तपाईंका घरमा हाम्रा डाक्टर



म २७ वर्षीया महिला हुँ । मेरो बिहे भएको भर्खर ८–९ महिना भयो । मलाई ६ वर्षदेखि मुटुको बाथ रोग थियो । यो साधारण खालको वा हल्का खालको भनेर पेनिसिलिन चक्की खान भनिएको थियो । तर मेरो हुनेवाला श्रीमान्ले थाहा पाएमा मलाई रोगी भनेर मेरो पारिवारिक जीवन नै गडबड होला भन्ने ठानी बिहेअघिदेखि नै औषधि खान छाडेँ । अहिले म ३ महिनाकी गर्भवती छु । केही होला कि भनेर डर लागिरहेको छ । श्रीमान्लाई भन्न पनि सकिरहेकी छैन । अब म के गरौँ ? मलाई आफ्नै नजिकको सम्झेर निकास निक्लने उपाय बताइदिनुहुन अनुरोध गर्दछु । 

– सरस्वती, काभ्रे । 

सरस्वतीजी, एउटा कुरा प्रस्ट हुनुहोस् । तपाईंको भनाइअनुसार साधारण खालको बाथरोग रहेछ । राधारण बाथरोग भन्नासाथ त्यति डर लाग्दो हुँदैन । त्यति साह्रो रोगी नै मान्नुपर्ने केही हुँदैन । तर रोग बढ्न नदिन प्रतिरोधको लागि दिइएको पेनिसिलिन छोड्नु भने हुने थिएन, बरु श्रीमान्लाई आफ्नो कुरा प्रस्ट राख्नुपथ्र्यो । किनभने यस्ता कुरा लुकाएर आफैंलाई तनाव, घाटा, बर्बादी जे पनि हुनसक्छ । तनाव त भइसक्यो पनि, त्यो पाटो अब गइसक्यो । जे हुनु थियो त्यो भई नै सक्यो । अब के गर्नुस् भने, एकपटक जति सक्यो छिटो मुटुरोगको उपचार हुने अस्पताल वा क्लिनिकमा गएर चिकित्सकसँग सल्लाह गर्नुस् । चिकित्सकले सक्दो सहयोग गर्ने, उपचार गर्ने, पारिवारिक जीवनमा पनि धक्का नलाग्ने उपाय–परामर्श दिने नै छन् । श्रीमान्समेत भएर परीक्षण, जाँच गराउनुस् । त्यो पेनिसिलिन चक्की खान पर्ने, कतिसम्म खान पर्ने, बच्चा जन्माउन अपनाउनुपर्ने सतर्कता, बच्चा सुरक्षित गर्भमा हुर्काउने अनि जन्माउने बारेमा स्पष्ट भएर ढुक्क हुनुहोस् । चिकित्सकलाई आफ्नो समस्याको इतिहास र निकासको माध्यम बनाएर सुरक्षित अनि ढुक्क हुने गरी व्यवस्थापन गर्न सकिने कुरामा विश्वास गर्नुहोस् अनि सोही अनुसार पाहिला चाल्नुहोस् ।

म ५९ वर्षीय पुरुष हुँ । मलाई हरेक चार–पाँच दिनमा टाउको दुख्छ । नदुखेको बेलामा चाहिँ फ्रेस अनि स्वस्थ हुन्छु । धेरै दुख्दा वाकवाकी पनि लाग्छ । कहिलेकाहीँ त अचाक्ली दुखेर आत्महत्या नै गरौँजस्तो हुन्छ । कतिपटक त अस्पतालको इमर्जेन्सीमै पुगेको छु । कतिपटक सिटी स्क्यान अनि एमआरआई गरिसकेको छु । तीन–चार किसिमका औषधि समय–समयमा फेरेर उपचारको प्रयास गरियो तर सब निरर्थक । पेनकिलर खाएर कम होला कि भन्यो, कहिले भई पनि हाल्छ, कहिले कुनै प्रभाव नै देखिँदैन । यो माइग्रेनको समस्या हो भन्छन् चिकित्सकहरु । कम हुँदै जानेछ पनि भन्छन् । उमेरसँगै घट्दै जाने भनिए तापनि घट्ने छाँटकाँट देखिँदैन । यो कस्तो समस्या हो र समाधान के होला ? 

