तपाईंका घरमा हाम्रा डाक्टर



मेरो जीउमा कहिलेकाहीँ अचानक डाबरहरु आउँछन् र धेरै चिलाउँछ । के कारणले यस्तो हुन्छ होला ? यसको सहज उपचार के हुन सक्छ ? 

– मनोहर लुइँटेल, कटारी, उदयपुर । 

मनोहरजी, शरीरमा कहिलेकाहीँ अचानक डाबरहरु आउने र धेरै चिलाउने हुने भनेको एलर्जीको कारणले हो । एलर्जी जेले पनि हुनसक्छ । शरीरले कुनै वस्तु मन पराएन भने वा सहेन भने यस्तै डाबरहरु आउने गर्छन् । एलर्जीको सम्भावित कारणहरुमा कीरा, वनस्पति, खानेकुरा, विभिन्न औषधि, धूलो, चिसो जे पनि हुनसक्छ । त्यो खास कारण पत्ता लगाउन एलर्जी टेस्ट गर्ने पनि गरिन्छ । 

धेरै एलर्जी भैरहेमा छालाको रोग हुनसक्छ भने धेरै नै जटिल एलर्जी भएमा मृगौलाको फेलर हुन पनि सक्छ । त्यस्तै यस्तो एलर्जीले मृत्युसम्म पनि हुनसक्छ । एलर्जीको निर्मूल पार्ने उपचार हुँदैन, खाली चिलाउने कम गर्ने र एलर्जीको लक्षण घटाउने मात्र हो । एलर्जी गराउने वस्तुबाट बच्ने, त्यो वस्तु चिनेर टाढा नै रहने वा सम्पर्कमा नआउने गर्नु नै यसबाट बच्ने उत्तम उपचार वा व्यवस्थापन हो । 

मलाई मधुमेह भएकाले औषधि खान शुरु गरेको ६ महिनाजति भयो । चिनी राखिएको खानेकुरा पनि खान छोडेको छु । चियामा चाहिँ बजारमा पाइने गुलियो चक्की राखेर खाने गरेको छु । कसैले यो चक्की मधुमेहीका लागि बनाइएकोले खान हुन्छ भन्छन् भने कसैले खान हुँदैन भन्छन् । म के गरौं ? सल्लाह पाऊँ ।

– विजय शर्मा, बनेपा, काभ्रे । 

विजयजी, तपाईंले खाने गरेको सुगर फ्री चक्की अलि–अलि खान हुन्छ । रगतमा त्यसले धेरै सुगर बढाउँदैन । त्यही प्रयोजनको लागि नै बनाइएकाले सुगरका बिरामीले खान मिल्छ भनेको हो । तर धेरै मात्रामा त्यो चक्की पनि खानुहुँदैन । किनभने धेरै खायो भने एक त अलि–अलि सुगरमा पनि प्रभाव पार्छ, दोस्रो कुरा यसको अन्तिम केमिकल (बाइप्रोडक्ट) हानिकारक हुनसक्छ । सुगर राम्रोसँग नियन्त्रणमा राख्न नियमित परीक्षण, चिकित्सकको परामर्श, नियमित व्यायाम, व्यवस्थित खानपान जरुरी हुन्छ । त्यो ख्याल गर्नुहोला । 

म ४६ वर्षको भएँ । मेरो घुँडा दुख्ने गरेको केही महिना भयो तर जँचाएको छैन । विशेष गरी भ¥याङ चढ्दा र ओर्लंदा समस्या हुने गरेको छ । सामाधानको उपाय भए बताइदिनुहुन्थ्यो कि ? 

– दुर्गाबहादुर तामाङ, मन्थली, रामेछाप । 

दुर्गाबहादुरजी, उमेर ढल्केपछि घुँडा दुखेमा सीधै हड्डी अनि जोर्नी खिइएकोले हुनसक्छ भन्ने हुन्छ । तर तपाईंलाई उमेरमै त्यस्तो नहुनुपर्ने हो । फेरि कोही–कोहीलाई हड्डी खिइने प्रक्रिया अलि उमेरभन्दा अगावै पनि हुनसक्ने हुनाले नहोला भन्न पनि सकिएन । यसबाहेक संक्रमण, बाथ, युरिक एसिडको उच्चता, घुँडामा हुने झोलिलो पदार्थमा कमी तथा अन्य धेरै कारणले त्यस्तो दुख्ने हुनसक्छ । पक्का निदान अनि निदानअनुरुपको उपचारको लागि सम्बन्धित चिकित्सकले हेर्ने, परीक्षण गर्ने, विभिन्न जाँचपड्ताल गर्ने (जस्तो– एक्सरे, सिटी स्क्यान, एमआरआई गर्न) जरुरी हुन्छ । अहिलेको लागि पलेटी कसेर नबस्ने, उकालो–ओरालो कमभन्दा कम हिँड्ने, भ¥याङ चढ्दा–ओर्लंदा ढिलो अनि सुस्तरी पाइला चाल्ने गर्नुस् । अनि एकपटक छिट्टै काठमाडौंमा आएर शिक्षण अस्पताल वा वीर अस्पताल, ट्रमा सेन्टरको हड्डी विभागमा सम्पर्क गर्नुभएमा आवश्यक सल्लाह एवं उपचार मिल्नेछ ।

