औषधि रोग बढाउने विष नबनोस्



– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)

अहिले औषधि नखाने मानिस भेट्न मुस्किल पर्छ । अर्थात् प्रायः सबै मानिसले कुनै न कुनै औषधि खाइरहेको पाइन्छ । धेरै मानिस नसर्ने रोगबाट पीडित भएका भेटिन्छन् । एकै व्यक्तिलाई पनि विभिन्न रोगले गाँजेको पनि देखिन्छ । प्रत्येक व्यक्तिले कुनै न कुनै प्रकारका औषधि खाइरहेका हुन्छन् । नसर्ने खालका रोगहरु जस्तै– कोलेस्ट्रोल, ग्यास्ट्रिक, थाइराइड, मधुमेह, प्रेसरलगायतका समस्या एउटै मान्छेलाई हुने गरेको पनि देखिन्छ । यस्ता एक–अर्कामा नसर्ने खालका रोगबाट पीडितमध्ये कतिपयले त ५ देखि २० वटासम्म औषधि दैनिक सेवन गर्ने गरेको पनि भेटिन्छ । 

डाक्टरले पुर्जा (प्रेसक्रिप्सन) मा कुन औषधि खाने भनेर लेखिदिन्छन् । त्यसमा औषधि खाने तरिका पनि लेखिएको हुन्छ । तर प्रायः बिरामीलाई बुझ्न कठिन हुन्छ । धेरै डाक्टरको अक्षर नै बुझिँदैन । प्रेसक्रिप्सनमा लेखिएको कुरालाई औषधि विक्रेताले बिरामीलाई बुझाउने प्रयास गर्छन् । औषधि पसलेले पुर्जामा लेखिएको औषधिबारेको जानकारी औषधिको पत्ताको पछाडि लेखेर दिने चलन छ । 

औषधि पसलेले राम्ररी नबुझेर र कहिलेकाहीँ चिकित्सकको अक्षर नबुझेर पनि बिरामीलाई फरक रुपमा अथ्र्याउने गरेकोसमेत पाइन्छ । कतिपय बिरामीले नबुझेरै पनि गलत औषधि फरक हिसाबले खाइरहेका हुन्छन् । अनुभवले के देखाएको छ भने, झन्डै पाँचजनामा एकजनाले अर्थात् करिब २० प्रतिशतले गलतरुपमा औषधि सेवन गरिरहेका हुन्छन् । पुर्जामा एकपटक भनेर लेखेको औषधि दुईपटक खाने, खानाअघि खानु भनेर लेखेको औषधि खानापछि खाने गरेको पनि पाइन्छ । कतिपयले त एउटा औषधिको सट्टा अर्कै औषधिसमेत खाइराखेको समेत पाइन्छ । यसले गर्दा रोग निको नहुने मात्र होइन, त्यस्ता औषधिले अरु असर गर्ने सम्भावना पनि हुन्छ । 

दोष कसको ? 

बिरामीले औषधि गलत तरिकाले खानुको पछाडि, एउटा त पुर्जामा स्पष्ट नलेख्नु डाक्टरको दोष हो । अर्को दोष औषधि विक्रेताले चिकित्सकले लेखिदिएको जानकारी बिरामीलाई ठीक तरिकाले नदिनु वा दिन नसक्नु हो । अनि अर्को गल्ती बिरामी आफैँको पनि हुन्छ । सही तरिकाले औषधिको सेवन नगर्ने । विक्रेताले भनेको कुरा स्पष्ट नबुझ्ने वा बुझ्ने प्रयासै नगर्ने समस्या पनि छ । चिकित्सकले पुर्जामा लेखिदिएका कुराहरुको प्रस्ट जानकारी चिकित्सक वा औषधि विक्रेतासँग लिने प्रयास नै नगर्ने । औषधि कतिपटक खाने, कति मात्रामा खाने, कुन समयमा खाने र केसँग खाने ? यी सबै कुराका बारेमा चिकित्सक वा औषधि विक्रेताबाट जानकारी लिनु नै पर्छ । यसबारे बिरामी आफैँले पनि चासो राख्नुपर्छ । बिरामीले आफूखुशी नै पहिलेदेखि कुनै औषधि खाएको भए सोको जानकारी चिकित्सकलाई दिनुपर्छ र चिकित्सकले लेखिदिएको औषधिका बारेमा पनि सोधपुछ गरी प्रस्ट हुनुपर्छ । औषधिका बारेमा सवै कुरा नबुझिएमा फेरि एकपटक औषधि विक्रेतासँग सोधेर जानकारी लिनुपर्छ । जे दियो त्यही औषधि लुरुलुरु खानु भन्दा शंका लागेका कुरा सोधेर प्रस्ट भएपछि नै औषधि खानु ठीक हुन्छ । 

