पशु र तरकारीमा हर्मोन सुई स्वास्थ्य जोखिममा



– डा. केदार कार्की (वरिष्ठ पशुचिकित्सक)

आजकल पशुहरुमा दूध पगार्न तथा निथार्न सुईमार्फत अक्सिटोसिन हर्मोन दिने गरेको पाइन्छ । त्यसै गरी लौका, फर्सी, भ्यान्टा, गोलभेँडा, करेला, घिरौँला, काउलीजस्ता तरकारीहरुका स–साना चिचिलाहरुलाई चाँडै बढाउन पनि यो इन्जेक्सन लगाउने गरेको देखिन्छ । यस कार्यले किसानलाई त फाइदा होला तर पशु एवं उपभोक्ताको स्वास्थ्य भने जोखिममा पर्दै गएको छ ।

के हो अक्सिटोसिन हर्मोन ? 

अक्सिटोक्सिन हर्मोनको खास काम गर्भाशयको संकुचन गराउने, दूध पगार्ने, निथार्ने, यौन प्रक्रिया र प्रोस्टेट ग्रन्थिबीच राम्रो सम्बन्ध बनाउने हो । अक्सिटोसिन हर्मोनलाई सिन्थेटिक औषधिहरुमा प्रयोग गरिन्छ, जुन धेरै राम्रो साबित भइराखेको छ । यसलाई रगतको नसामा, मासुमा तथा गिजामा इन्जेक्सनको माध्यमबाट प्रयोग गरिन्छ । यो हर्मोन पशुको सुत्केरी व्यथा सहजीकरण गर्न, प्रसवोत्तर रक्तश्राव रोक्न, गर्भपतनपछि गर्भाशयको सफाइ गर्न प्रयोग गरिन्छ । 

गर्भपतनको बेला गर्भाशयमा केही अवशेष रहिरहने हुँदा सो अवशेष संक्रमणको कारण बन्न सक्छ । त्यसैले सो अवशेषलाई गर्भाशयबाट सफा गर्न यसको प्रयोग गरिन्छ । फाँचोमा हुने कुनै अवरोध, जसले गर्दा थुनमा पर्याप्त मात्रामा दुध आउन पाउँदैन भने सहजीकरण गर्न पनि यस हर्मोनको प्रयोग गरिन्छ । यसले फाँचोबाट दूध निकाल्न मद्दत गर्दछ । 

अक्सिटोसिनका कारण गर्भ संकुचित हुने हुँदा परिणामस्वरुप मूत्राशय खुम्चिन पुग्छ र थुनबाट दूध आउँछ । यसले गर्दा प्रसवको दोस्रो चरणमा योगदान पु¥याउँछ । साधारण अवस्थामा प्राकृतिकरुपमा नै अक्सिटोसिनको मात्रा सन्तुलित हुने हुँदा यसले स्तनपानको बेला दूधलाई थुनबाट छुट्याउँछ । साथै प्रसव पीडालाई प्रोत्साहितसमेत गर्दछ । यसका दुष्परिणाम पनि हुने हुँदा यो हर्मोन पशुलाई विशेष परिस्थितिमा मात्र चिकित्शसद्वारा मात्र दिइनुपर्ने हो तर दूध पगारेर नाफा कमाउने उद्देश्यले अहिले यसको जथाभावी प्रयोग हुनु चिन्ताको विषय बनेको छ ।

पशुपालक एवं तरकारी उत्पादक कृषकहरुमा गलत धारणा बसिसकेको छ कि यो इन्जेक्सनका कारण दूध र तरकारीको उत्पादन बढ्छ । 

यस हर्मोनको दुष्प्रभाव 

यस हर्मोनको दुरुपयोगले केटाकेटीको मस्तिष्कमा अक्सिजनको आपूर्ति कम गराउँछ । महिलाहरुमा हर्मोनको विकासलाई प्रभावित गर्दछ । यसले गर्दा नाबालिग केटीहरु छिट्टै बालिग भएजस्ता देखिन्छन् । नवजात शिशुमा जन्डिस हुने कारण बन्न सक्छ । स्तनपानमा व्यवधान उत्पन्न गराउँछ । मुटुको धड्कन असामान्य बनाई हृदयघात हुने सम्भावना बढेर जान्छ । 