म ३२ वर्षको भएँ । नजानिदो पाराले मेरो हात काम्ने गर्छ । चियाको कप उचाल्दा होस् वा खालि हात हुँदा, हात कामेको स्पष्ट नै देखिने साथीहरुले बताउने गरेका छन् । उचित उपचारका लागि सल्लाह पाऊँ । 

– सुबोधकुमार श्रेष्ठ, पोखरा । 

सुबोधकुमारजी, हात काम्ने धेरै कारण हुन सक्छन् । जस्तो– थाइराइडको हार्मोन धेरै उत्पादन हुने विभिन्न रोगहरु, पार्किन्सन रोग, अन्य नसासम्बन्धी वा मस्तिष्कसम्बन्धी रोगहरु । यी वा अन्य कुनै समस्या हो भनेर निदान अनि उपचार गर्न न्युरोलोजिस्ट (मस्तिष्क तथा स्नायुसम्बन्धी विशेषज्ञ) लाई देखाउनुपर्छ । यी समस्या बेलैमा निदान गर्न सकिएमा नियन्त्रण, रोकथाम वा सफल उपचार नै पनि गर्न सकिने हुन्छ । पोखरामै पनि यस्ता चिकित्सक हुनुपर्ने हो वा काठमाडौंमा आएर वीर अस्पताल वा शिक्षण अस्पतालमा न्युरो विभागमा देखाएमा आवश्यक सहयोग मिल्नेछ । 

मैले प्रोस्टेटको औषधि खाने गरेको एक वर्ष भयो । औषधि शुरु गरेदेखि पिसाबसम्बन्धी समस्या सबै समाधान भएको छ । तर यसले भविष्यमा निम्त्याउन सक्ने समस्या र उपचारका बारेमा बताइदिनुभए आभारी हुने थिएँ । 

– वसन्त गुरुङ, हेटौंडा । 

वसन्तजी, तपाईंले प्रोस्टेट ग्रन्थिको समस्याको लागि खानुभएको औषधिले सहयोग वा फाइदा गरेको कुरा बुझियो । यो राम्रो कुरा हो । यति हुँदाहुँदै पनि यहाँको उमेर, प्रोस्टेटको आकार वा साइज तथा ग्रन्थिको प्रकृति, पिसाब निखारेपछि पिसाब थैलीमा रहलपहल हुने पिसाबको मात्रा, पीएसए (एक्ब्) भन्ने रगतमा नापिने क्यान्सर मार्करको मात्राजस्ता कुराहरु हाम्रा युरोलोजिस्टहरुले हेर्न चाहन्छन् अनि सोही अनुसार आवश्यक परामर्श अनि सल्लाह पनि दिने गर्छन् । किनभने परीक्षण नगरी यस्ता कुराहरु स्पष्ट हुने कुरा पनि भएन । साथै आजकल प्रोस्टेटको क्यान्सर पनि छिटपुट देखिने गरेको छ । तसर्थ एकपटक सम्बन्धित चिकित्सक भेटेर औषधि खाइरहने वा छोड्ने साथै आफ्नो प्रोस्टेटको अवस्था स्पष्ट गर्ने सल्लाह दिन चाहन्छु ।

म ४४ वर्षको भएँ, साधारण खाना खाँदा पनि पेट बढेर ह्वात्त निस्कन्छ । यसलाई नियन्त्रण गर्ने सरल सुझाव पाए आभारी हुने थिएँ । 