बिरामीले औषधि गलत तरिकाले खानुको पछाडि, एउटा त पुर्जामा स्पष्ट नलेख्नु डाक्टरको दोष हो ।

ध्यान दिनुपर्ने कुराहरु 

कतिपय बिरामी वृद्धवृद्धा वा बालबालिका हुन सक्छन् । उनीहरुले आफैँ औषधि खान सक्दैनन् । सहयोगी आवश्यक हुन्छ । त्यसैले सहयोगीहरुले औषधिको बारेमा राम्ररी बुझ्न जरुरी छ । 

१) पहिलो आधार: चिकित्सकको पुर्जा 

औषधि खानका लागि सबैभन्दा पहिला चिकित्सकको पुर्जालाई आधार मान्नुपर्छ । कतिपय औषधि बेच्ने विक्रेताको लाइसेन्स एउटाको नाममा र औषधि बेच्ने अर्को मान्छे हुनसक्छ । मुख्य आधार नै चिकित्सकको प्रेसक्रिप्सन हुने हुँदा, स्पष्टसँग बुझ्ने गरी औषधिको नाम र खाने विधिको बारेमा लेखिदिन आग्रह नै गर्नुपर्छ । 

साथै डाक्टरहरुले पनि यसबारेमा ध्यान दिनुपर्छ ।

२) दोस्रो आधार: विक्रेताको सल्लाह 

चिकित्सकको पुर्जा लिएर औषधि किन्न जाँदा बिक्रेतासँग त्यसबारे सल्लाह गर्नुपर्छ । औषधि किन्दा त्यो सही हो÷होइन, मात्रा र प्रयोग गर्ने तरिका पुर्जासँग मेल खान्छ/खाँदैन भनेर क्रस चेक गर्नुपर्छ । कतिपय विक्रेताले त्यही नामको औषधि नभए अर्को औषधिलाई पनि त्यस्तै औषधि हो भनेर बिक्री गर्छन् । त्यसलाई स्वीकार गर्नुहँुदैन । बरु त्यो पसलबाट नलिई अर्को पसलबाट लिनुपर्छ । दुई–चारवटा औषधि पसल चहार्ने गर्नुपर्छ । स्वास्थ्यको सवाल हो, अल्छी गर्नुहुँदैन । कतिपय विक्रेताहरुले यो औषधि त खान हुँदैन, बानी पर्छ, साइड इफेक्ट गर्छ भनी नकारात्मक टिप्पणी गर्ने गर्छन् । यस्तो सल्लाह तुरुन्त मान्नुहुँदैन । एकपल्ट आफ्नो डाक्टरलाई यसबारे सोध्नुपर्छ ।

३) औषधि खाने तरिका 

औषधि कतिपल्ट खाने, केसँग खाने भन्ने कुरा हुन्छ । कुनै औषधि एकपल्ट खाए पुग्छ । कुनै दुईपटक खाने भन्ने हुन्छ । २४ घण्टा काम गर्ने औषधि एकपटक खाए पुग्छ । १२ घण्टा काम गर्ने औषधिलाई दुईपटक र ८ घण्टा काम गर्ने औषधिलाई तीनपटक खानुपर्ने हुन्छ । औषधि सकेसम्म मनतातो पानीसँग खाँदा सबैभन्दा उत्तम हुन्छ । कुनै औषधि दूधसँग खानुपर्ने पनि हुन्छ । गर्मीको समय छ भने सफा चिसो पानीसँग खाँदा पनि फरक पर्दैन । 

४) कुन बेला खाने ? 