त्यसै गरी बच्चा जन्मेपछि लामो समयसम्म गर्भाशयबाट रक्तश्राव हुने, टाउको दुख्ने, दिग्भ्रमित हुने, झोक्किने, बान्ता हुने, मानसिक असन्तुलन हुने, बेहोसी हुने, छारेरोग हुने, सास लिन गाह्रो हुने वा सास बन्द हुने, उच्च रक्तचाप हुने, दृष्टि मधुरो हुने, कानमा घण्टी बज्नेजस्ता दुष्प्रभाव पर्न सक्छन् । चिन्ता हुने, भ्रम हुने, छाती दुख्ने, पाचन प्रक्रियामा समस्या आउने, वाकवाकी लाग्ने, नाक दुख्ने, सिँगान बग्ने, पिनास हुने, स्मृति समस्या हुने, नेत्र दुष्प्रभाका कारण शिशुमा रेटिना हेमरेज हुने, मनोरोगको दुष्प्रभावका कारण स्वादिलो भोजन गरे पनि स्वाद नहुने, स्मृतिदोषका साथै उन्माद हुने पनि यस हर्मोनका दुष्प्रभाव हुन् । 

बिहान–बेलुका नै दूध पगार्ने नाममा यस्ता हर्मोन दिँदा पशुको स्वास्थ्यमा त प्रत्यक्ष असर पर्ने नै भयो अर्कातिर सो दूध खाने मानिसमा पनि अप्रत्यक्षरुपमा असर परिरहेको हुन्छ । यता छिट्टै तौल बढाउन लौका, फर्सी, भ्यान्टा, काउली, करेला, गोलभेँडाजस्ता साना चिचिला तरकारीमा समेत यो हर्मोनको सुई लगाउँदा यस्ता तरकारीबाट पनि मानिसलाई नराम्रो असर पर्न सक्छ । यो हर्मोनयुक्त सुईले बिहानका चिचिला तरकारी साँझसम्म हलक्क बढेर बिक्रीयोग्य भइसकेका हुन्छन् । 

पशुपालक एवं तरकारी उत्पादक कृषकहरुमा गलत धारणा बसिसकेको छ कि यो इन्जेक्सनका कारण दूध र तरकारीको उत्पादन बढ्छ । जबकि यसको अनियन्त्रित प्रयोगले गाई प्रजातिमा प्रजनन प्रणाली नष्ट गर्छ र गाईहरु बाँझो रहन जान्छन् । तरकारीमा भने अप्रत्यासितरुपमा तन्तुमा वृद्धि तथा जलग्रहण बन्ने हुँदा छिट्टै सामान्य समयभन्दा तौल बढेको जस्तो देखिने मात्र हो । त्यस्ता तरकारी लामो समयसम्म सञ्चय गर्न नसकिने तथा पकाउँदा चाँडै गलेर जाने अनि प्राकृतिक स्वादविहीन हुने गर्दछ । यस्ता तरकारी स्वास्थ्यका हिसाबले पनि हितकारी हुँदैनन् । 

नियन्त्रणको खाँचो 

उल्लिखित दुष्परिणाम जनसमुदायमा अत्यधिक मात्रामा देखिन थालेपछि विकसित पश्चिमा मुलुकहरुमा यस इन्जेक्सनको उत्पादन अनि पशु तथा बालिनालीमा यसको प्रयोग प्रतिबन्धित छ । भारत सरकारले समेत यसको प्रयोग बन्द गरेको छ । यसको प्रयोगलाई पशु क्रूरता, निर्दयिता, रोकथाम अधिनियम १९६० को धारा १२ तथा खाद्य औषध अदमिश्रण निवारण अधिनियम १९५० अन्तर्गत भारते प्रतिबन्धित गरेको छ । तर हाम्रो परिवेशमा भने तराई मधेसका सीमावर्ती क्षेत्रका एग्रोभेटमा यसको उपलब्धता फालाफाल छ । अनि पशु तथा तरकारी बालीमा यसको प्रयोग असीमित तथा अनियन्त्रित छ । 

दुधालु पशु एवं तरकारीमा यसको प्रयोग नगरेमा पशुले दूध नदेला र तरकारी नसप्रेला भन्ने भ्रममा कृषक छन् । अर्कोतर्फ आम उपभोक्ता यसको दुष्परिणाम भान्साको खाद्य शृङ्खलाबाट भोग्छन् । त्यसैले खाद्य स्वच्छता, शुद्धता तथा स्वस्थताको दृष्टिकोणले पनि यसको उपयोग नियन्त्रित एवम् नियमन गर्नुपर्ने खाँचो छ । यसको लागि स्थानीय चेतना परिवर्तन तथा जनजागरण जरुरी छ । यसै पनि विश्व व्यापार संगठनको सदस्य राष्ट्रको हैसियतले हाम्रो जिम्मेवारी पनि यसमा गाँसिएको छ ।  

प्रतिक्रिया दिनुहोस्