– रामेश्वर, नवलपरासी । 

रामेश्वरजी, विडम्बना नै भनौं, मान्छेको मोटोपनाको शुरु पनि भुँडी लागेरै (पेट बढेरै) हुन्छ । त्यसको उल्टो शरीरको तौल घट्दा अन्तिममा भुँडी नै घट्ने हो । भुँडी साधारण खाना खाएर एक–दुई दिनमै निस्कने वा बढ्ने कुरा होइन । यो त जीवनशैली नै बिगारेर अधिक ऊर्जायुक्त, मसालेदार, चिल्लो, तारेको, मीठो खानेकुरा खाने बानीले हुने कुरा हो । साथै शरीरको ऊर्जाको उपयोग नगरी शारीरिक क्रियाकलाप घटाएर अल्छी हुने, व्यायाम नगर्ने, निष्क्रिय जीवनशैली बिताउने गरेमा क्रमशः अलि–अलि गर्दै लामो समयपछि पेट बढ्ने हुन्छ । यसको नियन्त्रण गर्ने अति सरल, स्पष्ट तरिका भनेकै खानामा ऊर्जाको मात्राको आयात घटाउने अनि निर्यात बढाउने हो । साधारण अर्थमा भन्दा टन्न नखाई कम खाने र चिल्लो–गुलियोसमेत कम गरी शारीरिक व्यायामचाहिँ बढाउनु जरुरी छ । यदि पेटको आकार बढिसकेको छ भने पेट घटाउने विशेष व्यायाम पनि सकिन्छ । तौल घटाउने कुरा एक–दुई दिनमा नै हुने कुरा होइन । यसको त प्रक्रिया शुरु हुनुप¥यो, निरन्तरता अपनाउनुप¥यो । साथै आत्मबलसहितको तयारी अनि तत्परता हुनुप¥यो । यसलाई जीवनशैलीको रुपमा सधैँको आचरण, व्यवहारमा उतार्नुप¥यो । त्यसपछि मात्र सबै कुरा भनेजस्तो हुनेछ ।

मेरो नाक प्रायः सुख्खा हुने गर्छ र नाकभित्र केही वस्तुले थुनेको जस्तो महसुस हुन्छ । सुख्खा नाक खुलाउने उपाय बताइदिनुहुन अनुरोध गर्दछु । 

– राजु अधिकारी, धुन्चे, रसुवा । 

राजुजी, नाक धेरै नै सुख्खा भएमा कहिलेकाहीँ थुनिएको वा कुनै वस्तु अड्केको जस्तो महसुस हुनु स्वाभाविक नै हो । सुख्खा नाक किन भयो होला भन्ने सोचेर मात्रै खुलाउने उपाय विचार गर्न सकिन्छ । नाक सुख्खा हुनुको कारण धेरै हुन्छ । शरीरमा पानीको मात्रा कम भएमा, गर्मी धेरै भएमा, सुगरको बिरामी भएमा, नाकभित्रका ग्रन्थिहरुको उत्पादन रोकावट आएर झोल पदार्थ नाकमा नआएमा, थाइराइडको समस्या भएमा वा त्यस्तै अन्य धेरै समस्या भएमा नाक सुख्खा हुनसक्छ । नाकको परीक्षण गरेर उचित निदान गरी उपचारमा लागेमा मात्रै समस्याको सही समाधान हुन्छ । त्यसैले एकपटक फिजिसियन वा नाक, कान, घाँटीको चिकित्सक विशेषज्ञ भेटेर सल्लाह लिनुहुन अनुरोध गर्दछु । 

म २२ वर्षको भएँ । अहिलेसम्म मेरो दाह्रीजुँगा राम्ररी आएको छैन । मेरो काका–बुबा सबैको बाक्लो दाह्रीजुँगा छ । मेरोचाहिँ किन यस्तो भएको र कहाँ उपचार गराउनुपर्ला ? सुझावका लागि अनुरोध गर्दछु । 

– हरिराम बाँस्कोटा, धुलिखेल, काभ्रे । 

हरिरामजी, उमेरले दाह्रीजुँगा आउने बेला भए पनि कसै–कसैको अलि पछि आउन पनि सक्छ । दाह्रीजुँगा आउने कुरा व्यक्तिपिच्छे फरक हुन्छ । कोहीको बाक्लो आउन सक्छ भने कोहीको पातलो हुन सक्छ । कोहीको नआउन पनि सक्छ । त्यस्तै कोहीको ढिलो आउन सक्छ भने कोहीको छिटो आउन सक्छ । अहिले नै आत्तिनुपर्ने केही छैन । साधारणतया काका–बुबाको दाह्रीजुँगा बाक्लो भएकाले तपाईंको पनि करिब त्यस्तै किसिमले आउनुपर्ने पनि हो । किन दाह्रीजुँगा आउन ढिलो भयो होला भनेर निक्र्योल गर्न एकपटक फिजिसियनसँग भेटेर सल्लाह लिनुस् । त्यसपछि अत्यावश्यक परीक्षण गर्ने वा अरु विशेषज्ञकोमा भेट्ने सल्लाह दिने काम हुनेछ र समस्या समाधानको बाटो तय हुनेछ ।

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्