– सन्तोष पोखरेल, धादिङ । 

सन्तोषजी, तपाईंको प्रश्नभित्र नै भेटिएको उत्तरअनुसार यो समस्या माइग्रेन नै हो जस्तो लाग्छ । किनभने अन्य समस्या भएमा सिटी स्क्यान अनि एमआरआईमा भेटिन्थ्यो, समय–समयमा नदुखेको क्लियर समय हुने थिएन, बरु सधैँ दुख्ने हुनसक्थ्यो । यो उमेरसँगै घट्दै जान्छ तर सबैमा यस्तो नहुन पनि सक्छ । सबै लक्षण सबैमा नहुन सक्छ । त्यस्तै माइग्रेन हुनेले अनिदो बस्नुहुँदैन, भोको बस्नुहुँदैन, घाममा बस्नुहुँदैन, अक्सिजन कम भएको बन्द कोठामा धेरै बस्नुहुँदैन, चिन्ता अनि तनाव वा टेन्सन गर्नुहुँदैन । त्यस्तै दही सेवन गर्नाले दुख्ने बढ्छ । धेरै कफी पिएमा पनि दुख्ने हुनसक्छ । धेरै मोबाइलमा हेरेमा पनि दुख्ने हुन्छ । यसको ठ्याक्कै कारण अनि सोही अनुरुपको ठ्याक्कै औषधि अहिलेसम्म पत्ता लागिसकेको छैन । तर पनि दुखाइ कम गर्ने, दोहोरिने पनि कम गर्ने औषधिहरु पत्ता लागेका छन् । तिनीहरुको उपयोग गरेर फाइदा लिन सकिन्छ । कोहीलाई कुन औषधि, कोहीलाई अर्कै औषधि मिल्ने हुन्छ । त्यो प्रयोग गरेपछि मात्रै थाहा हुने कुरा भयो । धेरै दुखेमा कोडोमोल, कोडोपार खाने र जति सक्यो छिटो मिलाएर स्नायुसम्बन्धी विशेषज्ञ (न्युरोलोजिस्ट) लाई देखाउनुस् अनि उहाँकै सल्लाहमा लाग्नुस् । 

म ५७ वर्षको भएँ । मलाई कोरोना भएको यही गएको चैत्रमा हो । चिकित्सकले एक्सरे र सिटी स्क्यान हेरेर ठिक्कै–ठिक्कै न्युमोनिया भएको भन्नुभएको थियो । अक्सिजन ८६–८७ प्रतिशतमा झरेकोले सात दिन अस्पतालमा पनि बसेको थिएँ । अहिले सबै ठीक छ जस्तो लाग्छ । तर पनि दुई–तीनवटा तला चढ्दा सास फुल्छ अनि आराम लिनुपर्ने हुन्छ । जबकि मेरो अहिले अक्सिजनको मात्रा ९६–९७ प्रतिशत हुने गर्छ । त्यो सास फुल्नाको कारण के होला ? कतै यो समस्या सधैँ रहने त होइन ? 

– निकेश कटुवाल, बल्खु । 

निकेशजी, कोरोना भएर न्युमोनिया भएका र ठीक भएका सबैजसोले यस्तो समस्या भएको गुनासो गर्छन् । यो रोग नै नयाँ भएकोले भविष्यमा यसै हुन्छ भनेर अहिले भन्न सक्ने अवस्था छैन । यसको अध्ययन, अन्वेषण हुदै जाला । नयाँ–नयाँ कुरा आउँदै जालान् । जे–जति हामीलाई थाहा छ त्यो अनुसार त्यसरी सास बढ्नु भनेको फोक्सोमा पूर्णरुपमा सुधार भैसकेको छैन भन्ने हो । फोक्सोको कार्यकुशलता, प्रभावकारिता बढाउन श्वास–प्रश्वासको व्यायाम गर्ने, स्पाइरोमिटर फुक्ने, प्राणायाम गर्ने, बेलुन फुक्नेजस्ता क्रियाकलाप गर्न सकिन्छ । नियमित चिकित्सकको सल्लाहमा बस्नुस् । उचित परामर्श मिल्ने नै छ । 

वीरेनुन, सिधेनुन र हामीले दैनिक खाने नुनमा के फरक हुन्छ ? वीरेनुन, सिधेनुनले रक्तचाप बढाउँछ कि बढाउँदैन ? जानकारी दिनका लागि अनुरोध छ । 

– मीन देवकोटा, बुटवल । 

देवकोटाजी, वीरेनुन र सिधेनुन प्राकृतिक अनि अप्रशोधित हुन् भने हामीले खाने नुन प्रशोधन गरिएको, आयोडिन मिसाइएको हुन्छ । अन्तरवस्तु बुझ्दा सबैमा नुनको केमिकल फर्मुलाअनुसार उही ‘ल्बऋ’ि हुने हुनाले रक्तचापमा सबैको प्रभाव उस्तै–उस्तै हो । वीरेनुन र सिधेनुनको महत्व तथा उपयोग आयुर्वेदमा हुने हुनाले यिनीहरुको विस्तृत जानकारीका लागि आयुर्वेदिक चिकित्सकसँग पनि परामर्श गर्न सकिन्छ ।

