसै गरी हेपाटाइटिस ‘सी, हेपाटाइटिस ‘बी’ भाइरसजस्तो सजिलै नसर्ने भए पनि अर्को व्यक्तिको रगतसँग प्रत्यक्ष सम्पर्कमा आएमा सर्दछ । यस्तो स्थिति यौनाङ्गमा सूक्ष्म चोटपटक लाग्ने र रगतको प्रत्यक्ष सम्पर्कमा आउने किसिमको लिङ्ग–योनि मैथुन, मुख मैथुन, गुदा मैथुनबाट सर्न सक्छ । महिनावारी हुँदा यौनसम्पर्क राख्दा पनि रगतको प्रत्यक्ष सम्पर्कमा आउने भएकोले यसमा पनि सर्ने जोखिम हुन्छ ।

कतिपय व्यक्ति यी विषाणुबाट सक्रमिता भए पनि उनीहरू एकदमै स्वस्थ देखिन सक्छन् ।

सामान्यतया दिसामा भएका विषाणु प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मुखमा परेर सर्ने भए पनि हेपाटाइटिस ‘ए’ भाइरस केही स्थितिमा यौन क्रियाकलापबाट पनि सर्ने गरेको भेटिएको छ । मुख–गुदा मैथुन वा मलाशयमा औंला पसाएर गरिने यौन क्रियाकलाप यसका उदाहरण हुन् । विशेष गरेर पुरुष र पुरुषबीचमा सामूहिक यौनसम्पर्क वा धेरै जनासँंग यौनसम्पर्क भएको स्थितिले जोखिम बढाएको पाइन्छ । 

कसरी थाहा पाउने ? 

तपाईं आफैंले सामान्यरुपमा श्रीमान्लाई हेरेर हेपाटाइटिस भए/नभएको थाहा पाउन सकिने स्थिति हुँदैन । कतिपय व्यक्ति यी विषाणुबाट संक्रमिता भए पनि उनीहरू एकदमै स्वस्थ देखिन सक्छन् । त्यसैले कतिपय विज्ञहरू आफ्नो यौनसाथीसँग हेपाटाइटिस तथा अन्य यौन प्रसारित रोगको बारेमा स्पष्टरुपमा कुरा गर्नु नै श्रेयष्कर ठान्छन् ।

कलेजो संक्रमण हुँदा कतिपयमा छाला वा आँखा पहेँलो हुने (जन्डिस) हुन्छ । यो एक महत्वपूर्ण लक्षण हो । यदि कसैलाई यस्तो भएको भए त्यसको सम्झना पक्कै नै हुन्छ । त्यसदेखि बाहेक ज्वरो, थकान, भोक नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, दिसा माटो रङ्गको हुने हुन्छ । तर जे भए पनि रगतको परीक्षण गर्नु नै यस्तो संक्रमण भए/नभएको थाहा पाउने एक प्रभावकारी उपाय हो । रगतको परीक्षणबाट कुन किसिमको विषाणु हो भनेर पनि थाहा पाउन सकिन्छ । 

बच्ने उपाय 

हेपाटाइटिस ‘ए’ र ‘बी’को लागि खोप उपलब्ध भए पनि ‘सी’को खोप भने उपलब्ध छैन । नेपालमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ६, १० तथा १४ हप्ताका शिशुलाई खोप लगाउने गरिएको छ । वयष्क व्यक्तिले यसको खोप लगाउने प्रचलन कम नै छ । तर पनि विश्व स्वास्थ्य संगठनका अनुसार नेपालले ५ वर्षमुनिका बालबालिकालाई खोप लगाएको कारण हेपाटाइटिस ‘ए’ र ‘बी’ नियन्त्रणको स्थितिमा छ । 

यौन क्रियाकलापको सन्दर्भमा भने कुनै पनि चोटपटक लाग्ने (सूक्ष्म घाउ हुने गरी गरिएको घर्षण, काटिने, देखिने किसिमको घाउ हुने) खालको कुनै पनि किसिमको यौन क्रियाकलापबाट हेपाटाइटिस ‘बी’ वा हेपाटाइटिस ‘सी’ भाइरस सर्न सक्छ । 

हेपाटाइटिस ‘बी’ वा हेपाटाइटिस ‘सी’ भाइरस गुदा मैथुनको माध्यमबाट सर्ने जोखिम सबैभन्दा बढी हुन्छ, त्यसपछि योनि–लिङ्ग मैथुन । मुख मैथुन भने यी दुईभन्दा कम जोखिम मानिन्छ । मुख र मलद्वारको प्रत्यक्ष सम्पर्क पनि जोखिमयुक्त नै मानिन्छ । त्यसै कारण यसरी सर्ने जोखिम कम गर्न संक्रमण हुन नदिन अवरोधका उपाय अपनाउनुपर्दछ । यौन क्रियाकलापअनुसार कन्डम, डेन्टल ड्याम (dental dam), महिला कन्डम वा फिङ्गर कट (finger cot) 

प्रयोग गर्न सकिन्छ । लिङ्ग–योनि, गुदद्वार वा मुखमा पसाएर गरिने यौनसम्पर्कमा पुरुष कन्डम लगाउन सकिन्छ । योनि–लिङ्ग मैथुनको लागि महिलाले महिला कन्डम योनिमा लगाउन सकिन्छ । ल्याटेक्सले बनेका कन्डमले ९९ प्रतिशतसम्म संक्रमण हुन नदिन प्रभावकारी रहेको मानिन्छ । डेन्टल ड्याम ल्याटेक्स रबर वा पोलियुरिथेन (प्लास्टिक) ले बनेको सानो रुमालजस्तो हुन्छ, जुन मुख मैथुन गर्दा मुख र योनि वा मुख र गुदद्वारको बीचमा राखिन्छ । फिङ्गर कट भनेको रबरले बनेको औंलालाई छोप्ने नली आकारको वस्तु हो । यसलाई औंले कन्डम (finger condom) वा औंले पञ्जा (finger glove) पनि भन्ने गरिन्छ । औंला योनि वा गुदद्वारमा पसाएर यौन क्रियाकलाप गर्दा औंंले कन्डम प्रयोग गर्न सकिन्छ । 

हेपाटाइटिस ‘सी’ भाइरस मुख्यतया रगतको माध्यमबाट सर्ने भएकोले लागूऔषध प्रयोग गर्दा प्रयोग गरिने सुई विषाणुरहित हुनुपर्दछ । चिकित्साको क्रममा प्रयोग हुने औजार निर्मलीकरण गरिनु पनि त्यत्ति नै आवश्यक छ भने रक्तसञ्चारको क्रममा पनि यस्तो सावधानी अपनाउनुपर्छ । यौन क्रियाकलापको सन्दर्भमा भने रगतको प्रत्यक्ष सम्पर्कमा नआइयोस् भनेर विशेष ध्यान दिनुपर्दछ । 

प्रतिक्रिया दिनुहोस्