औषधि खानाअघि खानु भनेको छ भने खालि पेटमा खानु भनेको हो । कुनै औषधिलाई शरीरमा चाँडै सोसिने गराएर छिटो काम गराउनुपर्ने हुन्छ । त्यस्ता औषधि खानाअघि खान सल्लाह दिने गरिन्छ । जस्तै– एन्टिबायोटिक, थाइरोइडको औषधि खानाअघि खान सल्लाह दिने गरिन्छ । यसै गरी औषधि खाएपछि पेट हुँडल्ने, पेटलाई असर गर्ने, ग्यास्ट्रिक बढाउने खालका पेनकिलरजस्ता औषधि खानापछाडि खान सल्लाह दिइन्छ । किनकि खानाअघि खाँदा यस्तो औषधिले ग्यास्ट्रिक बढाएर अल्सर गराउन सक्छ । डायबिटिजको औषधि मेटफरमिन भने खानालगत्तै खानुपर्ने हुन्छ । कुनै औषधि पिसाब गराउने खालको हुन्छ । त्यस्ता औषधि एकाबिहानै खाँदा राम्रो हुन्छ । यसले दिनभर काम गर्छ । बेलुका खाँदा रातभर पिसाब लागेर हैरान पार्छ । निद्रा लाग्ने औषधि सुत्ने बेलामा खाने गर्नुपर्छ । खानाअगाडि खानु भनेको डायबेटिजको औषधि खाएपछि १०–१५ मिनेटभित्र खाना खाइसक्नुपर्छ । नत्र सुगर घटेर समस्या पर्न सक्छ । ब्लड प्रेसरको औषधिहरु खानाअगाडि वा पछाडि जुन बेला लिए पनि फरक पर्दैन ।

ब्लड प्रेसरका बिरामीले औषधि खाँदा धेरैजसो झुक्किरहेका हुन्छन् । एकपटक खाने हो भने बेलुकी खाँदा राम्रो हुन्छ । अध्ययनले यही देखाएको छ । कसैको दिनमा धेरै प्रेसर बढ्ने गरेको हुन्छ । त्यस्तो हो भने बिहान खाँदा राम्रो हुन्छ । यी सबै कुरा चिकित्सकसँगको सल्लाहमा गर्नुपर्छ । 

इन्सुलिन सुई लिने गरेका मधुमेहका बिरामीले खाना खानुभन्दा १५ मिनेटअघि सुई लगाउनुपर्छ । किनकि यसले १५ मिनेटपछि काम गर्छ । कुनै इन्सुलिन लामो समयसम्म काम गर्ने खालको पनि हुन्छ । यसले २४ सै घण्टा काम गर्छ । त्यस्तो सुई कुनै पनि समयमा लगाउन सकिन्छ । तर दैनिक जुन समयमा लगाउने हो त्यही निश्चित समयमै लगाउनुपर्छ । कतिपय औषधिहरु सँगसँगै खान नमिल्ने पनि हुन्छन् । १५ वटा औषधि खानेलाई खानापछाडि ३ वटा खानु भनेको छ भने सँगै खाए पनि हुन्छ । तर त्यस्ता औषधि खानुअघि स्पष्टसँग बुझेर मात्रै खानुपर्छ । 

चिकित्सकसँग औषधिका लागि सफा, स्पष्ट बुझिने पुर्जा माग्ने गरौँ । विक्रेतासँग औषधि लिँदा क्रस चेक गर्ने बानी गरौँ । औषधिको बट्टामा वा प्रत्येक औषधिलाई प्याकेटमा राखी त्यस प्याकेटको बाहिर औषधिको नाम, मात्रा र खाने तरिका स्पष्टसँग लेखेर दिन विक्रेतासँग माग गरौँ । आफूले खाने औषधिबारे जानकारी लिन पाउनु प्रत्येक बिरामीको अधिकार हो । सबै कुरा बुझेर निर्धक्कसँग औषधि खाऔँ । रोग निको पार्न खाने औषधि, रोग बढाउने विष नबनोस् । 

प्रतिक्रिया दिनुहोस्