सुगर भएको मानिसले कोदो, फापर, गहुँ, जौ, मकैको रोटी, भात खाँदा हानि गर्दैन भन्छन् वास्तविकता के हो ? बताइदिनुभए आभारी हुने थिएँ । 

– शोभा चन्द्रा, सिन्धुली । 

शोभाजी, सुगर भएको मानिसले सुगर धेरै हुने वा कम हुने वा एकदमै कम हुने खाद्यपदार्थ भनेर छुट्याउनुपर्छ । सुगर धेरै हुने खानेकुरा खाँदा अलि विचार गर्ने र कमभन्दा कम खाने गर्नुपर्छ । सुगर कम भएको खाद्यपदार्थ अलि स्वतन्त्ररुपमा खान पाइन्छ । खान नहुने खाद्यपदार्थ कुनै पनि हुँदैन । त्यसमा मनपरीभन्दा पनि नियन्त्रित, थोरै, मिलाएर खानुपर्छ, कुनैले पनि हानि गर्दैन । कोदो, फापर, गहुँको आँटा, मकै सुगर कम हुने पदार्थ हुन् भने चामल, चिउरा, गहुँको मैदा, आलु, पिँडालु, सखरखण्ड, तरुल आदि सुगर धेरै हुने पदार्थ हुन् । त्यस्तै बिरामीको सुगरको अवस्था हेरेर पनि धेरै निर्णय गर्न सकिन्छ । जस्तो– सुगर नियन्त्रणभित्र भए खान अलि सजिलो हुन्छ भने सुगर धेरै भएमा अरु बढी नियन्त्रण वा कडाइ गर्नुपर्ने हुन्छ । 

युरिक एसिड भएको, कोलेस्ट्रोल भएको मानिसले रातो मासु नखानु भन्छन्, किन होला ? कस्तो मासु रातो हो र कस्तो मासुलाई सेतो भनिन्छ ? जानकारी दिनका लागि अनुरोध छ । 

– खगेन्द्र रिमाल, बौद्ध । 

खगेन्द्रजी, रातो मासु भन्नाले खसीको, राँगाको मासु भन्ने बुझिन्छ । यो मासु रातो रंगको र उच्च प्रोटिनयुक्त हुन्छ । कोलेस्ट्रोलभन्दा पनि युरिक एसिड भएकाले यस्तो मासु नखानू भनिन्छ । उच्च कोलेस्ट्रोल हुनेले बोसोयुक्त खसीको मासु नखानू भनिन्छ । त्यस्तै सेतो मासु रंगमा पनि सेतो हुन्छ । कुखुरा, परेवा, अस्ट्रिच तथा माछाको मासु सेतोमा गनिन्छ । रातो मासुले वा बोसोयुक्त मासुले तत्सम्बन्धी तत्वको तह बढाउने र समस्या सृजना हुनसक्ने हुन्छ । कोलेस्ट्रोल अधिक भए हृदयघातको सम्भावना बढेर जान्छ भने युरिक एसिड अधिक भएमा दुख्ने, मृगौला प्रताडित भई रोगी भएर जान सक्छ । त्यसको उल्टो चराजन्य मासु वा माछा खाने गरेमा स्वास्थ्यको लागि सहयोगी, हानिरहित हुने हुन्छ । 

मलाई कहिलेकाहीँ ओठको भित्रपट्टि मसिना फोका आउने गरेको छ । केही दिन त खानेकुरा खान नै समस्या पर्छ । पछि बिस्तारै ठीक हुन्छ । यो के भएको र सधैँका लागि यो समस्याबाट छुट्कारा पाउन के गर्नुपर्ला ? 

– विद्याराज थापा, नुवाकोट । 

विद्याराजजी, यहाँले भनेअनुसारको ओठको भित्रपट्टिका फोकाहरु चिकित्सकको आँखाले नहेर्दासम्म यही नै हो भनेर निक्र्योल गर्न सकिँदैन । तैपनि सम्भावनाको आधारमा भन्दा कुनै–कुनै निश्चित भिटामिनको कमीले, पाचन प्रणालीको समस्याले, संक्रमणले वा दाँतले टोकिएर हुनसक्छ । त्यसैले अहिलेलाई भिटामिन ‘बी’ कम्प्लेक्स दिनको एउटा क्याप्सुल खाँदै गर्नुस् । त्यसपछि मिलाएर फिजिसियन वा मुख तथा दाँतको डाक्टरलाई देखाउनुस् । उहाँहरुबाट परामर्श लिनुस् । 

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्