यौन जीवनमा स्पर्शको महत्व



म अहिले ३८ वर्षकी भएँ । मेरो श्रीमान्सँग यौनसम्पर्क नियमितरुपमा नै हुने गरेकोमा अहिले आएर रुचि केही कम भएको छ । बरु श्रीमान्सँग समय बिताउँदा अङ्गालोमा बाँधिएर वा कुनै न कुनै रुपमा उहाँलाई छोइएर बस्दा आनन्द लाग्छ । के यो असामान्य हो ? जानकारी पाए आभारी हुने थिएँ ।

– शान्त कुमारी 

– डा. राजेन्द्र भद्र

स्पर्शको महत्व 

मानिस सामजिक प्राणी हो र एकान्तमा मात्र बस्ने वा शारीरिकरुपमा अन्तरक्रिया नगरी बस्न प्रकृतिले उसलाई बनाएको होइन । एक्लोपन वा स्पर्शको अभावले रोग निम्त्याउने वा बढाउने हुन्छ । स्पर्शले समभाव, माया, कृतज्ञताजस्ता भाव बोलेर भन्दा राम्ररी व्यक्त गर्ने गरिन्छ । आत्मीय व्यक्तिको स्पर्श सान्त्वनादायी हुन्छ, एक किसिमले सुख दिन्छ । स्पर्शको कारणले हाम्रो मस्तिष्कमा स्नायु रसायनहरू (neuro-chemicals) जस्तै कि सेरोटोनिन, डोपामिन वा अक्सिटोसिन निःसृत हुन्छन् । यही कारणले हामीमा आनन्द अनि खुशीको अनुभूति हुन्छ । 

असल स्पर्शले कर्टिसोल वा एड्रेनालिनजस्ता स्ट्रेस हर्मोनको उत्सर्जनलाई कम गर्न मद्दत गर्दछ । स्नेहमयी स्पर्शले हाम्रो रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । अहिले यसको महत्वलाई बुझेर शिशु तथा बाल्यकालमा उनीहरूको सर्वाङ्गिण विकासको लागि स्पर्शलाई बढावा दिन थालिएको छ । स्पर्शबाट वञ्चित शिशुको स्वास्थ्यमा समस्या हुने, राम्ररी व्यक्तित्व विकास नहुने पाइएको छ । 

यौन सम्पर्क वा यौन क्रियाकलाप आफैँमा एक विशेष स्पर्श हो, जसमा यौन संवेदनशील अङ्गको स्पर्श प्राथमिकतामा हुन्छन् ।

परम्परागत तथा आधुनिक उपचार विधिमा परीक्षण तथा सही निदानको लागि सहयोग मात्र होइन स्पर्शको प्रयोग अपरिहार्य देखिन्छ । तनाव कम गर्न, चिन्ता कम गर्न, निराशापन कम गर्न, अनि पोस्ट ट्रउम्याटिक स्ट्रेस डिसअर्डर (post-traumatic stress disorder) जस्ता मानसिक समस्याको उपचारमा स्पर्श विधि प्रयोग गरिएको पाइन्छ ।

स्पर्श र यौन 

कुन व्यक्तिसँग कस्तो प्रकारको स्पर्श स्वीकार्य हुन्छ भन्ने कुरा समुदायको प्रचलनअनुसार फरक पर्दछ । शारीरिक सम्पर्क स्पर्श हो । अहिले केही परिवर्तन भए पनि नेपाली समाजमा पनि हामीले यौन सम्पर्कलाई जनाउन शारीरिक सम्पर्क भन्ने शब्दको प्रयोग गर्दछौं । शारीरिक सम्पर्क भनेको नै यौन सम्पर्क ठानिनु एक प्रतिविम्ब भए पनि स्पर्शको यौनसँगको सम्बन्धलाई उजागर गर्दछ । केही परिस्थितिलाई छोडेर धेरैजस्तो स्थितिमा पुरुष र महिलाको स्पर्शलाई यौनको दृष्टिकोणले हेरिन्छ । पति–पत्नी वा यौनजोडीको स्पर्श एकहदसम्म स्वाभाविकरुपमा यौनिक हुने गर्दछ । 

