स्वास्थ्यमा भाँडावर्तनको प्रभाव



– रोहिणी घिमिरे

धार्मिक एवं पितृकार्यमा फलामका भाँडावर्तन प्रयोग गर्नुहुँदैन भन्ने मान्यता रहिआएको छ । त्यसैले त्यस्ता कार्यमा तामा वा पीतलका भाँडावर्तनहरु प्रयोग गर्ने गरेको हामीले देखेका छौँ । कतिपय पुगिसरि आउनेहरुकहाँ त पूजाका भाँडावर्तन नै चाँदीका हुने गरेको देखिन्छ । किनकि यस्ता कार्यमा फलामका भाँडावर्तनलाई अशुद्ध मानिन्छ । यसमा वैज्ञानिकता छ ।

वैज्ञानिक कारण 

फलामका भाँडावर्तनमा लामो समयसम्म भाइरस जीवित रहन सक्छ तर तामा, पीतल, चाँदीका भाँडामा भाइरस लामो समयसम्म बाँच्न सक्दैन । त्यसैले फलाम अशुद्ध र तामा, पीतल, सुन, चाँदी आदिलाई शुद्ध मानिएको हो । विश्व स्वास्थ्य संघ (WHO) ले सन् २०२० मार्च २७ मा प्रकाशन गरेको कोभिडसम्बन्धी एक रिपोर्टमा कोरोना भाइरसको आयुबारे गरिएको अनुसन्धानको नतिजाबारे उल्लेख गरेको थियो । सो रिपोर्टमा उल्लेख भएअनुसार प्लास्टिक र स्टेनलेस स्टिल (stainless steel) अर्थात् फलाममा ७२ घण्टा र कार्डबोर्ड (cardboard) मा २४ घण्टासम्म कोरोना भाइरस जीवित रहन सक्छ । तर तामा (copper) मा ४ घण्टामात्र सो भाइरस बाँच्न सक्ने जनाइएको छ । 

तामाका भाँडावर्तन फलामको भन्दा बढी सुरक्षित हुने कुरा यसले पुष्टि गरेको छ । साथै तामाभन्दा चाँदी र चाँदीभन्दा सुन स्वास्थ्यका लागि बढी लाभदायक हुन्छ । जबकि कानमा अन्य नक्कली गहना लगाउँदा कान पाक्ने सम्भावना अधिक हुन्छ भने सुन–चाँदीका गहना लगाउँदा गहनाकै कारण कान पाक्दैन । 

खानेकुरा खानका लागि प्रयोग गरिने थाल, प्लेट, चम्चा, काँटा आदि पनि कुन धातुले बनेको हो भन्ने कुरा ख्याल गर्नुपर्छ । पास्नीमा सुन वा चाँदीको चम्चाले शिशुलाई अन्न प्राशन गराइन्छ । धेरैले यसलाई धार्मिक मान्यतासँग जोडेको पाइन्छ । तर आमाको दूधमात्र खाएको ६ महिनाको शिशुलाई जुन पायो त्यही धातुबाट बनेको चम्चा प्रयोग गर्दा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । 

आजकल पार्टी प्यालेसमा प्रयोग गरिने प्लेटहरु प्रायः सेरामिकका हुने गरेको पाइन्छ । प्लास्टिक वा स्टिलका प्लेटभन्दा सेरामिकका प्लेट स्वास्थ्यका दृष्टिले केही सुरक्षित नै मानिन्छ । अझ चरेस (झर्का) का थाल वा प्लेट बढी सुरक्षित हुने कुरा वैज्ञानिक पुष्टि भएको छ । 

पोखरा, जोमसोमलगायतका पर्यटकीय क्षेत्रमा खुलेका प्रायः सबै होटलमा आजकल चरेसका थाल–कचौरा प्रयोग भएको पाइयो, जुन स्वास्थ्यका लागि हितकर देखिन्छ । हुन त फलामको भाँडामा पकाएको खानेकुरा खाँदा आइरन तत्व प्राप्त हुन्छ । तर फलामको भाँडामा सेलाएको खानेकुरा धेरैबेर राख्दा दूषित हुने सम्भावना अधिक हुन्छ । फलाममा ७२ घण्टासम्म कोरोना भाइरस जीवित रहन सक्ने तथ्यबाट नै यसको पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्