स्नेहयुक्त स्पर्श कुनै पनि उमेरका व्यक्तिको लागि महत्वपूर्ण हुन्छ र हिंसायुक्त छैन भने स्वीकार्य पनि मानिन्छ । यौनिकताको एक महत्वपूर्ण पक्ष ऐन्द्रिकता हो । इन्द्रियहरुको प्रयोगबाट आनन्द प्राप्त गर्ने कुरालाई यसमा केन्द्रित गरिन्छ । स्पर्श पक्कै नै इन्द्रियबाट सुख प्राप्त गर्ने कुरा हो र यो निकै महत्वपूर्ण पक्ष हो । यौनको दृष्टिले हेर्दा स्पर्शको अनेक पाटोहरू भेटिन्छन्, जसका बारेमा छोट्करीमा चर्चा गरौं । 

असल र खराब यौन स्पर्श 

स्पर्श थुप्रै किसिमका हुन सक्छन् । यी स्पर्श असल वा खराब के हुन्, छुट्याउन नसकिने किसिमका हुन्छन् । विशेषतः कसैलाई यौन तथा शारीरिक शोषण (त्यसमा पनि बालबालिका तथा किशोर–किशोरीमा यौन शोषण हुने परिप्रेक्ष्यमा) नहोस् भनेर खराब किसिमको स्पर्शबाट बचाउन सजिलोको लागि असल तथा खराब स्पर्शको रुपमा वर्गीकरण गर्ने गरिएको पाइन्छ । सुखानुभूति दिने स्पर्श असल स्पर्श हो । स्याबासी, धाप मार्नु, मालिस, अङ्गालो, चुम्बन, सुमसुम्याउनु असल स्पर्शका उदाहरण हुन् भने पीडादायी स्पर्श नै खराब स्पर्श हो । पिट्नु, झापड वा लात हान्नुजस्ता स्पर्श खराब स्पर्शका उदाहरण हुन् । 

यौनशोषण त्यसमा पनि बलात्कार वास्तवमा शायद खराब किसिमकोमा पनि सबैभन्दा निकृष्ट किसिमको स्पर्श हो । बालबालिका तथा किशोर–किशोरीलाई यौनशोषण वा दुराचारबाट बचाउन स्पर्श वर्जित क्षेत्र भनेर सजिलोको लागि अन्डर वेयर (भित्री पहिरन) नियम बनाइएको छ । केटाको लागि यौनाङ्ग (लिङ्ग, अण्डकोष), गुदद्वार तथा त्यसवरिपरिका क्षेत्र अनि केटीको लागि यौनाङ्ग (योनि, भगक्षेत्र), गुदद्वार अनि त्यसवरिको क्षेत्रको साथै छाती (स्तन) लाई स्पर्श वर्जित क्षेत्र मानिन्छ । यहाँको स्पर्श नकारात्मक मानिन्छ । स्वास्थ्य सेवा वा सरसफाइ सन्दर्भमा हुने शरीरको यस भागको स्पर्शलाई मात्र स्वीकार्य मानिन्छ । 

यौन संवेदनशील अङ्गहरूको स्पर्श 

हाम्रा अङ्गहरूमध्ये कतिपय विशेषरुपमा यौन संवेदनशील हुन्छन् । कुनै अङ्गको स्पर्शबाट हल्का किसिमको यौन उत्तेजना प्राप्त हुन्छ भने कुनै अङ्गबाट तीव्र किसिमको । ऋषि वात्सायनले आफ्ना प्रसिद्ध ग्रन्थ ‘कामसूत्र’ मा विविध प्रसङ्गमा विभिन्न किसिमका स्पर्शलाई त्यसको विविध पक्षहरूलाई समेटेर चर्चा गरेका छन् । 

गहिरिएर विचार गर्दा, यौन सम्पर्क वा यौन क्रियाकलाप आफैँमा एक विशेष स्पर्श हो, जसमा यौन संवेदशील अङ्गको स्पर्श प्राथमिकतामा हुन्छन् । महिलाहरूको हकमा भगाङ्कुर, योनि, स्तन निकै नै यौन संवेदनशील हुन्छन् । त्यसै गरी पुरुषको लिङ्ग (अझै अग्रचर्म टाँसिएको भाग, लिङ्गमुण्डको घेरा (corona), अण्डकोष थैली, पौरुष ग्रन्थि निकै नै यौन संवेदनशील हुन्छन् । महिला–पुरुष दुवैको हकमा मुख तथा अधर, नितम्ब अनि गुदद्वार यौन संवेदनशील हुन्छन् । त्यसै गरी हाम्रा जाँघ, तिघ्राको भित्री भाग अनि पाखुराको भित्री भाग, काखीको स्पर्श यौन संवेदनशील हुन सक्छन् । 

त्यसै गरी गर्दन (घाँटी) को अग्र तथा पछिल्तिरको भाग यौन संवेदनशील हुन सक्छन् । कान, त्यसमा पनि कानको लोतीको पछिल्तिरको भागको स्पर्श होस् वा पेट र नाभी क्षेत्रमा जीब्रो वा औंलाको स्पर्श पनि यौन उत्तेजक हुन्छ । यहाँ पिठ्युँको तलतिरको भागको यौन संवेदनशीलतालाई पनि बिर्सन मिल्दैन । यौन स्पर्शमा प्रयोग हुने औंला आफैँको तथा हत्केलाको हल्का स्पर्श पनि यौन उत्तेजक हुन्छ । अर्कोतिर खुट्टाका औंला, त्यसमा पनि पैतालाको हल्का स्पर्श निकै नै यौन उत्तेजनात्मक हुन्छ । 

चर्म (छाला) हाम्रो शरीरमा भएको सबैभन्दा ठूलो इन्द्रिय हो । सामान्यतया हामीले यसलाई यौन अङ्गको रुपमा लिने नगरे पनि गहिरिएर विचार गर्दा हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं । 

यौन स्पर्शका किसिम 

स्पर्श गर्ने तरिका विभिन्न किसिमका हुन सक्छन् । स्पर्शमा निकै नै विविधता छ । टाँसिएर बस्नु, अङ्गालो हाल्नुदेखि मालिस, हल्का स्पर्श, सुमसुम्याइ, हल्का पिटाइ, दबाब, कोट्याउनु, कन्याउनु, हल्का टोक्नु, चाट्नु, चुस्नु, काउकुती लगाउनुजस्ता कुराले स्पर्शको विविधतालाई देखाउँछ । प्वाँख वा अन्य रेशमी कपडाको प्रयोग सबैले यौन स्पर्शलाई अर्को तहसम्म लान मद्दत गर्दछ । अचेल यही स्पर्शको तीव्रता बढाउन यौन प्रसाधन जस्तै कि यौन खेलौनाको प्रयोग पनि बढेको छ । 

आफैँलाई स्पर्श (स्वस्पर्श) ः थाहै नभए पनि हामीले निरन्तररुपमा आफूलाई बारम्बार छोइरहेका हुन्छौं र यौनको सन्दर्भमा पनि यो लागू नहुने कुरा भएन । यौन सम्पर्कको बेलामा पनि उत्तेजनाको स्तर बढाउन आफ्ना यौन संवेदनशील अङ्गको स्पर्श कतिपय व्यक्तिले गर्छन् । हस्तमैथुन पनि यौन स्वस्पर्श हो भन्ने कुरा सम्झाउनुपर्दैन होला । 

प्राक्–क्रीडा (foreplay) : यौनसम्पर्क जस्तै कि योनिमा लिङ्ग प्रवेश शुरु गर्नुभन्दा पहिले यौन उत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमका यौन क्रियाकलाप नै प्राक्–क्रीडा हो र यो विशेष यौन स्पर्श नै हो । 

बाह्य यौनसम्पर्क (outercourse) : विशेष गरी सन् १९८० को दशकमा एच.आई.भी. नसरोस् भन्ने ध्येयले यसको प्रचलनको विस्तार भयो । विपरीत वा समान लिङ्गका व्यक्तिहरूले एक–आपसमा आफ्ना यौन अङ्गहरूलाई बाहिरैतिर हल्का स्पर्श, घर्षण वा यौनाङ्ग नै रगड्ने गरेर यौन आनन्द प्राप्त गर्न सक्छन् । यौन अङ्ग नपसाईकन वा यौन अङ्गबाट निस्केका रसको प्रत्यक्ष सम्पर्कमा नआईकन यी विशेष यौन स्पर्श वैकल्पिक यौन आनन्द प्राप्त गर्ने उपाय हुन् । 

प्रौढ उमेरमा यौन स्पर्श 

हामीलाई थाहै छ, उमेरअनुसार आउने परिवर्तनका साथै हाम्रो यौनाङ्ग तथा अन्य अङ्गका यौन संवेदनशीलतामा पनि कमी आउँछ । युवा अवस्थामा जस्तो यौनसम्पर्कमा सक्रिय हुने स्थिति नहुने भएकोले प्रौढावस्थामा यौन स्पर्शको विविधताको विशेष महत्व हुन्छ । माथि उल्लेख गरिएजस्तै आलिङ्गन, चुम्बन र अन्य स्पर्शमा पर्याप्त समय बिताउनुले यौन जीवनलाई त भरथेग गर्छ नै, एक–आपसी आत्मीयता बढाउनसमेत सहयोग गर्दछ । 

अन्त्यमा, अहिलेको आधुनिक समाजमा स्पर्शको अभावको स्थितिमा भए पनि दुःखपूर्ण वा पीडायुक्त स्पर्शको भयबाट ग्रसित पनि छौं । दुर्भाग्यवश कतिपय स्थितिमा मातापितासँगको स्पर्श बाल्यावस्था वा किशोरास्थामा 

‘स्नेही’ हुनुको सट्टा ’पिटाइ’को हुन सक्छ । आवश्यकता भए पनि किशोरावस्थामा पर्याप्त स्पर्श प्राप्त गर्दैनन्, जुन उनीहरुले साथीहरुबाट पूरा गर्ने गर्दछन् । यसै सन्दर्भमा केहीले यौनसम्पर्क गर्न पुग्छन्, जुन यौनेच्छाको भन्दा स्पर्शको भोकको कारणले हुन सक्छ । दीर्घकालीन स्पर्शको अभावले अर्कोतिर अति संवेदनशीलता (hypersensititvity) निम्त्याएको पाउँछौं । जसले स्पर्शलाई प्रत्यक्ष यौनतिर डोर्‍याउने सम्भावना हुन्छ । अहिले कतिपय समाजको चलनलाई हेर्ने हो भने स्पर्शको यौनिकीकरण (sexualization of touch) बढ्दै गएको स्थितिमा हामी स्पर्श विरोधी भएका हौं कि जस्तो लाग्छ । कतिपय स्पर्शलाई प्रत्यक्ष यौनसम्बन्धसँग जोडेर हेरिने भएको हुनाले यसमा कडा प्रतिबन्ध निरन्तररुपमा लगाउँदै आएको देखिन्छ । 

स्पर्श यौनजीवनको मात्र नभई मानवजीवनकै महत्वपूर्ण पाटो हो । यसलाई बेवास्ता गर्नुको सट्टा स्वस्थ र सुखमय स्पर्शमा संलग्न भई बढाउन सकिए धेरै नै लाभ हुन्छ । र, सम्पूर्ण यौन तथा पारिवारिक जीवनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । हामीलाई थाहै छ, पीडादायी स्पर्शले तनाव बढ्ने गर्छ भने सुखदायी (soothing) स्पर्शले आनन्द दिने गर्छ । साथै स्पर्शले यौनसुखका साथै आत्मीयता बढाउँछ । अहिले ‘स्पर्श भय’ समाजमा व्याप्त छ । यसलाई अनावश्यकरुपमा हाबी हुन नदिन पनि प्रयास गर्नुपर्छ, ताकि समाजमा नै सकारात्मक परिणाम आओस् । 

प्रतिक्रिया दिनुहोस्